हिरासतमा मैले जे भोगेँ : र्‍यापर भिटेन

छाडा भनिएका शब्द राखेपछि गीत खत्रा हुन्छ र नराख्दा सभ्य भइन्छ भन्ने भ्रम पनि ममा छैन । मन नपर्नेले मेरो गीत नसुन्दा हुन्छ ।

- समीर घिसिङ ‘भिटेन’

रेकर्डिङको तयारी चल्दै थियो, मेरो म्यानेजरसँग चार नयाँ मान्छेहरू स्टुडियो भित्र छिरे । म्यानेजरको मुहारमा खुसी थिएन । मैले अपरिचिततिर फर्केर सोधेँ, ‘तपाईंहरू को हो ?’ म्यानेजरले जवाफ दिए, ‘उहाँहरू पुलिस ।’

‘पुलिस...’ भन्नासाथ मनमा चिसो नपसेको होइन तर कति कन्सर्टमा जाँदा हिलोमा नटेकोस् भनेर प्रहरीले मलाई बोकेका छन्, भीडबाट जोगाएका छन् । त्यसैले उनीहरूसँग असाध्यै नरम भएर प्रस्तुत भएँ ।

सुरुमा ‘हामीलाई केही फोन नम्बर चाहिएको छ’ भने । मैले कसको हो भनेर सोधेँ । त्यसपछि उनीहरूले कुरा अन्तै मोड्दै भने, ‘सोधपुछ गर्नु छ, हामीसँग हिँड्नुस् ।’ प्रहरीले जाऔँ भनेपछि म कसरी नाइँ भन्नु ! मैले ज्याकेट लगाउन खोजेँ तर लगाउन दिइएन । अर्को कोठामा बुबा हुनुहुन्थ्यो तर उहाँलाई पनि केही भन्न पाइनँ । स्टुडियोबाट छिटो निकाल्न खोज्दै थिए ।

कात्तिक सात गते बिहान ९ बजेको कुरा हो यो ।

स्टुडियोबाहिर सेतो जिप रोकेको रहेछ । मैले कुनै गल्ती गरेको थिइनँ । त्यसैले त्यतिबेला डर लागेको थिएन । अघिसम्म ‘तपाईं’ भन्दै गरेका उनीहरूले गाडीभित्र पस्नासाथ एक्कासि ‘तँ’ भन्न थाले । बोल्ने शैली पनि रुखो र ठाडो हुन थाल्यो । छाडा शब्द बोल्न थाले । त्यस्तो गीत किन गाएको भनेर हप्काउन थाले । म हिप–हपबारे बुझाउन खोज्दा सुन्नै नचाहेनन्, गाली गरिहाले ।

त्यस्तैमा एउटाले मेरो कानलाई समेत छुने गरी घाँटीमा झड्याम्म हान्यो । म रन्थनिएँ, शरीर तात्यो । मुन्टो निहुर्‍याउनुबाहेक मैले केही गर्न सक्ने थिइनँ । त्यसपछि मैले प्रहरीको ड्रेस लगाएर चुरोट तान्दै गरेको फोटोको कुरा निकाले ।

त्यो फोटोको आफ्नै कथा छ ।

मैले ‘मापसे...’ भन्ने गीत गाएको छु, युट्युबमा त्यसको अडियो सार्वजनिक भइसकेको छ । हामीले त्यसकै भिडियो बनाउन चितवनमा सुट गरेका थियौँ, फुटेज सम्पादनमै छ, घरको ल्यापटपमा त्यो फोटो देखेँ, मेरो ‘स्वाग’ दामी लाग्यो । त्यसपछि अरु भाइहरूलाई देखाएँ, उनीहरूले पनि ‘बबाल छ, बबाल’ भने । पिक्चर क्वालिटीमा पनि राम्रो थियो । त्यही भएर भिडियो रिलिज नगर्दै फेसबुकमा त्यो फोटो हालिदिएँ । मेरो ‘गल्ती’ त्यत्ति हो । प्रोडक्सन म्यानेजरले स्वीकृति लिएरै ड्रेस ल्याएको भन्थ्यो । मलाई मन परेर अपलोड गरेको थिएँ, कसैलाई ‘हर्ट’ गर्ने चाहना थिएन तर प्रहरीलाई त्यही निहुँ भयो । अहिले सोच्दा, त्यो फोटो त्यसरी सार्वजनिक नगरेको भए हुन्थ्यो भन्ने लाग्छ ।

तर त्यो पिटाइ खानुपर्ने, दुर्व्यवहार सहनुपर्ने र पक्राउ नै गर्नुपर्ने अपराध थियो र ?

झम्सिखेलबाट मलाई टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा लगियो । त्यहाँ त्यो अफिस छ, त्यसले के गर्छ, केही थाहा थिएन । त्यहाँ बारम्बार सोधियो, ‘त्यस्तो गीत किन गाएको ?’ म बुझाउन खोज्थे तर कसले सुन्ने ? मेरो मोबाइल पनि खोसियो, कसैलाई सम्पर्क गर्न दिइएन । त्यहाँको चालढाल हेर्दा लाग्थ्यो, उनीहरूले खत्रै अपराधी समातेर ठूलै उपलब्धि पाएका छन् ।

तर मलाई किन ल्याइएको हो भन्ने ठोस कारण अझ भनेका थिएनन् । म सोध्थेँ, चुप लाग् भनेर थर्काउथे । त्यसपछि चारैतिर फर्काएर मेरो फोटो खिचियो । फसाउन पो खोज्दै छन् किजस्तो लाग्न थाल्यो । कसैलाई भेट्न पनि दिइएको थिएन । 

एकछिन पछि प्रहरीकै भ्यानमा चढाए, वीर अस्पताल पुगेपछि लाग्यो, ‘मेडिकल चेक’ गर्न ल्याएका हुन् । डाक्टरले मानसिक अवस्था र रोगबारे सोधे तर रगत वा अरु केही परीक्षण गरिएन । ‘सब ठीक छ’ भनेर फेरि टेकु लगियो तर त्यहाँको अवस्था सोचभन्दा भिन्न रहेछ ।

क्यामेरा बोकेर टन्नै पत्रकार पुगिसकेका रहेछन् । त्यसैले मलाई भ्यानभित्रै राखियो, सिसा पनि खोल्न दिएनन् । मास्क लगा भन्दै थिए, मैले मानिनँ । बिहान चियाबाहेक केही खाएको थिइनँ । त्यतिबेलासम्म १ बजिसकेको थियो तर पानीसमेत खान पाइनँ । डर, भोक र तनावले सताउन थाल्यो । 

बल्ल–तल्ल अफिसभित्र लगे, तीन चार पन्ना अगाडि सारेर ‘साइन’ गर् र ल्याप्चे लगा भने । मैले पढ्न खोजेँ तर ‘बढ्ता हुन्छस्, खुरुक्क गर्’ भन्दै थर्काए । नपढी साइन गर्नुहुन्न भन्ने त थाहा थियो नि ! तर त्यस्तो बेला ‘नाइँ’ भन्दा अझ दु:ख देलान् भन्ने डर लाग्दोरहेछ । त्यसैले उनीहरूले भनेजस्तै गर्नुको विकल्पै नहुने । साइन गरेपछि त्यसमा के लेखिएको होला भनेर अति चिन्ता लाग्यो । नरम भएर सोधेँ तर अहँ, मरिगए भन्दैनन्, उल्टै गाली गरे । 

भोलिपल्ट मेरो रेकर्डिङ थियो, अर्को दिन महेन्द्रनगरमा कन्सर्ट थियो । त्यसैले जसरी हुन्छ, त्यही दिन घर फर्कनु थियो । मैले एउटा प्रहरीलाई सबै कुरा भनेँ, उसले ‘ल ल, आज बेलुका छुट्छस् तर अहिले अन्तै जानुपर्ने भयो’ भन्दै फेरि भ्यानमा राखे । त्यतिबेलासम्म पनि परिवार र आफन्तसँग सम्पर्क भएको थिएन, पत्तै नदिई ‘गायब’ पो बनाउलान् किजस्तो अनेक तर्कना मनमा खेल्न थाल्यो । तर जाउलाखेलको प्रहरी कार्यालय लगिएको रहेछ । त्यहाँ मजस्तै समातिएका अरु १२ जना रहेछन् । एकजना चिनियाँबाहेक सबैले मलाई चिने, उनीहरूले मेरो नाम लिएर खुसी हुँदै बोलेको देख्दा प्रहरी छक्क पर्थे । 

एकछिन पछि फेरि भ्यान चढाइयो, कोठाभित्र लगेर राखियो, झ्याल पनि बन्द थियो तैपनि ‘मेरो मान्छे कोही आयो कि’ भनेर आँखा तन्काई–तन्काई हेर्थे, केही देखिनन्थ्यो । म कहाँ छु, मलाई नै थाहा थिएन । बाहिर अरु बोलेको सुनेपछि थाहा भयो, त्यो ललितपुरको सीडीओ कार्यालय रहेछ । त्यहाँ पनि कागजमा साइन गर्न भनियो, पढ्न मागेँ तर थर्काउँदै जबर्जस्ती साइन गराइयो ।

प्रहरी कार्यालय फर्केपछि बल्ल बुबासँग भेट भयो, उहाँले खाना र ओढ्ने–ओछ्याउने ल्याउनु भएको रहेछ । कपडा देखेपछि ‘लौ यहीँ पो राख्ने रहेछन्’ भनेर डर लाग्यो । अघि आज घर जान पाउँछस् भन्ने प्रहरी त्यहाँ थिएनन् । कसलाई के भन्नु ? बुबाबाटै थाहा भयो, अघि मलाई साइन गर्न लगाएको कागज म्याद थपको रहेछ । 

हिरासत कक्ष लगेपछि मेरो दिमागमा पुराना दिनहरू खेल्न थाले । 

म सानैमा काठमाडौँ आएँ । खान–बस्नै संकट थियो । थाङका पेन्टिङ गर्थें । त्यहाँ दाइहरू ‘भगवान्’ का कथाहरू सुनाउँथे, आध्यामिक र दार्शनिक कुराहरू हुन्थ्यो, भक्तिगानसँगै ‘भगवान्’ कै चित्र कुद्थ्यौँ । क्या ! आनन्द लाग्थ्यो । संसारमा खुसी मात्र देख्थेँ तर मेरो सपना यता र्‍यापमा थियो । र्‍यापमा राम्रो हुँदै गएपछि ती दाइहरू संगत छुट्यो, अध्यात्म र धर्म छुट्यो ।

हिरासतमा बस्दाको त्यही पल आभास भयो, ‘म त दु:खमा आत्तिन पो थालेछु ।’ त्यसैले ‘भगवान्’ का कथा र ज्ञानहरू सम्झँदै आफूलाई दरो बनाउन खोज्थेँ । त्यही बेला प्रहरीले हेपेर भन्थ्यो, ‘ल र्‍याप हान त ।’ अपमान सबैलाई असह्य हुन्छ, भावना र इमानदारीमा बाँच्ने भएकाले होला, कलाकारलाई अझ चोट पर्छ । तर त्यति बेला मसँग सहनु सिवाय के गर्न सक्थेँ र ? भोलि के होला भन्ने चिन्ताले रातभर निदाउन सकिनँ ।

मेरो बुबा रौतहटमै हुनुहुन्थ्यो, एक हप्ताअगाडि मात्र मैसँग बस्ने गरी काठमाडौँ आउनु भएको थियो । गाडी चलाउनु हुन्छ । प्रहरी र शक्तिवालाहरूसँग हाम्रो पहुँच शून्य छ । त्यसैले छोरो छोडिदिनु भनेर प्रहरीको सामु हात जोर्नुको विकल्प थिएन, बुबासँग । सुरुमा म गल्ती नगरेकाले माफी माग्दिनँ भन्नेमा दृढ थिएँ तर त्यही सडिनुपर्ने संकेत देखेपछि मेरो स्वाभिमान डगमगायो । बल्लतल्ल भोलिपल्ट बिहान भयो । धेरै डर र थोरै आशासँगै दिन सुरु भयो । 

नाम याद भएन तर ठूलै पदको प्रहरी हुनुपर्छ, उहाँसँग भेटेपछि मन हल्का भयो । उहाँले आफ्नै सन्तानझैँ मलाई सम्झाउनु भयो तर उहाँले पनि हिप–हपको मर्मचाहिँ बुझ्नुभएको रहेनछ । जनरा नै गलत होजस्तो भन्नुहुन्थ्यो, चित्त नबुझे पनि चुप बस्थेँ । त्यतिबेला मैले जम्मा एउटा शब्द भन्थेँ, ‘सरी’ ।

कुरा गर्दै गएपछि प्रहरीको हाकिमलाई म राम्रै लागेछ क्यारे, उहाँ अझ नरम हुनुभयो । सायद बुबाले बिन्ती गर्नुभएको हुँदो हो । भनेको समयमा उपस्थित हुने सर्तमा मलाई शुक्रबार साँझ छोडियो । मोबाइल नभएकाले बाहिर कस्तो माहोल छ, अनविज्ञ थिएँ । इन्टरनेट चलाउन पाएको भए मलाई आँट आउने रहेछ । मिडिया र फेसबुकहरूमा मेरो पक्राउको विरोध भएको कुरा छुटेपछि मात्र थाहा भयो । यही केसका कारण पहिल्यै तय भइसकेका पाँच कन्सर्टहरू गर्न नसक्दा निकै दुखी छु । 

अब मलाई दुईचार कुराहरू भन्नु छ ।

प्रहरीको कुरा सुन्दा लाग्थ्यो, विकृति जति सबै मेरै गीतले ल्याएको हो तर म हिजो पनि निश्चिन्त थिएँ, आज पनि छु, मैले कहिल्यै हिट हुन वा अरु कुनै नियतले छाडा भनिएका शब्दहरू हालेको छैन, लेख्दै जाँदा जस्तो भावना आउँथ्यो, त्यस्तै गाउँथेँ । त्यस्ता शब्द राखेपछि गीत खत्रा हुन्छ र नराख्दा सभ्य भइन्छ भन्ने भ्रम पनि छैन । मन नपर्नेले मेरो गीत नसुन्दा हुन्छ ।

हामी इन्टरनेटबाट आएका हौँ । इन्टरनेट भनेको नेपाली, भारतीय वा अरु कुनै बाँधिएको समाज होइन, संसार हो । मेरो गीत नेपाली मात्र होइन, संसारका लागि हो तर इन्टरनेटको व्यापकता नबुझी विकृति रोक्ने नाममा सरकार कलाकारमाथि बन्देज लगाउँदै छ, म त्यही प्रवृत्तिको सिकार भएँ ।

हिजो गीत गाउन सुरु गर्दा यस्तो हिट भइएला भन्ने सोचेकै थिइनँ, आफ्नो आक्रोश र भोगाइ पोखेको मात्र थिएँ तर लाखौँ अडियन्सको माया पाइयो, यो खुसी हुने कुरा हो तर २२ वर्षमा हिँड्दै गरेको केटाले सबै कुरा म्यानेज गर्न र सामान्य बनाउन नसक्दो रहेछ । ‘सिमसिमे पानी...’ गीतको लफडामा फसेँ । गल्ती केही थिएन तर पोखरामा कन्सर्ट गर्दागर्दै स्टेजमै मलाई ढुंगा हानियो । यो घटनाले मलाई असाध्यै विचलित बनायो । राम्रो गर्न खोज्दाखोज्दै अरुले घोचेपछि मलाई सहन गाह्रो भयो, त्यसैले आँखामुनि र घाँटीमा ‘सुसाइड साइन’ ट्याटु खोपेँ । यसको मतलब हो, ‘मेरो इमानदारीले आत्महत्या गरिसक्यो ।’ 

यो पक्राउले मेरो ट्याटु अझ सान्दर्भिक बनाएको छ तर म कलाकार परेँ, मेरो आक्रोश पोख्ने माध्यम गीत हो, ‘हेटर्स’ को मुखमा बुजो लगाउने र माया गर्नेलाई मप्रति गौरवान्वित बनाउने पनि गीतले नै हो । यत्ति भनेपछि अबको मेरो पाइला कसरी अगाडि बढ्छ, भनिरहनु नपर्ला ।


(कुराकानी : गोकर्ण गौतम)

यो पनि पढ्नुस्ः 

हामी यस्तै त हो नि ब्रो...

गिरफ्तार र्‍यापर भिटेनका १० रोचक तथ्य

प्रकाशित: कार्तिक २१, २०७६