[कथा] भट्टीपसलमा उमिरहेकी बूढी

- नारायण ढकाल

गल्पकार त्यहाँ पुग्दा फूलमायाको भट्टीपसल सुनसान थियो । बम्बैबुढी भट्टीबाहिर राखेको स्टुलमा बसेर उमिरहेकी थिई । उसका दुवै आँखा बन्द थिए । उसको टाउको पुरानो जमानाको घडीको लङ्गुरझैं लगातार हल्लिरहेको थियो । उसको स्थिति हेर्दा लाग्थ्यो, ऊ कुनै बेला पनि लडेर भुइँमा पछारिन्छे । 

बम्बैबुढीको फुक्क फुलेको कालो अनुहारको अगाडि एउटा झिङ्गा वर्तुलाकार परिधिमा उडिरहेको थियो । झिङ्गा उसको थेप्चो नाकको टुप्पामा बस्न खोजिरहेझैं लाग्थ्यो तर उसको हल्लिरहेको टाउकोले झिङ्गाको मुराद सम्भव भएको थिएन । झिङ्गा रिसाएको जस्तो देखिन्थ्यो ।

त्यस बिहानसम्ममा बम्बैबुढीले चौसठ्ठी वर्ष, केही महिना र केही दिन पारगरिसकेकी थिई । बुढ्यौली जनाउने उसको सेतो कपाल फूलमायाले भर्खरै उसिनेको चाउमिनजस्तो देखिएको थियो, जो भट्टीपसलको टेबुलमाथि थियो । चाउमिन र उसको कपालमा अरू पनि समानता थिए । चाउमिन जसरी गुजुल्टिएको थियो, उसको कपाल पनि त्यस्तै थियो । र, लम्बाइ पनि झन्डै समरूप थियो । उसका हात खस्रा न खस्रा थिए । खुट्टा पटपटी चिरिएका र नाङ्गा थिए । 

बम्बैबुढीले रङ खुइलिएको मैलो फरिया र चोलो लगाएकी थिई, रातो र कालो बुट्टा भएका । नाकमा सेतो सुनको फुली थियो । कान बुच्चै थिए । कानको लोतीमा पहिले छेडेका प्वालका डोबहरू स्पष्ट देखिन्थे । 

बम्बैबुढी र उसको मुहारवरिपरि रिङिरहेको झिङ्गा देखेर गल्पकारको मन हल्लियो । ऊभित्र एक किसिमको ऐठनको भूत पस्यो । त्यसपछि उसले बम्बैबुढी र झिङ्गालाई हेर्न सकेन । ऊ स्वच्छन्दतावादी–प्रकृतिप्रेमी कविझैं पसलअगाडिको दृश्यतर्फ एकोहोरियो ।

भट्टीपसल गाउँको पुछारमा थियो । त्यसपछि गाउँ सकिएर फाँट शुरु भएको थियो । गाउँ केही मात्रामा भिरालो धरातलमा बसेको थियो । उत्तरदेखि दक्षिणसम्म पसारिएको । पुरानो गाउँ केही माथि थियो भने बस्ती बढ्दै गएपछि बनेको नयाँ गाउँ तलतिर विस्तार भएको थियो । अहिलेसम्म पनि घर र टहराहरू बनिरहेको नयाँ गाउँको जमिन एक दशकअघिसम्म खुला खेत र बारी थियो । केही वर्षयता भट्टीपसलभन्दा दक्षिणको जमिनमा किनबेच चलिरहे पनि त्यहाँ अझै धानैधानको हरियो फाँट थियो । पसलको दुई किलोमिटर पर पूर्व मनोहरा नदी थियो तर अचेल गाउँको कुनै पनि भागबाट नदी दृष्टिगोचर हुँदैनथ्यो । नदीको गर्भ निचोरेर अन्धाधुन्ध बालुवा चोरिएको कारण त्यसको फैलावट खुम्चिँदै गएको र गहिराइ पनि बढ्दै गएको थियो । 

बस्ती बढेर खेतीयोग्य जमिन घट्दै गए पनि बाँकी बचेको फाँट अझै फराकिलो थियो । फाँटको ठीक बीचबाट नदीले बनाएको डोबजस्तो नागबेली परेको कच्चीसडक थियो । त्यो सडकमा हिउँदमा मात्र सवारीसाधन चल्थे । वर्षायाममा सडक सुनसान रहन्थ्यो । त्यस अवधिभरि त्यहाँबाट मानिस र वस्तुभाउ मात्र आवतजावत गर्थे ।

खेतमा काम गर्न आएकाहरू, बिहानको भ्रमणमा निस्केकाहरू र गाउँको तल्लो भेगका बासिन्दाहरू भट्टीपसलका ग्राहक हुन्थे । पसल अझै त्यति जमेर चलिसकेको थिएन । त्यो केही महिनाअघि मात्र खुलेको थियो । पसलकी मालिक्नी फूलमायाको लोग्ने वैदेशिक रोजगारीमा कतारतिर गएको थियो । उसले त्यहाँ काम गरेर कमाएको पैसा फूलमायालाई महिनैपिच्छे पठाउँथ्यो । लोग्नेले कतारबाट पठाएको पैसा जम्मा पारेर उसले तीन आना जमिन किनी र त्यहाँ एउटा टहरोरूपी आकृति उभ्याई । 

भट्टीपसल सम्पूर्णमा एउटा जस्ताले छाएको छाप्रो थियो, जसमा जम्मा दुई कोठा थिए । पसलखण्ड र भित्रको भाग । भित्री भागमा फूलमाया र उसका ससाना दुई छोरा बस्थे । उसका छोराहरू अझै सुतिरहेका थिए । 

टहरोको नयाँपन त्यहाँ पुग्ने ग्राहकले चाल पाइहाल्थ्यो, भित्तामा लगाइएको सिमेन्टको ओस र गन्धले । तर, गल्पकारचाहिं सिमेन्टको गन्धले भन्दा पनि पेन्डुलमझैं लगातार झुलिरहेकी बम्बैबुढी र महाकालझैं उसको मुहारमा घुमिरहेको झिङ्गा देखेर बढी आक्रान्त थियो ।

“यी बूढी बज्यै लड्छिन् कि कसो !”, आत्तिएको भावमा गल्पकारले फूलमायालाई भन्यो । पसलको भित्तामा टाँसिएको टेबुलमाथिको ग्यासचुलोमा आलु उसिन्न कुकर बसाल्दै गरेकी फूलमायाले पुलुक्क गल्पकारतिर हेरी । ऊ विकासे नश्लको सुँगुरझैं थलथल मोटी र हाँडीको पींधझैं काली थिई । उसले लगाएको पाइन्ट र टीसर्ट उसको शरीरमा टिमिक्क टाँसिएका थिए । खास गरी उसका छाती र नितम्ब सामान्यभन्दा भद्दा र धेरै ठूला देखिन्थे । 

बूढी लड्छे कि भन्ने गल्पकारको डरको जवाफ फूलमायाले दिइन ।

“यिनी लडिन् भने त टाउको फुट्न पनि सक्छ ।”, गल्पकार फेरि करायो ।

“आऽ के लड्थी अङ्कल ! यो त चुम्बक हो, चुम्बक ! देश खार शेष भकी चुम्बक ! नामै बम्बैबुढी !” 

थसुल्ली फूलमायाको जवाफ गल्पकारलाई मन परेन क्यारे ! उसले नाक खुम्चायो तर प्रकटमा केही भनेन । 

गल्पकार बम्बैबुढीसामुन्ने तर विपरीत दिशाको स्टुलमा बस्यो र फूलमायालाई चिनीबिनाको एक कप चिया बनाउन भन्यो । ऊ आममध्यमवर्गको मानिसझैं चिनीको रोगी थियो ।

“साह्रै हरिप पो त छे यो बूढी ! रातभर खोलाको बालुवा चोर्छे । अनि दिनभरचाहिं यस्तै हो, यहाँ आएर उमिरहन्छे । अब त दिक्क पारिसकी अङ्कल यो राक्षेसनीले !”, फ्रिजबाट तुलसा डेरीको दूधको पोको झिक्दै काली थसुल्लीले भनी । त्यसपछि ऊ चिया पकाउने डेक्ची लिन भनी भाँडा माझ्ने चौकीतिर लागी ।

“राति मात्र चोर्ने ? दिउँसो मिल्दैन ?”

“दिउँसो त पुलिसले समात्छ नि अङ्कल !”

“पुलिसले दिउँसो मात्र किन समात्छ ? राति छुट दिन्छ ?”

“त्यत्ति पनि था छैन अङ्कललाई ? खोलाको बालुवा सर्खारको सम्पत्ति हो रे नि त !”

“त्यो त सरकारको सम्पत्ति हो तर सरकारको सम्पत्ति दिउँसो चोर्न रोक लगाउने र राति चोर्नलाई चाहिं छुट दिने हुन्छ र ?”

“पुलिसहरू राति सुत्छन्, त्यस बेला यो चोर्न जान्छे । अनि दिउँसो यो सुत्छे, पुलिसहरू आफ्नो डिप्टी गर्छन् । यो एक किसिमको लुकामारी खेलजस्तै त हो अङ्कल !”

“ए तेसो पो ? सत्य सेवा सुरक्षणम् !”

गल्पकार र फूलमायाबीचको संवादले बम्बैबुढीको उम्ने क्रममा कुनै व्यवधान आएको थिएन । लाग्थ्यो, ऊ अर्कै संसारमा थिई । ऊ लगातार उही रफ्तार र उपक्रममा हल्लिइरहेकी थिई । 

०००

बिहान छिप्पिँदै थियो तर आकाशमा धुम्मिएको बाक्लो बादल अझै चुपचाप थियो, मानौं उसको आवाज कसैले लुटेको थियो । जहरसिंपौवाको थाप्लोमाथिबाट आउने सूर्य पनि बादलको सिमाना नाघेर यता आउन सकेको थिएन । कच्चीसडकको दुवैपट्टि खेतमा तीन फिटजति अग्ला धानका बोट गत रातको निद्राबाट अझै ब्युँझेका थिएनन् । मटमैलो उज्यालोमा तिनीहरू अझै लट्ठ र स्थिर देखिन्थे । 

अल्छी धानका बोटहरू हुँदै गल्पकारले झन्डै एक किलोमिटर परसम्मको सडकमा हेर्‍यो, जहाँ एउटा चरोमुसोसम्म देखिएन । खासमा गल्पकार बोडेतिरबाट आउने कुनै एक खर्पनेलाई कुरिरहेको थियो । यो मौसममा खर्पनेहरू साग र अन्य तरकारीको बीउ बेच्न त्यही बाटो भएर यता आउँथे र माथितिरको बस्तीमा जान्थे ।

“आज यताबाट खर्पनेहरू गए नानी ?”, गल्पकारले थसुल्लीको छातीमा हल्लिरहेका दुई भद्दा स्तनतर्फ आँखा गाडेर सोध्यो ।

“था भएन त अङ्कल !”

“मलाई काउलीका बेर्ना चाहिया थ्यो ।”

“काउली रोप्ने बेला भो र अङ्कल ?”

“भदौको दोस्रो हप्ता भैसक्यो, अब पनि अल्छी गरे पछि के खानु !”

“अझै मुसलधारे पानी पर्न रोक्या छैन । हिजो राति खहरेमा आको बाढीले उताको तरकारी फाराम बगाएछ । रायोको बेर्ना राखेको ब्याड पनि पुरेछ । टनेलभित्र लगाको गोलभेंडा पनि चुर्लुम्मै डुबेछ । हिउँदे तरकारी त अलि पानी पर्न कम भएपछि लाउने हैन र अङ्कल ?”

गल्पकारले फूलमाया थसुल्लीको प्रश्नको जवाफ नदिंदै भट्टीपसलमा एउटा सत्तरी वर्ष नाघेको बूढो मानिस पाइलट चुरोट फुसफुस फुक्दै आइपुग्यो र सामुन्ने उमिरहेकी बम्बैबुढीलाई एकपल्ट क्रूरतापूर्वक घुर्दै अर्को छेउमा गएर बस्यो । ऊ गल्पकारभन्दा लगभग बीस वर्षजति जेठो थियो । उसले खैरा कमिजसुरुवाल र कालो इस्टकोट लगाएको थियो । टाउकोमा खजमजिएको पुरानो ढाकाटोपी थियो । खुट्टामा तलुवा खिइएको चप्पल थियो । उसको अनुहारमा चाउरीका अनेक राजमार्ग देखिन्थे । नियमितजसो रक्सी खानाले उसका चिम्से आँखाका दुवै डिल सुन्निएका थिए । 

उसले खाइरहेको चुरोटको गन्ध ह्वास्सै गल्पकारको नाकभित्र पस्यो ।

“ए बाजे ! यो उमेरमा अब चुरोट छोड्नोस् ! दमको रोगी हुनुभयो भने ?”, गल्पकारले ठालुपोजमा उपदेश दिन खोज्यो ।

“होस् हाइ सार, चुरटको पिर नागार ! आबा काति नै बाँच्नु छा रा यो ज्यानले ? दुईचार वार्षा ता बाँचिएला हुइ !”

“जे भए पनि बाँचुन्जेल जिउलाई तकलिफ नभए राम्रो हैन र ! दमको रोग लाग्यो भने त बाँच्न पनि साह्रै सकस पो हुन्छ त बाजे ! बरु खान जान्यो भने चुरोटभन्दा त रक्सी जाति हुन्छ भन्छन् ।”

“यो ता पच्चीसै आना ठीक हो सार !” 

त्यसपछि ऊ थसुल्लीतिर फर्कियो र भन्यो, “लौ हाउ फूलमाई ! यी सारको सल्ला आच्छा छाइना ता ?”

थसुल्लीले कुरा बुझी र मुसुक्क हाँसी । उसले पसलको कुनामा राखेको टेबुलमाथिको प्लास्टिकको जगबाट स्टिलको गिलासमा रक्सी खन्याई र बूढोको अगाडि राखिदिई । हावामा रहेको चुरोटको धुवाँसित रक्सीको गन्ध थपियो । गल्पकारले फेरि नाक खुम्च्यायो । 

त्यसपछि गल्पकारको चिया आइपुग्यो । उता बम्बैबुढी उस्तै हालतमा थिई, लगातार उमिरहेकी र हल्लिइरहेकी ।

०००

एक गिलास रक्सी स्वाट्ट पेटमा हुलेर बूढो उठ्यो । यसपल्ट उसले निदाइरहेकी बम्बैबुढीलाई एक आँखाले पनि हेरेन । उल्टै अर्कोतिर फर्केर खोक्यो र सडकमा पुग्नेगरी थुक्यो ।

“लु है फूलमाई, आइराकको पइसा मेरो खातामा लेख्देऊ ! लु ता सार बिदा पाम् । यहाँ बासेर फिरी कस्ले खाना दिन्छ रा !”

“आज कहाँ काम छ नि मङ्गलेबाजे ?”, फूलमायाले सोधी ।

“उइ ता हो ठिक्दारको नुन । आजा ढालान्को काम् छा भान्थ्यो क्यारे !”

त्यसपछि फूलमायाले केही भनिन । बूढो अर्को पाइलट चुरोट सल्काउँदै माथि गाउँतिर लाग्यो ।

मङ्गलेबूढो गएपछि पन्डितकाजी आयो । 

“नमस्कार है नारानसर ! आरामै हुनुहुन्छ ?”, मुसुमुसु हाँस्दै सोध्यो । “नमस्कार पन्डितकाजी ! आरामै छु । अनि तपाईं नि ?”

“म पनि आरामै छु सर ! यहाँ फूलमायाको चप्पलमार्का चिसो चिया एक गिलास भुँडीमा हुलौं भनेर ।”

“हो हो काजीसाप, हुल्नुपर्छ ।”

“ज्यान छन्जेल न यस्तो तिर्सना बाँच्ने हो । मरेपछि त तिर्सना भन्ने राक्षेस पनि शरीरसँगै खरानी भैहाल्छ त !”

“हो त नि, भष्मिभूतश्य देहश्य पुनरागमनम् कुत ?”

“हो हो ! तब न नारानसर ! बुद्धिजीवीको छाँटै बेग्लै !”

पन्डितकाजी जोडजोडले हाँस्न थाल्यो । हाँस्दा उसको थोते मुख साह्रै कुरूप देखियो ।

कथाकार नारायण ढकाल । तस्बिरः रवि मानन्धर/नेपाल 


बाँसजस्तो पातलो ज्यान भएको पन्डितकाजी बितेको बीस वर्षदेखि त्यो गाउँमा थियो । ऊ खानेपानी संस्थानको पिउन थियो । बीस वर्षअधि विश्व बैंकको आर्थिक सहायतामा पानी रिचार्ज गर्ने परियोजना गाउँमा आयो । परियोजनाको निम्ति जग्गा अधिग्रहण गरियो । सुरक्षक र पालोपहरामा बस्ने कर्मचारीका निम्ति भवन निर्माण गरियो । नदीबाट पानी तान्न यन्त्रहरूसहित पाइप ल्याएर जडान गरिए । भूमिगत जलसतहसम्म पानी पुर्‍याउन आठ इन्च गोलाइका पाइप गाडिए । यसरी करौडौं खर्च भयो । खानेपानी संस्थानको मान्यता थियो, उपत्यकाको भूमिगत जलसतहको पानी रित्तिंदै गएकोले भविष्यमा जमिन नभासियोस् भनेर यो परियोजना आएको हो । विश्व बैंकले पनि यो मान्यतालाई अनुमोदन गर्दै आर्थिक सहायतासहित वैतनिक कल्सल्ट्यान्सी सेवा प्रदान गरेको थियो । तर, परियोजना निर्माण पूर्ण भएपछि रिचार्ज सफल भएन । हुन सक्छ, परियोजना बिफल हुन्छ भन्ने कुरा संस्थान र विश्व बैंकलाई पहिल्यै थाहा थियो । जे होस्, परियोजना नचले पनि पन्डितकाजीचाहिं संस्थानको सम्पत्ति कुर्ने कार्यमा त्यहाँ रहिरह्यो ।

पन्डितकाजीको घर नुवाकोट जिल्लाको खरानीटार गाउँमा थियो । त्यहाँ उसका स्वास्नी र छोराछोरी थिए । गाउँमा रहँदा ऊ चौबीसै घन्टा रक्सीको नशामा लट्ठ रहन्थ्यो । केही काम गर्दैनथ्यो । घर परिवारका कसैले पनि उसलाई मन पराउँदैनथे । गाउँलेको आँखामा पनि ऊ साह्रै बदनाम थियो । उसको कमाइधमाइ केही थिएन, बरु उल्टै ऊ घरका सामान र स्वास्नीको गरगहना चोर्ने गथ्र्यो । घर र समाजले धेरै घृणा गरेपछि ऊ गाउँ त्यागेर राजधानी आयो । शुरुमा उसले यहाँ झन् दुःख पायो । कयौं रात सडकमा यात्रुहरूलाई बाटो काट्न बनाएका आकासेपुलमाथि सुत्यो । कयौं दिन भोकभोकै रह्यो । तर, एक दिन उसको भाग्यको ढोका उध्रियो, मानौं भाग्य उसलाई खोज्दै आएको थियो । महाबौद्धको गुरुवाचार्यको भट्टीमा रक्सी खान पसेको दिन नैकापको धुम्बे सार्कीसित उसको चिनजान र आत्मीयता बढ्यो । त्यसको भोलिपल्ट उसैले खानेपानी संस्थानमा लगेर पिउनको जागिर मिलाइदियो । धुम्बे सार्की पहिलेदेखि त्यहाँ पिउन थियो । त्यो घटनाले रक्सीरक्सीको प्रेम कति धेरै बलियो हुन्छ भन्ने भनाइ चरितार्थ भएको थियो । यी कुरा यसअघि पन्डितकाजीले गल्पकारलाई रिठ्ठो नबिराई सुनाइसकेको थियो । 

पन्डितकाजी हरबखत रक्सीमा डुबे पनि उच्चकोटीको भलादमी थियो । चाँडै नै ऊ हाकिमहरूले मन पराउने पिउनहरूको सूचिमा अग्रस्थानमा दरियो । त्यस गाउँमा छ्यालब्याल पैसासहित विश्व बैंकको परियोजना आएपछि ऊ यता खटियो । उसलाई गाउँ खूबै मन पर्‍यो । आफ्नो गाउँमा जस्तो उसलाई घृणा गर्ने यहाँ कोही निक्लेनन् । बिग्रेको जँड्याहा भनेर कसैले हेप्दैनथ्यो । त्यसपछि ऊ कतै गएन । संस्थानमा जागिरे भएपछि ऊ एकपटक पनि घर गएन, न त उसलाई खोज्दै घरकाहरू यता आए । यसरी ऊ आफ्नो ठाउँबाट चङ्गाझैं काटिए पनि यता अर्को चङ्गामा जोडियो । उसलाई गाउँका सबैले पन्डितकाजी भनेर स्नेह गर्थे । घरमा मीठोमसिनु पाकेको बेला उसलाई सम्झिन्थे । 

मङ्गलेबुढो अलि टाढा पुगेपछि गल्पकारले पन्डितकाजीलाई सोध्यो, “यी बुढा यता नयाँ आ जस्ता छन् नि, हैन त काजी ?”

“काँ नयाँ हुनु ! ती यै बम्बैबुढीका लोग्ने त हुन् नि ! यिनीहरू दश वर्षदेखि यहाँ छन् ।”

“यिनका लोग्ने रे ! तर अघि उनले बूढीलाई बालमतलब गरेनन् त ?”

“पन्ध्र दिनजति भो छुट्टाछुट्टै बस्न थालेका । एक दिन दिनभरि झगडा गर्‍या थे । हाम्रै अपिसअगाडिको चौरमा लडाइँ भाथ्यो । मैले त छुट्याउनै सकिनँ । बूढाले लात्तैलात्ताले भकुरे । उनी लोग्नेमान्छे हुनुको घमण्डले चूर देखिन्थे । तर यी बूढी पनि के कमकी थिन् र ! जवाफमा उनले पनि लात्तैलात्ताले अनारीमा हान्दिइन् । बूढा थचक्कै बसे र आधा घन्टासम्म उठ्नै सकेनन् । त्यसपछि छुट्टिएका हुन् । अहिले एकअर्कालाई देख्नै सक्दैनन् । बूढी निदाएकोले, नत्र यहीं अघि हानाहान परिसक्थ्यो । अब यिनीहरू जोडिएलान्जस्तो छैन नारानसर ! तपाईं त कवि र लेखक, लौ भन्नोस्त यो मानिस भन्ने जनावर किन यति कठोर र निष्ठुरी हुन्छ ?”

के जवाफ दियो भने पन्डितकाजीभित्रको दार्शनिक सन्तुष्ट हुन्छ होला ? गल्पकार सोच्न थाल्यो । दुविधाले ऊ छटपटियो ।

“बुढेसकालमा के रमिता गरेका त यस्तो ? के निउँमा झगडा भएछ ?”, गल्पकारले पन्डितकाजीको प्रश्न छलेर उल्टै प्रश्न गर्‍यो ।

“बुढा भन्थे, बुढी हल्दारसित सुती, अब यस्ती रन्डीसित बस्न सक्दिनँ ! अनि यिनी भन्थिन्, बालुवा झिक्न सजिलो पर्छ भनेर पहिले सुत्न पठाम्ने अनि उल्टै निउँ खोज्ने ? खोइ कुरो के थ्यो भगवान् जानून् नारानसर !”

“पुलिससित लफडा पर्‍या थ्यो र ?”

“पुलिस भन्दैमा सबै एकै हुन्नन् सर ! एउटा जँड्या हल्दार सरुवा भर याँ आ छ । त्यो आएसि यस्ता काण्ड मच्च्या छन् । हुन त म पनि दिनमा बाह्र घन्टा रक्सी खान्छु तर मैले अहिलेसम्म यो गाउँका कुनै आइमाईलाई नराम्रो आँखाले हेर्‍या छैन । छ भन्नोस् त नारानसर, तपाईं त याँको रैथाने ?”

फेरि गल्पकार पन्डितकाजीको अर्को प्रश्नले अलमलियो ।

“अचेल यी बूढीलाई कसैले काममा बोलाउन्नन् । हल्दारसित सुतेको काण्डपछि गाउँमा यिनलाई समर्थन गर्ने कोइ छैनन् । अचेल यिनको काम बालुवा चोर्नु र डनहरूलाई बेच्नु हो । ती बालुवाका अवैध व्यापारीहरूलाई त केइ कारबाइ हुन्न । कारबाइ त यस्तै निमुखालाई हुने न हो । आआफ्नु भाग्गेको कुरा ! यी बूढीले जति कसले दुःख पायो होला र जिन्दगीमा ! यिनको घर पनि नुवाकोट हो । मेरोभन्दा एक बिहानको बाटो टाढा पर्छ । लेकतिरकी हुन् । जवान छँदा यिनी आफ्नै इच्छाले बम्बैमा कोठीमा बस्न गकी रे भन्थे । त्यसैले यिनको नाम बम्बैकुमारी बनेछ । शायद बम्बै जानुअघि अर्कै नाम हुँदो हो । हामी केटकेटी हुँदा हाम्रो गाउँभन्दा माथितिर त्यस्तो चलन थियो, आफ्नै इच्छाले बम्बै जाने । यिनीहरू ज्यादै गरिब थिए । गरिबीमा पिठो गिलो भन्छन् नि ! आमाबाबु रोगी । घरमा अर्को भनेको सानो पिलन्धरे एउटा भाइमात्र थ्यो । यिनलाई गाउँकै अर्की भुक्तभोगी बूढीले बम्बै लेर गइछ । बीस वर्षसम्म कोठीमा बसेर पैसा कमाएर घरमा पठाइछन् । भाइ ठूलो भएछ । स्वास्नी ल्याएछ । साउको रिन तिरेछ । घरमा जस्ता हालेछ । खेत किनेछ । यिनी बूढी हुन लागेपछि घर फर्किछन् । याँ आउँदा बाआमा मरिसकेका थिए । यता केही दिन त भाइले पालेछ । पछिपछि बुहारीले हेला गर्न थालिछ । भाइ पनि उनको निम्ति नबोल्ने भएछ । ल हेर्नोस्त सर, कस्तो स्वार्थी संसार ? उनकै दुःखले भाइ धनी भयो तर गुन देखेन । बुहारीले खाने बेलामा भाग लाउनै छोडिछ । केइ बोल्यो कि, ए बेस्से बोल्छेस् भनेर थर्काउन थालिछ ! यता फर्कंदा पनि बेस्से, उता फर्कंदा पनि बेस्से । त्यसपछि उनी आफ्नो थलो त्यागेर यता आइछन् । अघिका मङगलेबूढालाई यैं आर भेटेकी हुन् यिन्ले ।”

पन्डितकाजी एकछिन रोकियो । गल्पकार उसको कथावाचन शैलीमा मन्त्रमुग्ध थियो । 

पन्डितकाजीले फेरि भन्यो, “बूढाको कथा पनि त्यस्तै । छोराबुहारीले निकालेका । यहाँ आएर भेट भएपछि पैलापैला त खूप मिलेर बस्या थे । परेवाका जोडीझै सधैं सँगसँगै हुन्थे । काम पाए काम गर्थे, नपाए खोलाबाट बालुवा झिक्थे । बूढाबूढीको जीवन दुःखसुख चल्या थ्यो तर गाउँको अस्थायी चौकीमा जँड्या हल्दार आएसि त यिनेरुको बिजोगै पो भो त सर !”

“जँड्याहा हल्दार ?”

“फिलिममा झैं जीवनमा पनि त्यस्ता खलनायक हुँदा रहेछन् नारानसर । भो अब त्यो शैतानको कुरा नगरम् । हाम्रो व्यवस्था पनि कस्तो ? बद्मासलाई मात्र ठाउँ मिल्छ ।”

“कथा त गज्जबैको रहेछ । अनि पन्डितकाजीको कथावाचन शैली पनि अद्भुत रहेछ !”, गल्पकारले भन्यो ।

“हत्तेरी नारानसर ! अब मलाई जिस्काउन पो थाल्नु भो ! ल म पनि कस्तो लठुवा रेछु ? बेफ्वाँकमा अर्काको कुरा काटेर बस्ने ! यस्ले के फैदा ? ए फूलमाया ! मेरो चिसोचिया ख्वै त ?”

त्यसपछि पन्डितकाजीले एक सासमा दुई गिलास ठर्रा सुइँक्यायो र नमिठो मुख पार्दै त्यहाबाट हिंड्यो । शायद मङ्गलेबूढा र बम्बैबुढीको विषयमा यत्रो लामो गफ दिएकोमा उसलाई पश्चातापको आगोले पोल्न थालेको थियो । 

०००

त्यस बेलासम्म भट्टीपसलको बाटो भएर एउटा पनि खर्पने आएन । अरू केहीबेर खर्पनेलाई कुर्ने नाममा गल्पकारले अर्को एक कप चिया थप्ने सोच बनायो र फूलमाया थसुल्लीलाई भन्यो, “यसपटक कालो र थोरै चिनी हालेको है नानी !”

उसले मुन्टो हल्लाई । 

“आज कुनै चाडबाड त परेन ? नत्र यस बेलासम्म त एउटा न एउटा आइसक्थ्यो ।”, आफूभित्रको हतास भावलाई जित्न गल्पकार करायो ।

फूलमाया गल्पकारको तनावमा तटस्थ देखिई । ऊ चियाको भाँडो बसालेर जुठा भाँडा पखाल्न चौकीतिर लागी । त्यसै बेला कतारमा काम गर्न गएको उसको लोग्नेले फेसबुकको म्यासेन्जरबाट भिडियो च्याट गर्‍यो । ऊ उभिईउभिई च्याटमा व्यस्त भई ।

खर्पने नआएकोले गल्पकार साह्रै रन्थनियो । ऊ त्यहाँबाट उठ्यो । पाइन्टको पछिल्लो खल्तीबाट वालेट निकाल्यो । अनि दुई कप चियाको पच्चीस रुपैयाँ फूलमायाको हातमा थमायो र अँध्यारो मुख लाउँदै कच्ची सडकमा निस्कियो । 

बिहानको सूर्य अझै पूर्वी आकाशको बादलपारि थियो । यता भट्टीपसलको स्टुलमा बसेकी बम्बैबुढी अद्यापि उही गति र लयमा उमिरहेकी थिई ।

।। २०१७ ।। 


(बुकहिलबाट प्रकाशोन्मुख नारायण ढकालको सातौँ कथासंग्रह 'तमस' बाट ।)

प्रकाशित: मंसिर १३, २०७६

×