आलम मार्ग
सत्तासीन नेकपाका जिल्ला कमिटी सदस्य उनीसमेत आलमबारे निर्धक्क बोल्न धक मानिरहेका थिए ।
“बुझ्नुस्, जहाँदेखि सडकमा ठूल्ठूला खाल्डा भेटिन्छन्, त्यहाँदेखि राजपुर सुरु भयो ।”
बाटो सोध्दा गौरका एक स्थानीयले जवाफ दिए । पूर्व–पश्चिम राजमार्गबाट रौतहट सदरमुकाम गौर नपुग्दै करिब ५ किलोमिटर वरैबाट पश्चिम छिरेपछि सुरु हुने रहेछ, राजपुर इलाका । दुई किलोमिटरजति पिच गरेको सडक । त्यसपछि भने धुलाम्मे । धुलाम्मे सडकभरि थुप्रै खाल्डाखुल्डी । राजपुर बजार क्षेत्र र पश्चिमका केही भाग भने कालोपत्रे गरिएको रहेछ, हुलाकी राजमार्ग खण्ड पर्ने भएकाले । बाँकी सडक जर्जर । बजार क्षेत्रमा फोहोर उस्तै ।
प्रजातन्त्र स्थापनासँगै यो क्षेत्रमा एउटा परिवारले एकल राजनीतिक शक्ति खिच्यो । त्यहाँका जमिनदार शेख लियाकत ००९ सालमा राजदरबार सल्लाहकारसभाको सदस्य बने । उनका छोरा शेख इद्रिसले ०१५ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको चुनाव जिते । राजा महेन्द्रले शासन आफ्नो हातमा लिए पनि राजपुर क्षेत्रमा यो परिवार जमिनदारको हैसियत कायम भएकाले प्रभाव खस्किएन । प्रजातन्त्र पुन: स्थापनापछि इद्रिसले फेरि दुई खेप चुनाव जिते । ०५३ मा इद्रिसको शेखपछि भतिजा मोहम्मद आफताव आलमको हातमा उक्त शक्ति आयो । त्यसयता एउटाबाहेक सबै चुनाव आफतावले जिते ।
एकलौटी शक्तिमा जमेको परिवारको क्षेत्रमा विकासको व्यथा भने कहालीलाग्दो रहेछ । जहाँ खाल्डो, त्यही आफतावको चुनावी क्षेत्र भन्ने पहिचान बनेछ । राजपुर क्षेत्रमा यो परिवारले ७० वर्ष पकड जमायो । ३० वर्षे पञ्चायतकाललाई बिर्सने हो भने पनि अर्को तीन दशक निरन्तर आफतावकै राज चल्यो । तर इद्रिस र आफतावलाई सम्झिने विकासका निशाना क्रमश: दुई चीज मात्र रहेछ, त्यो इलाकामा । खानेपानी भण्डारण ट्यांकी र स्वास्थ्य चौकी । ०५१ तिर इद्रिसले खानेपानीको ट्यांकी बनाएछन् र आफतावले स्वास्थ्य चौकी ।
दुई दिन राजपुर क्षेत्र घुम्दा लाग्यो, सत्ताको तीन पुस्ता फटाएको आलम परिवारले यो भेगलाई भौतिक मात्र होइन, मानसिक रुपमै विकट बनाएछ ।
लोकेसन भेडियाही
गौर पुगेपछि थाहा पाइयो, आफतावकै शक्तिको आडमा भाइ मेहतावले आपराधिक कर्म गर्दा रहेछन् । उनले १६ वर्षअघि एक व्यक्तिको आँखा फुटाइदिएको सुनेपछि ती व्यक्तिको खोजी गरेँ । संयोग, मलाई पथप्रदर्शनमा सहयोग गरिरहेका व्यक्तिले पनि घटनाबारे सुनेका रहेछन् । उनैले बल्लतल्ल सम्पर्क गराए । त्यसपछि हामी पीडितको गाउँ भेडियाहीतिर लाग्यौँ, धुलाम्मे सडक हुँदै । सोधीखोजी घरैमा पुगियो तर उनी त्यहाँ रहेनछन् । केही छिनअघि फोन गर्दा हामीलाई घरमै डाकेका थिए । हामी उनको घर पुगेपछि फेरि अन्तै बोलाए । त्यहाँ पुगियो । फेरि अर्को लोकेसन दिए ।
यसरी भेट्ने थलो तीनचोटि फेरेपछि भेटिए, हरदेव उर्फ देवा पटेल । भेटिएको ठाउँमा कुरा गर्न मानेनन् । नजिकैको एकान्त थलोमा पुगेर प्रहरीकै सहयोगमा महतावले पटेलका दुवै आँखामा एसिड खन्याइदिएको दर्दनाक व्यथा सुनियो । पटेलको एउटा आँखाले केही देख्दैन भने एउटाले धमिलो संसार नियाल्दा रहेछन् । सत्तासीन नेकपाका जिल्ला कमिटी सदस्य उनीसमेत आलमबारे निर्धक्क बोल्न धक मानिरहेका थिए ।
नभेटिएकी ती साहसी महिला
भेडियाहीमै थियौँ । एक महिलाले मेरो मोबाइलमा फोन गरिन् । भाषा नबुझेकाले सहयोगी मित्रलाई फोन टक्र्याएँ । उनी राजपुरकै रहिछन् । आफ्ना पतिलाई आफताव र महतावले झूटो मुद्दा लगाएर फसाएकाले मलाई भेट्न खोजेकी रहिछन् । अघिल्लो दिन राजपुर जाँदा केही स्थानीयलाई मेरो नम्बर दिएको थिएँ । उनीहरुमध्ये कसैले मेरो नम्बर दिएछन् । ती महिला राजपुरबाट मलाई भेट्न गौर पुगेकी रहिछन् । हामी भने गौर निकै ढिलो पुग्यौँ । पुगेर फोन गर्दा ती महिलाको फोन उठेन ।
उनका पति मोजरे आलम बलात्कार मुद्दामा जेलमा छन् भन्ने सूचना राजपुरमै पाइसकेको थिएँ । धेरै गाउँले मोजरे सोझो भएकाले फसाइएको भन्थे । सिंगो राजपुर बस्ती आलम परिवारबारे मौन थियो । तर ती महिला हाकाहाकी पति कसरी फसाइए भन्नेबारे मिडियासँग कुरा गर्ने साहस देखाइरहेकी थिइन् । त्यसो गर्नु ठूलो जोखिम थियो । मलाई ती साहसी महिलासित भेट्न नपाउँदा थकथकी लागिरह्यो ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...