रुप ज्योतिलाई पैसा उठाएर घर नदिएको अभियोग

- नेपाल संवाददाता

धर्के सर्ट । त्यसमाथ स्विटर । धार निकालिएको पाइन्ट । सोही गेटअपमा सिंगापुरबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए, पूर्वअर्थसहायकमन्त्री रूप ज्योति, २१ कात्तिक साँझ ।

प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहका उपाध्यक्ष रूप ज्योतिलाई लिन उनको निजी गाडीसमेत विमानस्थलमा तैनाथ थियो । तर विडम्बना ! उनी आफ्नो गाडीमा होइन, प्रहरीको गाडीमा बस्नुपर्‍यो । कारण, झन्डै साढे एक करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्रन महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोली विमानस्थल पुगिसकेको थियो । पार्किङ क्षेत्रमा पुग्नासाथै छोरी सुरुचिसहित रूप ज्योतिलाई प्रहरीले गिरफ्तार गरेर हिरासत पुर्‍यायो । 

ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा रकम उठाएर घर नदिएको भन्दै विज्ञेन्द्रकृष्ण मल्लले रूप ज्योतिसहित ११ जनाविरुद्ध काठमाडौँ परिसरमा उजुरी दिएका थिए ।

०७१ मा ज्योति समूहको हाउजिङ कम्पनीलाई मल्लले १ करोड ३६ लाख रुपैयाँ दिएका थिए । पैसा लिएर घर नदिएपछि रूप ज्योति पक्राउमा परेका हुन् । उजुरीपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग्दै मुद्दा दर्ता गर्‍यो । 

अदालतले २० मंसिर ०७५ मा पक्राउ पुर्जी जारी गरेको थियो । तर रूप ज्योति बच्ने बाटो खोज्दै रिटमार्फत सर्वोच्च अदालत पुगे । सर्वोच्चले एक वर्षपछि जिल्लाको आदेश सदर गरिदिएपछि ज्योति पक्राउ परेका हुन् ।

२२ कात्तिकमा जिल्ला अदालतबाट तीन दिने म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउँछन् । रूप ज्योति राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थसहायकमन्त्री थिए । 

प्रकाशित: कार्तिक २२, २०७६