मुन्धुम र मार्क्सवाद
विश्व परिवेशमा फ्रेडरिक एंगेल्सले वर्ग र राज्यको ऐतिहासिकता बुझाउन जुन काम गरे, नेपाली सन्दर्भमा सीताराम तामाङको त्यस्तै प्रयत्न हो, नेपाल : समाज विकासको ऐतिहासिक भौतिकवादी निरुपण ।
विश्व परिवेशमा फ्रेडरिक एंगेल्सले वर्ग र राज्यको ऐतिहासिकता बुझाउन जुन काम गरे, नेपाली सन्दर्भमा सीताराम तामाङको त्यस्तै प्रयत्न हो, नेपाल : समाज विकासको ऐतिहासिक भौतिकवादी निरुपण । यसले ऐतिहासिक भौतिकवादी कोणबाट नेपाली इतिहास अध्ययन गर्नुका साथै राजतन्त्रकेन्द्री इतिहास लेखनको खण्डन गरेको छ । विवरणात्मक इतिहास लेखनको परम्परागत ढाँचामाथि प्रश्न उठाउने पुष्पलालको इतिहासदृष्टिलाई तामाङले विस्तार गरेका छन् । सिद्धान्तका कुरा गर्दा हामी मार्क्सबाट सुरु गरेर माओमा टुंग्याउँछौँ तर नेपाली इतिहासलाई जरामा पुगेर खोतल्दैनौँ । आदिम साम्यवाद, दास युग, पुँजीवाद भनेर मार्क्सवादले गरेको युग विकासको विभाजन नेपाली परिप्रेक्ष्यमा मेल खाँदैन भन्ने दाबी किताबको छ । सिंगै गाउँ कसैलाई बिर्ता दिँदा दासहरु जन्मिए पनि युग नै घोषणा गर्ने तहको दास व्यवस्था नेपालमा थिएन । दास व्यवस्था बलियो नहुनुको प्रमुख कारण हो, सहकार्य र सहअस्तित्वमा टिकेको आदिवासी-जनजातिको सांस्कृतिक विरासत । जात व्यवस्थाले उत्पादन सम्बन्धमा प्रत्यक्ष प्रभाव पारेकाले नेपाली समाजमा निर्माण भएको वर्गलाई पुरानै खाले मार्क्सवादी व्याख्याले मात्रै नधान्ने विचार यो किताबमै थियो, जुन विचार पछिल्लो समय घनीभूत भएको छ । लिच्छविकालमा एक थरी जग्गा राज्यको, अर्का थरी गुठी र बिर्तावाल अर्थात् जागिरेहरुको स्वामित्वमा थियो । यसरी लिच्छविकालमै वर्ग र वर्णव्यवस्था एकअर्कामा घोलिएको थियो भन्ने मौलिक दृष्टि र तीक्ष्ण विश्लेषण छ । नेपाली समाजको वास्तविक तस्बिर भएकाले समृद्धिको लक्ष्य राख्ने जोकोहीले वस्तुगत इतिहासबोधका लागि यो पुस्तक अध्ययन गर्नुपर्छ ।
लेनिनले भनेका छन्, 'प्लेखानोभ नपढी मार्क्सवाद र सोभियत संघ बुझिँदैन ।' सोभियत संघको पहिलो मार्क्सवादी तिनै जी प्लेखानोभको अनएड्रेस्ड लेटर्स, आर्ट एन्ड सोसल लाइफ पढ्दा मलाई भने मुन्धुम बुझ्ने ढोका खुलेजस्तो अनुभव भयो । मन्धुम मूलतः आदिम समाजमा किराँतीहरुले विकास गरेको चिन्तन, ज्ञान र अनुभवको संग्रह हो । कृषि चाडको रुपमा मनाइने उभौली-उधौलीमा मुन्धुम गाउँदै साकेला नाचिन्छ, खेतीपाती आरम्भको संकेत दिइन्छ र श्रमबाट थोरै विश्राम लिइन्छ पनि । पछिल्लो समय मन्धुम अध्ययनमा घोरिरहेको मलाई एक/डेढ सय प्रकारले नाचिने सिलीलाई नयाँ ढंगले हर्ने कोण र सन्दर्भ यो किताबले दियो । प्लेखानोभका अनुसार कला, संगीत र खेल श्रमको सन्तान हो । कुनै पनि जातिलाई आफ्नो जीविकोपार्जनको अनुकरणबाट आनन्द प्राप्त हुँदो रहेछ । किराँत समुदायमा पनि बाघ र अन्य पशुपन्छीको हाउभाउका साथै सिकार खेलेको नृत्य हुन्छ । खेतीपाती गरेजस्तै अनुकरण नृत्य पनि किराँती लोक-संस्कृतिमा प्रचलित छ । बहुसंख्यक आदिवासी-जनजातिहरुको श्रुतिपरम्परामा आधारित ज्ञानलाई वस्तुगत ढंगले व्याख्या गर्न प्लेखानोभको यो किताबले नयाँ चस्मा दिन्छ । एकातिर माक्र्सवादी चिन्तक प्लेखानोभ, अर्कातिर आध्यात्मिक मुन्धुम । कतिलाई लाग्ला- यो विरोधाभासी अध्ययन पो भयो कि ! तर मुन्धुमलाई हेर्ने आ-आफ्नै दृष्टि छन् । सभ्यता अध्ययन गर्ने विधि छन् । कसैले मुन्धुमलाई धार्मिक कोटरीमा राख्लान्, कसैले वैज्ञानिक । अध्यात्मवादीहरु सुम्निमा-पारुहाङलाई अलौकिक शक्ति भन्लान् तर मार्क्सवादी कोणबाट हेर्दा मातृसत्ताकालीन पात्रहरु देखिन्छन्, ती । सुम्निमा र पारुहाङ लोग्ने-स्वास्नी हुन् र माइती-चेली पनि । यो सम्बन्धलाई मातृसत्ताकालीन परिवार र विवाह प्रणालीमा लगेर व्याख्या नगरी बुझिँदैन । एउटै परिवारका सदस्यबीच यौन सम्बन्ध हुने प्रणाली त आदिम परिवारको हो ।
अन्तर्राष्ट्रिय पुरातफ्वको अध्ययन र लुम्बिनी उत्खननमै संलग्न भएपछि लाग्यो- मुन्धुमलाई गहिराइमा विश्लेषण गर्न पुरातफ्वमा पुग्नैपर्छ । मुन्धुममा पाठ मात्रै भेटिन्छ, पुरातत्वमा भौतिक प्रमाण नै हुन्छ । जब प्रमाण र पाठलाई जोडेर अध्ययन गरिन्छ, तब निष्कर्ष वैज्ञानिक हुन सक्छ । किराँती मुन्धुमको पाठ चिनियाँसँग नजिकझैँ लाग्थ्यो । अनुसन्धान सामग्री खोज्दै जाँदा बेलायतबाट झिकाएँ, ली लु तथा सीङक्या चेनको द आर्कियोलोजी अफ चाइना । यसमा ह्वाँङ्हो नदीलाई केन्द्र बनाएर कृषि प्रणाली, बसाइसराइ र सांस्कृतिक विकासक्रमको प्राज्ञिक अध्ययन र सरल प्रस्तुति छ । सबैभन्दा पहिले चीनमा कागुनीलाई वन्यवस्तुबाट कृषि अन्न बनाइएको रहेछ । ह्वाँङ्हो नदीको आसपास सुँगुर र कुकुरलाई घरेलु जनावर बनाइएको मानिन्छ । धामी प्रथाको थालनी प्रमाण पनि त्यही नदीकै आसपास भेटियो । अजिंगरलाई ठूलो सांस्कृतिक विम्ब मान्ने परम्परा अझै पनि चीनमा छ, त्यसको अवशेष पनि पुरातफ्वले त्यहीँ फेला पार्यो । तीन चुल्होको प्रमाण पनि त्यही नदीमा भेटियो । यी सबैसँग किराँती संस्कृति मिल्दोजुल्दो देखिन्छ ।
करिब दस हजार वर्षअघि चीनमा खेतीपाती गर्न थालिएको कागुनी प्रजातिकै साइम्मालाई अन्नको राजा मानेर किराँतीहरुले पितृलाई चढाउँछन् । यसरी हेर्दा किराँती मुन्धुमको ऐतिहासिकता चिनियाँ सभ्यतासँग जोडिँदो रहेछ । आनुवांशिक रुपमा पनि ह्वाङ्हो नदी वरपरका मानव र किराँतीहरुको जिन मिल्दोजुल्दो छ भन्ने तथ्य पनि बाहिरिएका छन् ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...