[सम्पादकीय] चिसो एस्ट्रेमा अलिअलि गर्दै निभिरहेको हाम्रो जीवन

- बसन्त बस्नेत

कुनै बेला ‘नयाँ नेपाल’ भन्दा कम लोकप्रिय थिएन, ‘स्वच्छ, सफा, हराभरा काठमाडौँ’ नारा । तत्कालीन महानगरले यो नारा दिएको दुई दशक नाघ्दा आज प्राचीन सांस्कृतिक राजधानी पर्यावरणीय दृष्टिकोणले बस्नै नमिल्ने सूचीमा पर्दै छ । कवि भूपी शेरचनले चिसो एस्ट्रे भनेका थिए काठमाडौँलाई । यो चिसो एस्ट्रेमा हाम्रो जीवन अलिअलि गर्दै निभिरहेको छ ।

कात्तिक तेस्रो साता युरोपेली संस्था आईक्यु एयरले संसारभरिका प्रदूषित राजधानीको सूची प्रकाशन गरेथ्यो । बढी प्रदूषित सहरको पहिलो वरीयतामा नयाँ दिल्ली छ । काठमाडौँ सातौँमा । हामी सबैलाई थाहा छ, नेपालको राजधानी सहर अधिक प्रदूषित छ । नेपालको यो अंकमा यम बमले आवरण कथामार्फत हाम्रो जीवनको गुणस्तर दयनीय हालतमा पुगिसकेको खुलाएका छन् ।

जसै हिउँद सुरु हुन्छ, घरघरका प्रदूषणपीडितहरू अस्पतालको चक्कर काट्न बाध्य हुन्छन् । बिरामी, केटाकेटी र बूढाबूढीलाई यस्तोमा जोगाउन असाध्यै गाह्रो छ । धुलाम्य सडक पार गर्दै विद्यार्थीहरू स्कुल–कलेज धाउन बाध्य छन् । प्रधानमन्त्री केपी ओलीले केही समयपहिले दाबी गरेझैँ काठमाडौं तत्काल मास्कविहीन सहर भइहाल्ने देखिँदैन । केही सडक खण्ड पहिलेभन्दा सन्तोषजनक हालतमा रहे पनि जनजीवन आक्रान्त बन्ने क्रम टुटेको छैन ।

समस्या राजधानीमा मात्रै छैन । देश भ्रमण वर्षको सम्मुखमा छ । तर पर्यटकहरू सर्वाधिक जान चाहनेमध्येको लुम्बिनी क्षेत्र नै असुरक्षित छ । लुम्बिनीलगायत तराई क्षेत्रमा धुलोको कणसँगै उद्योगबाट निस्केको धुवाँको मात्रा बढ्दो छ । चितवन, सौराहा, नेपालगन्ज उस्तै समस्या भोगिरहेछन् । सर्वोच्च अदालतले ०६३ मा बस्ती, वनजंगल, होमस्टे, स्मारक, पार्कबाट नजिक रहेका इँटाभट्टा तत्काल हटाउन सरकारको नाममा परमादेश जारी गरेको थियो । त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन । वातावरण विभागले गत वर्ष दाङ, नवलपरासी र धादिङका सिमेन्ट उद्योगको अध्ययन गर्दा ‘ती क्षेत्रमा धुलोको मुख्य स्रोत सिमेन्ट उद्योग, ढुवानीका सवारीसाधन र सडक’ लाई औँल्याएको प्रसंग यहाँ स्मरणीय छ ।

यस्तोमा राज्यको ठोस पहल अपेक्षित छ । आज हाम्रा सामुन्नेको यो समस्याको स्रोत हामी नै हौं । बस्ती बसाल्न, मानिसको सुविधाका लागि विकास पूर्वाधार निर्माण गर्न पक्कै आवश्यक हुन्छ । तर विगतदेखि नै वातावरणको बढ्दो विनाशप्रति बेपर्वाह हुँदै विकास परियोजना अगाडि बढाइए । राज्यको भरपर्दो अनुगमन नहुँदा प्राकृतिक स्रोत दोहन गर्ने क्रम अझै बढ्यो । उसमाथि यसै वर्ष चक्रपथको दोस्रो खण्ड विस्तारका नाममा राजधानीमा काटिएका असंख्य रूख राज्यको लापरबाहीका प्रतिविम्ब हुन् ।

सार्वजनिक यातायात सहज उपलब्ध नहुँदा निजी सवारीको संख्या थपिँदो छ । आडम्बरकै लागि भए पनि विलासी देखिने लालसाले थपिएका सवारीसाधन पनि बढ्दो प्रदूषणका कारक हुन् । ४० लाखजति जनसंख्या बस्ने काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । अहिलेसम्म राज्यका निकायले अस्थायी समाधानका भरमा समस्या पन्छाउँदै आएका छन् । 

हेलो सरकार, प्रदूषणको चिसो एस्ट्रेमा झोसिन अभिशप्त आफ्ना नागरिकको जीवनलाई असमयमै कतिन्जेल निभिरहन दिने हो ?

प्रकाशित: मंसिर १५, २०७६

×