नवउद्यमबाटै समृद्धि

  • तीन किताब

- डा विशाल ढकाल 

चटगाँव विश्वविद्यालयमा प्राध्यापन गर्दा मुहम्मद युनुसले ग्रामीण जनजीवनलाई नियालेका थिए, जहाँ गरिबहरू कच्चा माल खरिद गर्न साहूसँग कर्जा लिन्थे । तर त्यही ऋण भुक्तानीका लागि असल सामान बेच्न बाध्य ती मानिसको हातमा मुनाफा कमै मात्रै पथ्र्यो । यस्तो आर्थिक दुरुहतालाई नजिकबाट देखेका युनुसको मनमा ती महिलालाई आत्मनिर्भर गराउँदै गरिबीबाट निकाल्ने उपाय फुर्‍यो । व्यक्तिगत तबरबाट ती महिलालाई सघाएका युनुसले ग्रामीण बैंकको अवधारणा ल्याए, सन् १९७६ मा । त्यसबेला बंगलादेशको बैंकिङ क्षेत्रका लागि नितान्त नवीन सिद्धान्तमा आधारित थियो, ग्रामीण बैंक । लघुवित्त अवधारणाका पिता नै युनुस हुन् । लघुवित्तसँगै धितो र बिनाब्याज गरिब गाउँलेहरु लघु उद्यमी हुन सक्ने भए । सैद्धान्तिक रुपमा स्थापित भएको एक दशकमै विश्वभरि ग्रामीण बैंकको प्रभाव पर्‍यो । साथै, युनुसले नोबेल शान्ति पुरस्कार पनि पाए । उनै अर्थशास्त्री मुहम्मद युनुसको बाल्यकाल, कलेज जीवन र सफलताको कथा समेटिएको आत्मकथा हो - बैंकर टु द पुअर, जसले नयाँ काम गर्न हामीलाई उत्प्रेरित गर्छ ।

गरिबीलाई संग्रहालयमा सीमित गर्ने महत्त्‍वकांक्षा बोकेर हिँडेका अथक यात्री युनुसलाई लाग्छ - सबैले सामाजिक जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ । सरल भाषामा लिखित यो पुस्तकमा लेखकको जोड महिलाको आर्थिक स्वतन्त्रतामाथि पनि उत्तिकै छ, जसले पोषक खानामा पहुँचसहित घरको स्तरमा सुधार ल्याओस् । गरिबीमाथि चिन्ता प्रकट गरिन्छ तर गरिबहरु सम्मानपूर्वक बाँच्न पाउने वातावरणको सुनिश्चितता गरिँदैन । अवसर पाए आफ्नो समाज मात्रै होइन, मुलुककै आर्थिक उन्नतिमा समेत निम्न वर्गीय मानिसले टेवा गर्न सक्छन् भन्ने अनेक उदाहरण छन् । आर्थिक रुपमा सक्षम वर्गले गरिबीमुक्त समाजका लागि केही अवसर सिर्जना गर्नैपर्छ । धनी-गरिबबीचको खाडल पुर्न पिँधमा ध्यान दिनुपर्ने युनुसको अवधारणालाई क्रान्तिकारी मान्न सकिन्छ ।

स्वीडेनी तथ्यांकशास्त्री-वैज्ञानिक ह्यान्स रोस्लिङले फ्याक्टफुलनेसमा विश्वका ठूला संस्थाहरुले प्रस्तुत गरेको प्रक्षेपण मापक तथ्यांकलाई विश्लेषण गरी नयाँ कोण दिएका छन् । शिक्षा, स्वास्थ्य, मातृशिशु मृत्यदरजस्ता पाटा केलाउँदा हाम्रो जीवन गुणस्तरीय हुँदै गएको छ । अफ्रिका, युरोप या एसिया जता हेरे पनि हिजोभन्दा आज जनताको पहुँच बढेकाले निराश हुनुपर्ने स्थिति नरहेको सन्देश दिन्छ, यो किताबले । कतिपय छापामा आउने मिथ्यांकले हाम्रो विश्वदृष्टिलाई विकृत पारिरहेको सन्दर्भमा यो किताबले कुनै पनि धारणा वा विश्लेषण तथ्यपरक हुनुपर्नेमा जोड दिन्छ । समाजको पृष्ठभूमिलाई वैज्ञानिक ढंगले व्याख्या गर्ने बाटो देखाएकाले विकासको क्षेत्रमा काम गर्नेहरुका लागि धर्मग्रन्थसरह बनिदिन्छ, फ्याक्टफुलनेस । बदलिँदो परिवेशका कारकलाई वस्तुपरक ढंगले सैद्धान्तिक विमर्श गरिएकाले पुस्तकमा चलायमान विश्वमानको यथार्थ चित्र पाउन सक्छौँ । एक्काइसौँ शताब्दीको विश्व र नयाँ पुस्तालाई आशाको किरण देखाइदिएकाले पनि यो किताब प्रेरणादायी छ । विश्व स्वास्थ्य तथ्यचित्रलाई व्यावहारिक भएर हेर्दा - नेपालमा वन्यभूभाग बढ्दो छ, हामी कार्बन पोजिटिभ हौँ र सरदर आयुमा पनि थुप्रै मुलुकभन्दा माथि छौँ । स्वास्थ्य सेवालाई आमजनतासम्म सहज पहुँच पुर्‍याउने, पोषणयुक्त खानामा ध्यान दिए हाम्रो जीवनस्तर उँचो भएर जान्छ किनकि थोरै लगानीमा प्रभावकारी नतिजा दिने देशमै छौँ । विश्वमा प्राकृतिक प्रकोप र रोगव्याधिबाट हुने जनधनको क्षति पनि विगतको तुलनामा घट्दो छ । सफा पानी र सन्तुलित आहारमा पहुँचका साथै आय र आयुको दायरा फराकिलो हुँदै छ । तथ्यांकलाई सिंहावलोकन गर्ने दृष्टिमा दार्शनिक परिवर्तन ल्याएकाले पनि यो किताब पठनीय बनेको हो ।

एन्ड्रयु याङ सन् २०२० का लागि अमेरिकी राष्ट्रपतीय चुनावका डेमोक्र्याटिक उम्मेदवार हुन् । उनको गैरनाफामुखी संस्था भेन्चर फर अमेरिकाले अमेरिकी सहरहरुमा रोजगारी सिर्जना गर्छ । सन् २०१६ को भेटमा हस्ताक्षरसहित उनले आफ्नो पुस्तक स्मार्ट पिपुल सुड बिल्ड थिंग्स मेरो हातमा थमाए । व्यवसायले नै अर्थतन्त्र चलायमान हुने विश्वाससहित भुइँतहका लागि काम गरिरहेको सामाजिक उद्यमीका नाताले म यो किताब पढ्न उत्साही थिएँ किनकि याङका कामबारे परिचित नै थिएँ । यो किताबमा आय र उत्पादनमुखी आर्थिक गतिविधिमा जोड दिइएको छ, जसका लागि नवीन सोचको खाँचो हुन्छ । अवसर र उपलब्धिका दृष्टिले अग्रदेशको विकासमा त्यहाँका उद्यमीको सुझबुझपूर्ण लगानी र मिहिनेत परेको छ । विकास र संस्कृतिमा ठूल्ठूला सहर तथा संस्कृतिको चर्चा गरिन्छ तर याङ विचारमा, युवाले नवोन्मेषबाट इतिहास निर्माण गर्नुपर्छ र सकिन्छ पनि । नयाँ सोचका सबै टिक्न सक्दैनन् । थोरै मात्र सफल हुन्छन् । सफल हुन चलाख मानिसले केही न केही नयाँ चीज निर्माण गरेको हुन्छ । समाज रुपान्तरणका लागि युवामा प्रयोगशील आँट र बौद्धिकता हुनुपर्ने धारणा छ, याङको । त्यसैले उनले अमेरिकी विपन्न क्षेत्रका युवालाई उद्यमी बन्न उत्प्रेरित गरे । साथै, पिछडिएको क्षेत्रलाई मूलधारमा ल्याउन मद्दत गरे । निस्क्रिय आम्दानी ब्याज ताकेर बस्ने हाम्रोजस्तो समाजमा नयाँ उद्यमबाट समृद्धिको यात्रामा बढ्न पनि यो किताब उत्प्रेरक हुन सक्छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: कार्तिक १४, २०७६

ट्याग: तीन किताब