पहिचानविहीन नेपाली चिया

- विप्लव भट्टराई/इलाम

नेपाली चियाको बजार भार तसहित पश्चिमा देशमा पनि बढिरहेको छ । बढ्दो व्यापार घाटाको अवस्थामा विदेशी मुद्रा आर्जन गर्ने चिया खेतीको विस्तार र प्रवर्द्धनका सम्भावना धेरै छन् । स्वदेशमै रोजगारी सिर्जनाका लागि पनि चियालाई गतिलो माध्यमका रूपमा लिन सकिन्छ ।

तर डेढ सय वर्षभन्दा लामो इतिहास बोकेको नेपाली चियाको आफ्नै पहिचान नहुँदा कुनै पनि बेला अन्तर्राष्ट्रिय बजारमा समस्या खेप्नुपर्ने अवस्था आउन सक्नेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

पश्चिम बंगालका केही भारतीय मिडियाले नेपाली चियाले भारतीय चियालाई विस्थापित गर्दै लगेकाले प्याटेन्ट राइटको कुरा उठाउनुपर्ने विषयलाई केही समयअघि प्राथमिकतासाथ उठाएका थिए । भारतीय टी बोर्ड र ठूला व्यवसायीलाई नेपालको चिया दार्जिलिङकै जस्तो गुणस्तर भएको र उत्पादन लागत कम भएकाले आन्तरिक र बाह्य बजार पनि प्रभावित गर्न सक्ने भन्दै भारतीय पक्षले सचेत गराउँदै आएको छ ।

अहिले पनि नेपाली व्यवसायीलाई भारतमा चिया निर्यात गर्न उति सहज छैन । सेन्ट्रल फुड ल्याब टेस्टका नाममा नेपाली व्यवसायीले झन्झट र खर्च धेरै बेहोर्नुपर्छ । यति हुँदाहुँदै पनि भारतले प्याटेन्ट राइटको कुरा उठाएर नेपाली चियालाई थप कडाइ गरे नेपाली चियाले अप्रत्यासित नतिजा बेहोर्नुपर्नेछ ।

इलामसहित पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको मुख्य बजार भारत हो । वाषिर्क रूपमा उत्पादन हुने ५५ लाख किलो तयारी चियामध्ये ८० प्रतिशत भारत निर्यात हुन्छ । १० प्रतिशत चिया युरोप, अमेरिका र चीनतर्फ जान्छ भने बाँकी आन्तरिक बजारमा खपत हुने गरेको छ ।

राणाकालमै नेपालमा चिया खेती सुरु भए पनि अहिलेसम्म आफ्नै क्लोन विकसित हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा चियाको बजार विस्तारका लागि महत्त्वपूर्ण मानिने आफ्नै पहिचान स्थापित गर्न कसैले पनि पहल थालेका छैनन् ।

नेपालमा चिया रोपिएको १ सय ५६ वर्ष पुगिसकेको छ । जंगबहादुरकै पालामा स्थापना भएको इलाम चिया कमानमा अझै पनि त्यो बेलाको चियाको बुस रहेको जानकार बताउँछन् । यिनै बुसबाट पनि नयाँ प्रजातिको चिया विकास गर्न सकिने जानकारको भनाइ छ । "भारत र चीनबीच बासमती चामलको प्याटेन्ट राइटको विषयमा भएको विवादजस्तै  नेपाली चिया पनि विवादमा आउन सक्छ," व्यवसायी माधव निरौला भन्छन्, "अझै पनि पुराना बगानबाट छनोट गरेर नेपाली चियाको क्लोन विकास गर्न सकिन्छ ।"

यसअघि चिया तथा कफी विकास बोर्डले चियाको क्लोन विकासका लागि गरेका केही प्रयासले पूर्णता पाउन नसक्दा नेपाली चिया पहिचानविहीन बनेको हो । पछिल्लो समय चियाको समग्र विकासका लागि इलामका स्थानीय तहले पनि पहल थालेका छन् । "नेपालको अर्थतन्त्रमै उल्लेख्य योगदान गर्न सक्ने चियाको पहिचान नहुनु दुःखद हो," सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई भन्छन्, "यसका लागि ठोस पहल थाल्न प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिएको छ ।" मुलुकमै सबैभन्दा धेरै अर्थोडक्स चिया खेती भएको यो नगरपालिकाले पहिचान विकास र टेस्टिङका लागि यसै आर्थिक वर्षदेखि कार्यक्रम अघि बढाउने जनाएको छ ।

बोर्डले क्लोनको विकास गर्न थालेको प्रयासले निरन्तरता पाएन । यहाँको चिसो हावापानीमा उत्पादित अर्थोडक्स चियाले दार्जिलिङ चियासँग प्रतिस्पर्धा गर्न थालेको भन्दै उनीहरूले नेपालको चिया भारतीय क्लोनकै भएको दाबी गरेका छन् ।

विसं १९२० सालमा चीनबाट बिरुवा ल्याएर बडाहाकिम गजराजसिंह थापाले चिया खेती गरेको इतिहास छ । दार्जिलिङ चियाभन्दा पुरानो यहाँको चियाले आफ्नै क्लोन विकास गर्न नसक्नु दुःखलाग्दो भएको विज्ञहरू बताउँछन् । "आफ्नै क्लोन विकास गर्नु राम्रो हो," चिया उद्यमी उदय चापागाईं भन्छन्, "तर प्रकृतिले दिएका जैविक वस्तुलाई यो या त्यो राष्ट्रको भनिनु नै गलत हो ।"

चापागाईंको बुझाइमा भारतमा पनि चीनबाटै चिया ल्याएर रोपिएकाले नेपाली चियालाई यही आधारमा अवमूल्यन गर्न मिल्दैन । चीनमा पनि पुराना बुस नष्ट भएको अवस्थामा इलाम बगानमा रोपिएकै बेलाकोसमेत बुस भएकाले त्यसैबाट क्लोन विकास गरेर नेपालभर त्यही प्रजातिको खेती गर्न सकिन्छ । र, इलाम बगानबाटै गोटीलाई अमेरिकासम्म पुर्‍याएर चिया उत्पादन गरिएको उनको विश्वास छ ।

चियाको आफ्नै प्रजाति विकास गर्ने उद्देश्यले फिक्कलमा हिमालयन टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) नामक गैरसरकारी संस्थाले डेढ दशकअघि नै पहल थालेको थियो । सबैभन्दा पुरानो इलाम चिया बगानका बोटबाट बिउ ल्याएर नयाँ र मौलिक प्रजाति विकास गर्ने उसको अभियान संस्थाको निस्क्रियतासँगै असफल रह्यो । सन् २००४ देखि तीन वर्षसम्मको कार्यक्रम सकिएपछि अलपत्र भएको नर्सरी चिया तथा कफी विकास बोर्डलाई हस्तान्तरण गरियो । तर उचित व्यवस्थापन हुन नसक्दा त्यसको अस्तित्व नै समाप्त भयो ।

बगानमा बुस छनोट गर्नेदेखि भारतबाट वैज्ञानिक ल्याएर आफ्नै 'क्लोन' विकास गर्न पर्याप्त प्रयास भएको थियो । करिब १० वर्ष लाग्ने यो अभियान ३ वर्षमा छाडिएपछि नेपालको चिया विश्वमा चिनाउने प्रयास तुहिएको थियो । अभियान पूरा भएको भए विश्व व्यापार संघमा नेपालको चिया चिनाउन र बजार प्रवर्द्धनका लागि महत्त्वपूर्ण खुड्किलो सावित हुने चिया प्राविधिक ज्योति अधिकारी बताउँछन् ।

नेपाली जातको क्लोन तयार गर्न दार्जिलिङ विज्ञ एसके प्रधानले लामो समयसम्म मिहिनेत गरे । उनले इलाम र सोक्तिम बगानका पुराना बुससमेत पहिचान गरेर अध्ययन थालेका थिए । तर उनको निधनसँगै यो प्रयास पनि असफल देखियो ।

"टी बोर्डले दार्जिलिङबाट प्रधानलाई झिकाएर प्रयास गर्‍यो र अध्ययनको काम पनि थालियो," चिया तथा कफी विकास बोर्डअन्तर्गत फिक्कलस्थित चिया विस्तार योजनाका प्रमुख इन्द्र अधिकारी भन्छन्, "पछिल्लो केही वर्षदेखि यो शीर्षकको बजेट नआएपछि पनि नेपाली पहिचानको चिया बनाउने अभियानले सार्थकता पाएन ।"

नीतिगत परिवर्तनले पनि यो प्रयासलाई बाधा पुगेको हो । बोर्डअन्तर्गत हुँदै आएको अनुसन्धान नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल (नार्क) लाई जिम्मा दिइएको हो । नेपाल सरकारले नेपाली चियाको आफ्नै लोगो तयार पारेर विश्व बजारमा स्थापित गर्ने प्रयास थालेको छ ।

लामो विवाद र झमेलाका बाबजुद 'नेपाल टी क्वालिटी फ्रम द हिमालय' लेखिएको लोगोको प्रयोग थालिएको हो । गुणस्तरीय चिया उत्पादन गर्दै विश्व बजारमा आफ्नै पहिचानमा चिया बेच्न सकिने भएपछि नेपाली चियाको भविष्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अहिलेसम्म चिया उत्पादक कम्पनीले आफ्नै लोगोमार्फत पश्चिमा देश पठाउँदै आएका छन् । अब नेपाली र कम्पनीको लोगोमा चिया पठाउँदा फरक हुने व्यवसायीको बुझाइ छ । नेपाली लोगोका कारण बजार प्रवर्द्धनमा सहज हुने भए पनि क्लोन नहुँदा पहिचानको संकट छ । 

प्रकाशित: कार्तिक १४, २०७६