मध्यपहाडी लोकमार्गमा एक फन्को

  • यात्रा

- बालकृष्ण माबुहाङ

पहिले दसैँको छुट्टीमा घर गइन्थ्यो । पछि घर गाउँबाट काठमाडौँमा सर्‍यो । छुट्टीमा घर जाने रहर भने रहिरह्यो । दसैँतिहारमा टीका लगाउने, पूजाआजा गर्न छाडेको पनि झन्डै २० वर्ष भयो । सुरुमा भौतिकवादी भएर, पछि महत्त्व हराएर । हरेक वर्ष दसैँको छुट्टीमा कहीँ न कहीँ डुल्न निस्कन्छु ।

बेलुकी ५ बजेतिर पाँचथरको च्याङ्थापु पुगियो । साँगा डाँडा, बस्तीको अन्तिम सीमा मावली ससुराली पुगियो । मध्यपहाडी लोकमार्ग साँगामा अडिन्न । अझै अगाडि बढ्छ ।

करिब २७ फिटको चौडा बाटो चिवाभन्ज्याङबाट सुरु भएर पश्चिम झुलाघाट पुग्ने लक्ष्य छ । चिवाभन्ज्याङ पुग्ने बेला साँगुरिँदै गए पनि चिवा एउटा ठूलै ठाउँ, गाउँ, सहर पुग्ने आशाले मन पुलकित हुन्छ । वास्तविकता भने सिंहलीला पहाडी शृंखलाको एउटा भन्ज्याङ रहेछ, जुन करिब ३१ सय ३९ मिटरको उचाइमा अवस्थित छ।

चिवाभन्ज्याङ वारिपारि केही छैन । सुनसान ठाउँमा एउटा सानो पोखरी छ र सामुन्ने एउटा आधुनिक शैलीको एक तले टहरा बन्दै छ । कसैले होमस्टे भने, कसैले सीमा सुरक्षा बस्ने घर, हेर्दा सरकारको कस्टम अफिस बनेको हो कि भन्ने लाग्छ । अलि माथि भारतीय सीमा सुरक्षा निकायको एउटा सानो टावर देखिन्छ ।

सिक्किम सरकारको सुरक्षा निकायका २ जवान भेटिए, बाँकी दसैँको छुट्टी मनाउन घर गएका रहेछन् । एक जना भुटिया र अर्का गुरुङ दुवैले नेपाली भाषा बोले र मित्रता देखाए । उनीहरुकै भान्सागोठमा पकाई खान अनुमति पाउँदा धन्य मानेर चिया, चाउचाउ पकाएर खाएर एकछिन राहतको सास फेर्नुबाहेक अर्को उपाय छैन ।

बस्तीविहीन चिवाभन्ज्याङसम्म चौडा सडक, अर्बौँ खर्च गरेर नेपालले किन पुर्‍याएको होला ! चिवा आउने बाटोपारि देब्रेपट्ट ट्रयाक खोल्न भित्तो खनेका घाउ देखिन्छन् । वन र वातावरण विभागको हैरानीले भारतपट्टकिो बाटो चिवा आउन अझै कठिन भएको स्थानीयको भनाइ छ ।

सिंहलीला पहाडमुनि साँगा गाउँमा दसैँको कुनै सुरसार देखिएन । झापाबाट आउँदा बाटामा दायाँबायाँ सम्भवतः राँगा भेजो हानेर मासु बाँडीचुँडी गरेर हिँडिरहेका जनजाति इलाम रक्सेमाथिबाटै देखिन्थे । साँगा डाँडाको देब्रे पाटो राई बस्ती छ भने दाइने बेघा थरका लिम्बूहरुको घना बस्ती छ । सूर्यकिरण आधारभूत विद्यालय, याङ्वारक-२, साँगा डाँडाको प्रांगणमा फुटबल म्याचसहित दसैँ मेला लागेको थियो । टीकाको दिन फाइनल थियो । बाहुन, क्षत्री, दलितको निधारमा रातो टीका छपक्कै भरिएको थियो । तर राई, लिम्बूको निधारमा न टीका, न त जमरा । सबै आ-आफ्नो लर्कोमा देखिन्थे ।

मेजर थुम्का छिचोलेसँगै देउराली पुग्दा तेर्सो बाटो करिब १ घन्टा हिँडेपछि सिंहलीला पहाडको शृंखला पुगियो, जहाँ देउराली पनि छ । चिवाबाट सिक्किम हुँदै आउने बाटो त्यहीँ देउरालीमा मिसिन्छ र सोझिन्छ । शृंखलाको नेपाल-भारत सीमा नछोडी उकालो-ओरालो र तेर्सो भएर ।

टोड्के र चित्रेमा नरबहादुर बेघाका दुइटा गोठ छन् । तिम्बु जाने तीर्थयात्री वा पदमार्गी कम्तीमा १५-२० जना बास बस्ने बेघाको भनाइ छ । उनी तीर्थयात्री वा पदमार्गीलाई गाँस, बास र कपास व्यवस्था गर्न सक्ने बताउँछन् । गाँसमा चामलको चल्तीको मूल्य तिर्नुपर्छ, बाँकी सबै निःशुल्क । नरबहादुरले ४० गाई पालेका छन्, जसमध्ये १७ वटा दुहुना छन् । प्रत्येक दिन ४० लिटर दूध, डेढ केजी घ्यु र डेढ केजी छुर्पी उत्पादन गर्छन् । घ्यु र छुर्पीको बजार समस्या नभएको बताउँछन् । लोकेन्द्रको गोठको अलि माथि भेडीगोठ छ । करिब ३ सय भेडा बथानले पूरै चौर, पहरा ढाकिएको थियो । कान्छाका अनुसार वर्षमा ८० वटा भेडीले पाठा पाए भने करिब ८० हजारदेखि १ लाखसम्म आम्दानी हुन्छ, ऊन र मासुको हिसाब छैन । कहिलेकाहीँ फिल्म खेल्नेले भेडी बथान जम्मा गरिदिादा केही रकम दिन्छन् ।

लोकेन्द्र नाम्नुसितको भलाकुसारीले गोठ र गोठालोको संसार बुभmन सम्भव भयो । उनको गोठमा तीर्थालु वा पदमार्गी सुत्ने ठाउँ प्रशस्त छ । ४५ वटा गाई पालेकामा हाल १६ वटा दुहुना छन् । तीर्थयात्री वा पदमार्गीले आफ्नै व्यवस्थामा आएका छन् भने बास बस्न, पकाई खान सक्छन् तर स्ट्यान्डर्डबिना कुनै सामल, फिटो पदमार्गी हुन् भने चामलको दाम तिर्नुपर्छ, खान, बस्न फ्री ।

असार पहिलो साता गोठवालाहरुले आफ्नो वस्तु पारे मेगुमा पुर्‍याउँछन् । असार, भदौसम्म पारे मेगुमा राखेका गाई, भदौ अन्तिमतिर सुकेधाप सार्छन् । असोजको पहिलो सातातिर सुकेधापमा ल्याएर करिब कात्तिकभर त्यही  चराउँछन् । त्यसपछि गाउँ झार्ने र पातालमा छाडिदिन्छन् । त्यस बेलासम्ममा गाई सबै थाकेका हुन्छन् । फागुन अन्ततिरबाट ब्याउन थाल्ने दुहुना गाई लिएर गोठ हिँड्न सुरु हुन्छ । असार पहिलो सातातिर पुनः पारे मेगुतिर पुग्छन् ।

लोकेन्द्रको मुख्य उत्पादन छुर्पी र घ्यु हो । घ्यु र छुर्पीबाट वाषिर्क सात लाख रुपैयाँजति आय हुने रहेछ । घ्यु सिक्किमे व्यापारीले लग्छन् भने छुर्पी बिर्तामोड, दमक, उर्लाबारी, इटहरी र धरानसम्म जाने रहेछ । छुर्पी अमेरिकामा पनि कुकुरको भोजनको रुपमा निर्यात हुँदो रहेछ । लोकेन्द्र र उनका दुई भाइसमेत तीन जनाको पेसा, व्यवसाय गोठ र गोठालोको रुपमा दैनिक, महिना र वर्ष बित्छ । एक प्रकारले गाउँबाट उनीहरुको सम्बन्ध बिच्छेद छ । कहिलेकाहीँ सामल लिन गाउँ जानेबाहेक कुनै पनि चाडबाड वा कर्म उनीहरुको अनुपस्थितिमा गाउँघरमा सम्पन्न भइरहेको हुन्छ ।

सिंहलीला शृंखलामा 'सरकार' को उपस्थिति केही उभिएका, कोही लड्न लागेका र कोही बेपत्ता भएका नेपाल-भारत सीमास्तम्भजस्तो मात्रै थियो । आठराई क्षेत्र चेतनाका हिसाबले मसालजस्तै मानिन्थ्यो । आठराईमा शिक्षाको सुरुआत ००३ सालमा त्रिमोहन माध्यमिक विद्यालय, संक्रान्ति बजारमा र शारदा मावि चुहानडाँडामा स्थापना भएको थियो । प्रधानमन्त्री केपी ओलीको घर इवामा लड्न लागेको छ भने कृष्ण सिटौलाको रुग्ण घर संक्रान्तिमा कोही रुँगालु भएको बुझियो ।

आठराई गाउँपालिका उपाध्यक्ष रुपा कन्दङ्वाको अनुभवमा बिनाअनुसन्धानको शिक्षा र शैक्षिक जनशक्तिले भरपर्दो योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्न नसकेको गुनासो थियो । म्याङलुङ नगरपालिकाका मेयरको विचारमा आजको शिक्षा के हो ? बिनाउद्देश्य, कार्यक्रम, ध्येय स्थानीय सरकारले लगानी गरिरहनु

हो । लालीगुराँसका मेयर अर्जुन माबुहाङको विचारमा, 'शिक्षामा आमूल परिवर्तन गरी समुदायमा आधारित शिक्षा बनाउनु जरुरी भइसकेको छ, जसका कारण शिक्षित जनशक्तिले गाउँघर, समुदाय नछाडून् ।

गाउँमा सामान्य प्लम्बर, इलेक्ट्रेसियन, भवन बनाउने सिकर्मी-डकर्मी किन पाउन्न ? किन २७ फिटको मध्यपहाडी लोकमार्ग बनेको होला ? कोही कसैलाई परबाह छैन । विकास जत्रो-जसरी आए पनि आफ्नो घरमा आइपुगे हुन्थ्यो भन्ने सोचमा गाउँ डुबेको छ । साना किसानको स्वामित्वको जग्गा सडकले दुई फेरो लगाउँदा सुकुम्बासी बनेका उदाहरण पनि सुनियो । गोठको अर्थतन्त्र, समाजशास्त्र, ज्ञान-विज्ञान, वातावरण र भूगोल सीमान्तकृत विषय भए ।

उच्च पहाडी धरातल वा हिमाली क्षेत्रबारे कसरी अध्ययन गर्ने, बहसको विषय हो । माउन्टेन जिओग्राफरलाई कति पढाइन्छ तर जब हिमालसँग सम्बन्धित अध्ययन-अनुसन्धानको कुरा गर्छौं, समस्या सिंहलीला पहाडको मात्र नभई काठमाडौँदेखि, महेन्द्र राजमार्ग अनि गाउँघरसम्मै छ, समाधान छैन । यी सारा समस्या मन्साउने एउटै उपाय भनेको उच्च शिक्षा हो ।

मध्यपहाडी लोकमार्ग, जो राज्यले अर्बौँ खर्चेर बनाउँदै छ, त्यसको उपयोगिता के हो, कसैलाई थाहा छैन । चिवाभन्ज्याङ पुगेर उक्त लोकमार्गका प्रणेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एक प्रसंगमा 'सम्भावनाहरु प्रशस्त छन्' भनेको सुन्नेमध्ये साविक च्याङ्थापु गाविसका पूर्वअध्यक्ष जगत राई भेटिए । तर ती सम्भावनाबारे उनलाई पनि थाहा छैन । यो यात्रामा देखिएको एउटा आकलन, मध्यपहाडी लोकमार्गको पूर्वी छेउ चिवाभन्ज्याङमा बिहान स्टार्ट गरेको मोटरबाइकबाट बेलुकी खोटाङ पुग्न सक्छ । उच्च शिक्षा समुदाय, क्षेत्र, स्थान विशेष आधारित भई दुरुस्त सांसारिक ज्ञानको बनाउने हो भने मध्यपहाडी लोकमार्ग त्यसको एउटा महत्वपूर्ण पूर्वाधार बन्न सक्छ ।

स्थानीय सरकारहरुले आवधिक विकासमा बजेटको ठूलो हिस्सा भौतिक निर्माणमा गरिरहेको लगानी 'स्याचुरेट' हुनेबित्तिकै तिनले मानव विकासमा लगानी गर्नुपर्छ । स्थानीय सरकारहरुको आवश्यकता उच्च शिक्षामा सिफ्ट हुन्छ । संघीय वा प्रादेशिक सरकारले वा संघीय प्रादेशिक विश्वविद्यालय सञ्चालनार्थ अनुमति दिँदा पुग्छ । वैकल्पिक उच्च शिक्षा स्थानीय सरकारहरुले विश्वविद्यालय खोलेर चलाउन सक्छन् । शिक्षा विकास, लोकतन्त्र र जनवादका निम्ति व्याख्या गर्ने र मुलुकका लागि आवश्यक कामकाजी जनशक्ति उत्पादन गर्ने संयन्त्र बन्न सम्भव छ । 

प्रकाशित: कार्तिक २६, २०७६

×