प्रकृति संरक्षणप्रति

  • तीन किताब

- रोशन शेरचन

भर्खरै डेँगु लाग्दाको फुर्सदिलो समयमा दोहोर्‍याएँ, अन्नपूर्णाको भोज । अन्य कथाका आधारमा पनि मलाई मनु ब्राजाकी धेरै बलियो लेखक लाग्थे । अपरम्परागत, अनौपचारिक र स्वस्फूर्त शैलीमा प्रभावी कथा लेख्ने कमै भेटिन्छन् । उदात्त मानवीयता, सामाजिक विसंगतिप्रति प्रहार र प्रतीकात्मक व्यंग्यका कारण उनका कथा नवीन, सामयिक र आकर्षक छन् । 

भविष्य–यात्रा, अन्नपूर्णाको भोज, भुन्टीको भविष्यजस्ता कथाले मस्तिष्कलाई जरैदेखि हल्लाउँछन् । भविष्य–यात्राको मुख्य पात्रले भोग्नुपरेको त्रासदी हाम्रो निकट विगतको नग्न यथार्थ हो । अन्नपूर्णाको भोजमा समाज र घरभित्रै महिलाको सामाजिक हैसियतको बेजोड चित्रण छ । कथा पढेर पाठक दु:खी हुने गर्छन् तर त्यस कथाले स्तब्ध नै बनाउँछ । लैंगिक विषयका विद्यार्थीले त छुटाउनै नहुने रचना बनेको छ, त्यो । 

पछिल्लो पठनमा ब्राजाकी झनै मन पराएँ । उनका कथा पढ्दा जीवनको विश्वविद्यालयबाट लेखकले आजन्म सिकिरहनुपर्छ भन्ने ज्ञान पाउँछौँ । सामाजिक ढोङ, विरोधाभास र आम मान्छेको दैनन्दिनको युद्धजस्तो जीवनलाई सजीव चित्र खिच्ने ब्राजाकीको वस्तुनिष्ठ मूल्यांकन भएजस्तो लाग्दैन । 

वारेन बफेटको जीवनी द स्नोबल अत्यन्त प्रेरणादायी पुस्तक हो । एलिस स्रोएरडरले लेखेको त्यस पुस्तकमा बफेटको जीवन दृष्टिकोण, पुँजी बजारको यात्रा, पारिवारिक संसार, वाल स्ट्रिट दुनियाँ र आफूमाथि प्रभाव पारेका व्यक्तिबारे लेखिएको छ । बफेट अहिले पनि  दैनिक पाँच घन्टा आफ्ना रुचि र पेसासम्बन्धी समाचारपत्रिका र पुस्तक पढ्छन् । कोलम्बिया बिजनेस स्कुलका प्राध्यापक बेन्जामिन ग्राहामको पुस्तक द इन्टेलिजेन्ट इन्भेस्टर पढेपछि आफू अत्यन्त प्रभावित भएको बफेट बताउँछन् । 

ग्राहामकै दर्शन पद्धतिअनुसार लगानी गरेर आफू सफल भएको स्वीकार्छन् । बफेटको चर्चित भनाइ छ, ‘आफूले पढ्ने किताबहरुबारे मलाई बताऊ, तिमी अबको १०–१५ वर्षमा कस्तो अवस्थामा हुनेछौ, म भन्नेछु ।’ वकसय हाथवे कम्पनीको अध्यक्ष रहेका उनी संसारकै धनी व्यक्तिमा पर्छन् । पुँजीबजारका लगानीकर्ता भए पनि उनी भन्छन्, ‘सबभन्दा महत्वपूर्ण लगानी त्यो हो, जो आफैँमा गरिन्छ ।’ 

सिटी सर्भिसेजको तीन कित्ता सेयर किन्दा उनको उमेर ११ वर्ष मात्रै थियो । उनी मितव्ययी जीवनशैली र कार्य–कारण सिद्वान्तलाई अनुसरण गर्छन् । अझसम्म पुरानै घरमा बस्छन् । अथाह सम्पत्ति भएर पनि धरातल नछाड्ने थोरै अद्भुत व्यक्तिमा उनी पर्छन् । उनले आफ्ना कम्पनीको सेयरहोल्डरलाई लेख्ने वार्षिक चिट्ठी अन्तर्दृष्टिको हिसाबले कुनै राम्रा पुस्तकभन्दा कम छैनन् । उनी भन्छन्, ‘मृत्युपछि एउटा शिक्षकका रुपमा मेरो सम्झना गरे मलाई अधिक खुसी लाग्नेछ ।’ 

स्नोबल अर्थात् हिउँको डल्ला बफेटको जीवनसँग दुरुस्त मिल्ने विम्ब हो । थोरैथोरै गरी पैसा, सफलता र इज्जत आर्जन गरेको घटनाले धैर्यको महफ्व प्रस्ट्याउँछ । पुँजी बजारमा रुचि नहुने पाठकलाई पुस्तकले नतान्न पनि सक्छ । एउटा भद्र मानिसको जीवन थाहा पाउन र व्यापारिक अन्तर्दृष्टिका निम्ति यो किताब उपयुक्त छ । 

अमेरिकी संरक्षणविद् एल्डो लियोपोल्डको निधनलगत्तै सन् १९४९ मा प्रकाशित ए स्यान्ड काउन्टी एलमानक वनविज्ञानसँग सम्बन्धित छ । प्राविधिक विषयमा पनि अत्यन्त स्वादिलो पारामा लेख्ने लियोपोल्ड वनविज्ञान अध्ययन गर्दाताका नै हाम्रो मन पर्ने लेखकमा पर्थेे । उनी आफ्ना लेखमा गज्जबका प्रश्न सोध्थे । जस्तै : कमिला किन लाखौँ तर हात्ती दर्जनौँ मात्रै किन हुन्छ ? 

उनका निबन्ध प्रारम्भिक अमेरिकी संरक्षण आन्दोलन र आधुनिक पर्यावरणवादको आधारशिला मानिन्छन् । आफ्ना अनुभव, विभिन्न स्थानबारे त्यहाँका प्राकृतिक, जैविक संसार र मानव जीवनसँग त्यसको सम्बन्ध उजागर गर्दै मनोरम प्रस्तुति दिइएको छ । उनको लेखन काव्यात्मक भएर पनि बोधगम्य छन् । भावनात्मक रुपमा उत्तेजक भए पनि बौद्धिक छन् । उनको भूमिनीतिले मनुष्य र प्रकृतिबीच सद्भाव कायम गर्न मद्दत गर्छ । 

प्रकृतिलाई कदर गर्न र प्रकृतिप्रदत्त नियम सिक्न सघाउने यो पुस्तकका विचार तथ्यपरक र भरपर्दा लाग्छन् । आँखै नपरेका रुखका टोड्का, खस्रुको बिउ, हिउँको थाक, घाँसे मुसा, ब्वाँसो, पन्छी र बालुवाका ढिस्काको पर्यावरणीय महफ्व उद्घाटित गर्छन् । संरक्षणमा विल्डरनेस अवधारणा प्रतिपादन गर्ने अग्रणीमा उनी पर्छन् । प्राकृतिक स्रोत र भूमिलाई बजारीकरण गरिहाल्ने मानसिकताको सख्त विरोध गर्ने उनी व्यंग्य पनि गर्छन्– हामी त्यसर्थ अल्पमतमा छौँ । पुस्तकको आवरणमा तीन दुर्लभ हाँसले गर्दन तन्काएर पर क्षितिजतिर हेरिरहेको सुन्दर दृश्यले प्रकृति संरक्षणप्रतिको उनको समर्पणतिर संकेत गर्छ । 

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: मंसिर १०, २०७६

ट्याग: तीन किताब
×