घातक जाम
एम्बुलेन्सको सहज आउजाउका लागि न ट्राफिक प्रहरी जिम्मेवार, न त सर्वसाधारण
असोज पहिलो साता । साँझ ७ बज्दै थियो, सुत्केरी व्यथा लागेकी महिलालाई भक्तपुरबाट थापाथलीस्थित परोपकार प्रसूतिगृह पुर्याउनुपर्ने भयो । मिलन पुरीले बा९च ७१७२ नम्बरको एम्बुलेन्स हाँके, महिला चिच्याइरहेकी थिइन्, आफन्त आत्तिइरहेका थिए । पुरी जतिसक्दो छिटो अस्पताल पुर्याउन चाहन्थे । साइरन बजाउँदै जडिबुटी आइपुगे । त्यहाँबाट कोटेश्वर छिचोल्नुपर्ने तर सडक पूरै जाम । विपरीत दिशामा हिँड्नुको विकल्प थिएन । अलि वर एउटा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएछ । भीड जम्मा हुँदै थियो । वास्तै नगरी अगाडि बढ्दै गर्दा ट्राफिक प्रहरीले रोके र उनले विपरीत दिशाबाट ल्याएकाले दुर्घटना भएको भन्दै हपारे । पुरीले आफू आउनुअगावै दुर्घटना भएको र बिरामीलाई अस्पताल पुर्याउन हतारो रहेको बिन्ती बिसाए । तर ती ट्राफिकले धेरै बेर केरकार गरिरहे । चालक पुरी भन्छन्, "बिरामीका आफन्त र दुर्घटनास्थलमा जम्मा भएकाहरूले एम्बुलेन्सको गल्ती छैन भनेपछि बल्ल छाडियो । बिरामी हुँदा पनि प्रहरीले संवेदनशीलता देखाएन । धन्न ! अस्पताल पुर्याउँदासम्म केही भएन ।"
नुवाकोटमा सुन्दै मन कटक्क खाने घटना भयो, दसैँको पूर्वसन्ध्यामा । रसुवा, उत्तरगया गाउँपालिका-२ की इन्द्रकुमारी तामाङ एक्कासि बिरामी भएपछि बिदुरस्थित अस्पतालमा एम्बुलेन्सबाट ल्याइँदै थियो । आफ्नो स्कुटरलाई ठक्कर दिएको भन्दै बिदुरका स्थानीय आयुष रिजालले बाटोमै रोकिदिए । एम्बुलेन्स चालक र बिरामीका आफन्त क्षतिपूर्ति दिन राजी भए । तर ती युवाले अनेक बहानामा आधा घन्टा एम्बुलेन्स रोकिदिए, न प्रहरी समयमै आइपुग्यो । अस्पताल नपुग्दै बाटोमै तामाङको मृत्यु भयो ।
एम्बुलेन्स साइरन बजाउँदै हुइँकिरहेको हुन्छ । सडकमा जाम पर्छ तर न ट्राफिक प्रहरीले प्रभावकारी ढंगले बाटो खुलाउन पहल गर्छन्, न त मोटरसाइकल र गाडी चाकलले आफैँ बुझेर बाटो छाडिदिन्छन् । एम्बुलेन्स चालक पुरी अनुभव सुनाउँछन्, "रातो बत्ती र साइरन बजाउँदा पनि वास्तै हुँदैन । भित्र बिरामी छटपटाउँछन्, आफन्त आत्तिन्छन् तर हामी केही गर्न सक्दैनौँ ।" राजधानीबाहिर पनि यो समस्या छ । तर ट्राफिक व्यवस्थापन भद्रगोल भएकाले राजधानीभित्र हरेक चोक-चोकमा एम्बुलेन्स अलपत्र पर्छन् । त्यसको संवेदनशीलताले कसैलाई छुँदैन ।
७ कात्तिक मध्याह्न । कालीमाटीबाट बा१घ ६४६४ नम्बरको एम्बुलेन्स त्रिपुरेश्वरतिर आइरहेको थियो । मोटरसाइकल, सार्वजनिक र निजी सवारी साधनले बाटो भरिभराउ थिए । चालक विपरीत दिशाबाट अगाडि बढे । तर अलि अगाडि आएपछि त्रिपुरेश्वरबाट टेकु जाने साइड खुल्यो, एम्बुलेन्स बीचमै रोकियो । चालकले साइरन बजाइरहे तर त्यहाँ ट्राफिकको उपस्थिति भएन । करिब १० मिनेटपछि मात्र चालकले एम्बुलेन्स अगाडि बढाउन सके । यो नियतिलाई नजिकबाट नियालिरहेका नेपाल रेडक्रसको स्वास्थ्य विभागका उपनिर्देशक बाबुराजा बोहरा भन्छन्, "आम मानिसमा चेतनाको कमी छ, आफूलाई मात्र हतार भएझैँ गर्छन्, एम्बुलेन्सलाई बाटै छाड्दैनन् । प्रहरीले पनि प्राथमिकतामा राख्दैन । त्यसैले एम्बुलेन्सलाई सडक सहज छैन ।"
जब विशिष्ट व्यक्तित्वको आवागमन हुन्छ, ट्राफिक प्रहरी मरिमेटेरै बाटो खुलाउन लागिपर्छ । पैदल यात्रुलाई समेत रोकिन्छ । जुन साइडबाट भीआईपी आइरहेका हुन्छन्, त्यही साइडबाट आएका सवारीलाई लामो समय खुला छाडिन्छ । राजधानीमा यात्रा गर्ने जोकोहीले दैनिक देख्ने-भोग्ने पीडा हो, यो । तर एम्बुलेन्स आउँदाचाहिँ प्रहरीले सोहीअनुरूप सक्रियता देखाउँदैन । विपरीत दिशाबाट आएको भन्दै कतिपय प्रहरीले गाली गर्ने गरेको एम्बुलेन्स चालकको दुःखेसो छ । भलै, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकाल यसलाई नकार्छन् । एम्बुलेन्सलाई प्राथमिकता दिन निर्देशन दिइएको र फिल्डमा खटिएका प्रहरीले सोहीअनुरूप गर्ने एसएसपी ढकालको दाबी छ । भन्छन्, "हामीले सधैँ एम्बुलेन्सका लागि जतिसक्दो बाटो खुलाउन खोज्छौँ तर निजी-सार्वजनिक सवारी चालकले जिम्मेवारीबोध गरेर साथ दिँदैनन् । त्यसैले कहिलेकाहीँ प्रयास गर्दागर्दै भनेजस्तो सहजता उपलब्ध गराउन सकिरहेका हुँदैनौँ ।" भीआईपीको सवारी हुँदा पनि एम्बुलेन्सलाई नरोकेको जिकिर गर्छन् उनी ।
१४ वर्षदेखि राजधानीमा एम्बुलेन्स चलाइरहेका रामकृष्ण बरालको अनुभव त्यस्तो छैन । उनी दैनिक दुई-तीन बिरामीलाई अस्पताल पुर्याउँछन् । कहीँ न कहीँ अवरोध भइरहेकै हुन्छ । पिकआवरमा अझ बढी सास्ती खेप्नुपर्छ । भन्छन्, "बिरामीका आफन्त छिटो दौडाउन भन्छन् । मूलबाटोमै जाम होला भनेर सहायक र छोटो बाटो रोज्छौँ तर त्यहीँ पनि जाम परिरहेको हुन्छ । साइरन र रातो बत्ती बाल्दा पनि बाटो छाड्दैनन् ।" समयमा अस्पताल पुर्याउन नसकेकै कारण दुई बिरामीको एम्बुलेन्समै मृत्यु भएको तीतो अनुभव छ, उनीसँग । कालीमाटी-त्रिपुरेश्वर, माइतीघर, थापाथली, कोटेश्वर, बानेश्वर, गोंगबु, चाबहिलजस्ता मुख्य चोकमा एम्बुलेन्स जामको चपेटामा पर्ने गर्छन् । कहिलेकाहीँ दुवै साइडमा सवारी साधन भरिभराउ हुन्छन् । त्यस्तो बेला साइरन बजाएर बस्नुको विकल्प हुँदैन । बराल भन्छन्, "एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाका सवारी साधनका लागि छुट्टै लेन बनाउनु आवश्यक भइसकेको छ । नत्र जनसंख्या बढिरहेकाले भोलिका दिनमा समस्या झ्न जटिल हुन सक्छ ।" दसैँअगाडि नौबिसेको जाममा कैयौँ घन्टा एम्बुलेन्ससमेत रोकिनुपर्यो ।
उपत्यकामा अनुमानित ३ सय एम्बुलेन्सले सेवा दिइरहेका छन् । त्यसबाहेक बाहिरी जिल्लाबाट बिरामी बोकेर यहाँ आउने एम्बुलेन्स पनि उत्तिकै हुन्छन् । एम्बुलेन्स सञ्चालन कार्यविधि निर्देशिका, ०७३ मा बिरामी अस्पताल पुर्याएपछि आफ्नो गन्तव्यमा र्फकनुपर्ने उल्लेख छ । तर राजधानीका नाम चलेकै अस्पतालअगाडि एम्बुलेन्स पार्क गरेर राखिएका हुन्छन् । मोफसलबाट आएका एम्बुलेन्स फर्कंदा बिरामी पाउने लोभमा त्यत्तिकै घुमिरहेका हुन्छन् । यो परिपाटीले पनि कहिलेकाहीँ समस्या सिर्जना गरेको उपनिर्देशक बोहरा बताउँछन् । नयाँ नियमअनुसार पाँच वर्षको अनुभव भएकाले मात्र एम्बुलेन्स चलाउन पाउँछन् । उनीहरूमा प्राथमिक उपचारको पनि ज्ञान हुनुपर्छ । तर यसको कार्यान्वयन फितलो छ । बोहरा भन्छन्, "एम्बुलेन्सका तर्फबाट पनि केही कमजोरी छन् तर मुख्य समस्या सडकमै छ । जामकै कारण बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा ज्यानै जानु विडम्बना हो ।" उनी वैकल्पिक र छोटा मार्गबारे चालक जानकार हुनु आवश्यक देख्छन् ।
चालक पुरी प्रहरीभन्दा अन्य सवारी चालक ज्यादा गम्भीर हुनुपर्ने बताउँछन् । उनको अनुभवमा निजी सवारी चालक सकेसम्म बाटो छाडिदिन्छन्, मोटरसाइकल र सार्वजनिक बस चलाउने अटेरी गर्छन् । त्यस्तो अवस्थामा प्रहरी आएर मिलाउन खोज्यो भने सबै सतर्क हुन्छन्, नत्र एम्बुलेन्सको आवाज सुनेको नसुन्यै गर्छन् । पुरी भन्छन्, "राजधानीबासीमा एम्बुलेन्सलाई बाटो छाडिदिनुपर्छ, आपद् परिरहेको हुन्छ भन्ने ज्ञान आफैँ हुनुपर्ने हो । तर हामी बोलीमा जति व्यवहारमा सभ्य र संस्कारी छैनौँ ।" पुरीले भनेझैँ सर्वसाधारणमा चेतना अभाव भएको सत्य हो । आफूलाई पर्दा आत्तिने तर अरूलाई पर्दा बाटो नछाड्ने प्रवृत्तिले गाँजेको छ । यसलाई निमिट्यान्न पार्न नियमभन्दा नैतिकताको खाँचो देख्छन्, एसएसपी ढकाल । "एम्बुलेन्सले साइरन बजाउनासाथ सतर्क हुने र बायाँ लेनमा ओभरटेक नगर्ने हो भने मात्र पनि एम्बुलेन्स रोकिनुपर्दैन," ढकाल भन्छन्, "अत्यावश्यकबाहेक प्रहरीको गाडीसमेत जाममा रोक्न निर्देशन दिएका छौँ । हाम्रो प्राथमिकतामा एम्बुलेन्स नै पर्छ ।" कहिलेकाहीँ एम्बुलेन्स चालकमा समस्या देखेकाले उनीहरूलाई बोलाएर छलफल र प्रशिक्षण दिने गृहकार्य थालेको ढकालले जानकारी दिए ।
सडकमा एम्बुलेन्सले यतिविघ्न अवरोध खेप्नुपर्छ । जाम नै बिरामीको काल बन्ने गर्छ । भत्किएका सडक उस्तै घातक हुन्छन् तर पनि सरोकारवाला पक्षले यसलाई गम्भीरतासाथ लिएको देखिँदैन । रेडक्रस स्वास्थ्य विभागका उपनिर्देशक बोहरा भन्छन्, "लाइसेन्स लिने बेलैमा एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई कसरी प्राथमिकता दिने भनेर अभिमुखीकरण तालिमको व्यवस्था गर्नुपर्छ । प्रहरी थप संवदेनशील हुनुपर्छ । मुख्य कुरा चालकले नैतिक जिम्मेवारीबोध गर्नुपर्छ ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...