ब्रह्माण्डका कानुन बुझाउने तीन किताब
समस्याको समाधान युद्ध होइन भन्ने जीवनवादी दृष्टि नै हिटलर र यहुदीको मूल सन्देश हो ।
भौतिकविज्ञानको सिद्धान्तअनुसार हामीले केही नगरे पनि भविष्यतिर डोरिइरहेका छौँ किनकि समयले आफ्नो सुई घुमाइरहेकै हुन्छ । आइन्सटाइनको सापेक्षतावादअनुसार हामी छिटो हिँड्यौँ भने घडी ढिलो घुम्छ अर्थात् भविष्यमा छिट्टै पुग्छौँ । भूतकालमा जान नसक्नुमा कार्य–कारणको वैज्ञानिक प्रक्रिया हुन्छ, जसलाई पूर्वीय दर्शनमा कारणत्व मानिन्छ । कारणत्व भत्किए विगत मात्रै होइन, वर्तमानको अवस्था पनि आनका तान फरक हुन्छ । विज्ञानमै विश्वास रहेकाले कारणत्वलाई जोगाएर आख्यान लेखेका छन्, कर्ट भनेगटले । उनी मेरा प्रिय लेखक हुन्, जसको पुस्तक अभिव्यक्ति स्वतन्त्रता अधिकतम भएको मुलुक अमेरिकामा समेत जलाइएको थियो । उनका उत्तरआधुनिक ढाँचाका विज्ञान–आख्यानहरुले वरपरकै यथार्थलाई फरक ढंगले सोच्न बाध्य तुल्याउँछन् । टाइमक्वेक यस्तै अद्भुत रोचक उपन्यास हो, जसमा नायकलाई भुइँचालोजस्तै आउने टाइमक्वेकले अतीतमा पुर्याउँछ । अतीतका कार्य पुनरावृत्ति भए पनि त्यसमा पात्रको स्वतन्त्र नियन्त्रण हुँदैन । स्वैरकल्पनाको माध्यमबाट उनका अन्य आख्यानमा झैँ यसमा पनि मनुष्यको स्वतन्त्र इच्छा नहुने दाबी गरिएको छ । विगतमा फर्कंदा दुर्घटना हुने ज्ञात भए पनि मुख्य पात्र निरुपाय हुन्छ । पुस्तकका अधिकांश ससाना कथाले अवसाद र दु:ख अभिव्यक्त गर्छ, जसमा मानिसले आफ्ना आमाबुबालाई पुन: मृत्युयात्रामा गएको देख्छन् । आदि–मध्य–अन्त्यको परम्परागत आख्यान ढाँचालाई मात्रै होइन, ईश्वरीय खेलको पुराना मिथकमाथि पनि प्रहार गर्छन् । दैविक विधानमा मात्रै भरोसा गर्ने हो भने फलको भागीदार मानिस नभएर ईश्वर हुनुपर्ने हुन्छ । भनेगट आफ्ना कतिपय लेखनबाट परोक्ष व्यंग्य गर्दै क्राइस्टदेखि हिटलरसम्मलाई स्वर्गमा पुर्याउँछन् ।
आफ्नो अहं तुष्टिका लागि युद्ध गरे पनि हिटलरले आफूलाई कृष्णकै दाँजोमा उभ्याएका छन्, हिटलर र यहुदीमा । उपन्यासमा विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो मानवतावादी विचार पस्कनका लागि द्वितीय विश्वयुद्धको प्रसंग ल्याएका छन् । कृष्णको गीतादर्शनलाई आलोचनात्मक टिप्पणी गर्न उनले हिटलरलाई पात्रको रुपमा उभ्याएजस्तो लाग्छ । हिटलर ठान्थे कि यहुदीहरुको विनाशबाट मात्रै जर्मनीको भलाइ हुन्छ । एकोहोरो राष्ट्रवादमा डुबेका हिटलरले मानव इतिहासकै कहालीलाग्दो घटना निम्त्याए । उपन्यासमा युद्धको अपरिहार्यतालाई पुष्टि गर्दै हिटलर भन्छन्, ‘म निष्ठुरतालाई घृणा गर्छु । आफ्नोसाथ कवचजस्तो सदासर्वदा कृष्णको गीतालाई लिएर हिँड्छु ।’ मानवतावादी अवधारणाको वकालत गर्ने क्रममा महाभारतको युद्धलाई पुनव्र्याख्या गरिएको छ । पाण्डव–कौरव युद्धमा अनगन्ती मानिस मारिए, द्वितीय विश्वयुद्धमा पनि लाखौँको जीवन सकियो र सम्बन्धित परिवारजनको पीडाको हरहिसाब छैन । समस्याको समाधान युद्ध होइन भन्ने जीवनवादी दृष्टि नै हिटलर र यहुदीको मूल सन्देश हो । गीताको निष्काम कर्मयोगप्रतिको आशक्तिका कारण हिटलरमा अतिमानवीय आकांक्षा पलाएको देखिन्छ । साहित्यलाई राजनीतिभन्दा उच्चतम विषय मान्ने कोइरालाले युद्धजन्य दीर्घ घाउ बोक्न बाध्य मानिसका दु:ख अनुभूत गरेरै यो उपन्यास लेखेका छन् ।
वैज्ञानिक रोजर पेनरोजको किताब द रोड टु रियालिटीमा ब्रह्माण्डको उत्पत्ति, विकासक्रम र गणितसम्मको व्याख्या गरिएको छ । यस किताबलाई स्टेफेन हकिङको अ ब्रिफ हिस्ट्री अफ टाइमसँग पनि तुलना गरिन्छ । भौतिक विज्ञानमा बिग ब्याङलगायत अनुत्तरित प्रश्न धेरै रहे पनि पेनरोज संसारको यथार्थलाई कालचक्रका रुपमा हेर्छन् । क्यान्टम भौतिकी, कण सिद्धान्त र गुरुत्वाकर्षण आदिलाई गहिराइमा बुझाउने यस पुस्तकमा सिद्धान्तदेखि सम्भावित खोजबारे पनि चर्चा गरिएको छ । प्राविधिकजस्तो लागे पनि संसारको प्राकृतिक कानुन र नियमविरुद्ध जान नसकिने अवधारणाले पुस्तकलाई बलियो बनाएको छ ।
धेरै वैज्ञानिकलाई समेट्दा शून्यका आविष्कारक भारतीय गणितज्ञ ब्रह्मगुप्तलाई समेत अध्ययन गरेका छन्, उनले । मानव सञ्चारको गतिलो माध्यम भइसक्यो, गणित । पहिले व्यावहारिक जीवनको गणनाक्रमममा शून्यको अवधारणा नै थिएन । पछि बुद्ध र नागार्जुनले पनि शून्यवादको व्याख्या गरे । छन्दशास्त्रमा गुरु र लघुको संयोजन गर्दा पिंगलाचार्यले शून्यको प्रयोग गरेका छन् । कालान्तरमा शून्यको अवधारणा पूर्वबाट पश्चिमतिर सरेको देखिन्छ, जसलाई न्युटनहरुले समेत प्रभावकारी प्रयोग गरे । यो किताबलाई वैदिक ग्रन्थसँग पनि तुलना गर्न सकिन्छ । ऋग्वेदको आरम्भमा चर्चा गरिएको अग्निको नियन्त्रणबाटै सभ्यताको सुरुआत भयो । विज्ञानमा भएको विकास र विश्वशक्ति परीक्षणको केन्द्रमा पनि आगो नै छ । युद्धमा प्रयोग हुने आणविक भट्टी र प्राविधिक यन्त्र पनि आगोकै फरक स्वरुप हुन् । आइन्सटाइनले अन्तरिक्षबाहेक अन्य तफ्वलाई अग्निकै रुप हो भनिदिए । भौतिकविज्ञानमा चेतनालाई लिएर अनेक विमर्श हुन्छन् । तर चेतनाको मापन गर्न मुस्किल छ । लाग्छ– चेतना पनि भौतिक तफ्व नै हो । युनानी दर्शनमा अणुवाद आएकै ताका पूर्वमा पनि कणलाई दार्शनिक व्याख्यामा ल्याउने कणाद महर्षिले पञ्चतफ्वमा दिक्, काल, मन र आत्मालाई थपेर नवद्रव्य भनेका छन् । पूर्वीय र पश्चिमी भौतिक विज्ञानका दर्शनलाई दाँजेर अध्ययन गर्न पनि द रोड टु द रियालिटीले बलियो आधार दिन सक्छ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...