काठमाडौँमा फैलिएको दुर्गन्धको वास्तविकता : रातिराति जलाइन्छ पशुका अङ्ग प्रत्यङ्ग

- यम बम

सोमबार राति काठमाडौँ उपत्यकामा अचानक चर्को दुर्गन्ध फैलियो । मासु पोलेको जस्तो दुर्गन्ध राति साढे १०/११ बजेतिर फैलिएको थियो । भक्तपुर, काठमाडौं र ललितपुर जिल्लाका विभिन्न ठाउँमा यस्तो गन्ध आएको भन्दै मानिसहरूले राति नै सामाजिक सञ्जालमा लेख्‍न थालिसकेका थिए । 

धेरैले भारतको राजधानी नयाँदिल्लीमा रहेको प्रदूषण हावाले उडाएर काठमाडौँ पुर्‍याएको लख काटे । कतिले सेकुवा पोलेको गन्ध पनि भने । ललितपुरको एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुल्चोक, कुमारीपाटी, सातदोबाटो, गाबहालका बासिन्दाहरूले राति अबेरसम्म पोलेको गन्ध आएको माइसन्सार ब्लगले लेखेको थियो । 

काठमाडौँको बुद्धनगर, धोबिखोला क्षेत्रका बासिन्दाले समेत गन्ध महसुस गरेपनि के को दुर्गन्ध हो राति यकिन भएन । मानिसहरूले यस विषयमा फेसबुकमा मात्र लेखेनन्, प्रहरीको आपतकालीन नम्बर १०० सहित अन्य नम्बरमा पनि फोन गर्न थाले । धेरै फोन आएपछि बल्ल प्रहरीले के भएको हो खोज्‍न थाल्यो ।

ललितपुर प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार वध गरिएका भैँसीको अङ्ग प्रत्यङ्ग नष्ट गर्ने क्रममा दुर्गन्ध फैलिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित नख्खुखोला छेउमा ठूलो मात्रामा हड्डी र कपाल जलाइरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय छन् । भारत घर भई ललितपुरको सुनाकोटी बस्दै आएका फेसल मुस्लिम र साजीत मुस्लिम तथा सुनाकोटीकै राजेश शर्पालाई प्रहरीले सोमबार राति नै पक्राउ गरेको हो । 

डीएसपी मिश्रले नेपालसँग भने, “ठूलो मात्रामा हड्डी र कपाल पोल्दा दुर्गन्ध फैलिएको रहेछ । धेरै ठाउँ दुर्गन्ध फैलिएकाले अन्यत्र पनि पोलेको हाम्रो अनुमान छ ।” सोमबार राति नै पक्राउ परेका उनीहरूविरुद्ध ललितपुर महानगरपालिकाले कारबाही अगाडि बढाएको छ । 

पहिलोपटक होइन

ललितपुर महानगरका प्रवक्ता एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जन तीन महिना अघि पनि रातिको समयमा मासु पोलेको जस्तो दुर्गन्ध फैलिएको बताउँछन् । 

बुद्धमार्ग युवा क्लबले ५–६ महिनादेखि टोलमा रातिको समयमा दुर्गन्ध फैलिने गरेको भन्दै नियन्त्रणको माग गरेको छ । सामुदायिक प्रहरी कार्यालयमा क्लबले पेश गरेको निवेदनमा ‘वन्यजन्तुको अङ्ग पोलेको अत्यन्तै असह्य दुर्गन्ध फैलिने गरेको र उक्त धुवाँको रुपमा फैलिएको दुर्गन्धले मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना गरेकाले छानबिन गरिदिन’ माग गरिएको छ । 

‘स्वच्छ वातावरणको हक’ लाई संविधानले मौलिक हकको रूपमा अङ्गीकार गरेको छ । नेपालको संविधानको धारा ३० (२) मा ‘ वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ उल्लेख छ ।

वातावरण संरक्षण ऐन अनुसार पनि सरकारी अधिकारीले छानबिन गरेर नोक्सानी पुर्‍याएको यकिन गरेर पीडकबाट पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने हुन्छ । तर नियमावली र कार्यविधि नभएकाले संविधानले अङ्गीकार गरेको प्रदूषणपीडितले क्षतिपूर्ति पाउने हक कार्यान्वयनमा आउन सकेको छैन । 

दैनिक निस्कन्छ ६० टन फोहोर 

काठमाडौँ उपत्यकामा पशुपन्छी वध गर्दा दैनिक ६० टन फोहर निस्कने सरकारी अनुमान छ । मासुका लागि तीन क्‍वीन्टल वजनको राँगो वध गर्दा कम्तिमा एक क्‍वीन्टल फोहोरको रूपमा निस्कने गरेको पशु वधशाला व्यवसायी संघका अध्यक्ष नवीन शर्मा बताउँछन् । तर वध गरेको पशुपन्छीको अङ्ग प्रत्यङ्ग तथा फोहर व्यवस्थापन गर्ने स्थानको अभाव रहेको उनी सुनाउँछन् । 

उपत्यकामा दैनिक ८०० राँगाभैंसी, एक हजार ५०० खसीबोका, सात हजार केजी कुखुरा, २०० बंगुर र करिब ७ हजार केजी माछा खपत भइरहेको पशु सेवा विभागको तथ्यांक छ । 

काठमाडौँ महानगरपालिकाले उपत्यकामा पशुपन्छी वध गर्न बन्दज लगाउने र माछामासु ल्याउँदा प्याक गरेर ल्याउनु पर्ने नीति अवलम्बन गर्ने घोषणा २०७२ मै गरेको थियो । तर यो घोषणा घोषणामै सीमित भयो । 

प्रकाशित: कार्तिक १९, २०७६