१९७४ एडी को पुनर्जन्म

  • रङ

- गोकर्ण गौतम

मान्छेको जीवन, विचित्र अनौठो

कथाहरुको संगम हो

यसमा तिमी पनि छौ, म पनि छु

तिमी कता म कता, सबै कता-कता

भाग्यले जुरायो, समयले बोलायो

सबैको भावनालाई, एकै साथ ब्युँझायो

चार महिनाअघि यी शब्द लेख्दा अमेरिकामा थिए, फिरोज स्याङ्देन । उतिखेरै नेपाल आउन चाहन्थे तर चाँजोपाँजो मिलेन । त्यसैले शब्दमै सही, भावना पोखिहाले । त्यो यादगार क्षण थियो, १९७४ एडीको 'रियुनियन' । यता, एडि्रयन प्रधान, निराकार याक्थुङ्बा, मनोज केसी र सञ्जय श्रेष्ठ ब्यान्डको नयाँ यात्राका लागि एक हुँदै थिए । उता, फिरोज ब्यान्डकै उतारचढावलाई कागजमा कोर्दै थिए ।

केही समयपछि फिरोज नेपाल आए, गीत रेकर्ड भयो र ब्यान्डको नयाँ एल्बम 'निरन्तरता' मार्फत बजारमा आइसकेको छ । यो चार महिनामा उनीहरुले अरु आठ गीत रेकर्ड गरे, जसमध्ये दुइटा पछिका लागि साँचेका छन्, सात वटा 'निरन्तरता' मा छ । झम्सिखेलस्थित ब्यान्डको अभ्यास कक्षमा भेटिएका निराकार भन्दै थिए, "पहिले-पहिले एउटा एल्बम तयार पार्न चार-पाँच वर्ष लाग्थ्यो तर यस पटक लामो समयपछि सँगै काम गरेकाले हुनुपर्छ, ऊर्जाको बाँध फुट्यो ।" उनका अनुसार यस एल्बममा यस्ता गीत छन्, जुन १९७४ एडीबाट श्रोताले अपेक्षा राख्छन् । अर्थात्, ब्यान्डको मौलिक स्वादका सिर्जना ।

नेपालमा यस्तो एउटा पुस्ता छ, जो १९७४ एडीको गीत सुन्दै हुर्कियो । रक-पप पारखीको त ढुकढुकी नै हो, यो समूह । फोक, ज्याज, फंक, रेगे र ब्लुजहरु पनि गाए । १३ एल्बम निकाले, देश-विदेशमा सयौँ कन्सर्ट गरे । तर चार वर्षअघि ब्यान्डले 'ट्रयाजिडी' भोग्यो, लिड भोकलिस्ट एड्रियन अलग भए । उनी आफैँ निक्लिए या ब्यान्डले निकाल्यो, स्पष्ट भएन तर फ्यान निराश भए । सामाजिक सन्जालमा व्यक्त प्रतिक्रियाको आशय एउटै हुन्थ्यो, 'न एड्रियन बिना ब्यान्ड पूर्ण हुन्छ, न त ब्यान्डबिना एड्रियन।' सन् २००९ मा भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन अमेरिका जाँदा फ्यानको मन पोलेको थियो, एड्रियन पनि बाहिरिएपछि घाउमा नुनचुक छरेझैँ भइहाल्यो ।

पाँच वर्षको छटपटीपछि ब्यान्डले सन् १९९८ मा स्थापना हुँदाकै लाइनअप पाएको छ । त्यो भनेको, एड्रियन ड्रम र भोकल, फिरोज गिटार र भोकल, निराकार र मनोज गिटार अनि सञ्जय पर्कसन (मादल, धिमे, तबला आदि) । अहिले सँगै गाउँदा सुरुआती दिन सम्झन्छन्, कहिले भावुक हुन्छन्, कहिले रमाउँछन्, आफ्नोपन र आत्मीयता महसुस गर्छन् । एड्रियन भन्छन्, "हामी छुटिँदा फ्यानहरु बुबा-आमा डिभोर्स भएका सन्तानझैँ दुःखी थिए । अहिले बुबा-आमा फेरि मिलेझैँ खुसी भएका छन् । यो प्रेमले हामीमा ऊर्जा र उत्साह थपेको छ ।" शिखर चुमेको ब्यान्ड किन टुक्रियो ? अहिले किन मिल्यो ? निराकारसँग यसको जवाफ छ, "समयले मिलायो, समयले छुटायो ।" त्यसो भए, त्यो समय र परिस्थिति कस्तो थियो ?

ब्यान्डका सुरुआती सदस्य हुन्, फिरोज र निराकार । उनीहरुले हिट हुन ब्यान्ड खोलेकै थिएनन् । आफ्नो धित मर्ने गीत गाउने उद्देश्य मात्र थियो, पछि एड्रियन र मनोज थपिए । उस्तै शैलीका गीत सुन्दा-सुन्दा वाक्क भएका श्रोतालाई यो ब्यान्डले हुरुक्कै बनायो । पहिलो एल्बम सम्झी बस्छुका १३ वटै गीत रुचाइए, 'परेलीमा...', 'छुँदैन तिम्रो मायाले...' आदि-आदि । कन्सर्टबाट अफर आउन थाल्यो तर त्यति होइन, जति उनीहरुका गीत हिट थिए । कारण, ब्यान्डमा धेरै सदस्य हुने भएकाले व्यवस्थापन गर्न आयोजकलाई थोरै असहज हुन्थ्यो, त्यसैले सोलो गायक नै बोलाइन्थे । यहीबीच एड्रियनले आफ्नो व्यक्तिगत करिअर पनि सुरु गरे । कारण यसरी सुनाउँछन्, "ब्यान्डको कमाइले मात्र जीवन चलाउन धौ-धौ भयो, त्यसैले ब्यान्डलाई असर नपर्ने गरी एक्लै गाउनुको विकल्प भएन ।"  ब्यान्डमा तुषको बीजारोपण यहीँबाट भयो ।

असमझदारी पाखा लगाउँदै ब्यान्डले एल्बम निकालिरह्यो, गीत लोकप्रिय भइरहे, कन्सर्ट गरिरहे तर बाहिर ब्यान्डको जति चर्चा हुन्थ्यो, भित्री एकता त्यति बलियो थिएन । मनोज सम्झन्छन्, "पारिवारिक दायित्व बढ्दै गयो तर गीत चल्दा पनि ब्यान्डले प्रतिफल दिन सकेन । त्यसैले ब्यान्ड खुकुलो हुँदै गयो, कता-कता मियो नभएजस्तै ।" आर्थिक उन्नति नभएकै कारण फिरोज अमेरिका जानुपर्‍यो । उनी गायक मात्र थिएनन्, असली सर्जक पनि थिए । उनको अभाव पूर्ति गर्न ब्यान्डलाई असाध्यै मुस्किल भयो, गायन एड्रियनले मात्र धान्नुपर्‍यो, ड्रम छाडेर गिटार बजाउनुपर्‍यो । एड्रियनलाई लाग्दो रहेछ, गीतको गुणस्तर यहीँबाट खस्कन गयो । त्यसको प्रमाण हो, फिरोजबिना निकालेको आठ अठार एल्बम । निराकार स्वीकार्छन्, "फिरोजको अनुपस्थितिले एल्बम औपचारिकतामा मात्र सीमित भयो, श्रोतालाई रिझाउन सकेनौँ, हामीलाई पनि मज्जा भएन ।"

फ्यानको अपेक्षा र प्रेमको चाङ यति अग्लो थियो, ब्यान्डले विश्राम लिने अवस्थै थिएन । तर ब्यान्डभित्रको कलह र असन्तुष्टि बढ्दै थियो । एड्रियनले समय दिन नसक्दा कति कन्सर्ट गर्न पाएनन् । सोलो करिअरले पनि गति लिएकाले ब्यान्डलाई पूरै समय दिन सक्ने स्थितिमा एड्रियन थिएनन् । एड्रियन भन्छन्, "सँगै बस्दै जाँदा हामीमा प्रतिशोध जन्मियो, त्यसलाई निराकरण गर्न सकेनौँ, जसले विछोड निम्त्यायो ।" त्यसपछि ब्यान्डमा भित्रिए तीन नयाँ सदस्य, भोकलिस्टद्वय रोहित जोन क्षत्री र प्रज्ज्वल मुखिया अनि टम्बोन वादन प्रतीक बानियाँ । यो नयाँ लाइनअपलाई पुरानै गति दिन ब्यान्ड जोडतोडले लाग्यो । हजार सपना एल्बम निकाले तर यसको हालत आठ अठारभन्दा भिन्न रहेन । कन्सर्ट पनि गरे तर ब्यान्डको 'सिग्नेचर' स्वाद पस्कन नसकेको आभास हुन थाल्यो । मनोज भन्छन्, "तर अगाडि बढ्नुको विकल्प थिएन हामी सँगै बढिरह्यौ तर सन्तुष्टि मिलिरहेको थियो, केही छुटेको महसुस हुन्थ्यो ।"

एड्रियनले पनि ब्यान्डलाई खुब 'मिस' गरिरहेका थिए । जहाँ जान्थे, एउटै सामना गर्नुपथ्र्यो, 'ब्यान्ड किन छाडेको ?, अब कहिले र्फकने ?' फिरोज अमेरिकाबाट फर्किएर उनीहरुले एकसाथ कन्सर्ट गरे तर मन भरिएन । एड्रियनको ब्यान्डसँग सम्पर्क टुटेको चार वर्ष भइसकेको थियो । भन्छन्, "नढाँटीभन्दा त्यस अवधिमा हामीबीच हाईहेल्लो पनि भएन ।" तर एउटा इभेन्टमा निराकारसँग संयोगले भेट भयो । एकअर्काको कमजोरी र नहुँदाको पीडा सेयर गरे । दुवै निष्कर्षमा पुगे, 'हामी फेरि मिल्नुपर्छ र त्यसले मात्र ब्यान्ड ब्रान्ड जोगिन्छ ।' निराकार भन्छन्, "त्यही भेटपछि हामीले रियुनियनका लागि गृहकार्य गर्‍यौँ । मुख्य कुरा, पहिले ब्यान्डको व्यवस्थापक नभएर डाँवाडोल भएको रहेछ । त्यसैले अब व्यवस्थित र व्यावसायिक ढंगले अगाडि बढ्ने योजना बनायौँ ।"

यो खबर सुनेपछि अमेरिकामा रहेका फिरोज पनि फुरुंग भए । ब्यान्डका भोकलिस्ट रोहितले एकल गायनमै भविष्य देखे, सायद । बाँकी दुई नयाँ सदस्य विदेश गइसकेका थिए, जसले एड्रियन-फिरोजको पुनरागमनलाई सहज तुलाइदियो । अहिले उनीहरुले ब्यान्डको म्यानेजर राखेका छन्, फुर्सद हुँदा सबैले आ-आफ्नो काम गर्न पाउँछन् । जस्तो, फिरोज अमेरिकामा हुन्छन्, कन्सर्ट हुँदा नेपाल आउँछन् । एड्रियनले एकल गायकको रुपमा कन्सर्ट गर्न पाउँछन् । सञ्जयको अर्को रेगे ब्यान्ड छ अनि निराकारको ज्याज । मनोजचाहिँ काठमाडौँ ज्याज कन्जर्भेटरीमा आबद्ध छन् । पुनर्मिलनपछि काठमाडौँ, चितवन र पोखरामा कन्सर्ट गरे । सन् २०२० मा १९७४ एडीको 'वल्र्ड टुर' हुनेछ, दक्षिण कोरियादेखि अमेरिका, अस्ट्रेलियासम्म । ब्यान्डका प्रोड्युसरसमेत रहेका मनोज भन्छन्, "अहिले हामीबीच पर्याप्त समझदारी छ, प्रतिशोध शून्य छ, जोश छ । यसलाई ब्यान्डको पुनर्जन्म भन्दा हुन्छ ।"

प्रकाशित: कार्तिक २६, २०७६

×