जब भूमिगत प्रचण्ड टेम्पुमा पद्‍मरत्‍न घरै आइपुगे

  • पुस्तक अंश

- सुरेश किरण

सरकार-माओवादीबीच चलिरहेको शान्ति प्रक्रिया निष्कर्षतिर  पुर्‍याउने क्रममा पद्‍मरत्‍न तुलाधरलाई माओवादीका शीर्षस्थ नेताहरूसँग कुनै न कुनै रूपमा सम्पर्कमा आइरहनु पर्ने थियो । तर त्यतिबेला माओवादीसँग सम्पर्क स्थापित गर्नु सजिलो थिएन । प्रविधि र सुरक्षा दुवै हिसाबले कठिन थियो । माओवादीसँग सम्पर्क स्थापित गर्ने सहज माध्यम टेलिफोन नै थियो । त्यतिबेला फोनबाट सम्पर्क राख्नु पनि खतराभन्दा बाहिर थिएन । त्यसैले कतिपय माओवादी कार्यकर्ता आफ्नै फोन सेट बोकेर उहाँलाई घरमा भेट्न आउँथे । अनि त्यही फोनसेटमार्फत अज्ञात ठाउँमा भूमिगत बसिरहेका प्रचण्ड अथवा डा बाबुराम भट्टराईलाई सम्पर्क गराई कुरा गराउने व्यवस्था मिलाउँथे । कहिलेकाहीँ भने उहाँ आफैँले पनि उनीहरूसँग फोन सम्पर्क गर्नुपर्ने अवस्था आइदिन्थ्यो । त्यतिबेला गाह्रो हुने गथ्र्यो किनभने उहाँको आफ्नै घरबाट माओवादी नेताहरूलाई फोन गर्नु सुरक्षित थिएन । त्यो कसैले 'ट्याप' गरिरहेको पनि हुन सक्थ्यो । त्यसैले उहाँ कहिले सार्वजनिक टेलिफोन बुथमा गएर फोन गर्नुहुन्थ्यो । कहिले भोटाहिटीस्थित आफ्नी बहिनीको घरमा गएर ।

त्यतिबेला एउटा हल्ला पनि चलेको थियो- माओवादीलाई 'ट्रेस' गर्न गुप्तचरले विभिन्न नेताहरूको फोन 'ट्याप' गरिरहेका छन् । यदि त्यो हल्ला सत्य हो भने उहाँको घर त एक नम्बरमै परेको होला । आफ्नो घरको फोन कसैले ट्याप गरिरहेको छ-छैन बुझ्न एकपल्ट उहाँ दूरसञ्चार कार्यालय पनि पुग्नुभएको थियो । त्यहाँबाट थाहा भयो कि उहाँको घरमा फोन ट्याप भइहालेको त छैन तर प्रयासचाहिँ भएको थियो । तत्कालीन शाही नेपाली सेनाका केही अधिकृत दूरसञ्चार पुगी पद्‍मरत्‍नको फोन ट्याप गरिदिनुपर्‍यो भनी अनुरोध गरेका रहेछन् । तर दूरसञ्चारले राज्यले अपराधी वा वान्टेड भनी कुनै आरोप नलगाएका सर्वसाधारण ग्राहकको फोन ट्याप गर्न मिल्दैन भनी फर्काएको रहेछ । दूरसञ्चारका केही सहृदयी कर्मचारीले उहाँलाई यो पनि जानकारी गराए कि सुरक्षाकर्मीले चाहे भने उनीहरू आफैँ ट्रान्सर्फमरमा गई त्यहीँबाट कसैको पनि फोन ट्याप गर्न सक्छन् । तथापि सुरक्षाकर्मीले तुलाधरको फोन ट्याप गरेका छन्-छैनन्, त्यो भने भन्न सकिन्न । यही कारणले पनि उहाँ माओवादीका शीर्ष नेताहरूसँग कुरा गर्नुपर्दा आफ्नो घरको फोन कमै मात्र प्रयोग गर्नुहुन्थ्यो । यदि ट्याप गरिएको रहेछ भने सुरक्षाकर्मीले माओवादी नेताहरूको बासस्थान तुरुन्तै पत्ता लगाउने सम्भावना रहन्थ्यो ।

त्यसो त जनयुद्धकै दौरान माओवादीका भूमिगत शीर्षस्थ नेताहरूसँग उहाँले फोन मात्र होइन, प्रत्यक्ष नै पनि धेरै पटक सम्पर्क गर्नुभएको थियो । माओवादी नेताहरूको टाउकाको मूल्य नै तोकिएको ।

त्यो खतरनाक समयमा पद्‍मरत्‍न र प्रचण्डबीच कति पटक प्रत्यक्ष भेटघाट भयो, त्यसको ठ्याक्कै संख्या भन्न नसकिए पनि प्रचण्डले बताउनु भएअनुसार उहाँहरूबीच थुप्रै पटक प्रत्यक्ष भेट भएको थियो । प्रचण्ड बताउनुहुन्छ, 'उहाँलाई हामीले भेट्ने भनेको अक्सर विदेशी भूमिमै हो । नेपालमा सुरक्षाका कारण पनि हामीले देशबाहिर नै भेट्नुपर्ने हुन्थ्यो ।'पद्‍मरत्‍न र माओवादीका शीर्ष नेताहरूबीच सम्पर्क कायम गराउने काम पनि प्रधानले त्यहीँ बसेर सम्पन्न गरिरहेका हुन्थे । पद्‍मरत्‍नलाई विदेश लगी माओवादी नेताहरू भेट गराउने काम पनि अक्सर प्रधानकै जिम्मा आइरहन्थ्यो ।

माओवादी नेताहरूलाई भेट्न जाने सम्पूर्ण काम र प्रक्रिया गोप्य तबरबाट हुने गर्थ्यो। त्यसरी भेट्न जाँदा कहिलेकाहीँ पटक्कै नचिताएका अनौठा घटना पनि हुन जाँदा रहेछन् । तर गोप्यताका कारण त्यसलाई चुपचाप सहेर बस्नुबाहेक अर्को उपाय पनि हुँदैन । एकपल्ट पद्‍मरत्‍नलाई लिएर माओवादी शीर्ष नेताहरू भेट्न भारत जाँदा बाटोमा त्यस्तै एउटा रोमाञ्चकारी घटना घटित भयो ।

०५६ सालतिरको घटना थियो । माओवादी हेडक्वार्टरबाट काठमाडौँको माओवादी कमिटीलाई निर्देशन आयो कि एक पटक पद्‍मरत्‍नलाई लिएर शीर्ष नेताहरूलाई भेट्न आउनू । काठमाडौँ कमिटीले पद्‍मरत्‍नलाई लिएर जाने जिम्मा मुक्ति प्रधानलाई नै दिइयो । सानो तयारीपछि जाने दिन पनि तोकियो । काठमाडौँदेखि नै सँगै गए मान्छेले शंका गर्न सक्छ । त्यसैले बाहिरै छुट्टाछुट्टै भेट्ने र त्यसपछि सँगै जाने तय भयो । दुवै जना काठमाडौँबाट अलग-अलग हिँड्ने र विराटनगरमा भेटेर त्यहाँबाट सँगै हिँड्ने कार्यक्रम मिलाइयो । त्यतिबेला पद्‍मरत्‍न विराटनगरमा 'झी पुचः' नामक स्थानीय नेवारको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यता जानुपर्ने रहेछ । विराटनगर पुगी उहाँ त्यहीँको 'नमस्कार होटल' को २०५ नम्बर कोठामा बस्नुभयो । मुक्ति प्रधानले उहाँलाई होटलको त्यही कोठामा पुगेर भेट्नुभयो । 'झी पुचः' को कार्यक्रम सकिएको भोलिपल्टै बिहान ५ बजे त्यहाँबाट हिँड्ने तयारी गरियो ।

भोलि बिहानै उहाँहरू विराटनगर कटेर जोगबनी पुग्नुभयो । त्यहाँबाट अब कहाँ जाने हो, तुलाधरलाई थाहा थिएन । तथापि त्यहाँबाट रेल चढेर अर्को यात्रा सुरु गर्ने जानकारी उहाँलाई दिइएको थियो । योजनाअनुसार जोगबनी पुग्नेबित्तिकै जुन रेल आउने हो, त्यसैमा बसेर गन्तव्यतिर जानुपर्ने थियो । तर त्यो दिन के भएछ कुन्नि, उहाँहरू चढ्नुपर्ने रेल समयमा आइपुगेन । रेलको आगमन 'डिले' भएको रहेछ । उहाँहरू रेल स्टेसनमै कुरेर बसिरहनुभयो तर घन्टौँ कुर्दा पनि आइपुगेन । अहिले आउँछ, भरे आउँछ गर्दागर्दै ८ घन्टाको पट्यारलाग्दो पर्खाइपछि बल्ल रेल आइपुग्यो । त्यसमाथि गर्मीको समय । उहाँहरू त्यसै पनि थकित भइसक्नुभएको थियो । रेल आउनेबित्तिकै दायाँबायाँ केही नहेरी हतारमै भित्र पुग्ने प्रयास भयो । धकेलाधकेल गर्दै रेलभित्र छिर्नै लाग्दा पो होस आएछ, पद्‍मरत्‍नको त ब्रिफकेस नै गायब भइसकेको रहेछ । एकछिनअघि मात्रै रेल स्टेसनमा छाताजस्तो बनाइएको प्रतीक्षालयमा बसेर कुरा गरिरहँदासम्म ब्रिफकेस त्यहीँ थियो । रेल आउनेबित्तिकै जब चढ्न लागियो, ब्रिफकेस छैन । यता खोजियो, उता खोजियो । अहँ, ब्रिफकेस भेटिएन । त्यो त कसैले आश्चर्यजनक ढंगले नै चप्काइसकेको रहेछ । अब स्थिति कस्तो आइपर्‍यो भने ८ घन्टापछि बल्ल रेल आइपुगेको छ, त्यो रेल छुट्यो भने अर्को कहिले आउँछ, थाहा छैन । त्यस स्थितिमा रेल छाडेर ब्रिफकेस खोज्न जाउँ कि ब्रिफकेस त्यागेर रेलभित्र छिरुँ ! ब्रिफकेसमा उहाँको कपडालगायत अलिकति नगद पनि थियो । आखिर रेल हिँड्नै लागेकाले ब्रिफकेस माया मार्नुपर्ने भएछ ।

रेलभित्र उहाँहरूले बस्ने ठाउँचाहिँ राम्रै खाले पाउनुभएछ ।  सजिलो तर त्यही आरामदायी सिटले पुनः अर्को झन्झट निम्त्याउँदै छ भन्ने हेक्का भने उहाँहरूलाई कहाँ हुनु । दिनभरि रेल पर्खंदा-पर्खंदा लखतरान परेको जीउ आरामदायी कुर्सी पाउनेबित्तिकै भुसुक्कै निदाएछन् । रेल हिँड्दा बेलुकी अँध्यारै भइसकेको थियो । कता लग्यो, कता पुग्यो, त्यो

झ्यालबाट हेरेर थाहा पाउने स्थिति पनि थिएन । रेल कुदिरह्यो, उहाँहरू निदाइरहनुभयो । निद्रा खुल्दा पो झसंग भयो, रेल त पन्जाब पुगिसकेको रहेछ । जबकि उहाँहरू जानुपर्ने त लखनउसम्म मात्रै हो । अब रेल काठमाडौँमा कुद्ने कुनै बस त होइन, जो ढोकामा ढ्याप्प ठोकेपछि घ्याच्च रोकियोस् । धेरै टाढा पुगेर मात्रै रेल रोकियो । उहाँहरू हत्तपत्त बीचैमा ओर्लेर विपरीत दिशाबाट आइरहेको अर्को रेलमा झटपट चढिहाल्नुभयो । त्यो उल्टो दिशाको रेलमा चढेर बल्ल उहाँहरू लखनउ आइपुग्नुभयो । त्यतिबेलासम्म ढिलो भइसकेको थियो । दिनमा पुग्नुपर्ने मान्छे रातमा पुग्दै छन् । त्यति ढिलो पुग्दा पनि उहाँलाई भेट्न लखनउ आइपुगेका तत्कालीन माओवादीका शीर्षस्थ नेताद्वय क प्रचण्ड र डा भट्टराई भने पर्खेरै बसिरहनुभएको थियो । उहाँहरू एक दिनअघि नै त्यहाँ पुगिसक्नुभएको रहेछ । तुलाधरलाई नै भेट्न पर्खिरहनुभएको रहेछ ।

नेताद्वयसँग पद्‍मरत्‍नले धेरै लामो कुराकानी गर्नुभयो । उहाँहरूबीच करिब दिनभरिजस्तै संवाद चल्यो । कुराकानी सकाएर भोलिपल्ट उहाँ नेपालगन्ज हुँदै काठमाडौँ फर्किनुभयो ।

माओवादी नेता प्रचण्ड काठमाडौँ आउनुहुँदा पनि उहाँले भेट्ने पहिलो व्यक्ति पद्‍मरत्‍न तुलाधर नै हुनुहुन्थ्यो । तुलाधरपछि मात्रै अरूलाई भेट्न जानुहुन्थ्यो । एकपल्ट प्रचण्ड अचानक उहाँको घर पुग्नुभएको थियो । त्यो ०५४ सालको घटना हो । त्यतिबेला पार्टीले काठमाडौँ जिल्लाको जिम्मा सेक्रेटरी दिनेश शर्मालाई दिएको थियो । त्यसैले काठमाडौँ आएका अध्यक्ष प्रचण्डको सुरक्षाको जिम्मा पनि शर्माकै थियो । अध्यक्ष प्रचण्डले काठमाडौँ पुग्नेबित्तिकै पद्‍मरत्‍नतुलाधरलाई भेट्ने इच्छा जनाउनुभयो । त्यसबेला पनि आवश्यक सहयोग मुक्ति प्रधानले नै गर्नुभएको थियो । प्रधानले तुलाधरको घरमा पुगी 'दाइ, आज तपाईंलाई पार्टीको एक जना वरिष्ठ नेता भेट्न आउँदै छन्, कतै नजानुहोला' भनेर खबर गर्नुभयो । भेट्नलाई को आउँदै छन्, त्यो भने बताउनुभएन ।

त्यतिबेला प्रचण्ड काठमाडौँ आएर डिल्लीबजार, कालिकास्थानमा बस्नुभएको रहेछ । दिनेश शर्मा र मुक्ति प्रधानले प्रचण्डलाई त्यहीँदेखि एउटा कालो टेम्पुमा राखी तुलाधरको घर पुर्‍याउनुभयो । घरमा अचानक प्रचण्ड नै आइपुगेको देखेर तुलाधर चकित हुनुभयो । त्यहाँ पनि उहाँहरूबीच लामो कुराकानी भयो । तर प्रचण्ड घरमा बसिरहुन्जेल परिवारका अन्य सदस्य भने इन्तु न चिन्तु बनिरहेका थिए । कुराकानी सकाएर प्रचण्ड र्फकन लाग्दा अब उहाँ कसरी जानुहोला भनी हेर्न परिवारका सदस्य घरको छतमा उक्लेका थिए । प्रचण्ड घरबाट सरासर निस्केर बाटैमा रोकिएको एउटा ट्याक्सी चढी खुरुक्क हिँड्नुभएछ ।

राज्यको सम्पूर्ण सुरक्षा निकायले रात-दिन एक गरी खोजिरहेको मान्छे काठमाडौँजस्तो ठाउँमा त्यसरी खुलेआम हिँडे भनेर पनि तुलाधरले धेरै पटक प्रचण्डलाई गुनासो गर्नुभएको थियो । 

सुरेश किरण लिखित जीवनी पद्‍मरत्‍न तुलाधरबाट एक अंश । नेपाल भाषाको यो पुस्तकबाट प्रस्तुत अंश उनैले अनुवाद गरेका हुन् ।

प्रकाशित: कार्तिक १५, २०७६