क्लब कल्चरमा एलओडी

  • कोलाज

- सुनिता लोहनी

गीत त सुन्नुभएकै होला, ‘मैने होंठो पे लगाइ तो हंगामा हो गया...' । बलिउडको यो गीत क्वीनमा कंगनाले क्लबमा नाचेपछि नयाँ पुस्तामाझ झनै प्रसिद्ध भयो । रानीको भूमिका वहन गरेकी कंगना चलचित्रमा पहिलोपल्ट क्लब गएकी थिइन्, त्यो पनि पेरिसको ।

डिस्को संगीतको आविष्कारसँगै सन् १९७० देखि क्लबिङ अर्थात् क्लब जाने संस्कार विकास भयो । जब डिजेवाला बाबुले ८० को दशकमा ढिक्चुक-ढिक्चुक नाच्ने संगीत बजाउन थाले, डान्सपार्टी आयोजना हुन थाल्यो, तब यसको विकास भयो । ९० को दशकको सुरुमा डान्सपार्टी गैरकानुनी रुपमा सञ्चालन हुन्थ्यो । तर त्यही दशककै अन्त्यतिर क्लब जीवन युवाको अभिन्न अंग बनिसकेको थियो ।

नेपालमा क्लब जीवनको सुरुआत धनाढ्य विनोद चौधरीले आत्मकथामा पनि बताएका छन् । उनले काठमाडौँमा क्लब सञ्चालन गरेका थिए । 'समाजले त्यसलाई खासै राम्रो मान्दैनथ्यो', उनले पुस्तकमा भनेका छन् ।

तर अहिले परिस्थितिमा बदलाव आएको छ । नेपालमा यस्ता दर्जनौँ सानाठूला क्लब छन्, जहाँ युवायुवती झुम्छन् । डिस्को लाइट अनि डिजेको संगीतमा झुम्नु आधुनिक पुस्ताको जीवन शैलीको अभिन्न अंग बन्दै गएको छ । नेपालको क्लब संस्कारमा नयाँ आयाम थप्न आएको छ, एलओडी ।

एलओडी अर्थात् लर्ड अफ द डि्रंक्स । ठमेलको नयाँ चहलपहल जहाँ हरियो, पहेँलो, बैजनी, नीलो रङका बत्ती बल्छन्, झिमिक्क-झिमिक्क । यही बत्तीमा स्वदेशी र विदेशी कलाकारका गीतमा झुम्मिन्छन्, नेपाली पुस्तासँगै विदेशी पर्यटक ।

०६८ देखि हस्पिट्यालिटी व्यापारमा लागेका रविन श्रेष्ठ एलओडीका प्रबन्ध निर्देशक हुन् । उनी एलओडीलाई क्लबभन्दा बरु रक बार भन्न रुचाउँछन् । साढे ११ बजेसम्म रक बार र पछि क्लब बन्ने गर्छ एलओडी, जहाँ युवापुस्ता संगीतमा झुम्मिन्छन् । ठूलो क्षेत्रफलमा फैलिएको क्लब अन्तर्राष्ट्रिय स्तरको छ । लाइट, स्टेज, ध्वनि, सिट व्यवस्था, हाइड्रोलिक लाइट र डी एन्ड बी अडियो टेक्निकले क्लबलाई गुणस्तरीय बनाएको छ ।

क्लबलाई फिल्म हलमा जस्तै गोल्ड, सिल्भर र प्लाटिनममा विभाजित गरिएको छ । टेबल बुक गरे कार्यक्रमअनुसार ३० हजारदेखि १ लाखसम्म पर्छ । एक पटकमा १ हजार जनासम्म दर्शक अटाउने क्लबलाई विश्वको उत्कृष्ट सय क्लबमा पार्न खोजेको एलओडीले आशा गरौँ, डेजा भुबाट पाठ सिक्नेछ । क्षमताभन्दा बढी दर्शक राखेर क्लब संस्कृतिमा विचलन ल्याउने छैन ।

प्रकाशित: कार्तिक २७, २०७६

ट्याग: कोलाज
×