[फोटो कथा] गढीमाई मेलामा पशुबलिको विरोध हुँदै छ, दर्शनार्थी भने झन् थपिँदै छन् 

  • बलि लिन तम्तयार गढीमाई

- सरोज बैजु

पशुबलिका कारण बढ्ता चर्चामा आउँछ, गढीमाई हिजोआज । मध्य मधेसको बारा सदरमुकाम कलैया नजिकै बरियारपुरमा पाँच वर्षमा एकपल्ट लाग्ने यो मेला रंगैरंगले भरिएको अपूर्व उल्लासको उत्सव हो । 

कलैयाबाट ६ किमि पूर्वतिर अघि बढ्दा पुगिन्छ, गढीमाई । तान्त्रिक विधिबाट रातभरि पूजा चल्ने गढीमाईमा बिहान ४ बजेतिर सेतो मुसा खोजेर त्यसको बलि दिने चलन छ । त्यसपछि पालो आउँछ, क्रमश: सुँगुर, परेवा, हाँस, कुखुराको । त्यसपछि नरबलिको ।

गढीमाई व्यवस्थापन समितिले नरबलिका लागि प्रत्येक पाँच वर्ष एक जना धामी चयन गर्छ । अघिल्लो पल्ट यो पंक्तिकार गढीमाई पुग्दा स्थानीय धामी दु:खा कछडियाले शरीरका कान, जिब्रो, औँला, पाखुरा, तिघ्रा गरी पाँच अंगबाट तपतप रगत चुहाउँदै गढीमाईका नाममा चढाएथे ।

त्यसपछि पालो आउँछ, राँगाबलिको । करिब चार सय हतियारधारी त्यसका लागि खटाइएका हुन्छन् । चिताएका कामना पूरा होऊन् भनी भाकल चढाइएका राँगालाई तिनले एकपछि अर्को गर्दै छप्काउँछन् । मंसिर शुक्ल सप्तमी र अष्टमीका दिन यो क्रम चल्छ ।

पशुबलि दिइने परम्परा ठीक कि बेठीक ? यो बहस प्रत्येक मेलापिच्छे चल्ने गर्छ । सांसारिक अस्तित्वमा मानिसले आफ्नो श्रेष्ठता दाबी गर्ने गरेको छ, जसअनुसार अरू प्राणीको जीवनको लम्बाइ उसले निर्धारण गर्ने गर्छ । कम्तीमा गढीमाईमै बलि नदिए पनि घरमै खसी, कुखुरा, सुँगुर, राँगा आदि काटेर खाने हाम्रो चलन नै छ । गढीमाईको एकै थलोमा हजारौँ राँगाको रगत बग्दा हाम्रो मन कटक्क खान्छ । तर प्रत्येक दसैँ वा अन्य जाति, धर्मावलम्बीका पर्वमा पनि बलि दिने परम्परा त छँदै छ । यसलाई के भन्ने ! 

पशु अधिकारकर्मीहरू पनि यसै क्रममा गढीमाई पुगेर विरोध जनाउने गर्छन् । तर आस्थावान्को लर्को रोकिने वा घट्ने त के, उल्टै बढ्दै गएको छ । बाबुराम भट्टराई र हिसिला यमीको बिहे गराएर कुनै बेला चर्चामा आएका भारतीय ‘वामपन्थी धार्मिक’ स्वामी अग्निवेश गढीमाई आउने गर्छन्, पशुबलिको विरोध जनाउन । अरू गैरसरकारी संस्था पनि पुग्छन् । तर स्थानीयमध्ये धेरैलाई धार्मिक पर्यटनमा गढीमाईको ठूलो हात रहेको महसुस भएको छ । तसर्थ विरोधका बीच मेला त झनै बढ्दै छ ।

मेलाका ७० प्रतिशतभन्दा बढी आगन्तुक भारतबाट आउने गर्छन् । तर तिनको व्यवस्थापन भने हुन सकेको छैन । दिसापिसाब गर्ने ठाउँको चरम अव्यवस्था छ । 

तपाईं गढीमाई पुग्नुभएको छ भने त गज्जबै भइहाल्यो । अहिलेसम्म गढीमाई मेला भर्न नभ्याउनु वा नपाउनुभएको भए यी तस्बिर हेरेर आनन्दित बन्नुहोस्, अनि गम्भीर पनि । 

(शब्दः बसन्त बस्नेत)

गढीमाईमा भाकलका लागि आएका भक्तजन पूजापाठ गर्दै । 

पूजाका सामग्रीको व्यापार पनि यहाँ जारी छ । 

मन्दिर नजिकै सजाइएको संरचना । मेला सकिएपछि यी संरचना भत्काएर लगिन्छ । 

गढीमाई मन्दिर बाहिर बलि दिन ल्याइएका राँगा यसरी राखिएको छ । 

पूजा गर्न टाढादेखि आएकाहरू यतै बसन्छन् । र, भाकल पूरा गरेर फर्किन्छन् ।

 

प्रकाशित: मंसिर १६, २०७६

×