जम्मुदेखि काठमाडौँसम्म

  • स्मरण

- प्रीतम सिंह

भारत-पाकिस्तानको द्वन्द्वले दुई टुक्रा भएको छुट्टै राज्य जम्मु कश्मीरमा रहेको हाम्रो ट्रान्सपोर्ट व्यवसाय फस्टाउन सकेन । जम्मु कश्मीरको हिंसापछि लखनउमा खुलेको ट्रान्सपोर्ट व्यवसाय विस्तार गर्न म पहिलोपल्ट सन् १९५५ मा धनगढी क्षेत्रमा पर्ने निशानगढ आएको थिएँ । भारतीय ठेकेदारले काटेका रुख भारत लैजाने काम गरियो । धनगढीमा करिब ६ महिनासम्म काम गरेपछि म पुनः भारत शासित जम्मु कश्मीर फर्किएँ ।

भारत शासित जम्मु कश्मीरमै रहेको समय लखनउमा बिहेका लागि आएको थिएँ । विवाहस्थलमै भेटिएका एक साथीका बाबा गोपाल पेपर मिलमा काम गर्दा रहेछन् । पेपर मिलका लागि आवश्यक कच्चा पदार्थ पराल ल्याउन उनी कयौँचोटि नेपाल आएका रहेछन् ।

उनै साथीले भारतीय सेनाले गभर्मेन्ट अफ इन्डियाले नेपालको त्रिभुवन राजपथ निर्माण गरिरहेकाले त्यहाँ गएर काम गर्न सक्छौ भन्ने सुझाव दिए । किनभने नेपालको भौगर्भिक अवस्था जम्मु कश्मीरको जस्तै छ । साथीको सल्लाहबमोजिम बाबु (काआन सिंह) छोरा नेपाललाई ट्रान्सपोर्ट व्यवसायको गन्तव्य बनाउने लक्ष्य राखेर व्यापार बुझ्न त्यसै वर्ष काठमाडौँ आयौँ ।

काठमाडौँ आएर न्युरोड फोटो कन्सर्ननेरको एउटा होटलमा बसेका थियौँ । संयोगवश होटलबाहिर हिँडिरहेको समय मसँगै लखनउमा पाइलट कोर्स गरेका सहपाठी त्रिलोचन सिंहसँग भेट भयो । सिंह राजा महेन्द्रका पाइलट थिए । जिप चलाएर कामविशेषले न्युरोड आएका रहेछन् । पाइलट सिंहसँग नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारबारे छलफल चलायौँ, बाबुछोराले । त्यतिबेला नेपालमा व्यवस्थित ट्रान्सपोर्ट थिएन । राजा र राणाका केही साना गाडी मात्र चल्थे, उपत्यकामा । पाइलट सिंहले नेपालमा ट्रान्सपोर्ट व्यवसाय नाफामुखी हुने सुझाव दिए । उनैले राजा महेन्द्रसँग पनि हाम्रो भेट गराइदिए । भेटमा नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारबारे कुरा राख्यौँ । राजा महेन्द्रले नेपालमा ट्रान्सपोर्ट व्यवसाय गर्न आवश्यक प्रबन्ध मिलाइदिने आश्वासन दिए । 

त्यसपछि हामी आफ्नो घर भारत शासित कश्मीर फर्कियौँ । मचाहिँ जम्मु कश्मीरबाट लखनउ हान्निएँ । लखनउमा दाइसँगै सल्लाह गरेर हामी दुवै जना पहिलोपल्ट नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तार गर्न जम्मुबाटै तीन वटा ट्रक लिएर काठमाडौँ रवाना भयौँ ।

लखनउबाट नेपालको लुम्बिनीमा पर्ने सुनौली नाका नजिक पर्छ । तर त्यतिबेला महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग निर्माणको सुरसार थिएन । भारतले त्रिभुवन राजपथ निर्माण गर्दै थियो । रक्सौलसम्म सडक थिएन । हामीहरुले रक्सौल-अमलेखगन्जसम्म रेल यात्रा गर्‍यौँ र त्यसपछि अमलेखगन्जको बाटो हुँदै काठमाडौँ ट्रक ल्याउन करिब एक साता लाग्यो ।

काठमाडौँ-अमलेखगन्ज ट्रक चलाउन थाल्यौँ । सन् १९५९ मै नेपाल पब्लिक मोटर्स कम्पनी खोलेर ट्रान्सपोर्ट व्यवसाय व्यवस्थित बनाउने काम भयो । पहिले अमलेखगन्जसम्म रेलबाट ल्याइने तेल हामीले ट्यांक लरी किनेर सीधै काठमाडौँ ल्याउन थाल्यौँ । काठमाडौँ-वीरगन्ज सडक बनेपछि हामीले हामीले केही समय पेट्रोल, डिजेल बोक्न थाल्यौँ । हेटौँडाबाट काठमाडौँ कालीमाटीसम्म रोपवे निर्माण हुँदै थियो । रोपवेका लागि आवश्यक सामग्री पनि हाम्रै कम्पनीका ट्रकबाट ओसार्‍यौँ । ट्रान्सपोर्ट व्यवसाय विस्तार हुँदै गएपछि ट्रक, बस र ट्ंयाक लरीको संख्या बढायौँ । ३ वटा ट्रकबाट सुरु गरेको व्यवसाय करिब साढे ३ सयसम्म पुग्यो ।

त्यतिबेला नेपालमा सार्वजनिक यातायात व्यवस्थित भइसकेको थिएन । पछि बनेका काठमाडौँ-पोखरा, वीरगन्ज-बुटवल, धनगढी-नेपालगन्ज, सुनौली-पोखरा राजमार्गमा समेत ट्रकबाट मान्छे ओसारियो । नेपालका सरकारी संस्थान साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ, खाद्य संस्थान, सेनाको रासन, बन्दै गरेका अन्य सडकका लागि आवश्यक निर्माण सामग्री ओसार्ने जिम्मा समेत हाम्रै कम्पनीको थियो ।

नेपालमा ट्रान्सपोर्ट व्यवसाय फस्टाउँदै गएपछि तिनमा काम गर्ने दक्ष जनशक्ति पनि जम्मु कश्मीरबाटै ल्याउन थालेँ । मैले नै करिब १० हजारजति जनशक्ति जम्मु कश्मीरबाटै ल्याएँ । यसरी जम्मु कश्मीरबाट सुरु भएको ट्रान्सपोर्ट व्यवसायले नेपालमा फैलिने अवसर पाएको हो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: कार्तिक २१, २०७६

ट्याग: स्मरण