नौ मिटरको सडक
सानोतिनो सपनाको भ्युटावर र पोखरी कल्पनामै बनिहाल्यो । माइलाले त्यो कल्पनाको खुसी थाम्न सकेन । उसको मुहार मुस्कानले धप्धपी बन्यो । विक्रमको आँखा अझै खुलेको थिएन तर सपनामाथिको असहमति उसको खुम्चेको निधारले प्रस्ट पार्थे ।
तल्लो गाउँ झर्ने गोरेटो बाटोछेवैको डिलमा रहेको मेलको रुखमुनि रविमान रोकियो । मझुवा गाउँका घरहरूका हरिया, नीला, राता रंगिन देखिन्थे । त्यसकै सामुन्ने गैह्रीमा थियो तल्लो गाउँ । रमिते डाँडाले भने आकाशलाई छोएजस्तो आभास हुन्थ्यो । पहिले–पहिले मेला लाग्ने भोटेटार स्थायी बजार बनेको थियो ।
मायाको मौन मुहारमा हेरेसँगै रविमानले आफ्नो बारीबीच तेर्सिएको कच्ची ग्रामीण सडक तल्तिर हेर्यो । ट्रयाक्टरको टायरले धसाएको सडकको ट्रयाकमाझ हरियो दुबो, धुलोले छपक्कै छोपिएको थियो । बारीमा दाहोरी गर्न बाँकी मकै हावाले फरफराईरहेको थियो । मायाको आँखाहरूले रविमानका आँखाहरूलाई पछ्याए ।
‘यो चैँ सबैभन्दा बढी आलु फल्ने बारी हो है ।‘ उसले गोरेटोको सानो ढुंगा टिप्यो । ‘अनि हाम्रो बारी चैँ यहाँबाट... ।‘ फ्याल्दै उसले भन्यो । ‘... त्यो दुधेलोसम्म पर्छ । त्यो दुधिलो चैँ मभन्दा दुई वर्षको दाइ रे । उ... त्यहाँ खोल्साबाट उता चैँ चासबारी छ ।‘ अलि पर, उतिसका बगानहरूमाझबाट देखिएका गराहरूमाझ अम्लिसोका ठुटाबाट हरियो पालुवा पलाउँदै गरेको देखिए । कुनै बच्चाले भाँडाकुटी खेल्दा बनाएजस्तै ठूलाले बनाएका सीमाहरू थिए ती, सायद । तर पलभरमै पारि डाँडाबाट आएको चिसो हुस्सुले तल बगिरहेको, खोला मझुवा बजार, टार हुँदै छेउछाउका डाँडा, भञ्ज्याङ, गाउँ अनि उसको बारी हुँदै सम्पूर्ण वातावरणलाई छपक्क छोप्यो । बहिरहेको हावाले दुवैका परेला, आखीभौँ, कपालमा पानीका मसिना थोपा राखिदिए । कुनै वाचाजस्तरी उनीहरूको आँखा मौनतामा बोलिरहे ।
एघार सालअघि उसका औँलाले नापेको जमिन जस्तरी नै, रविमानका बुबाले जमिन देखाएका थिए । उसको बुबा माझघरे कान्छाले दार्जिलिङबाट ल्याएर रोपेको दुधिलो ठूलो भइसकेको थियो । धेरै अगाडि लैनौ भैँसी र एक हल गोरुसँग माझघरे कान्छाले मधेस झरेको उनका मीत अन्तरे सुब्बासँग जमिन साटेका थिए अरे । र यही सीमखेतसहितको बारी थियो अन्तरे खायल । अन्तरे खायल अर्थात् उनीहरूको सबैभन्दा ठूलो कित्ता । कलकल बगेको खोल्सा बाह्रै महिना सदावहार बग्थ्यो । यही खायलको बलमा उसले मायासँग विवाह भएयता विदेश जाने योजना त्यागेको थियो ।
छोरी जन्मिएको साल उनीहरूका बारीमा अदुवा भरिभराउ थियो ।
रातको समय आँगनको एक कुना रविमान हात बाँधेर माया चिच्याएको सुनेर एकोहोरो उभियो । नीलकाँडाछेउ धारा आफ्नै सुरमा बगिरहेको थियो । तार तानेर कटेरो छेउ बत्तीको व्यवस्था गरिएको थियो । जूनको थोरै उज्यालोमा पनि जिल्ला विद्युत् प्राधिकरणबाट वितरण गरिएको ५ थान बिजुलीको पोल अलि पर कृषि सडकमा टल्किरहेको देखिन्थ्यो । थोरै पर, दाउरा राखिएको कटेरो छेउ शान्तिमा, विक्रमेमा, नेत्रकलालगायत महिलाका आवाजमा मायाको आवाज चर्को सुनिरहेको थियो । उनी पीडाले घाँटी नै फाट्ला जस्तरी चिच्याइरहेकी थिइन् ।
रविमानले आफैँलाई सम्हाल्न बल जुटाउन खोजिरहेको थियो ।
दुइ बाँसमा तन्ना बाँधिएको स्ट्रेचर छेवैमा ठिक्क पारिएको थियो । तल्लो गाउँबाट राई माईला, भरतहरू आएका थिए । गाउँका धेरै सुत्केरी हेरिसकेको राई माईला भने महिलाहरूलाई परामर्श दिँदै थिए ।
‘बच्चा जन्मे पनि बच्चाको साथी पनि झर्नुपर्छ तर कैलेकाइँ झर्देना । त्यसको टेक्टिस चैँ के छेन हुन्छ भने, सुत्केरीकै कपाल उसको मुखभित्र हाल्दिने ।‘ धेरैजनाले व्यवहारमा नजाने पनि राई माईलाको यो टेक्टिस भने सुनेका थिए ।
माथिल्लो गाउँबाट विक्रम, भक्तिलगायत युवा आफ्ना हत्केला काखीमुनि घुसारेर हात बाँधेर तयारी अवस्थामा बसेका थिए । मधुरो टर्चलाइट बालेर माझघरे कान्छी कटेरोको एक कुनामा बसेर आफ्नी बुहारीलाई हेरिरहेकी थिइन् ।
केही समयपछि आमा चिच्याउँदा–चिच्याउँदै नयाँ आवाजले वातावरण गुन्जन थाल्यो । राई माइलाले हँसिलो मुद्रामा रविमानलाई हेर्यो ।
‘लु ठुल्यो, घरमा लक्ष्मी आयो है । नानाची लु बधाई है ।’
रातको समय उसले पहिलोपल्ट छोरीको रोइरहेको मुहार टर्चलाइट लगाएर नियाल्यो ।
छोरीलाई पहिलोपल्ट बोकेको दिन रविमानले धेरै दिनदेखि सोचेको नाम राखिदियो– खुसी ।
‘गाउँलाई मेन चाहिने भनेको बाटो हो । अरु कुरा त्यसपछि आउने हो ।‘ देश संघीयता घोषणा गरिसकेपछि वीरसिंह आफ्नो नयाँ वडाको वडाअध्यक्ष बनेको थियो । भन्नेले ‘पहिलो’ भने पनि वडाध्यक्ष बनेको भने ऊ पहिलोपटक थिएन । र ऊसँगै, पार्टीका अरु उम्मेदद्वार पनि सो गाउँपालिका र उसको वडामा प्यानल नै निर्वाचित भएका थिए ।
चुनावको अघिल्लो साल माझघरे कान्छी संसारबाट बिदा भएकी थिइन् । र, खुसीले कोमा गुमाएकै सालबाट भरतले वडा कार्यालय भएको भोटेनागी बजारमा आफ्नो होटल सुरु गरेको थियो ।
‘पहिलो सालचैँ वडा व्यवस्था गर्दा गर्दै सिद्धियो । अब यो साल चैँ बाटोमा जोड गर्नुपर्छ ।’ वीरसिं आफ्नै पार्टीका मान्छेहरूसँग भरतको होटलमा थियो । भरतले उनीहरूको अगाडि चिया राखिदियो ।
‘तेइ त, बाटो सप्पै खाल्टाखुल्टी भएर बाइकसम्म पनि हिँड्नु गाह्रो नि ।’ राई माइलाले भरततिर हेर्दै आफ्नो चोरी औँलाले आफ्नो पातलो जुंगा कोट्यायो । वडासदस्य विक्रम अँध्यारो कुनातिर, काखीमुनि हात च्यापेर चिम्सो आँखा चिम्लँदै टाउको हल्लाइरहेको थियो । ठेकेदार विजय झ्यालबाहिर भलिवल खेलेको ध्यानपूर्वक हेरिरहेको थियो । उसको निधारको दहिनेपट्टि आएको मासुको डल्ला उज्यालोमा अझ टल्किरहेको थिए । वीरसिंले छेवैको चटपटे हाल्न राखिएको खबरपत्रिकाको टुक्राहरू नियाल्यो । नयाँवर्षको शुभकामना दिएको पुरानो पत्रिका थियो ।
‘अब त्यो... अर्काको गाउँको गुराँस हेर्न जाने हैन के । बाटो बनाएपछि हाम्रो रमिते नागीमा कति मान्छे आउँछ त हामीलाई थाहा छ नि । अब माथि रमितेमा भ्यु टावर बनाउनुपर्छ । अनि पानी थुनेर पोखरी बनाएपछि त...। मान्छे र पैसा मुला त... ।’
सानोतिनो सपनाको भ्युटावर र पोखरी कल्पनामै बनिहाल्यो । माइलाले त्यो कल्पनाको खुसी थाम्न सकेन । उसको मुहार मुस्कानले धप्धपी बन्यो । विक्रमको आँखा अझै खुलेको थिएन तर सपनामाथिको असहमति उसको खुम्चेको निधारले प्रस्ट पार्थे । निधार खुम्चिँदा निधारको बांगो खत झ्यालबाट आएको धमिलो प्रकाशमा अझ टल्कियो । विजय भलिबल हेर्न छाडेर वीरसिंतिर फर्कियो, इसारा बुझेर उसले भित्री गोजीमा रहेको मडुवा खैनी झिकेर हात्केलामा केलाउन थाल्यो । वीरसिं र विजय दुवैले विक्रमलाई गहिरो गरी हेरेजस्तो ऊभित्र केही दुवैले खोजिरहेका छन् ।
‘हाम्रो बाटो पनि यो सालबाट बढ्दै छ । पालिकाबाट बजेट छुटेको छ । काम थाल्नुपर्ने ढिलो भैसक्यो ।’ वीरसिंले माइलातिर हेरेर कुरा अघि बढाए पनि उसको भावमा अरुले सुनाउन खोजेजस्तो अनुभूत हुन्थ्यो । ‘बढेपछि हेर न केटा हो यो गाउँ कस्तरी बल्छ भने नि ।’ विक्रमले लामो सास तानेर निधार कन्यायो । आँखा खोलेर हातको इसारामा उसले भरतसँग चुरोट माग्यो ।
‘काका, पिच नै गर्ने हो ?’ भरत चुरोट दिन तन्किँदै बोल्यो तर लाइटर दिन नपाउँदै ग्यासमा बसाएको दूधचिया उम्लेको देखेपछि ऊ बिजुलीको गतिमा दौडियो । क्षणभरलाई सबैको आँखा भरततिर भए ।
विक्रमले आफ्नो गोजी छाम्यो । गोजीबाट लाइटर झिक्यो अनि चुरोट सल्कायो ।
‘यो चोटीचैँ बढ्छ मात्र । पुरानो साढे तीन मिटरको बाटो नौ मिटरको हुन्छ ।’ राई माइला आत्तिएर अविश्वासमै हाँस्न थाल्यो । ‘आम्मामामा के चैँ गर्न लाग्यो हउ गाउँपालिकाले, नौ मिटरको बाटो है ।’
‘तर यसले फाइदा चैँ कृषककै छ है ।’ लाग्थ्यो ऊ कसैलाई आश्वस्त पार्न बोलिरहेको छ । ‘बाटो भेटेपछि जग्गाको बैंकको भ्यालुएसन बढ्छ । कृषि उत्पादनले भाउ पाउँछ । सामानको भाउ घट्छ ....’
‘भाउ त कसरी घट्छ होला र हउ काका ।’ विक्रमले कुरा काट्यो । ‘अहिले पनि उतिसारो महंगो त के छ र ? जम्मा राजमार्गभन्दा पन्ध्र किलोमिटर टाढो न हो । सबै कुरा तलको भाउभन्दा केही त फरक हो नि ।’ विक्रमले असन्तुष्टिसँगै भुइँतिर धुँवा फ्याल्यो । बिस्तारै अँध्यारो हुँदै गएजस्तो आभास हुँदै थियो । ‘चामल तलको भन्दा जम्मा दस रुप्पे फरक । तेल नौ रुप्पे । ग्याँस तीस रुप्पे । अनि ।’
‘टिन उताको भन्दा जम्मा चालिस रुप्पे बढी, रड पनि केजीमा पाँच रुप्पे फरक, सिमेन्ट त्यही बोराको बिस ।’ उसले वीरसिंलाई गहिरोगरि हेर्यो । ‘मलाई चैँ... विकासको नाममा ज्यादती लाग्यो ।’
वीरसिंले विजयतिर खैनीको लागि हात लम्कायो । ‘घट्ने कुरा पो घटेन होला तर बढ्ने कुरा त बढ्यो नि । दूधको भाउ बाटो आएपछि बढेन । सब्जी सप्पै अहिले हाम्रो गाउँको भनेपछि ज्यान फ्याल्छन् ।’
‘केन्द्र चैँ सुकायो हउ यो संघीयताले ।’ विजयले माइलातिर हेरेर हाँस्दै बोल्यो । ‘सदरमुकाम त सुनसान पो छ त ।’
‘पहिले भकै बाटोलाई बरु अलि सुधार्दा हुने । बजेट हुँदा नाली कटाएर ग्राभेल गर्दासम्म हुने । अब अहिलेलाई दूधको भाउ जति बढेको छ त्योभन्दा कति बढाउला र । चल्तीकै भाउ हो । बजारको भन्दा धेरै त बनाउँदैन होला नि । अब नौ मिटरको बाटो हुँदा चैँ हिराकै दाम हुन्छ भन्नु चैँ, झुक्याउनु जत्तिकै हो ।’ चुरोटको धुँवा विक्रमले आकाशतिर फ्याल्यो । विजयले वीरसिंतिर गहिरोगरी हेर्यो । ‘बरु कृषकको उत्पादन बढाउने, बजार खोज्ने, शिक्षामा, स्वास्थ्यमा विकास गर्ने काम चैँ गर्दा हुने हो ।’
‘पालिकाबाट पास भैसकेको कुरा, अब हाम्ले कसरी रोक्ने ? अब नबनाम् नै भन्दा, विकास विरोधी, नेतृत्वकै कुरा नमान्ने, हुने कुरा पनि त आएन । जे भन तिमी, विकास भनेको बाटो नै हो । बाँकी कुराहरूको लागि फेरि–फेरि सोचम्ला । गाउँपालिकामा आको उनन्चास प्रतिशत बजेट छुटाको । पहिले बजेटै नहुँदा त यत्रो भको, त्यतिमा त केही हुन्छ नि । जति जे छ, त्यो अब अलि पछि नै ... त थाहा हुने होला नि ।’ उत्तिसका लकडी बोकेको वीरसिंको महिन्द्रा अल्ट्रा ट्रयाक्टर ढोकाबाट देखियो ।
पानी मुसलधारे बनेको पनि दुई दिन भइसकेको थियो । रविमानले आँखाअगाडि बगिरहेको धारालाई हेर्यो । सदा खुल्ला धारा एकनासले बजिरहेको हुन्थ्यो तर त्यसदिन वर्षाको आवाजले धाराको आवाज दबाएको थियो । उसले अलि अगाडि आएर आकाशतिर हेर्यो । पानी थामिने कुनै छाँटकाँट नै थिएन । टिनमा बर्सेको आवाज उस्तरी नै बजिरहेको थियो । टिनका साना खोल्साहरूबाट साना पानीका धाराहरू समानान्तर बगिरहेको थिए । आँगनभरि पानी आहाल भएको थियो ।
नमान्दा–नमान्दै पनि उसले छोरीलाई स्कुल जान हपारेको थियो । खुसी आफ्ना चिसा कपडालाई धुँवामा सेकेर आफ्ना साथीहरूसँग स्कुल गएकी थिई । तर छोरीलाई स्कुल पठाएसँगै उसको मन भने चैनले बस्न सकेन । उसले एकपटक बाटोलाई परसम्म हेर्यो । माया ट्वाइलेट आँगन हुँदै धारातिर जाँदै थिइन् । उसले लामो स्वास फालेर उत्तिस बगानलाई हेर्यो । ६ वर्षअघि उनीहरूले कटाएको अलैँची बगानका उत्तिसहरूको ठाउँमा नयाँ उत्तिसहरू हलक्क बढिसकेका थिए तर पहिलेजस्तो बाक्लो थिएन । त्यसो त त्यसकै अघिल्लो साल त्यही बगानका अलैँचीहरू जुर्जुरे र डढुवाले सखाप पारेको थियो । गाउँभरि सबैको हालत उही थियो तर अघिल्लो साल भने उनीहरूले धारामुनिका बारीहरूमा सलकपुरे अलैँची लगाएका थिए । अन्तरे खायलको सीमखेतमा केही बोट झार्लाङ लगाएका थिए ।
‘बाबा नानीलाई नपठाको भा चैँ हुने ।’
‘हँ ?’ छेउकै आवाज पनि सुन्न गाह्रो भइरहेको थियो ।
‘नानीलाई स्कुल पठाको भाहुने भनेको । यस्तो पानी परिराछ ।’ प्लास्टिकको घुम सिकुवामा राख्दै छेउमा आए पनि ठूलो आवाजमा उनी बोलिन् । ‘यो बेला सानोतिनो खोल्साहरू पनि बढिहाल्छ ।’
‘अहिलेसम्म केही नभको आज चैँ के गरेर हुन्छ । अन्तिम परीक्षा आउन लागिसक्यो ।’ आफ्नो गम्बुट समातेर ऊ मुडा तानेर बस्यो । ‘थुक्कै ! यो पनि यहाँबाट च्यात्येछ पो ।’ उसले आफ्नो गम्बुटको चिरा परेको तलुवा नियाल्न थाल्यो । उसका पहेँलो गम्बुटमाथि नीला गम्बुटका टुक्राहरू टालिएका थिए । लाग्थ्यो, आफ्नै विगत टालोहरूले कुनै वर्तमानलाई टालेर काम चल्ने जिन्दगी बनाएको छ ।
‘स्कुल चैँ फोन गर्नु पर्छ कि ?’ माया आकाशे डाँडातिर हेरेर चिन्ता गर्न थालिन् । पछाडि देब्रे नारीमा कसिएका रुखा औँलाहरू हेरेर पनि रविमानले केही प्रतिक्रिया नगरी गम्बुट लगायो ।
अनायास मायाले छोरीको चिन्ता आँखाले नै वीरमानको आँखामा बिसाइन् ।
वीरमान आफ्नै सुरमा थियो । मायाले खुसीको पुरानो चप्पल उठाएर टेबलमुनि राखिदिइन् । ‘यो फाल्गुनमा पनि के दशा देखाको होला नि ।’
‘लु लु लु, घाँसमा जाउँ । वस्तु भोकाइसक्यो होला ।’ रविमानले आफ्नै सुरमा उभिएर टिनबाट बगिरहेको पानीमा आफ्नो औँलाहरू धोयो र कोठाभित्र पस्यो । मायाले ऊ गएतिर हेरिरहिन् ।
‘ए... यो पानी परेपछि छिनको छिन लाइन जानु चैँ के होला नि ।’ उसले सानो रिस पोख्दै मोबाइल बोकेर बाहिर निस्कियो । माया मुडामा बसेर गम्बुट टक्टकाउन थालिन् ।
‘हेलो । गौतम सर बोल्नु भा हो ?... नमस्कार सर ।... म रविमान ।’ उनले रविमानको मुखमा हेरिरहिन् । उनको हेराइमा मातृत्व अनुभूत हुन्थ्यो । पानीले थर्काएको टिनले रविमानको आवाज सानो हुन्थ्यो तर पनि सुनिरहेको एकतर्फा संवादमा उनी छोरीको स्थिति बुझ्न खोजिरहेकी थिइन् । ‘हैन सर, पानी परेर खोल्सा बढेको थियो । नानी स्कुल आइपुग्यो कि आइपुगेन भनेर नि सर । ए आइपुग्यो ?... हुन्छ सर ।... त्यै त सर (हाँस्दै) पानी त कान्छा बाउकै अनुहार भैराछ नि ।... हुन्छ सर । ल... । ल त सर ।... हस् सर ।’ उसले मोबाइल आँखा अगाडि तेर्सायो । ‘... हुँ... पुग्यो अरे ।’ उसले बुबा बनेर मायातिर हेरिदियो ।
‘बाउ, एउटा आइरन चैँ किन्न पर्छ होला ।’ उसले गम्बुटलाई टक्टकाउन भुइँमा हलुका बजारिन् । ‘त्यसको कपडा नि सबै ढुसीले टाटै टाटा परिसक्यो । समयमा कपडा पनि सुक्दैन । बिहान पनि धुँवा नै धुँवा गन्हाउँदै पनि थियो । भोलि पनि उस्तै पानी पर्यो भने चैँ स्कुल नपठाम् होला ।’ लगाएको गम्बुट केही बेर भुइँमा बजारेसँगै गम्बुटले मायाका खुट्टासँग सम्बन्ध बनायो । यसो भनेसँगै रविमानले एकपटक माया अनि उसका शरीरका कपडालाई मायालु नजरले हेर्यो । उसले विवाह गरेको वर्ष लगाएको पुरानो सर्ट कताकता मायाको शरीरमा ठूला लाग्थे । तर पुराना भए नि, ढुसीले टाटा बनाएको भए नि, आफ्नो स्थितिसँग मायाका गुनासा थिएनन् ।
‘लु जुम् ।’ मायाले उठेसँगै आफ्ना कपाल मुठा पारेर बाँधिन् ।
चैततिरको कुरा थियो । शनिवार दिउँसो वडा कार्यालयमा वीरसिंको अध्यक्षतामा सर्वदलीय बैठक डाकेर बाटोको उपभोक्ता समिति निर्माण गर्ने प्रक्रिया सारिएको थियो । तर अचानक मंगलबहादुर झोँकिएर बैठकबाट बाहिरिए । वीरसिं छक्क परेर विक्रमतिर हर्यो । विक्रमले लगातार विजयलाई हेरिरहेको थियो । लगत्तै मंगलबहादुरका पार्टीका अन्य सदस्य पनि बाहिरिए । राई माइला बैठकको उपस्थितिमा हस्ताक्षर मात्र गर्दै थियो, जब यो भएको थियो । नेत्रकलालगायत केही महिला अलमलमा परिरहेका थिए । धेरैजना के भइरहेको छ भन्ने कुरा बुझ्न सकिरहेको थिएनन् ।
साँझपख आफ्नै पार्टीको भूपालसँग मंगलबहादुर भरतको होटमा बसेको थियो । भरतले गाउँकै केही भीआइपीका लागि बनाएको गोप्य कोठामा । ‘कमसेकम पोर्टफोलियो त बिगार्नु हुन्न नि ।’ उसको ओठ लर्बराए पनि उसको बोलीमा आक्रोश स्पष्ट थाहा हुन्थ्यो । ‘गाउँमा जे जस्तो भए नि, त्यो... विजेभन्दा, राजनीतिमा म्हँ.. पुरानो हुँ नि । प्रदेश सिन्ये हैय जिल्लाभन्दा ? अब... तिनेरको उपभोक्ता समितिको बैठक रे ! त्यस्तो माइनुट लेखेर नि हुन्छ ? हुन्छ ?’ उसले हत्केलाले आफ्नो ओठ पुछ्यो । ‘... नियोजित हो । यो सब नियोजित हो ।... हामी बुझ्दैनौँ ? ... सप्पै तिनीहरूकै मान्छेहरू । त्यो वीरसिंए, विक्रमे... ।’ उसले मातेको सुरमा आफ्नो चोरी औँला अगाडि तेर्सायो । केही सम्झेजसरी फेरि ओठ चुच्चो परेर उसले थप्यो, ‘म्हँ त, बस्न नि मन लागेन । थु.. सर्वदलीय बैठक भनेर... । यस्तरी । बौमत... बौमतको... दादागिरी देखाउने ?’ मंगलबहादुरले आफ्नो अगाडि राखिएको काँक्रा टिप्यो । भूपाल एकोहोरो सलादतिर हेरिरहेको थियो । भरतले भुटन टेबलमा राखिदियो । उसले आफ्नो दुवै चोरी औँला बढाएर बोलिरहेको थियो, ‘अब... बाटो बढाउने रे । कहाँ टरिङ घुमाउने ? कसको जग्गा बचाउने ? कसको पचाउने ? सब सेटिङ हओ । ... राजनीति गरेरै केश फुलेका छन् के ।’ उसले टेबलमा दुबै हातले मुड्की बजार्यो । ‘अध्येन अनुगन् केही छैन । सब्का सब् । चोरहरू ।’ उसले आफ्नो अगाडि रहेको रहेको रक्सी एकै सासमा पियो ।
‘केही अरु खाने हो काका ?’
‘हुँ... ।’ आफ्ना चिम्सा हुँदै गएका आँखा उसले बलपूर्वक तन्काउन खोज्यो ।
‘केही खाने हो तपाईं भनेको काका ?’
‘तँ मुला... भर्ते हैन ?’
‘अँ म भरत । केही खाने हो तपाईं ?’
‘मुला भर्ते । ओइ..., भूपाल.. भुपाल !’ उसले झोक्राइरहेको भूपाललाई हल्लाएर जगायो । भूपालको गिलासमा अझै रक्सी थियो । ‘के भो । छिटो लि ।’
‘दाजु !’ उसको चिम्सा आँखा खोल्दै ऊ लर्बरिँदै हाँस्दै बोल्यो । ‘अब चैँ लागेस्तो छ ।’
‘थेत ! मुला, ला... ! मंगलबहादुरको मुखभित्र भुसुना छिर्यो । औँला छिराएर निकाल्न खोज्दा घाँटीसम्म पुगेको औँलाले एकपटक उलुक्कै गरायो । ‘लाछी कुरा नर् । जाँ...! तेतिले लाछ् !’ उसले भरततिर हेर्यो । ‘अको एक बोदल ले न त ।’ मंगलबहादुरले भूपालतिर हेर्यो । भरत हिँड्नै लाग्दा भूपालले रोक्यो ।
‘धेर... नखाम् दाजु ।’ भूपाल हात जोडेर मंगलबहादुरलाई नमस्कार गर्यो ।
मंगलबहादुरको तल्लो ओठले माथिल्लो ओठ चेपेको थियो । उसले निधार खुम्चाउँदै भूपालको हात तान्यो ।
‘छार न मुला । लोकोल...।’ घाँटीको खसखस ठीक गर्न उसले ‘आह’ आवाज निकाल्दै स्वास फाल्यो । ‘लोकेल हो । बिस्यक गर्दैन के । काँ काथ...मान्डु जस्तो एसिद्... हुन्छ त । मुला । तो स्वाट्टै पार् । पार्हाल् ।’
‘अन्तिम है दायु यो चैँ ।’ भूपालले खाएको मंगलबहादुरले गम्भीर भएर एकोहोरो हेरिरह्यो ।
‘मुला पचाउन छाडेसस्, तैँले चैँ । म त मर्दा पनि खाँदै मर्ने हो ।’ उसले आफ्नो अगाडि रहेको रक्सी स्वाट्ट पार्यो ।
‘दाजु, अनि उपुभोक्ता समितिको अध...क्षे चैँ को भयो नी ।’
‘हँ !’
‘उफ्.. उपोक्ताको अधसे के ।’
‘तेहि... बिजे त होला नि । हाभाउ हेर्दै था‘भैहाल्छ नि । नभा भोल् । भोल् नै था’ भैहाल्छ ।’ बोतलमा रहेको रक्सी गिलासमा हाल्यो । ‘तेस्को शेरमा लेओ छ भन्र सुन्दै थिएँ । अब् हालिमुआली गर्ने यस्तैहर्त हो । स्काभेट्र तेस्कै हाल्दो हो । देख्नस्... अघि.... ?’ लगत्तै आँखाभौँ सानो गर्दै भूपालले भरततिर चुच्चो मुखको इसारा गर्दै चुप लाग्न संकेत गर्यो । मंगलबहादुरले बूढी औँलाले सोरेर नाक पुछ्यो र भूपाललाई हेरिरह्यो । भूपाल धेरै नै मातिसकेको थियो । उसले कसैलाई सुनाउन खोजेजस्तरी बोल्यो, ‘ह्यो दाउले के भनोँ चैँ नभन् । तर्र हेर्दै जा, यो गौँ सैँ यस्त्री नै सकिने छाँटकाँट देख्दैछु म चैँ ।’ मंगलबहादुरले छाँटकाँटभन्दा उसका आँखा एकपटकलाई ठूला भए ।
‘पापा, आजबाट त हाम्रो स्कुलमा म्याथ सर पनि नहुनु हुने भो ।’ कपीको एउटा पाना च्यातेर दिदैँ खुसीले भनी । उसका किताबहरू भुइँभरि छरिएका थिए । रातको समय बलिरहेको बत्तीमुनि, ऊ भुइँमा आधी छाती र टाउको मात्र उठाएर आफ्नो गणितका हिसाबहरू गरिरहेकी थिई ।
‘के भो र ?’ रविमानले काँटीमा झुन्डाएर राखेको सर्टको बलपेन झिक्यो ।
‘उता सुन पातिर पढाउने रे ।’
‘सु न पा ।’ गहिरो आवाजमा उसले छोरीलाई सच्याउँदै बोल्यो । ‘सु न पा, काँ रे जाने ?’
‘खै ? सुन पा भन्थ्यो ।’ उसले फेरि दोहोर्याई । तर यो पटक उसले छोरीलाई सम्झाएन, बरु बुझ्यो । ‘सबै जना रुएर, हामी त हाँस्ता हाँस्ता... ।’ आफ्नो कपालको केशको सानो मुठालाई दाहिने हातको सहारामा निधारबाट हटाउँदै उसले सुनाई । उसले एकपटक छोरीतिर हेर्यो । उनको देब्रे हातले बलपेन समातिरहेका देख्यो । साना औँलाहरू, हातभन्दा बलपेन अलि ठूलो लाग्थ्यो ।
‘चन्द्रकला आन्टीले खाजा दिदैँ छ ?’
‘अँ ।’ पाना पल्टाएको आवाजसँगै ऊ नफर्की बोली ।
‘खाली चटपटे मात्र खाँदैछस् कि !’
‘अनि अरु केही त हुँदैन ।’ ऊ लेख्नमै व्यस्त थिई ।
‘चटपटे भने पछि त । भोलिबाट मकै, भट्मास घरबाट लानु । खाली चटपटे, चाउचाउ... ।’ रविमान भोलि चाहिने सौदाको बिल बनाउन थाल्यो । ‘आमालाई भन् त्यहाँ ठीक पारिदिन्छ ।’ खाजाको कुराले खुसी कताकता अमिलो भई । उसले आफ्नो हातलाई रोकी । ‘त्यहाँ आमालाई केके चाहिने हो सोध सोध ।’
पहिलो पटक आठ वर्षअघि स्काभेटरले साढे तीन मिटरको बाटो बनाउँदा पन्छाएको ढुंगा र रुख हेरेर राई माइलाले दूध संस्थामा छक्क मानेको थियो । ‘आम्मामामा चेन, त्यसको हात एस्सो गरेपछि त जुरुक्कै हौ ।’ हातको इसारामा उसले भनेको थियो । ‘बनाकै हो खैरेहर्ले ।’ मावि मात्र भएको मझुवा डाँडा कृषिसडक पुगेपछि बजार बन्यो । स्कुल व्यवस्थापन समितिले समेत बजार विस्तारको लागि आफ्ना जग्गाहरूको बिक्री वितरण गर्यो । बजारमा बस्ने मानिसको चाप बढ्यो । कृषि सडक बनेको साल गाउँका केटाकेटीहरूको सबैभन्दा मनपर्ने खेलौना स्काभेटर भएको थियो । प्राय: केटाकेटी हुने सबैको घरमा साना ठूला स्काभेटर थियो ।
नभन्दै वैशाखको मसान्तबाटबाट फेरि विजयको अध्यक्षतामा बनेको उपभोक्ता समितिले बाटो बढाउन थाल्यो । साढे तीन मिटरको बाटो धमाधम नौ मिटर बनाउने अभियान सुरु भयो । मंगलबहादुरलगायत केहीले विज्ञप्ति निकालेर यसको विरोध गरे । तर काम अगाडि बढि नै रह्यो ।
‘अब त हामी हुने हो सिंहदरबार ।’ विजयले स्काभेटरलाई डिलबाट हेर्दै आङ तान्दै भन्यो । ‘अब रवि भाइको जग्गाको भाउ चैँ बढ्ने भयो ।’ उसका बारीहरू भत्किँदै थिए । पुरिँदै थिए । अन्तरे खायलको नामोनिसान थिएन । माया माथिबाट निरस मुहार बनाएर हेरिरहेकी थिइन् ।
‘माया ।’ रविमानले मायालाई बोलायो । माया र रविका आँखा जुधे । ‘खुसी आयो ?’ माया मुस्कुराइन् तर उनको मुस्कान एकदम बिरामीजस्तो देखिन्थ्यो । उसले छैनको भावमा टाउको हल्लाई । ‘विजय दाजु चिया खाम् ?’
स्काभेटर ध्यानपूर्वक हेरिरहेको विजयले एकैचोटी मायातिर हेर्यो । ‘चिनी अलि कम है ।’ फर्किएर उसले रविमानतिर आँखा जुधाएपछि मुस्कुरायो । हेर्दाहेर्दै मायाले आफ्नो ससुरालीबाट ल्याएर रोपेको ओखरको बोट माटोको थुप्रोमा पुरियो । स्काभेटरको चर्को आवाजमा विजयले गुनासो गर्यो, ‘विक्रम चैँ लास्टै अल्टर रछ हउ रवि भाइ । भन्नु चैँ नभन कि । गाउँको विकास भको खासै हेर्न नचाहने क्या । गुट अर्को भयो भन्दैमा पार्टीकै नेतृत्वको निर्णय उल्टाउन खोज्ने हो त ?’
ऊ नयाँ बाटोमा उभियो । उसको सबैभन्दा बढी उत्पादन हुने गरा सडक बनिसकेको थियो । छोरीलाई पेवा मानिदिएको बारी थिएन । आफ्नो सबैभन्दा लामो गह्रा थिएन । सबैभन्दा छोटो गह्रा पनि थिएन । उसको बारी अब कति पनि थिएन । आफू सामुन्ने आफूले वर्षौँदेखि चढ्ने गरेको गोरेटो बाटो थिएन । बस नौ मिटरको अजंगको सडक थियो, जो उसको जग्गाको लगभग दुइ तिहाइ फैलिएको थियो । सीमामा उभिएको दुधिलोजस्तै ऊ पनि रुख बनेको थियो । उसले एकपटक घरलाई नियाल्यो ।
बाटो पहिलोचोटी आएको समय ऊ एकदमै उत्साहित भएको थियो । त्यसो त किन ऊ मात्र, गाउँ नै हर्षित बनेको थियो । बाटो बिग्रन्छ कि भनेर अन्तरे खायल छेवैको खोल्सामा आफ्नै खर्चले पाइप ल्याएर कुलो कटाएको थियो । अब उसको पुरानो पाइप नयाँ बनेको बाटोको पानी कटाउन लागि पर्याप्त थिएन । आलो माटोमा पुरिएको आफ्नो कोदोबारी हेर्दा हेर्दै बाइकको आवाज सुनिन थाल्यो । तर उसले नजर सोझ्याएन । गाउँका सबैले वीरसिंको बाइकको आवाज पहिचान गर्न सक्थ्यो । वीरसिँको पीए नरेनले उसको छेउमा ल्याएर बाइक रोकायो, उसले हेर्ने बल नै गरेन । र, नरेन पछाडी बसेको वीरसिंले पनि अचम्म मानेन ।
‘लु केटा तँ पनि भाग्यमनी रछस् । बाटो तेरो घरअगाडीबाट गयो । अब तेरो जग्गाको भाउ हेर् कस्तरी बढ्छ ।’ ऊ लगातार आफ्नै बारीलाई हेरिरहेको थियो । वीरसिं बाइकबाट अझै उत्रिएको थिएन । ऊभित्रको चिसो तर वीरसिंले महसुस गर्न सक्थ्यो । ‘अब यहाँ ढुस् लगाओ । माटो बग्दैन । हुर्केपछि घाँस पनि हुन्छ । अब डीपीआरको काम गरेपछि सबैजनालाई ढुक्क ।’ अलि परबाट माया घाँसको भारी बोकेर नयाँ अनि लामो गोरेटोबाट गोठतिर गइन् ।
गाउँभरिका अलैँचीहरू यो साल सुकेका थिए । ‘तिमेर्का सलक्पुरे, झार्लाङ सिक्किमे केही पनि थाम्दैन हौ ।’ गाउँमा अलैँची नरोप्ने एक मात्र राई माइलाले बाटो छेउको अलैँची हेर्दै भने । ‘जसै गरे पनि उत्तिसको सेप चाहिन्छ के त्यल्लेलाई । भनेको मान्दैनौ तिमेरु । त्यसको प्रेम भनेकै उत्तिसको छहारी हो ।’
‘अनि बाबै तिम्रो छहारीले चैँ कति मन अलैँची फलाइयो हउ जमानामा ?’ भूपालले थप्यो ।
‘जाँ... ।’ एक लहर हाँसोको फोहरा उर्लियो । ‘तिमीहरू जस्तो हो अलैँचीमा देब्रे हात मच्चाउँदै हिँड्ने ?’ हाँसोको आर्को लहर पनि छुट्यो ।
‘हाम्रो त दाहिने हौ बाबै ।’ भूपालहरू फेरि छिल्लिए । ‘देब्रे त काउकुती लागेर नसकिँदो रछ नि ।’ हाँसो अझ ज्यादा बढ्यो ।
‘अनि त्यही हातले भात खान्छस् ?’ राई माइलाबाहेक सबै जना हाँसिरहेका थिए ।
‘ओ बांगा ।’ कसैले टाढाबाट आवाज दिँदै थियो । सबैजनाले आवाज आएतिर हेरे ।
‘हओ, ठूले खाड्नी हौ ?’ रविमानलाई सबजनाले चिने ।
‘बजारतिर हौ ।’
‘अनि दाजु, हामी पनि जान्थ्यौँ त हाओ ।’ भूपाल चिच्यायो ।
‘अलि काम छ हउ भाइ । भरे माथि बजारतिर भेटुम् न है ।’
‘साच्ँची एमआरपी आयो रे है दाजु ।’
‘ए...! भरै सल्लाह गरूम् न ल ।’
बगानका बगान अलैँचीहरू पारि गाउँका डाँडाहरूमा खैरो देखिन्थे । अनि त्यसैको छेउभित्ता नयाँ सडकले उधिनेका माटोका थुप्रोहरू देखिन्थे । मझुवा, तल्लो गाउँ, वरडाँडा सिँचाइ गर्ने कुलो छेउघरेको घरछेउ घुम्तीमा भत्किसकेको थियो । उत्तिस, चिलाउने, मलातो, इस्कुस, अम्लिसोका जराहरू बाटो छेउ पसारिएका थिए ।
जेठको दोस्रो सातातिर बाटो विस्तारको काम मझुवा पुगेर रोकियो । मंगलबहादुरलगायत सानो समूहले मझुवा बजार संघर्ष समिति बनाएर विरोध गरेको केही दिनमा विजयले पनि विरोध बढी भएको र आफ्नो जनधनको सुरक्षाको ग्यारेन्टी नभएर काम रोकेको भनेर बताउन थाल्यो । तर छुटाइएको पेस्की र सम्पूर्ण बजेट बढाउन लगाएको तर पालिका नमानेको हल्ला पनि सुनिन्थ्यो ।
सारसम्म पनि काम अगाडि बढेन । त्यही महिना मंगलबहादुर सम्मिलित संघर्ष समितिले वीरसिं र उपभोक्ता समितिलाई भ्रष्टचारविरुद्ध मुद्धा लगायो । गाउँ अचानक चर्चामा आयो ।
एकाबिहानै ट्वाइलेट गएको माया आत्तिएर आएपछि रविमानलाई निन्द्राले छाड्यो ।
‘पापा बाहिर आउनू त ।’ ढोकाबाट आत्तिँदै उनले रविमानलाई बोलाइन् । उनको आत्तिएको मुहार देखेपछि ऊ आफ्नो ट्राउजर लगाएर बाहिर निस्कियो । केही हराएको थियो । आफ्नो सानो गुलाबी छाता ओडेर खुसी केही एकोहोरो हेरिरहेकी थिई । घर तल्तिरको बाटो छेउको भित्ता पहिरो बनिसकेको थियो । विक्रम, राई माइला पहिरोछेउ उभिएर पहिरोको गहिराइलाई हेरिरहेका थिए । पहिरोले उसको ट्वाइलेट तानिसकेको थियो । उसले एकपटक मायातिर हेर्यो । राई माइलाहरू उसको आँखाको लाचारी पढ्न सक्थ्यो ।
‘बारी पनि सप्पै पहिरो नै पहिरो भको छ ।’ अचानक, कसले बोलेको उसले महसुस गर्न छाड्यो । ऊ केही बोलेन । बस, निकै परको क्षितिजतिर हेरेर टोलायो ।
भ्रष्टचारको आरोपपछि वीरसिं पत्रिका अनि सोसियल मिडियामा भाइरल भएको थियो । सेयर भएको पोस्टमा गाली, बचाव सबै खालका प्रतिक्रियाहरू थिए । राष्ट्रिय दैनिकका नाम चलेका पत्रकारले एक दिन उसलाई फोन गरे । उसको जवाफ थियो ।
‘यो अरु केही हैन, वहाँ अर्को दलको मान्छे हो । त्यही भएर भइरहेको विकासलाई देख्न नसक्नु भको हो । सर्वदलीय बैठकमा पनि वहाँलाई बोलाको हो । उठेर जानुभो । उपभोक्ता समितिमा वहाँलाई नअटाएपछि वहाँ राजनीति गर्न थाल्नुभको हो । वहाँको घर सदरमुकाममा छ । गाउँमा मान्छेहरू अबको लागि ठाउँमा आउँछन्, केन्द्रमा हुन्छन् भनेर वहाँलाई लागेको चिन्ता हो । अब तपाईंहरू मिडियावालाले यस्ता कुरालाई चिर्नुपर्यो । यस्तो अहिले पनि त्यहि केन्द्रीकृत मानसिकताको शासन गरेर हुन्छ ? देशको संविधानलाई वहाँ नमान्ने ? जनताको भावनालाई नमान्ने ? वहाँ जस्तो राष्ट्रियता विरोधी को छ ?’
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...