दिल्लीको चामल काठमाडौँमा

- प्रीतम सिंह

राजा महेन्द्रले भारतबाट एकैचोटि डेढ सय गाडी ल्याउन अनुमति दिए, सन् १९६१ मा । त्यतिबेला राजधानी आसपासका सबैजसो जिल्लामा खाद्य संकट पर्‍यो । उपत्यका नजिकका स्थानीय खाद्यान्न नपाएपछि आफ्ना थातबास छाडेर सुगम थलोमा आएर बस्न थाले । पानी नपरेपछि सुक्खा हुँदा स्थानीयले अन्नपात, खेतबालीसमेत लगाउन पाएनन् ।

राजधानी वरपरका जिल्लामा खाद्य संकट परेपछि तत्कालीन सरकारले छिमेकीसहित दातृ निकायसँग सहयोग माग्यो । यसैक्रममा छिमेकी भारतले नेपाललाई मानवीय सहायतास्वरुप १० हजार टन चामल उपलब्ध गराउने घोषणा गर्‍यो । भारतले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको चामल दिल्लीबाट रक्सौल ल्याइपुर्‍याइदियो । तर नेपालमा सडकका नाममा अमलेखगन्ज–भीमफेदीसम्म मात्र मोटर कुद्थे । रक्सौल आइपुगेको भारतीय चामल सुरुमा भारतीय सेनाले काठमाडौँ ल्याइदिने घोषणा गरेको थियो ।

भारतीय सेनाले यस्तै २०–३० टन चामल लरी (ट्रक) मार्फत रक्सौलबाट काठमाडौँ ल्यायो । तर नेपालको भौगोलिक अवस्थिति र खराब बाटोका कारण काठमाडौँ चामल लिएर आउने क्रममा केही भारतीय सैनिक दुर्घटनामा परेर घाइते भए भने केहीले त ज्यानसमेत गुमाए । भारत सरकारले नि:शुल्क काठमाडौँ चामल पुर्‍याइदिने घोषणा गरे पनि उसको सेनाले सकेन । चामल लिएर आउने भारतीय सेनाका गाडी काठमाडौँ पुग्न ४–५ दिन लगाउँथे । 

प्रतिकूल भौगोलिक अवस्थितिका कारण समय बढी लागेपछि भारतीय सेनाले अन्य उपायबाट काठमाडौँमा चामल ल्याउन सकिने सुझाव नेपाल सरकारलाई दियो । त्यो विकल्प भनेको हवाई यातायात हुन्थ्यो । त्यसका लागि भारतीय सैनिकले थप लागत माग गर्‍यो । तर नेपालसँग रकम तिर्न सक्ने सामथ्र्य थिएन । नेपालमा ट्रान्सपोर्ट चलाउने हामी मात्र थियौँ ।

राजा महेन्द्रले मलाई दरबार बोलाए र सुक्खापीडितका लागि आएको चामल रक्सौलबाट काठमाडौँ ल्याइदिन आग्रह गरे । त्यतिबेलाको १० हजार टन खाद्यान्न परिमाणमा ठूलो थियो । चामल बोक्ने साधन पर्याप्त थिएनन् । मैले यसबारे राजा महेन्द्रलाई जानकारी गराएँ । मेरो कुरा सुन्नेबित्तिकै राजाले एकैचोटि ५ सयदेखि ६ सय ५० सम्मका नम्बर प्लेटयुक्त भारतीय मालवाहक ट्रक नेपालमा ल्याउन अनुमति दिए । ती ट्रक यहाँ ल्याउँदा भन्सार, कर सबै छूट दिइयो । त्यसपछि डेढ सय ट्रकमार्फत रक्सौलबाट सहयोगको चामल काठमाडौँ ल्याउन थाल्यौँ ।

राजा महेन्द्रको आग्रहअनसार हामीले त्यतिबेला खाद्यान्न ढुवानी गर्दा लाग्ने शुल्कभन्दा धेरै कममा चामल बोक्यौँ । २ रुपैयाँ १५ पैसा प्रतिटनमा भारतीय सहयोगको सबै चामल काठमाडौँ उतार्‍यौँ । त्यो चामल सरकारले सुक्खापीडितलाई बाँड्यो । खाद्य संकटमा परेकाहरुको सहयोगार्थ सेवा गरेबापत सदर धान गोदाम हुँदै खाद्य संस्थान (हाल खाद्य व्यापार कम्पनी लिमिटेड) का हाकिम हस्ते मलाई राजा महेन्द्रले १ हजार रुपैयाँ बक्सिस दिएका रहेछन् । त्यो रकम बुझेँ । काठमाडौँमा सहयोगको चामल उतारेको केही दिनपछि राजा महेन्द्रले मलाई दरबारमा बोलाए ।

सरदारहरु साहसी र इमानजमानका पक्का हुँदा रहेछन्, विपद् आइलागेको समय हामीलाई सहयोग गरेको भन्दै धन्यवाद दिएर राजाले मलाई फुर्काए । त्यसपछि संस्थागत रुपमा हाम्रो कम्पनी र व्यक्तिगत रुपमा म नेपालभर प्रशंसित भयौँ । हामीले भारतबाट एकैचोटि ल्याएका डेढ सय गाडी दुई वर्षसम्म नेपालमा चले र उतै फर्काइदियौँ ।

सन् १९६२ तिर बागमती अञ्चलाधीश थिए, विष्णुमणि आचार्य दीक्षित । धेरैजसोले यिनलाई काले बाजे पनि भन्थे । राजा महेन्द्रका एकदमै विश्वासपात्र । कतिसम्म भने राजाले प्रधानमन्त्री, मन्त्रीभन्दा पनि यिनलाई महत्व दिन्थे । 

बाजेले मलाई छोरासमान मान्थे । दरबारसँग बलियो पहुँच भएका यिनै आचार्यका कारण हामीलाई ट्रान्सपोर्ट व्यवसाय फैलाउन थप मद्दत पुग्यो । नेपालका ठूल्ठूला आयोजनामा खाद्यान्न पुर्‍याउन ठेक्का पायौँ । राजा सिकार खेल्न उपत्यकाबाहिर जाँदा बन्दोबस्तीका सामान लैजाने, सेना, प्रहरीका खाद्यान्न ढुवानी गर्ने, ठूला आयोजनाका निर्माण सामग्री बोक्ने जिम्मा पनि हामीले नै पायौँ । काले बाजेले नै सदर धान गोदाममा उपत्यका बाहिरबाट धान ल्याउन लाइनसमेत मिलाइदिए । 

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: मंसिर १२, २०७६

ट्याग: स्मरण
×