साताका ७ तस्बिर

- नेपाल संवाददाता

राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउँदै राष्ट्रपति विद्यादेवी भण्डारी । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । ६ मन्त्री र ३ राज्य मन्त्री ओली क्याबिनेटमा थपिएका हुन् । कतिको जिम्मेवारी हेरफेर पनि भएको छ । तस्बिरः कविन अधिकारी

जिल्ला सदरमुकाम गमगढीदेखि २८ कोष टाढाको मुगु गाउँ तिब्बत सीमासँगै जोडिएको छ । उक्त गाउँमा बस्ने दुई सय परिवारको बास नेपाली भूमिमा भए पनि गाँस र कपासका लागि तिब्बततिरै निर्भर छन् । अघिल्लो वर्ष तिब्बतबाट किनेर ल्याएको खाद्यवस्तु पछिल्लो वर्षसम्म पुर्‍याउनै मुस्किल हुने स्थानीयको गुनासो छ । तिब्बती हाटबजार नलाग्दै घरमा दैनिक उपभोग्य वस्तु सिद्धिएर पल्लो घरसँग पैँचो गर्नुपर्ने अवस्थाले मनमा पीर मानेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । मुगु गाउँदेखि तिब्बत पुग्न गहु्रँगो भारीसँग दुई दिन र रित्तै एक दिन समय लाग्ने स्थानीयको भनाइ छ । राजबहादुर शाहीको स्टोरी विस्तृत पढ्नुस् 

बझाङ थलारा गाउँपालिका सिरेटाकी अमृता सिंह, ३३, को दैनिकी ओखलमा धान कुट्दै सुरु हुन्छ । ७ जनाको परिवारलाई एक छाक पुग्ने धान कुट्न दुई घन्टा लाग्छ । आधुनिकतासँगै कुटानीपिसानी मेसिन दूरदराज पुगेको छ । तर बझाङजस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने परम्परागत तरिकाले ओखलमै धान कुट्ने चलन छ । मेसिनमा कुटेको चामलको तुलनामा अर्गानिक, पोषिलो र स्वादिष्ट हुने भएकाले ओखलमा कुटेर खाने गरिन्छ । चाडवाड, बिहे, व्रत, भोजभतेर लगाउनुपर्‍यो भने गाउँभरिका मान्छे भेला भएर कुट्छन् । यसले समुदायमा सहकार्य, समन्वय र सद्भाव कायम राख्न सहयोग पुगेको छ । हेर्नुस् विद्या राईका थप तस्बिरहरू

भारतले नेपालका कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको भूभाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको विरोधमा राजधानीमा जुलुस गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेविसंघ । उसले सीमा अतिक्रमणमा भारतसँगै चीनको पनि मिलेमतो रहेको भन्दै अतिक्रमण बन्द गर्न र भूमि फिर्ता गर्न माग गरेको छ । तस्बिरः सरोज बैजु

मंसिर १५ देखि  सुरु हुने १३ औँ सागको अहिले तयारी तीब्र छ ।  काठमाडौं र पोखरामा खेलहरू हुँदैछन् । राजधानीको त्रिपुरेस्वोरस्थित दशरथ रंगशालामा पनि धमाधाम पूर्वाधारहरू बनाइँदैछ । साग २४ मंसिरसम्म जारी रहनेछ । तस्बिरः सरोज बैजु

राजधानीको कपनमा गलैँचा बुन्दै गरेकी महिला । मेसिनबाट बनाएको भन्दा हातले बुनेको गलैँचा महँगो हुन्छ । यस्ता गलैँचा विदेश निर्यात हुने गर्छन् । तस्बिरः सरोज बैजु

स्कुलबाट घर फर्किँदै गरेका नानीहरू बाटोमै भोक मेटाउँदै । हिजोआज छिटोछरितोको लागि खाजामा चाउचाउ लगायतको प्रयोग बढेको छ । तस्बिरः सरोज बैजु 

प्रकाशित: मंसिर ६, २०७६

×