बर्दीका अपराधलाई उन्मुक्ति
बाँके चिसापानीस्थित भीमकाली गुल्मलाई गैरन्यायिक हत्या, बलात्कार, यातना र बेपत्ता पार्ने अखडा बनाएका सैनिक अधिकृतलाई सफाइ
संकटकाल लागेपछि ०५८ मंसिरमा सेनाले अन्धाधुन्ध धरपकड र गिरफ्तार गर्न थाल्यो । सोही क्रममा पक्राउ परेका थिए, नेपालगन्जका एक जडीबुटी व्यापारी ।
चरम यातनापछि उनीसँग सेनानी अजित थापा र सहसेनानी रमेश स्वाँरले मोलमोलाइ गरे । रिहाइका लागि उनीहरूले ११ लाख मागेका थिए । उनले तत्कालै रकम जुटाउन सकेनन् । त्यसैले बाँकी रकम तीन महिनापछि दिने सर्तमा साढे ५ लाख रुपैयाँ दिएर उनी छुटे ।
म्यादभित्र पैसा पुर्याउन नसक्ने भएपछि पुन: पक्राउ पर्ने डरले उनी भागे । खोज्दै घर पुगेको सैनिक टोलीले उनलाई नभेटेपछि १८ वर्षीया छोरी र १६ वर्षीया भतिजीलाई पक्राउ गरेर चिसापानी ब्यारेक लगेको थियो । तीन दिन थुनामा रहँदा सहसेनानी स्वाँर र अन्य जवानले बलात्कार गरेको उनीहरूले रिहाइपछि खुलासा गरिदिए । पक्राउ गरिएकै राती उनीहरूलाई मुखमैथुन गर्न बाध्य पारिएको थियो ।
४ पुस ०५९ को एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनमा भीमकाली गुल्मका तत्कालीन सेनानी थापा र सहसेनानी स्वाँरले ती दुई युवतीमाथि गैरकानुनी थुनामा राखेर बलात्कार गरेको उल्लेख थियो । तर ९ पुसमै उनीहरूले ती युवतीको बयान फेर्न बाध्य पारे । बलात्कार अस्वीकार गरे बाँकी रकम मिनाहा गर्ने र बुबालाई नपक्रिने आश्वासन दिइएको थियो । छिमेकी घरको छतमा दुवै अधिकृतको उपस्थितिमा उनीहरूले बयान फेरेको भिडियो रेकर्ड गर्न लगाइएको थियो । सो भिडियो नेपाल टेलिभिजनबाट प्रसारण गरिएपछि भागेका उनका बुबा १४ पुसमा मात्र घर फर्किन सके ।“त्यस्तो बेला हामी के गर्न सक्थ्यौँ ? छोरीको इज्जत लुटिँदासमेत हाम्रा लागि बोलिदिने कोही थिएन,” युवतीकी आमा भन्छिन्, “बाँच्नकै लागि पनि सेनाले जे भन्यो, हामीले त्यही गर्नुपर्यो । त्यसो नगरेको भए झन् धेरै दु:ख पाउँथ्यौँ ।” पछि उनले छोरीहरूको बिहे भारतमा गरिदिइन् । पुरानो घटना सम्झेर उनीहरू अहिले पनि माइत आउँदैनन् ।
पीडितलाई ‘होस्टायल’ गरिए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबपछि सो घटनाको छानबिन गर्न सेनाले कोर्ट अफ इन्क्वायरी गठन गर्नु परेको थियो । सैनिक अदालतले सो घटनामा गैरकानुनी थुनाका लागि मात्र स्वाँरलाई दोषी ठहर्यायो । उनलाई १० महिना निलम्बन गरियो र पदोन्नति रोकियो । सेनानी थापा र पृतनापति सदीपबहादुर शाहलाई सचेत गराइएबाहेक अरू कारबाही गरिएन । उल्टै, घटनाको केही समयपछि नै सेनानी थापा पदोन्नति भई महासेनानी बने ।
बेपत्ता नागरिक छानबिन आयोगमा बर्दियाका मात्र २ सय ७५ पीडितका उजुरी परे । तीमध्ये झन्डै आधाले आफ्नो उजुरीमा भीमकाली गुल्मका तत्कालीन सेनानी थापा र सहसेनानी स्वाँर दोषी रहेको भन्दै कारबाही माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालीन घटनाको अनुसन्धानपछि सरकारलाई गरेको कम्तीमा आठ सिफारिसमा पनि उनीहरूमाथि कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरिएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त कार्यालयको ०६५ मा सार्वजनिक प्रतिवेदनमा सेनानी थापा र सहसेनानी स्वाँर चिसापानी ब्यारेकभित्र भएका अमानवीय यातना, यौन हिंसा, गैरन्यायिक हत्या र बेपत्ता पार्ने काममा प्रत्यक्ष संलग्न भएको औँल्याएको छ ।
४९ बन्दी बेपत्ता पारिएको र यातनाको घटनाले काठमाडौँस्थित भैरवनाथ गणले सशस्त्र द्वन्द्वका बेला बदनामी कमायो । त्योभन्दा कयौँ गुणा गैरन्यायिक हत्या, बेपत्ता, यातना र यौन हिंसा भएर ‘पश्चिमको भैरवनाथ’ नाम पाएको बाँके चिसापानीस्थित भीमकाली गुल्मका दोषी अधिकृतमाथि भने कुनै कारबाही भएन । बलात्कारको मुद्दामा गैरकानुनी थुनामा राखेको दोषी करार गरेर सहसेनानी स्वाँरलाई कारबाही गरेबाहेक आरोपित सैनिक अधिकृतले उन्मुक्ति पाइरहेका छन् ।
तत्कालीन सेनानी थापा तीन वर्षे संयुक्त राष्ट्रसंघीय मिसन सकेर ०५७ मंसिरमा बर्दिया राष्ट्रिय निकुन्जको पूर्वी क्षेत्र सुरक्षा प्रमुख बनेर चिसापानी ब्यारेक आएका थिए । त्यही बीचमा संकटकाल लाग्यो र सेना परिचालन गरियो । संकटकालको प्रारम्भिक चरणमा उनले चरम दमनको रणनीति लिएका थिए, जुन ०५९ कात्तिकसम्म रह्यो । ०५९ मंसिरदेखि ०६० वैशाखसम्म उनी पश्चिम डिभिजन हेडक्वार्टर राँझामा अपरेसन अफिसरका रूपमा रहे । त्यही अवधिमा बाँके र बर्दियामा सबैभन्दा धेरै व्यक्ति बेपत्ता पारिएका थिए ।
बर्दिया जिल्लामा सेनाका तीन इकाइ थिए, भीमकाली गुल्म, बरख गुल्म र रणसुर गुल्म । सुर्खेतको चौथो वाहिनी र नेपालगन्ज राँझास्थित पश्चिम पृतनाको कमान्डभित्र पर्थे । नेपालगन्जसँगको भौगोलिक निकटताका कारण भीमकाली गुल्मले वाहिनीभन्दा पहिले पृतनालाई रिपोर्ट गथ्र्याे ।
यो पनि पढ्नुहोस् : चिसापानी ब्यारेकका चित्कारहरू भन्दै छन्– न्याय अझै टाढा छ
सन् २००१ डिसेम्बरदेखि सन् २००३ जनवरीसम्म भीमकाली गुल्मले रम्भापुर सैनिक पोस्ट र चिसापानी ब्यारेकबीचको राजमार्ग खण्डका ६ गाविसमा पटक–पटक खानतलास कारबाही सञ्चालन गरेको थियो । लगत्तै राजापुर क्षेत्रमा ‘कर्णाली अपरेसन’ चलाइयो । त्यही अवधिमा सैयौँलाई पक्राउ गरियो । उनीहरूलाई गोप्य थुनामा चिसापानी र ठाकुरद्वारा ब्यारेक, रम्भापुर सैनिक चौकी, राजापुर क्षेत्रस्थित अस्थायी शिविर, गुलरियास्थित जिल्ला प्रहरी र बाँकेको राँझा ब्यारेकमा राखिएको थियो । चिसापानी ब्यारेकको ‘एक नम्बरको कोठा’ लाई थुनुवाहरू खतरनाक हिरासतका रूपमा लिन्छन् । त्यो माओवादी पुष्टि भएका र मारिनेका लागि छुट्याइएको थियो । त्यहाँ लगिएका कमै मात्र रिहा भएको सैनिक स्रोत बताउँछ । कमान्डिङ अधिकृत सेनानी थापा तथा सहसेनानी स्वाँर यातनामा संलग्न रहेको यातनासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकको सन् २००६ को प्रतिवेदनमा उल्लेख छ ।
दोस्रो जनआन्दोलनपछि ५ साउन ०६३ मा बाँकेका सात राजनीतिक दलले पनि ती सैनिक अधिकारीमाथि कडा कारबाही गर्नुपर्ने निर्णय गरेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगले भिन्न समयमा गरेका विभिन्न उजुरीको अनुसन्धानका क्रममा तत्कालीन सेनानी थापा र सहसेनानी स्वाँरलाई दोषी देखाएको छ । गैरन्यायिक हत्या र बेपत्ताका भिन्न आठ घटनामा दोषी औँल्याउँदै आयोगले उनीहरूमाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ । तर उनीहरूमाथि न कुनै कारबाही गरियो, न त मुद्दा चलाइयो ।
बर्दिया बेलभारका ठग्गुलाल चौधरी, जसका छोरा चैतेलाल र बुहारी सीताजानकी बेपत्ता छन्
बर्दिया भूरीगाउँका केशरबहादुर बस्नेतलाई २७ फागुन ०५८ मा पक्राउ गरी हत्या गरिएको मुद्दामा आयोगले ठाकुरद्वारा ब्यारेकका तत्कालीन प्रमुख लवकुमार रायमाझी र पक्राउ गर्न नेतृत्व गर्ने सहसेनानी स्वाँरमाथि मुलुकी ऐन ज्यानसम्बन्धी महलबमोजिम कानुनी कारबाही गर्न सिफारिस गरेको थियो । तर कुनै कारबाही गरिएन । संविधानले मानव अधिकार आयोगका मानव अधिकारसम्बन्धी सिफारिस तथा निर्देशन कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्यसलाई थप व्याख्या गर्दै २३ फागुन ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी, रामकुमारप्रसाद साह र गिरीशचन्द्र लालको विशेष इजलासले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने वा नगर्ने भन्ने स्वविवेक सम्बद्ध निकाय वा पदाधिकारीलाई नहुने भनेको छ ।
रायमा भनिएको छ, ‘मानव अधिकारको उल्लंघन वा दुरुत्साहनको घटनामा दोषी व्यक्तिउपर आयोगले प्रचलित कानुनबमोजिम मुद्दा चलाउन आवश्यक देखिए मुद्दा दायर गर्न सिफारिस गरेपछि सो विषयमा महान्यायाधिवक्ता वा निज मातहतको कुनै सरकारी वकिल कार्यालयले अन्य अपराधमा जस्तो मुद्दा चलाउन आवश्यक छ/छैन भनी आयोगको सिफारिसको औचित्यमाथि अन्यथा प्रश्न गर्न मिल्ने अवस्था संविधानत: नदेखिने ।’ सो मुद्दाका निवेदक अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, “आयोगको सिफारिसबमोजिम दोषी सैनिक अधिकृतलाई कारबाही नगर्नु प्रणालीबद्ध दण्डहीनताको नमुनाबाहेक केही होइन ।”
सेनाले केही घटनामा गरेको कोर्ट अफ इन्क्वायरी पनि नियमित अदालतको क्षेत्राधिकारबाट उन्मुक्ति दिलाउने उद्देश्यले भएको अर्यालको दाबी छ । भन्छन्, “एउटै कसुरमा दुई पटक सजाय गर्न नमिल्ने दोहोरो खतराको सिद्धान्तलाई देखाएर मानव अधिकार उल्लंघनका जघन्य अपराधमा संलग्नलाई पनि उन्मुक्ति दिलाउने प्रपन्च भइरहेको छ ।”
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे भने सेनाभित्र पूरै दण्डहीनता रहेको स्वीकार्न तयार छैनन् । आयोगको सिफारिस र अन्य उजुरीका आधारमा सशस्त्र द्वन्द्वकालका विभिन्न घटनामा संलग्न १ सय ७७ सैनिकमाथि कारबाही भएको उनी बताउँछन् । तीमध्ये ३७ जना अधिकृत स्तरका थिए । भन्छन्, “मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई पद घटुवा, पदोन्नति रोक्का, शान्ति सेना रोकदेखि दुई वर्ष कैदसम्मका सजाय भएका छन् ।”
सहायक रथीबाट गत असारमा सेवानिवृत्त विवादास्पद अजित थापामाथि भने कुनै ठूलो कारबाही भएको देखिँदैन । तर उनी सहायक रथीभन्दा माथिल्लो तहसम्म जाने बाटो द्वन्द्वकालीन घटनाकै कारण रोकिएको प्रवक्ता पाण्डेको दाबी छ । थापाले कर्णेलका रूपमा शान्ति सेनामा जान र अरू महत्त्वपूर्ण सैनिक तालिममा भाग लिन पाएनन् । त्यसमा सैनिक कारबाहीभन्दा ज्यादा संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको रिपोर्टलाई कारण मानिएको छ ।
उच्चायुक्तको कार्यालयले ०६५ मा सार्वजनिक गरेको रिपोर्टले महिला थुनुवामाथि गरिएका बलात्कार तथा यौन हिंसाजस्ता थुप्रै घटना सार्वजनिक गरेको थियो । पूर्वथुनुवाका भनाइ उद्धृत गर्दै रिपोर्टमा चिसापानी ब्यारेकमा लगिएका आमाछोरीमध्ये छोरीलाई सहसेनानी स्वाँरले बलात्कार गरेको उल्लेख छ । सो घटनाबारे रिपोर्टमा लेखिएको छ, ‘थुनामा परेको अर्को दिन बिहान खानाका लागि बाहिर ल्याउँदा उनले आफ्नी छोरीलाई भेट्न पाइन् । केही बेर उनले छोरीसँग कुरा गरिन् । जब हामीलाई थुनाकोठाभित्र लगियो, उनी असाध्यै रोइन् । के भयो भनी हामीले सोध्दा उनले आफ्नी छोरीलाई अघिल्लो राती सहसेनानी रमेश स्वाँरले बलात्कार गरेको बताइन् । उनी आफ्नी छोरी सम्झेर कैयौँ साता रोइन् ।’
२९ साउन ०५९ मा कोहलपुरबाट पक्राउ गरिएकी २३ वर्षीया युवतीलाई कोहलपुर इलाका प्रहरी कार्यालयमा राखिएको थियो । दिनभर त्यहीँ राखिन्थ्यो । रात परेपछि सेनाको टोलीले चिसापानी ब्यारेकमा लैजान्थ्यो । प्रहरी चौकीमा भेट्न आउने आफन्तलाई उनले आफूलाई दिनहुँ बलात्कार गर्ने गरिएको बताएकी थिइन् । पछि उनलाई प्रहरी चौकी ल्याइएन । बाँके नौबस्ताकी २१ वर्षीया धनकुमारी चौधरीलाई सैनिक गस्तीले साइकलमा हिँडेको देख्यो । उनलाई चिसापानी ब्यारेक आउनू भनियो । २८ पुस ०५८ मा ब्यारेक छिरेकी उनी बाहिर निस्किइनन् ।
चिसापानी ब्यारेकमा २४ दिन यातना भोगेका जगतराम थारु
बेपत्ता नागरिकको अनुसन्धानमा संलग्न आयोगका पूर्वसदस्य विष्णु पाठक चिसापानी ब्यारेकमा ल्याएर बेपत्ता पारिएकामध्ये धेरैलाई भिडन्तका नाममा मारिएको हुन सक्ने प्रशस्त आधार भेटिएको बताउँछन् । अवकाशप्राप्त सैनिक जवानका अनुसार ब्यारेकभित्र मारिएका झन्डै तीन सय थुनुवालाई करेली खोला, महादेवाको जंगल र कर्णाली नदीको बगरमा गाडिएको थियो । अधिकांश महिला थुनुवालाई बलात्कार तथा यौन हिंसा गरिएको उजुरी आएको उल्लेख गर्दै पूर्वआयुक्त पाठक भन्छन्, “त्यस्ता घटनाका आरोपित सैनिक अधिकृतको संलग्नताको प्रमाण संकलन भइसकेका छन् ।”
बारबर्दिया तर्कापुरका चौकीदार हुन्, जगतराम थारु । १४ भदौ ०५८ बिहान ३ बजेतिर सेनाले उनको गाउँ घेरा हाल्यो । सुतिरहेका उनलाई उठायो र यातना दिँदै जयनगरसम्म हिँडायो । त्यहाँ रामकिशुन थारु, राजदेव मण्डल र नरबहादुर रानालाई ल्याइएको थियो । चारै जनालाई सैनिक ट्रकमा चढाइयो । उनीहरूका आँखामा पट्टी बाँधियो र रम्भापुर ब्यारेक लगियो । दिनभर त्यहीँ राखियो र चरम यातना दिइयो । उनीहरूलाई एउटै हत्कडीमा बाँधिएको थियो, खुट्टामा नेल लगाइएको थियो । “भुइँमा सुताएर हामीमाथि मोटरसाइकल गुडाइन्थ्यो । तातो भुंग्रोजस्तो फलाममा हिँडाइन्थ्यो,” जगतराम भन्छन् ।
उनका अनुसार हत्कडी र नेल खुलेका बेला नरबहादुर र राजदेवले भाग्ने सल्लाह गरेका थिए । भाग्न खोज्दा सेनाका जवानले खुकुरीले उनीहरूको ढाडमा हानेर ढाले । गहिरो घाउले उनीहरू रक्ताम्य बने । उपचार नगरिँदा घाउ संक्रमित भई राजदेवको शरीरभरि फैलिएको थियो । उच्चायुक्तको प्रतिवेदनमा पनि उनको कारुणिक स्थितिबारे उल्लेख छ । सँगै लगिएकामध्ये जगतराम मात्र फर्किए । भन्छन्, “१५ दिनसम्म हामीलाई चरम यातना दिएर एकै ठाउँ राख्यो । त्यसपछि मलाई छुट्टै कोठामा लगियो ।” उनका पैतालामा यातनाका डोब अझै छन् । २४ दिनपछि उनलाई छाडियो । तीन जनालाई बेपत्ता पारियो ।
धनुषाका राजदेव मण्डल तीन छोरी र पत्नी लिएर बर्दिया मगरागढीस्थित अंशुवर्मा माविमा अंग्रेजी पढाउन आएका थिए । कान्छी छोरी मनीषा एक महिनाकी थिइन् । सुखदु:ख जीविका चलेकै थियो । विद्यालयको सामान्य विवादपछि उनलाई कसैले माओवादी भनेर सेनामा सुराकी गरिदिएछ । त्यसरी पक्राउ परेका उनी फर्केर आएनन् ।
मैथिलभाषी मण्डलपत्नी सोनावतीको भेषभूषा रातो देखिँदैन । तर मनको कुनामा अझै पनि पति फर्किने आशा छ । त्यसैले पति बेपत्ता भएपछि पनि उनी धनुषा फर्किनन् । भन्छिन्, “न भाषा बुझ्थेँ, न त संस्कृति मिल्थ्यो । दु:ख परेपछि सबै बुभिँmदो रहेछ । द्वन्द्वपीडितहरूले आफ्नै परिवार ठान्नुहुन्छ । त्यसैले जनकपुरभन्दा यतै राम्रो लाग्न थालेको छ ।”
स्वेच्छाचारी हर्कत
सहसेनानी स्वाँरले व्यक्तिगत प्रतिशोध साँधेर धेरैलाई बेपत्ता पारेको आरोप छ । माओवादी द्वन्द्व चर्किएपछि स्वाँरको जमिनदार परिवार गोला पशुपतिनगरबाट विस्थापित हुन पुग्यो । उनको घरजग्गा कब्जा गरियो । ती घटनाले उनमा प्रतिशोधको भावना पलाएको धेरैको बुझाइ छ । उनले आफूलाई मन नपरेका व्यक्तिलाई पक्राउ गर्ने, यातना दिने, बेपत्ता पार्ने र हत्या गर्नेसम्मका काम गरे । महम्मदपुरका लिखाराम थारु उनको घरमा काम गर्थे । उनले बीचैमा काम छाडे । सेनाको भर्ती खुलेको थियो । २८ असार ०५९ मा लिखाराम राँझा ब्यारेकमा भर्तीका लागि लामबद्ध भए । त्यहीँ उनलाई सहसेनानी स्वाँरले देखे र पक्राउ गरे । लिखाराम जिउँदा छन् वा मारिए, अहिलेसम्म परिवारलाई थाहा छैन ।
माओवादीका तत्कालीन बाँके–बर्दिया इन्जार्च ज्ञामप्रसाद चालिसे उनकै गाउँ गोलाका हुन् । उनीहरू दुवै सँगै हुर्के–पढेका थिए । तर चिसापानी ब्यारेकभित्र चालिसेको हत्यामा उनै स्वाँर संलग्न भएको सैनिक स्रोत बताउँछ । सहसेनानी स्वाँरको हिंस्रक प्रवृत्तिलाई उच्च सैनिक अधिकृतले प्रयोग गरेका थिए । उनी ‘मिनी रोल्पा’ भनेर चिनिएको राजापुरका बासिन्दा भएकाले भूगोल थाहा थियो । माओवादी विद्रोहमा हिँडेका केहीलाई चिन्थे पनि । संकटकालका बेला माओवादी नेता वा कार्यकर्ता मार्न सके सुरक्षाकर्मीले नगद पुरस्कार पाउँथे । त्यो पुरस्कारकै लागि पनि गैरन्यायिक हत्या र बेपत्ता पार्ने काम फस्टाएको थियो । अवकाशप्राप्त एक सैनिक जवान भन्छन्, “क्याप्टेन स्वाँरको स्वभाव अत्यन्तै क्रूर खालको थियो । मान्छे मार्नुलाई सहजै लिन्थे । पदोन्नति रोकिएपछि बल्ल उनले आफू मोहरा मात्र हुन पुगेको महसुस गरेका थिए ।” स्वाँरले ०६२ असारमा राजीनामा दिए ।
सहसेनानी विनोद भण्डारीले सात थुनुवालाई लहरै उभ्याएर गोली हानेर हत्या गरेको आफूले देखेको अर्का एक थुनुवा बताउँछन् । “एक महिलासहित सातै जनाको हात पछाडि फर्काएर बाँधिएको र टाउकामा कालो नकाब लगाइएको थियो,” उनी भन्छन्, “भण्डारीले देब्रेतिरबाट पालैपालो पेस्तोलले हानेका थिए । त्यो देखाउन मेरो आँखाको पट्टी खोलिएको थियो ।” उनलाई ‘तँ पनि यसैगरी मारिन्छस्’ भनिएको थियो । दुर्घटनामय संयोग ! भण्डारीले जुन हातले थुनुवालाई गोली हानेर ढालेका थिए, भोलिपल्ट सवारी दुर्घटनामा उनले त्यही हात गुमाउन पुगे ।
ब्यारेकभित्र मात्र होइन, गाउँ घेरेर गरिने सर्च अपरेसनमा पनि भीमकाली गुल्मको टोलीले ज्यादती गरेको थियो । ती अधिकांश कारबाहीमा सेनानी थापा र सहसेनानी स्वाँर संलग्न थिए । बारबर्दिया नगरपालिकाको बेलभारमा उनीहरूको टोली तीन पटक पुग्यो । छिमेकी जब्दहवा गाउँबाट ५ पुस ०५८ मा चैतेलाल चौधरी, उनकी पत्नी सीताजानकी र फुपूका छोरा जनक चौधरी पक्राउ परे । चैते र सीताजानकीको भर्खर–भर्खरै बिहे भएको थियो । घटना सम्भिँmदा ७६ वर्षीय बुबा ठग्गुलाल दु:खी हुन्छन् । छोराबुहारीको खोजी गर्न नसकेकामा उनलाई अहिले पनि पछुतो छ । भन्छन्, “सोधपुछ गर्न जानेलाई नै पक्रेला भन्ने डरले म कतै जान सकिनँ । घरमै रोएर बस्यौँ । शान्ति आए पनि कुनै थाहापत्तो लागेन ।”
१ चैत ०५८ मा सेना पुग्दा गाउँका युवाको भागाभाग चल्यो । सेनाले उनीहरूमाथि पछाडिबाट गोली चलायो । त्यस क्रममा कर्णबहादुर थारु, सुरेश थारु र कन्हैयालाल थारु मारिए । १६ वर्षका कन्हैयालाल कक्षा ९ को वार्षिक परीक्षाको तयारी गरिरहेका थिए । गाउँमा सेना पसेको सुनेपछि उनी कापीकिताब छाडेर खेतैखेत भागेका थिए । उनी शारीरिक अपांगसमेत थिए । कर्णबहादुर घर बनाउँदै थिए भने सुरेश घाँस काट्दै थिए । सो घटनामा भागेर ज्यान गुमाएका रामबहादुर चौधरी भन्छन्, “भाग्न सकेका बाँच्यौँ, जो सकेनन्, मारिए ।” राज्य आतंकको यस्तो कहालीलाग्दो बेला गाउँमा सेना आउँदै छ भन्ने हल्लाकै भरमा पनि थुप्रै पटक युवाहरू भागेर जंगल पसेको उनी सम्झिन्छन् ।
दसौँ लाख फिरौती
माओवादी द्वन्द्वसँग कुनै साइनो नभएका नेपालगन्जका व्यवसायीलाई सेनाले पक्राउ गर्यो । चरम यातना दिएर उनीहरूबाट रकम असुलिएको थियो । त्यसरी पक्राउ परेर चिसापानी ब्यारेकको कहर भोग्नेमा मामराज अग्रवाल, प्रमोद जलान, पञ्चनारायण श्रेष्ठ, मजित मनियार, अजय टण्डनलगायत थिए । उनीहरूलाई रिहा गर्न दसौँ लाख ‘फिरौती’ असुलिएको थियो । त्यस अवधिमा झन्डै ६ करोड रकम असुलेको सम्बद्ध स्रोत बताउँछ । स्थानीय कपडा व्यापारी दामोदर आचार्यलाई पनि त्यही क्रममा पक्राउ गरिएको थियो । भलै, जनमोर्चाका नेता भए पनि उनीमाथि माओवादीलाई कपडा सप्लाइ गरेको आरोप थियो । उनी तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्माका नातेदार भएकाले उनकै आग्रहमा छाडिए ।
त्यसरी रकम असुलीमा पृतनापति सदीपबहादुर शाहको प्रत्यक्ष संलग्नता रहेको सैनिक स्रोत बताउँछ । तत्कालीन प्रधानसेनापति प्रज्वलशमशेर राणाका बहिनीज्वाइँ भएकाले सेनामा उनी शक्तिशाली थिए । उनकै आडमा सेनानी थापा र सहसेनानी स्वाँरले मच्चाएको अपहरण शैलीको फिरौती, गैरन्यायिक हत्या, यातना र यौन हिंसालाई सैनिक मुख्यालयले अनदेखा गरिरहेको थियो । कतिसम्म भने थुनुवाको बैंकबाट समेत सैनिक अधिकृतले जबर्जस्ती पैसा झिक्न लगाएका थिए । कोहलपुरका रामप्रसाद पोखरेलको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट ५ लाख रुपैयाँ झिकिएको थियो । पोखरेललाई सैनिक पोसाक लगाएर बैंकमा लगिएको र तत्कालै चेक बनाउन लगाएर पैसा झिकिएको पत्नी चन्द्रकला सुवेदी बताउँछिन् । त्यसरी बैंकबाट पैसा झिक्न आउने सैनिक टोलीको नेतृत्व सहसेनानी स्वाँरले नै गरेको बैंक कर्मचारीहरूले बताएका थिए ।
बदनाम “जुली”
भीमकाली गुल्मभित्र बन्दीहरूलाई कुुकुर लगाएर यातना दिइन्थ्यो । ठूलो कुकुर बन्दीमाथि झम्टाइन्थ्यो । थुनुवालाई यातना दिन ‘जुली’ नामको त्यही कुकुर प्रयोग गरिन्थ्यो । छुटेका केही बन्दीको कोखामा कुकुरले चिथोरेका दाग अहिले पनि देखिन्छन् । भर्खरै एक महिला बन्दीले आफूलाई कुकुरबाट बलात्कार गराइएको दाबी गरेपछि धेरै पूर्वथुनुवाको शंका त्यही जुलीमाथि परेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे त्यो बेला सेनाका उपत्यकाबाहिरका कुनै पनि युनिटमा कुकुर नभएको भन्दै पीडितको दाबीमाथि नै शंका गर्छन् । भन्छन्, “नेपाली सेनाले कुकुरको त्यो स्तरको प्रयोग कहिल्यै गरेको छैन । नीति पनि छैन, हाम्रो क्षमताभित्र पनि पर्दैन ।”
पाण्डेका अनुसार ०५८ मा संकटकाल लाग्दा सेनासँग मुस्किलले एक दर्जन कुकुर थिए । ती सबै उपत्यकाभित्र थिए । माओवादीको विद्युतीय धरापका घटना बढेपछि डेढ वर्षपछि भैरवबान गुल्मले विस्फोटक पत्ता लगाउने तालिमप्राप्त कुकुर राख्न थालेको थियो । तर पीडितको आरोपपछि सैनिक मुख्यालयले समिति गठन गरेर छानबिन गरिरहेको छ । प्रवक्ता पाण्डे दोषी देखिए बहालवाला हुन् वा सेवानिवृत्त कारबाही गर्न प्रतिबद्ध रहेको बताउँछन् । त्यसका लागि पीडितले सघाउनुपर्ने उनको आग्रह छ ।
भीमकाली गुल्म स्रोतका अनुसार सहसेनानी रमेश स्वाँरले घरमा पाल्न भारतबाट त्यो कुकुर ल्याएका थिए । उनले त्यसैलाई थुनुवालाई यातना दिने साधनका रूपमा प्रयोग गर्न ब्यारेकमा भित्र्याए । ‘जुली’ थुनुवामाझ निकै बदनाम थियो । नेपालगन्जका दिदीबहिनी बलात्कारको रिपोर्ट सार्वजनिक भएपछि सेनाले कोर्ट अफ इन्क्वायरीका लागि स्वाँरलाई मुख्यालय झिकायो । त्यतिन्जेल कुुकुर ब्यारेकमै थियो । त्यसपछि आउने सैनिक अधिकृतले जुलीलाई ब्यारेकबाट बाहिर निकालेर सुर्खेत सीमा बबई बजार लगेर छाडे । बालबालिकालाई टोक्न थालेपछि स्थानीयले ०७१ सालतिर विष खुवाएर जुलीलाई मारिदिएका थिए ।
‘नांगै बनाएर कुकुर लगाइयो’
२८ मंसिर ०५८ मा मिर्मिरे उज्यालो नहुँदै बर्दियाको एक गाउँमा सेनाले घेरा हाल्यो । माओवादीको सांस्कृतिक समूहका चार कलाकार सुतिरहेका थियौँ । हामीलाई ओछ्यानबाटै पक्राउ गरियो र आँखामा पट्टी बाँधियो । अश्लील गाली र लछारपछार गर्दै आँगनमा ल्याइयो । हात पछाडि बाँधिएकै थियो । तर आँखाको पट्टी खोलिदिए र नजिकैको अडहरबारीमा लगे । चारै जनालाई खेतको आलीमा बस्न लगाए । कुटपिट गर्न छाडिए पनि अश्लील गाली गरियो । तिमीहरूलाई नांगै घुमाउने हो भनेर डर देखाए । आलीमा उत्तानो पारेर राखियो । हात पछाडि बाँधिएको थियो । मैले लेहेंगा लगाएकी थिएँ । भित्री वस्त्र पनि थिएन । लेहेंगा फर्काएर नांगो पारियो । सैनिक कमान्डरले आफूसँगै ल्याएको जुली नामक कुकुरलाई अह्राए । त्यो कुकुर ममाथि झम्टिँदै आइलाग्यो । उसको यौनांगले मेरो संवेदनशील अंग छुन्थ्यो । मैले अत्तालिएर लात्तीले प्रतिकार गरेँ । ममाथि पटक–पटक त्यस्तो बलात्कार गराइयो । झन्डै आधा घन्टा यातना दिएपछि हामीलाई सैनिक ट्रकमा चढाइयो ।
ट्रकमा पनि धेरै नराम्रो व्यवहार गरियो । हातले उचाल्न नसक्ने फलामले ढाडमा हानियो । हामीलाई एकमाथि अर्को खप्टाएर राखिएको थियो । गिरफ्तारीमा परेका कलिला बहिनीहरू बेहोस भएका थिए । सैनिक कमान्डरले जवानलाई भन्थे, ‘हेर–हेर आतंककारीसँग बम हुन सक्छ ।’ जवानहरूले कपडा उचाल्दै टर्च लाइट लगाएर हाम्रा गोप्य अंग हेरे, छामछुम पारे । सेना आएको खबरपछि भागेका केही साथीको झोलामा कन्डम भेटेपछि हामीमाथि झन् धेरै दुव्र्यवहार गरियो । मैले ती कन्डम विवाहित जोडीको भएको बताएँ । म आफैँ विवाहित थिएँ तर उनीहरूले त्यसलाई मजाक बनाएर यौन दुव्र्यवहार गरिरहे ।
चिसापानी ब्यारेक लगेपछि हामीलाई दिनभर फिल्डमै राखियो । दिसापिसाब गर्नसमेत दिइएन । ट्वाइलेट जान्छु भन्दा पनि ‘मर्ने मान्छे किन जाने ट्वाइलेट’ भन्थे । कपडामै दिसापिसाब चुहिएको थियो । १३ दिनसम्म त्यसरी नै एउटै कोठामा हात बाँधेर राखियो । त्यही बेला मेरो महिनावारी भइदियो । भित्री वस्त्रसमेत नभएकाले रगतै भएर बस्नुपर्यो । एक टुक्रा कपडाको टालोका लागि मैले धेरै अनुनयविनय गरँे । अहँ दिइएन । उल्टै, तिमीहरूलाई मार्ने तयारी भइरहेको छ, किन चाहियो टालो भन्थे । एक जवानले दया देखाएर एउटा टालो ल्याइदिए । बन्दुक पुछेको फोहोर र मट्टीतेलको गन्धसहितको त्यही टालोको भरमा एक साता काटेँ । २८ दिनपछि हामीलाई छाडियो । यत्तिका वर्ष मनमा त्यही यातना र बलात्कारको पीडा गुम्स्याएर बसेँ । पलपल पीडाबोध भइरह्यो । शारीरिक रूपमा पनि अशक्तजस्तै छु । न्याय पाइन्छ, पाइन्न थाहा छैन । तर सत्य खोतल्नुपर्छ भन्ठानेर मैले मुख खोलेँ । घटना सार्वजनिक भएपछि मेरा श्रीमान्ले पनि हीनताबोध गर्नुहुन्छ । समाजले नराम्रो नजरले हेर्छ भन्नुहुन्छ । मलाई विभिन्न बहानामा प्रत्यक्ष–अप्रत्यक्ष धम्की आइरहेका छन् । के गर्ने, यति ठूलो परिवर्तनपछि पनि हामी पीडित जस्ताका तस्तै भयौँ । (कुराकानीमा आधारित)
आवरण तस्बिरहरू : जनक नेपाल
साथमा यो पनि : थुनुवा नं १५
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...