साहित्यका ‘ब्याड ब्वाय’

- राजकुमार बानियाँ

परिचय थप्ने हो भने नारायण ढकाल, ६७, लाई प्रकाशक फेरिरहने लेखक भन्दिए पनि हुन्छ । इन्द्रजाल (०७१) फाइन प्रिन्टको थियो, नारायण ढकालका कथा (०७३) र हजार माइलको बाटो (०७४) फिनिक्सका थिए भने प्रेतकल्पको नयाँ संस्करण र प्रकाशोन्मुख तमस बुक हिलका । 

पहिले–पहिले उनी किताबबाट दामको आशा गर्दैनथे, किताब छापिदिए पुग्थ्यो । प्रकाशकले लेखकस्वबापत दिएका केही प्रति साथीभाइलाई बाँडेर मनग्गे खुसी हुन्थे । बिस्तारै ‘कमर्सियल प्रकाशक’ ले स्वागत गर्न थालेपछि उनको डेरा सरुवा भएको भयै छ ।

पहिलेका प्रकाशकसँग गुनासो नहुँदा–नहुँदै पनि ‘प्रकाशक ढकाल’ वर्षौं धाए, उनीभित्रको लेखक ढुलमुलिहाल्यो । “म नश्लवादी त होइन । तर कताकता पानीभन्दा रगत बाक्लो हुन्छ भन्ठानेछु,” यी पारदर्शी लेखक आफैँलाई उडाउँछन्, “दसैँताका फोन गरेँ, उठेन, एसएमएस गरेँ, जवाफ आएन । प्रकाशक आफैँ भागेपछि ल भइहाल्यो भनेर अर्को ठेगाना रोजेँ ।” 

कताकता उनलाई लाग्छ, प्रकाशकसित भेट नहुनुमा आफ्नै पनि कमजोरी होलान् । तर अब त्यो खुट्याइरहने समय छैन । उनले किताब छापेर कमाउने ध्याउन्न पनि छाडिसकेका छन् । उनको टोन बदलिएको छ– कमाएर दिए ठीकै छ, नदिए पनि गुनासो हुने छैन ।

यी लेखक चाहन्छन्, नरकको ढोका कवितासंग्रहजस्तो तमस चर्चाविहीन नहोस् । खासमा उन्नाइसौँ किताबको नाम उनले ‘भट्टी पसलमा उमिरहेकी बूढी’ राखेका थिए । प्रकाशकले नामै फेरिदिए । उनलाई किताब छाप्नु थियो, त्यही सदर भयो । १३ कथामध्ये ६ वटा त गुगल गाउँमै भेटिन्छन् । पुनर्लेखन गरेका र शीर्षक बदलेका सात वटा नयाँ छन् । 

उसो त ‘तमस’ आफैँमा पुरानो कथा हो । ०५१ को भर्सनमा तमस, त्यसपछि ‘तमसोमा ज्योतिर्गमय’ । “यो कथालाई मैले कम्तीमा दसचोटि पुनर्लेखन गरेँ, अर्को संस्करण निस्क्यो भने फेरि पुनर्लेखन गर्नेछु,” आत्ममुग्धता नभएका यी लेखक परिहास गर्छन्, “मलाई कुनै कथा पूर्ण भएजस्तो लाग्दैन । किताब निस्केको भोलिपल्टदेखि झूर लाग्न थाल्छ ।” 

पुरानो कथाकिताबको ‘आत्महन्ता’ पनि यसमै छ । झन्डै उपन्यासजति लम्बाइको कथा पनि उनले बुढेसकालको उत्साह भरेर पुनर्लेखन गरे । “एक अन्तर्राष्ट्रिय पढन्ता (गोविन्दराज भट्टराई) ले अल्बेयर कामुको आउटसाइडरभन्दा राम्रो छ भनेर बखान गरेपछि मलाई पनि लोभ लाग्यो,” उनी ठट्टैठट्टामा भन्छन्, “संरचना र जोडान मिलाएर पाठकसामु फेरि हाजिर गरेको छु ।” 

यसै मेसोमा भनिहालूँ, प्रेतकल्प उनको कमाउने किताब हो । तर त्यसका तीन कमजोरी पाठक–समीक्षकले नऔँल्याएकामा खिन्न छन् । पहिलो, उनी संस्कृतका विद्वान् होइनन्, गहकिला श्लोक सारेका छन् । दोस्रो, मन्त्री खान्नँ भन्ने पण्डित बालकृष्णजस्तो त्यागी पात्र खडा गरेका छन् । तेस्रो, उपन्यासको जस्तो क्रान्तिकारी प्रेम कहीँ पनि हुन्न । तुलनात्मक रुपमा राम्रो उपन्यास वृषभ वध त्यसकै छायामा पर्‍यो । प्रेतकल्पले साझा पुरस्कार पायो, बिक्री पनि भरमार भयो । भलै साझा प्रकाशनसित पाँच–छ लाख उठाउन सकेनन् र नयाँ प्रकाशकलाई जिम्मा लगाए ।

झूर लेख्छु भन्नु पक्कै पनि लेखकको विनम्रता हो । कुनै बेला चित्रकार–लेखक मनुजबाबु मिश्र त्यसैगरी आफ्नै अनुहारमा सिङ र दाह्रा राखेर सेल्फ पोट्रेट बनाउँथे । अरुको अनुहारमा त्यसरी सिङ र दाह्रा हाल्नु असभ्यता हुन्थ्यो उनका लागि । लाग्छ, नारायणले पनि मनुजकै शैलीमा अरुको कथालाई झूर भन्नुभन्दा आफैँलाई झूर भनेका हुन् । “व्यक्तिलाई के गाली गर्नु ? म मित्रमण्डली पनि गुमाउन चाहन्नँ,” उनी ढाँट्दैनन्, “धेरैजसोका रचना पल्टाएर यसो हेर्छु, झूर नै लाग्छ । म पनि त्यति राम्रो लेखिरहेको छैन ।” 

आफ्नो ‘ब्याड ब्वाय’ छविसँग हुरुक्कै हुन्छन्, नारायण ढकाल । बाल्यकालदेखि नै उनी ‘खराब काममा राम्रा’ रहेछन् । गुरुलाई थर्काउने गरी किताब पढ्ने, आफू पहिल्यै सिक्ने, गुरुलाई अन्टसन्ट सोध्ने अनि यसले पढाउन सक्दैन भनेर होहल्ला गर्ने र मान्छे उठाएर लखेट्ने । उनका संस्मरण पढ्दा थाहा हुन्छ, यी हरिप लेखक हुन् । “पितृभक्त, मातृभक्त, गुरुभक्त बन्ने बाटोतिर म हिँड्दै हिँडिनँ,” उनी स्वीकार्छन्, “बदमासीमा मेरो रेकर्ड कसैले तोड्न सकेनन् ।”

कक्षा १ मा भर्ना हुन जाँदा गुरुले उनलाई २ मा राखिदिए । त्यहाँ पहिलो भएपछि ४ मा फड्काइदिए । चाबेलको पशुपति हाइस्कुलमा पढ्दापढ्दै एसएलसी बोर्डमा आउने महफ्वाकांक्षाले पद्मोदय स्कुल पुगे । त्यहाँ पनि किताबका किताब घोकेर पहिला–दोस्रा भइरहन्थे । 

९ कक्षामा विज्ञान गुरुले अर्ती दिए– ‘भगवान् हुन्न, त्यो मान्छेले बनाएको हो, घोक्ने होइन, बुझ्नुपर्छ ।’ 

घोक्न छाडेपछि झन्डै फेल भए । मूलपानी–पुतलीसडक पैदलै धाउँथे । आउजाउमै चार घन्टा सकिन्थ्यो । ०२५ को एसएलसीमा हनहनी ज्वरो आएर जाँच दिँदा पनि सेकेन्ड डिभिजन ल्याएको भनी गुणगान भयो काँठमा । डाक्टर बन्ने मनसुवाले अस्कल क्याम्पस गए । न घोके, न त लेक्चर बुझे । कतिसम्म भने, फिजिक्समा जिरो, बायोलोजीमा तीन र केमिस्ट्रीमा सात नम्बर आयो । 

कि कलेज फेर कि दोहोर्‍याएर पढ भन्यो कलेजले । ०२८ माघतिर मनमनै क्रान्ति गर्छु भन्दै साथी विजय नेपालसित दार्जिलिङतिर भागे । पुराना साथीहरु भन्छन् रे, ‘फिजिक्सजस्तो सजिलो विषय पनि पढ्न सकिनस् ? साहित्यभन्दा त धेरै सजिलो हो ।’

डाक्टर बन्ने सपनाको दुर्घटनापछि उनी आफ्नो महत्त्व स्थापित गर्न साहित्यतिर लागे । विक्रम नेपाली, बाबुकाजी नेपाली, बालकृष्ण थापा, मगर श्रेष्ठ, रजनी थापा आदि छद्म नाममा समेत लेख्ने उनको साहित्यलाई समाजले बुझ्न भने सकेन । “साहित्यले समाजसित गर्ने संवाद ढिलो हुन्छ, त्यही काम राजनीतिले एकदमै छिटो गर्न सक्छ भन्ने लागेर म राजनीतिमा लागेँ,” उनी भन्छन्, “तर मैले नसक्ने वा नबुझ्ने किसिमले पो संवाद गर्दो रहेछ ।”

नारायणको ब्याड ब्वाय छवि किन पनि बन्यो भने कुनै बेला हंग्री जेनेरेसनजस्तो अराजकतावादी दर्शनको पछि लागेका थिए । कपाल पाल्ने, ठूलठूलो बुट अनि पालजस्तो बाक्लो जिन्स लगाउने, लागूभागू खाने, गाँजा–भाङ–धतुरो–एलएसडी केही नछाड्ने । निरन्तर डुलिहिँड्ने लफंगो । 

उनका बा, बाजे, कुप्रा बाजे थिए काँठमा कहलिएका ज्योतिष । नातिले घरमा झन्डा हाल्छ भन्थे बाजे । गृह मन्त्रालयको शान्ति सुरक्षा शाखामा सुब्बा थिए, बा । अराष्ट्रिय तत्त्वको कोड ट्रान्सलेट गरेर सचिवलाई बुझाउने विश्वासपात्र । तिनैका जेठा छोराले टुप्पी फाले, जनै चुँडाले र पुरानो कुरासित आनन्द नआएकाले घर छाडेर हिँडे । राजनीतिमा लाग्दा एक दर्जन पटक पक्राउ परे र जेल बसे ।

उनलाई मार्क्सिज्ममतिर लैजाने पनि त्यही हिप्पिजम रहेछ । एलेन गिन्सबर्गको कवितांश ‘माक्र्स पढिरहेको छु र गाँजा खाइरहेको छु’ पढेपछि उनलाई होसहवास आयो– गाँजा खाएर मात्र हुँदो रहेनछ, माक्र्स पनि पढ्नुपर्ने रहेछ । “म हिप्पी नभएको भए कुनै हालतमा माक्र्सवादी हुने थिइनँ,” उनी भन्छन्, “प्रेम सम्बन्धको ढाँचा, गाँजादेखि खानासम्मको साझेदारी अनि नारीका निम्ति समतामुखी स्पेस हेर्दा हिप्पिजम अहिले पनि प्रगतिशील लाग्छ ।”

शरणविक्रम मल्ल, रघुजी पन्त अनि युवराज कार्कीले विमल निभा र उनलाई पुष्पलालको लाल शिविरमा पुर्‍याए । हिप्पीको त्यस्तो अराजकताबाट निस्केका उनी १० वर्षसम्म कुनै भट्टीमा पसेनन्, गाँजाचरेस खाएनन्, प्रेमको चक्करमा लागेनन् । 

भाषण गरेर कहिल्यै भागेनन्, श्रोताको आँट बढाउनका निम्ति ।

तत्कालीन नेकपा (माले) को मुखपत्र दृष्टि साप्ताहिकको सम्पादकका रुपमा खटिए । उनको पारा देखेर गोपाल गुरागाईं मुसुमुसु हाँसिरहन्थे । तर उनले सात दिनमै गियर लिइहाले । त्यतिबेला बाग्मती अञ्चलाधीश कार्यालयलाई चार हजार प्रति जफत गराएर ६० हजारसम्म बजारमा पुर्‍याएको फूर्ति उनी लगाइरहन्छन् । रत्नपार्कमा माइला भनिने कृष्णप्रसाद गौतम गोरखापत्रभित्र हालेर दृष्टि बेच्थे । जिल्ला–जिल्लाबाट फोन आउँथ्यो रे, ‘खै हाम्रो झन्डा आइपुगेन ।’

भूमिगत नाम मुक्ति भएका उनले सात वर्ष मास्टरीमा खर्चिए । मूलपानी गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च लड्नका निम्ति राजीनामा दिएर निस्कँदा उनी एक हाइस्कुलका हेडमास्टर थिए । तर उनी तेस्रो भएर हारे । ०४९ मा त्यसको बदलासहित गाविस अध्यक्ष चुनिए । तत्कालीन एमाले महासचिव मदन भण्डारीले जिल्ला विकास समिति काठमाडौँको उपसभापतिमा उठाए । पूर्वविद्यार्थी रहेका कांग्रेस मतदाताले सघाएकाले जिते पनि । 

०५३ मा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले काठमाडौँ क्षेत्र नं १ छाडे र त्यहाँको उपनिर्वाचनमा उनैलाई उठाए । उनले तीन वर्ष संसद्को सुविधा लिए तर सुत्केरी भत्ता खाएनन् । एमाले काठमाडौँ जिल्ला सचिव हुँदा पजेरो–प्राडो लिनुहुन्न भन्ने सर्कुलर गर्दा झन्डै कारबाही भोगेनन् ।

एमाले विभाजनपछि मालेमा लागेका उनी सात दिनभन्दा बढी टिक्न सकेनन् । वामदेव गौतमभन्दा पहिले एमालेमा फाल हाले तर हाल उनको कुनै पदीय सक्रियता देखिँदैन । यी अस्थिर र असफल राजनीतिक प्राणी हिजोआज ठाडै भनिरहेका छन्, “म राष्ट्रिय सभामा जाँदा आन्दोलनलाई धोका हुँदैन ।”

कुनै बेला एमालेको संस्कृति विभाग प्रमुख प्रदीप ज्ञवालीले एकेडेमीमा जानेहरुले ‘हात उठाउनोस्’ भन्दा ‘म नजाने’ भनेर हात उठाउने पनि यिनै नारायण थिए । केका लागि सांसद बन्ने त ? उनको तर्क छ– राष्ट्रिय सभामा कुनै नतिजा दिनु पर्दैन । “काँठमा पार्टी संगठन गरेको श्रेय त छँदै छ, साहित्यकारका हिसाबले पनि मेरो योग्यता पुग्छ, ओलीजीले बुझ्नुपर्ने हो,” संसद्मै आफूलाई पर्यटक घोषणा गरेका उनी भन्छन्, “तर हाम्रो राजनीतिक (कु) संस्कृतिका कारण त्यति आशावादीचाहिँ छैन ।”

सांसदको तीन वर्षे पदावधि सकिएपछि बेरोजगार भएका बेला उनले झूर स्तम्भसमेत लेखे । बैंकबाट चार लाख ओभर ड्राफ्ट लिँदा झन्डै घर लिलामी गएन । घर जोगाउन भारतीय लगानी रहेको आप्का हाउसमा जागिर खाए, आठ वर्ष । उनलाई देशभक्त भनेर सधैँ धाप मार्ने राजेश्वर देवकोटाले नै घृणा गरे । 

सरकारी माक्र्सवादी हुन नचाहने नारायण ढकाल कोलम्बियाली लेखक मार्खेजको ब्रान्ड एम्बेसडरजसरी प्रस्तुत हुन्छन् । अहिले पनि खराब गर्न कहाँ पाइन्छ भनेर मौका खोजिपस्छन् । कहिले मापसेमा होलटाइमर भए । थुप्रै प्रेम गरे, छुटेपछि सेन्टीचाहिँ भएनन् । हिप्पीको प्रभावमा बरु अर्को प्रेममा सल्किए । दार्जिलिङबाट फर्केलगत्तै बाले जबर्जस्ती विवाह गरिदिएपछि पत्नीप्रेममा परे । अहिले त पाँच छोराछोरीबाट दस नातिनातिना नै छन् । 

हिप्पीकालमा पश्चिमा ब्यान्डका गीत सुने उनले । गितार बजाउने कोसिस पनि गरे । बिट भंग भएको झाङझाङ अहिले पनि चल्छ । लोक लयमा नाच्छन् पनि । कर्मकाण्ड पछ्याउनु उनको बाध्यता हो । वयोवृद्धा आमाकै खुसीका लागि बाको काजकिरिया मात्र गरेनन्, बर्सेनि श्राद्ध पनि गरिरहन्छन् । पत्रिकाको जागिरे हुँदा ‘बद्री केदार जानु छ’ भन्दै ढाँटेर बिदा लिई प्रेतकल्प लेखेका उनले ससुरा बासित त्यहीँको तीर्थयात्रा पनि गरे ।

मूलपानीको हावापानी उनलाई फलिफाप भएको छ । स्फूर्ति र स्मृति राम्रो छ । “अस्ति मुटु जँचाउँदा तेरो मुटु सोह्र वर्षेको जस्तो छ भन्यो । साँच्चै भन्यो कि चाप्लुसी गर्‍यो ?” उनी ठट्यौली मुद्रामा आउँछन्, “बेलुकी बुहारीले माया गरेर धेरै भात खान दिन्छिन् । स्लिम फिट भुँडी पनि पुटुस्सिएको छ ।” छोराहरु पढाउन काँठको दुई रोपनी जग्गा बेचेका यी लेखकसित अझै पनि पाँच रोपनीजति सहीसलामत छ । भलै खेतीपाती गर्दैनन्, भाडामा दिएका छन् ।

पाठकवृन्दले शंका गरे पनि नगरे पनि उनले जति बुझेका छन्, त्योभन्दा धेरै नै लेखिसके । काँठको थोरै कच्चा पदार्थ लिएर धेरै किताब लेखेको ख्याल उनलाई छ । अर्को किताब नआउन्जेल अन्तर्वार्ता पनि नदिने उनको अठोट छ । लेखकीय ‘मालम्याटिरियल’ दोहोरिनु भनेको आत्महत्याबराबर हो । कम्तीमा त्यो उनी चाहँदैनन् । 

पक्कै पनि नारायण ढकाल श्राप परेर लेखक भएका होइनन् । स्वान्त सुखाय मात्र होइन, लेखकीय आनन्द अनि समाज र जागरुक पाठकसितको संवादका लागि उनी लेखिरहन चाहन्छन् । अब वर्षौटे किताब निकालेर झिझ्याट लगाउने विचार पनि छैन । उनको अनुरोध छ, “कम्तीमा दुई वर्ष प्रकाशकले फुर्सद दिए हुन्छ । पाठकले पनि पर्खिए हुन्छ । मलाई माफ गर्नुहोला ।”  

प्रकाशित: मंसिर १६, २०७६

×