एकपछि अर्को यौन विवादमा पूर्वमाओवादी अगुवा

  • नसुध्रिएका नेता

- माधव बस्नेत

घटना एक : १५ पुस ०५९ पछि र १० भदौ ०६० बीचको समय हो । तत्कालीन विद्रोही माओवादी र सरकार वार्तामा थिए । तर माओवादी भित्रभित्रै सैन्य शक्तिको जोगाडमा पनि लागिरहेको थियो । पश्चिमाञ्चल सैन्य कमान्डको ब्रिगेड कमान्डर थिए, हालका उपराष्ट्रपति नन्दबहादुर पुन उर्फ पासाङ । 

त्यो ब्रिगेडअन्तर्गत एउटा बटालियनको कमान्डर प्रभात थिए । उनलाई एक छापामार युवतीसँग यौन सम्बन्ध राखेको आरोप लाग्यो । पासाङ खरा कमान्डरका रूपमा चिनिन्थे । आफू मातहतको बटालियन कमान्डरले ‘अवैध यौन सम्बन्ध’ गाँसेको सुइँको पाएपछि पासाङले उनलाई भौतिक कारबाहीको चेतावनी दिए । 

त्यो चेतावनीपछि कारबाहीबाट बच्न प्रभात भागेर दाङको घोराही पुगे, उनले त्यहाँ पनि सुख पाएनन् । प्रभातको सफाया गर्न माओवादीले स्पेसल टास्क फोर्स (एसटीएफ) खटायो । त्यो टास्क फोर्सले घोराहीमै आएर प्रभातमाथि गोली दाग्यो । संयोगले उनी बाँचे । भदौ ०६० मा युद्धविराम भएपछि यिनै प्रभातलाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लियो र पत्रिका, टेलिभिजनमा माओवादीविरुद्ध बोल्न लगायो । 

घटना दुई : ०६० मा युद्धविराम भंग भइसकेपछि मुलुक संकटकालको भुंग्रोमा थियो । त्यस बेला देशभर माओवादीका सात बिग्रेड थिए । तिनलाई क्रमश: प्रथम, दोस्रो ब्रिगेड भनेर नामकरण गरिएको थियो । पूर्वी नेपालमा सातौँ बिग्रेड कार्यरत थियो । त्यो ब्रिगेड मातहतका एक छापामारले अर्को छापामार युवतीसँग यौन सम्बन्ध राख्दै गरेको भेटियो, राती सेन्ट्री परिवर्तन हुँदा । त्यसपछि ती युवालाई सोधपुछ गर्ने बहानामा नियन्त्रणमा लिएर ब्रिगेड कमिसारलाई समेत जानकारी नदिई राती नै सफाया गरियो ।

यी दुई प्रतिनिधि उदाहरण हुन्, जसले माओवादीभित्र यौन सम्बन्धबापत कस्तो नियति भोग्नुपर्थ्यो अर्थात् कतिसम्म कारबाही हुन्थ्यो भन्ने खुलाउँछन् । तत्कालीन एक बिग्रेड कमिसारका भनाइमा यौन सम्बन्धबापत ५–७ जनाभन्दा बढी फाँसीमा लट्काइएका छन् । भलै, यसमाथि अध्ययन हुन बाँकी रहेको उनी बताउँछन् । भन्छन्, “कार्यकर्ताले यौन सम्बन्ध राखे भनेर हिजो नेताहरू आफैँले भौतिक सफायासम्म गरे । तर तिनै नेताहरू एकपछि अर्को गरी त्यस्ता घटनाबाट बच्न सकेनन् । सांस्कृतिक चेतको स्तर यस्तै रहने हो भने यस्ता घटना अझै बढ्दै जाने सम्भावना छ ।”

संघीय संसद्को सचिवालयमा कार्यरत रोशनी शाहीले १३ असोज साँझ सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाइन् । त्यसकै भोलिपल्ट पार्टी सचिवालयको आग्रहमा महराले सभामुख पदबाट राजीनामा दिए । 

प्रहरी हिरासतमा रहेका महरामाथि यतिबेला बलात्कार आरोपमा छानबिन भइरहेको छ ।  महरा आफ्ना चार सन्तानबाट नातिनातिना भइसकेका हजुरबा हुन् । महरा प्रकरणपछि पूर्वमाओवादीभित्रको यौन सांस्कृतिक विचलनका घटना फेरि एक पटक सतहमा आएका छन् । यो किन पनि भने एक– प्रेमका साथ नै सही, कुनै महिलासँग यौन सम्बन्ध राखेको भेटेमा माओवादीले सयौँ नेता–कार्यकर्तालाई भौतिक सफायादेखि श्रम शिविरसम्मको कारबाही गरेका थिए । सोही कारण उनीहरूको राजनीतिक जीवन चौपट भएको छ । दुई– माओवादी नेताहरू प्रेम, विवाह र यौनमा एकनिष्ठता हुनुपर्छ भन्छन् । तीन– सांस्कृतिक आर्थिक, राजनीतिक रूपमा दुनियाँ बदल्ने नारा दिएर रक्तपातपूर्ण लडाइँमा संलग्न भएका थिए । तर दुनियाँ बदल्ने नारा दिएका माओवादीहरू स्वयं भने बदलिन सकेनन् । यसका अरू केही प्रतिनिधि उदाहरण हेरौँ :

सार्वजनिक बसभित्र युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पूर्वमाओवादीका पूर्वसभासद् योगेन्द्र घिसिङ २३ भदौ ०७६ मा पक्राउ परे । यात्रुको उजुरीपछि ललितपुरको एकान्तकुनाबाट प्रहरीले पूर्वसभासद् घिसिङलाई पक्राउ गर्‍यो । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भ्रातृ संगठन जनसांस्कृतिक महासंघ अध्यक्ष गणेश भण्डारी र संघमै आबद्ध संगीतकार–गीतकार चेतन सापकोटा साउन अन्तिम ०७३ को एक साँझ मित्रसँग ललितपुर झम्सिखेलको एक रेस्टुराँमा जमेका थिए । मदिराले मदहोश भण्डारी र सापकोटाद्वयलाई प्रायोजकले आफ्नै निवास पुर्‍याए । अन्तत: उनीहरूले सत्कार गरेर घरमा पुर्‍याउने मित्रकै परिवारमाथि बक्रदृष्टि राख्न पुगे । पारिवारिक प्रतिरोधपछि उनीहरू त्यहाँबाट बाहिरिए पनि घटना त्यत्तिकै सेलाएन ।

उनीहरूको हर्कतको उजुरी पार्टी नेतृत्वसम्म पुग्यो । यसपछि नेकपा (माओवादी केन्द्र) का तत्कालीन सांस्कृतिक विभाग इन्चार्ज तथा जनसांस्कृतिक महासंघका फ्र्याक्सन इन्चार्ज विश्वभक्त दुलाल ‘आहुति’ को नेतृत्वमा छानबिन समिति बन्यो । अध्यक्ष भण्डारीले महासंघको बैठक डाके । उनले बैठकमा लामै आत्मालोचना गरे । “सम्हाल्न कठिन हुने गरी मादक पदार्थचाहिँ पिएको हो । त्यसबाहेक मबाट अन्य कमजोरी भएको छैन । साथी (चेतन सापकोटा) गलत नियतले प्रस्तुत भएछन् । त्यसको दोष मलाई पनि आइलागेको हो,” तत्कालीन उपाध्यक्ष विष्णु भण्डारीका अनुसार आहुतिसमेत उपस्थित बैठकमा अध्यक्ष भण्डारीले भनेका थिए, ‘जनसांस्कृतिक महासंघ अध्यक्षको हैसियतले अलि बढी नै मादक पदार्थ पिउनु, त्यहाँ जानु मबाट कमजोरी भएकै हो । त्यसैले म महासंघ अध्यक्षबाट राजीनामा गर्छु ।’ 

राजीनामा दिए पनि त्यो लपेटाइले उनलाई खेद्न छाडेन । त्यही काण्डकै कारण उनी फेरि महासंघ अध्यक्ष हुन सकेनन् । उनको स्थान सरल सहयात्रीले लिए । त्यो घटनाअघि उनी तत्कालीन ७ नम्बर प्रदेशको मुख्यमन्त्री वा संघीय सांसदका दाबेदार थिए । सोही घटनामा मुछिएको बहानामै सही, प्रदेशसभादेखि संघीय संसद्सम्म उनले टिकट पाउन सकेनन् ।

०६४ को निर्वाचनमा पर्वत क्षेत्र नं २ बाट माओवादी नेता गुणाखर बस्यालले निर्वाचन जितेका थिए । यिनले पनि सांस्कृतिक रूपमा आफूलाई सचेत राखिरहन सकेनन् । उनी संविधानसभाको सभासद् पदमै बहाल थिए । काठमाडौँ नयाँ बसपार्कस्थित एक होटल सञ्चालिकासँगै पक्राउ परे । त्यसपछि उनी गुमनाम छन् । 

शान्ति प्रक्रियामा आएयता मात्र पनि यस्ता घटनाको फेहरिस्त लामो छ । माओवादीहरू आफूलाई ‘सांस्कृतिक र क्रान्तिकारी चेतले लैस भएको’ दाबी गर्छन् । उनीहरूको दस्तावेज नियाल्ने हो भने सांस्कृतिक क्रान्तिबिना राजनीतिक र आर्थिक क्रान्ति पूरा नहुने निष्कर्ष छ । तर यौनदेखि आर्थिक मामिलासम्मका एउटै प्रकृतिका घटनामा गोलचक्कर मारिरहेका छन् । पटक–पटक चुकिरहेका छन् । बारम्बार यस्तो विचलन किन देखा पर्छ त ?

पूर्वमाओवादी नेता एवं नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको विश्लेषणमा सांस्कृतिक रूपान्तरण निकै गम्भीर विषय हो । राजनीतिक, वैचारिक र दृष्टिकोणमा ठीक ढंगले अघि बढ्न नसकेपछि नेता होस् वा कार्यकर्ता, विचलनतिर फस्ने सापकोटा बताउँछन् । “यो त विचलनै हो । यसमा दुई मत छैन । तर हाम्रो पार्टीले विचलनबाट रूपान्तरणतिर लैजान मौका दिइरहन्छ,” सापकोटा भन्छन्, “अहिले विचार, राजनीतिक लाइन, मूल्य–मान्यता, आदर्शमा अलिकति कमजोरी हुन गएको छ । विचलन आएको छ । यौनजन्य कमजोरी, अरू आर्थिक, नैतिक, सांस्कृतिक मूल्य–मान्यतामा उत्रिन विचार चाहिन्छ । विचार र दृष्टिकोणमा आएको ह्रासले यस्ता घटना दोहोरिइरहेका छन् ।”

समाज परिवर्तनको प्रमुख आधार सांस्कृतिक रूपान्तरण हो । त्यो भनेको यौन मात्रै होइन । आनीबानी, चरित्र, सादगीपन, कार्यशैली यहीभित्र पर्छन् । तर यही मामिलामा माओवादीका वरिष्ठ नेतादेखि नेतृसम्म, लडाकु कमान्डरदेखि जनसांस्कृतिक योद्धासम्म कोही बाँकी रहेका छैनन् । वाम विश्लेषक श्याम श्रेष्ठको अनुभवमा कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक, आर्थिक क्रान्तिको कुरा निकै बोलियो । तर सांस्कृतिक रूपान्तरणको विषय खासै चलेन । त्यही कारण उनीहरूभित्रको ढोङ कुनै सामन्तको भन्दा कम छैन । त्यसमाथि नेपालको माओवादी आन्दोलनभित्र यौनसम्बन्धी सोच नै गलत छ ।

कतिपय सन्दर्भमा त प्रेम गर्नु नै गलत हो भन्नेसम्म छ । राजनीतिक क्रान्ति गर्न सबैभन्दा सजिलो छ । आर्थिक क्रान्ति अलि ढिलो हुन्छ । सबभन्दा ढिलो र कष्टसाध्य बाटोबाट हुने क्रान्ति सांस्कृतिक क्रान्ति हो । यसैमा भने कम्युनिस्टहरू, त्यसमा पनि माओवादी ‘स्कुलिङ’ सबैभन्दा पछुवा छ ।

चितवनको माडीमा ०४८ मंसिरमा भएको महाधिवेशनले जनयुद्धमा जानुपर्छ भनेर सैद्धान्तिक सहमति जनाएको थियो । त्यस महाधिवेशनमा सांस्कृतिक रूपान्तरणको प्रस्थानबिन्दु कस्तो हुने भनेर ठूलै बहस भएको थियो, जसमा प्रचण्डले वर्ग संघर्षको मैदानमा गएपछि मैदानले नै स्वत: बदल्छ भन्ने प्रतिवेदन पेस गरेका थिए । प्रचण्ड प्रतिवेदनमाथि श्याम श्रेष्ठले फरक मत राखेका थिए । उनले प्रतिवेदनमा लेखेका थिए, ‘वर्ग संघर्षको मैदानमा हेलिँदैमा स्वत: सांस्कृतिक चेत बदलिन सक्तैन । यसका लागि विशेष क्रान्ति गर्नुपर्छ ।’


यो पनि पढ्नुस्ः महरामाथिको अभियोग पत्र कति बलियो ?


श्रेष्ठका बुझाइमा यौन विचलनका सवालमा मात्र होइन, समग्र चिन्तन रूपान्तरणकै विषयमा माओवादीमा कच्चापन देखिन्छ । प्रचण्डको भैंसीपूजा होस् वा भ्रष्ट, डनहरूसँगको संगत पनि सांस्कृतिक बिचलन नै भएको श्रेष्ठको ठम्याइ छ । 

कम्युनिस्ट पार्टीका नेताहरू गाँजरजस्तो हुनुपर्नेमा उनीहरू रातो मुलाजस्ता अलिकति काटेर हेर्‍यो कि सबै सेतै सेतो भएकोमा श्रेष्ठ दुखेसो पोख्छन् । दृष्टिकोणमा अस्पष्टता भएकाले नेताहरूमा यस्तो समस्या देखिएको उनी बताउँछन् । “सांस्कृतिक क्रान्ति एक पटक थालेर हुँदैन । यसले व्यक्तिको स्वभाव, बानी बदल्नु पर्‍यो,” श्रेष्ठको कथन छ, “क्रान्तिका नायकहरू आफैँ प्रतिक्रान्तिका नायक भएर निस्कँदै छन् । के कति गर्न हुने ? कति नहुने अलिकति पनि ख्याल गरेका छैनन् । त्यसैले बारम्बार यस्ता समस्या दोहोरिएका हुन् ।”

रोचक संयोग

जनयुद्ध सुरु भएको १० महिना नबित्दै तत्कालीन पश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज रामबहादुर थापा ‘बादल’ र त्यही कमाण्डको सचिवालयमा कार्यरत पम्फा भुसाल ‘हिमाली’ बीचको यौन सम्बन्ध सार्वजनिक भयो । ०५३ पुसमा भारतको लखनउमा भएको पोलिटब्युरो बैठकमा बादल–हिमाली प्रकरण उत्कर्षतिर पुगिरहेको संकेत मिलेको थियो । 

जानकारहरूका अनुसार बादल–हिमाली सम्बन्ध छिप्पिन नपाउँदै ०५३ असारतिरै प्रचण्डलाई जानकारी दिइएको थियो । तर, उनले यस घटनालाई गम्भीर रूपमा लिएनन् । 

पूर्वमाओवादीका एक नेताका अनुसार जनयुद्ध सुरु नहुँदै ०५२ असोजमा गोरखाको धुवाँकोटमा बसेको केन्द्रीय कमिटी बैठकमा तत्कालीन महामन्त्री प्रचण्डलाई पार्टीभित्र र बाहिर स्थापित गर्नेबारे ठूलो बहस भएको थियो । त्यो बैठकमा मोहन वैद्य ‘किरण’ ले तत्काल प्रचण्डलाई पार्टी भित्र र बाहिर स्थापित गराउनुपर्ने अडान लिएका थिए । त्यस विपरीत बादल, सीपी गजुरेललगायतले वैद्य अडानको प्रतिवाद गरेका थिए । त्यही घटनाबाट प्रचण्ड बाल्यकालदेखिका साथी बादलसँग असन्तुष्ट बनेका थिए । त्यसैको बदलामा बादल–हिमाली प्रकरणलाई सुरुमै हस्तक्षेप नगरिएको माओवादी पंक्तिभित्र सुन्न पाइन्छ ।

यही मेसोमा हरिबोल गजुरेल र निरु दर्लामीबीचको यौन सम्बन्ध सार्वजनिक भयो ।

माओवादीले जनयुद्ध सुरु गरेपछि ‘यौन विचलन’ मा कारबाहीमा पर्ने तेस्रो पात्र हुन्, यानप्रसाद गौतम ‘आलोक’ । उनी हाल नेकपाको काभ्रे जिल्ला अध्यक्ष रहेकी आफ्नै साली रुकु चौलागाईंसँगको सम्बन्ध खुलेपछि कारबाहीमा परेका थिए । त्यसबेला उनी पूर्वी कमाण्ड इन्चार्ज थिए । 

जानकारहरूका दाबीमा पार्टीबाहिर प्रचण्डलाई स्थापित गराउने चर्चा चल्दासम्म पर्चा, पम्प्लेटहरूमा प्रचण्डको ‘कोटेसन’ राखिन्नथ्यो । पूर्वी कमाण्ड इन्चार्जका हैसियतले आलोकले पूर्वमा वितरण गरिएको एउटा पर्चामा आफ्नो नाममा ‘बलिदान क्रान्तिका लागि ऊर्जा हो’ हो भन्ने ‘कोटेसन’ राखे । त्यसपछि प्रचण्ड उनीसँग रुष्ट भएका थिए ।

आलोक प्रकरण पनि उत्कर्षतिर पुग्न नपाउँदै तत्कालीन नेता बाबुराम भट्टराईले नै पटक–पटक प्रचण्डलाई जानकारी गराएका थिए । तर, यस घटनालाई पनि प्रचण्डले विस्फोट नहुन्जेल गम्भीर रूपमा लिएनन् । कारबाहीमा राखिएकै बेला ०५८ बैशाखमा आलोक रोल्पाको गुराँसेमा सेनाको कारबाहीमा मारिए । आफूलाई स्थापित गराउन भूमिका खेल्नुपर्नेमा सोध्दै नसोधी पर्चामा ‘कोटेसन’ राखेकाले आलोकलाई बेलैमा सचेत गराउनबाट प्रचण्ड मौन बसेका थिए । 

स्रोतका अनुसार महरा–शाहीको ‘अनैतिक सम्बन्ध’ बारे रोल्पा–रुकुमका शीर्ष तहका नेताहरू मात्र होइन, जिल्ला तहका कार्यकर्तासमेत जानकार थिए । शाही स्वयंले पनि वर्षमान पुन र ओनसरी घर्तीलाई पहिले नै जानकारी गराइसकेको भनिसकेबाट पनि यसको पुष्टि हुन्छ । 

रोल्पा–रुकुमका नेताहरूलाई जानकारी हुनु भनेको त्यो प्रचण्डका कानमा नपुग्ने कुरै हुँदैन । तर, महरालाई समयमै सावधान नगराई प्रचण्डले किन जिम्मेवारीमाथि जिम्मेवारी थपे ? पूर्वमाओवादी नेताहरू नै अचम्ममा छन् । “महराको सम्बन्ध थाहा हुँदाहुँदै पनि किन मौनता साँधियो वा हुर्काएर राखियो ?” पूर्वमाओवादीका एक नेता प्रश्न गर्छन् । 

पूर्वएमाले स्कुलिङका नेकपाका एक स्थायी समिति सदस्यका भनाइमा माओवादी आन्दोलन विचारधारात्मक रूपमा प्रशिक्षित भएन । उनीहरूले जुनसुकै उपायबाट भए पनि छिटोभन्दा छिटो सत्ता प्राप्त गर्ने तरिका अपनाए, जसका लागि साध्य प्रमुख हो । साधन केही होइन, सत्ता प्राप्त गर्न जे साधन प्रयोग गरे पनि हुन्छ भन्ने ठाने । प्रतिक्रियावादविरुद्ध जस्तोसुकै संघर्षका रूप अपनाए पनि जायज हुने उनीहरूको बुझाइ थियो । “उनीहरूमा सत्ताका लागि लड्नेले जे गरे पनि हुन्छ भन्ने आइडियोलोजी बन्यो, जसले गर्दा सांस्कृतिक रूपान्तरण, सामाजिक, आर्थिक चीजहरू केही पनि होइन भन्ने ठाने,” ती स्थायी समिति सदस्य भन्छन्, “सांस्कृतिक, सामाजिक, नैतिक श्रेष्ठताले क्रान्ति हुन्छ । त्यसले ठूलो मूल्यांकन राखेको हुन्छ भन्ने नै भएन । यसैले पूर्वमाओवादीभित्र पटक–पटक यौन, आर्थिकलगायत विचलनका घटना भइहेका हुन् ।” 

हुन पनि माओवादीहरूको उत्तेजक नारा थियो– ‘क्रान्तिका लागि सशस्त्र संघर्ष एक मात्र बाटो हो । क्रान्तिका लागि सहिदको कोटा चुक्ता गर्नुपर्छ ।’ परिणाम– बन्दुक बोक्ने मात्र क्रान्तिकारी हो भन्ने छाप उनीहरूमा पर्‍यो । साथै बन्दुक बोकेपछि जे गरे पनि हुन्छ भन्ने मनोविज्ञान हाबी भयो । तर नारालाई थेग्न सक्ने गुण, चरित्र आचरण, क्षमता वृद्धि गर्नतिर माओवादीहरू लागेनन् । 

बन्दुक बोकेपछि कहाँ खाने, कहाँ सुत्ने, कोसँग कस्तो व्यवहार गर्ने ? कडीकडाउ मानक नै बनाइएन, जसले गर्दा परिस्थिति कस्तो भयो भने सबै जवान छन्, सँगै हिँडेका छन् । खाने बस्ने, सुत्ने टुंगो छैन अनि जे पनि हुने भयो ।

शान्ति प्रक्रियापछि माओवादी जब विजेताजस्तो भएर आयो, उनीहरूले आफूहरूको सांस्कृतिक रूपान्तरणको गति बदल्नुपर्छ भन्ने जरुरी नै ठानेनन् अर्थात् उनीहरू कहिल्यै सुध्रनै परेन । परिणाम, बहालवाला सभामुखले ‘बलात्कार प्रयास’ को आरोप खेप्नु परिरहेको छ । 

पूर्वमाओवादीका सांस्कृतिक विभाग प्रमुख एवं नेकपा स्थायी समिति सदस्य मणि थापाका बुझाइमा कम्युनिस्ट पार्टी नोकरशाही पार्टीमा रूपान्तरण भएपछि अति न्यून वर्गीयहरूले अति उच्च वर्गीय पद र आर्थिक हैसियत प्राप्त गरेपछि विचलन आउँछ । माओवादी जनयुद्ध जे उद्देश्यबाट सुरु भएको थियो, त्यो अर्कै ठाउँमा गएपछि यौनमा पनि एकनिष्ठताबाट बहुनिष्ठतालाई जायज ठहर्‍यायो । यसको वैचारिक रूपान्तरण खोजिएन । परिणाम, घटनाहरू दोहोरिइरहेका छन् । 

“कम्युनिस्ट आन्दोलनभित्र नैतिक चरित्रलाई पनि उच्च मूल्यांकनको आधार बनाइनु पर्छ । अनि मात्र समाजले प्रश्न उठाउने घटनाबाट नेताहरू सचेत हुन बाध्य हुन्छन्,” थापा भन्छन्, “महिलासम्बन्धी दृष्टिकोण स्पष्ट नभएकाले पनि शीर्ष नेताहरू नै मुछिएका यस्ता प्रकरण दोहोरिइरहेका छन् ।”

नेकपाका युवा नेता विशाल खड्का पार्टीभित्र वैचारिक लडाइ र शक्ति संघर्ष नमिल्दा ‘अनैतिक यौन सम्बन्ध’ तह लगाउने हतियार बनिरहेको बताउँछन् । “हाम्रो सांस्कृतिक स्तर कस्तो हुने, कुन कुरामा आफूले आफैँलाई निर्मम कसीमा राखिरहने भन्ने खुट्याउन नसक्दा यस्ता घटना भइरहेका छन्,” उनी भन्छन्, “यो पार्टीभित्र ठूलै रोगका रूपमा फैलिरहेको छ तर रोगलाई निको बनाउनतिर लाग्न विलम्ब हुँदै छ ।” अब नेताहरू यसको रोकथाममा लाग्छन् वा बेवास्ता गरिरहन्छन्, त्यो आगामी दिनमा देखिँदै जाला ।

प्रकाशित: कार्तिक १८, २०७६