(पुस्तक समीक्षा) फेरि आत्माश्लाघाकै डम्फु
नेपाली समाजको लघु स्मरणशक्तिको फाइदा उठाउन सम्भवत: उनले बीपीलाई दरबारबाट ज्यान सजायको दबाब दिए पनि आफूले नमानेको दाबी गरेका छन् ।
‘जननिर्वाचित प्रथम मेयर तथा न्यायाधीश जनकमान श्रेष्ठको जीवन गाथा’ उपशीर्षक राखेर प्रकाशित ९१ वर्षीय जनकमान श्रेष्ठको हराएको इतिहास हालै बजारमा आएको छ । क्रान्तिकारी युवादेखि जननिर्वाचित प्रथम मेयरसम्म, बर्खास्त मेयरदेखि माननीय न्यायाधीशसम्म, साहसी न्यायाधीशदेखि स्मृतिमा सहाना प्रधान, स्मृतिमा चिनियालाल श्रेष्ठलगायत शीर्षक राखेर प्रकाशित पुस्तकले पाठकलाई अहिले सत्तामा झन्डै दुई तिहाई बहुमतसहित आसीन ‘कम्युनिस्ट’ पार्टीको आरम्भकालीन टिठलाग्दो अवस्थाबारे जानकारी दिन्छ । पुस्तकले सहिद गंगालाल, नेता पुष्पलाल, काठमाडौँ उपत्यकाको तत्कालीन जनजीवन, राजनीतिक खिचातानी, काठमाडौँ नगरको पहिलो मेयरको निर्वाचन र त्यसपछि विकसित घटनाक्रम, नेपालको पहिलो अन्तर्राष्ट्रिय सुपुर्दगी घटना, मेलमिलाप नीति लिएर बीपी स्वदेश फर्किएपछि उनीमाथि लगाइएको मुद्दा, बीपी, गणेशमानको बयान, त्यसमा राजनीतिक प्रतिशोध साँध्न शक्तिमा रहेकाहरुले दिएको दबाब र फैसलाबारे बुझ्न त्यसबारे जानकार प्रथम व्यक्तिको अनुभवको आँखीझ्याल उपलब्ध गराउँछ ।
पुस्तकमा उल्लिखित विवरणअनुसार गंगालाल, पुष्पलाल जनकमानका मामाका छोरा रहेछन् भन्ने थाहा हुन्छ । युवावयमै सहादतको बाटो रोजेका गंगालालबारे नेपाली समाजसँग रहेको निकै संक्षिप्त विवरणमा केही हरफ भए पनि थप्न उनको यो संस्मरणले सहायता गर्नेछ । गंगालाललाई गोली हानी हत्या गरेको खबर सुनी हेर्न गएका जनकमानले गंगालालको मृत अवस्थाको विवरण लेखेका छन्, ‘विष्णुमती नदी किनारमा दुइटा बाँसको खम्बा गाडेर सो खम्बाको बीचमा गंगालाललाई उभ्याई दुवै हात नाडीदेखि पाखुरासम्मै डोरीले बाँधी दक्षिणतर्फ फर्काई दायाँ घुँडा, पेट र छातीमा गोली दागी हत्या गरिएको थियो ।’ उनका माइला भाइ पुष्पलालले दागबत्ती दिनुअघि श्रद्धाञ्जली दिने क्रममा गंगालालको खुट्टा समाई ढोगेर दाइ म यसको बदला नलिई छोड्दिनँ भनी झन्डै दस मिनेट रोए ।’ यसले पुष्पलाल किन सामन्ती व्यवस्थाविरुद्ध लागे र देशमा नागरिक सर्वोच्चता अपरिहार्य रहेको वकालत गरिरहे भन्ने बुझ्न सघाउँछ । पुस्तकले गणेशमान सिंह भारतमा बस्दा कृष्णबहादुर थापाको नाममा कारोबार गर्ने गरेको जानकारीसमेत दिन्छ ।
पुस्तक जनकमानको राजनीतिक र न्यायालयको यात्राको विवरणमा मात्रै संकुचित छैन । बरु काठमाडौँको समाज, विकास र अवस्थाको विवरणात्मक बयानले पाठकलाई उस बखतको नेपालको अवस्थाबारे जानकारी दिन्छ । उनी लेख्छन्, ‘वसन्तपुरबाट टुँडिखेलसम्म पूर्वपश्चिम र इन्द्रचोकदेखि पुरानो नगरपालिका भवनसम्म उत्तर–दक्षिण चार लाइनको बाटो चौडा गरी मानिस हिँड्ने पेटी दायाँ–बायाँ राखी अर्धपक्की रोड बनाइएको थियो । प्राय: घरका झ्याल एउटै डिजाइनमा बनाउन लगाई जुद्धशमशेरको शालिक राखी जुद्धसडक नामकरण गरिएको थियो ।’ उनले उल्लेख गरेबमोजिम सम्भवत: काठमाडौँमा मालसामान ओसार्ने ठेला–गाडाको सुरुआत गर्ने लगनटोलका हाराँ नकर्मी थिए ।
कांग्रेसले वीरगन्ज कब्जा गरेसँगै त्यो फौजले वीरगन्ज जेलमा रहेका सयभन्दा बढी बन्दीलाई खुकुरीले छप्काएर मारेको जनकमानको विवरण यसअघि प्रकाशमा नआएको घटना हो । अखिल नेपाल विद्यार्थी फेडेरेसनको कार्यालयमा राख्न हँसिया हथौडाअंकित झन्डा नभएर रातो तुल टाँगेको मार्मिक घटना उनले उल्लेख गरेका छन् । आज त्यसरी पुष्पलाल, जनकमान, मदनलोचनहरुले टाँगेको रातो तुलको बलमा सत्तामा पुगेकाहरुले त्यो रातो झन्डाको गरिमालाई कर्तुतले विद्रूप बनाइदिएको यथार्थ टिठलाग्दो महसुस हुन्छ ।
उनको खास कथा सुरु हुन्छ, १८ भदौ ०१० सालको काठमाडौँ नगरपालिकाको पहिलो आमचुनावको घटनाबाट । नेपाल कम्युनिस्ट पार्टी र टोल सुरक्षा समिति (ज्या:वहा, ब्रह्म टोल र इनाखा टोल) बाट उम्मेदवारी दिएका जनकमान तत्कालीन वडा नं २ बाट निर्वाचित भएका थिए । नेकपाका ६, स्वतन्त्र ३ र नेपाली कांग्रेसका ३ गरी १२ मत पाएर सदस्यमध्येबाट उनी काठमाडौँ नगरको सभापतिमा चुनिएका थिए । पछि नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर जनआन्दोलनको सर्वमान्य नेता बन्न सफल गणेशमान सिंह त्यसबखत नै जनपक्षीयबीचको संयुक्त संघटनका लागि उत्प्रेरक रहेको जनकमानको पुस्तकबाट थाहा लाग्छ । बीपीले नेकपालाई समर्थन गर्न नमाने पनि गणेशमानले आफ्नो पार्टीबाट निर्वाचित ३ सदस्यलाई नेकपाका उम्मेदवार जनकमानलाई काठमाडौँ नगरको सभापतिमा निर्वाचित गराउन मतदान गर्न भित्री सहमति दिएको विवरणबाट थाहा हुन आउँछ ।
टकंप्रसादले ‘तपाईंहरुको संगतमा बसिरह्यो भने सरकारमा कहिल्यै जान नपाउने भयो । भारतीय राजदूतले कम्युनिस्टसँगको मोर्चा तोड्नुस् । ग्यारेन्टीका साथ प्रजा परिषद्लाई सरकार गठन गर्न दिइनेछ भनी प्रतीज्ञा गरेका छन् । माइला भाइ (पुष्पलालजी) तपाईं पत्याउनुहुन्न भने पर्सि भारतीय राजदूत मसँग कुरा गर्न मेरो घरमा आउँदै छन् । तपाईं अर्को कोठामा लुकेर उनले मसित गरेको कुराकानी सुन्नुस् ।’ त्यसपछि पुष्पलाललाई लिएर आफू टंकप्रसादको घर गएको र राजदूतसँगको प्रत्यक्ष कुरा सुनेको जनकमानले उल्लेख गरेका छन् । त्यसरी नेकपासँग प्रजा परिषद्ले मोर्चा तोडेको केही समयमै टंकप्रसाद प्रधानमन्त्री बने । त्यसरी उनलाई भारतीय प्रत्यक्ष योजनामा प्रधानमन्त्री बनाउने पात्र थिए– यताका दिनमा आफूलाई असली राष्ट्रवादी ठान्नेहरुले आफ्नो राष्ट्रवादको जाज्वल्य शिक्षालय थापेका राजा महेन्द्रले ।
राजाबाट मनोनीत मातृकाप्रसाद कोइरालाले जनताबाट निर्वाचित मेयर जनकमान श्रेष्ठलाई आफूअनुकूल काम नगरेको र बीपीबाट फुटाएर गठन गरेको पार्टीमा आउन नमानेको झोँकमा हटाएपछि उनको जीवनको दोस्रो इनिङ थालनी हुन्छ । उनी कहिले शिक्षक, कहिले पत्रिकाको सम्पादक, कहिले वकिल हुँदै न्यायाधीशको जागिरे बन्न पुग्छन् । शिक्षक बन्दा उनी पुरानो सम्बन्ध समात्दै आएका कम्युनिस्ट नेता निर्मल लामालाई आफू प्रधानाध्यापक रहेको विद्यालयबाट प्रवेशिका परीक्षा दिने व्यवस्था मिलाइदिन्छन् । जनकमानको पुस्तकअनुसार लामालाई उनैले पुष्पलालसँग भेटाएका थिए । त्यसअघि लामा कांग्रेसमा सामेल थिए, पुष्पलालसँगको सम्पर्कपछि कम्युनिस्ट पार्टीमा सक्रिय भएका थिए ।
न्यायालयमा छिर्न लोकसेवा पास गर्दासमेत कम्युनिस्ट भएको आरोपमा श्रेष्ठ कहिले डिल्लीरमण रेग्मीबाट गलहत्याइन्छन् भने कहिले रणधीर सुब्बाबाट । कहिले कुनै मन्त्रीबाट अपमानित हुन्छन् त कहिले कुनै अञ्चलाधीश या बडाहाकिमबाट । कहिले भनेअनुसार सजाय नतोकिएको भनेर सेनाबाट सताइन्छन् त कहिले राप्ती दुनको जग्गा वितरण समितिको प्रमुख भएर जाँदा जग्गा नपाएको भनेर वासु पासाहरुको उट्पट्याङपूर्ण चुक्लीको सिकार हुन्छन् । कहिले प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको छोरा डेरामै आएर भन्थे, ‘आज हाम्रो जग्गा मुद्दा छ, न्यायाधीशज्यूले हेरिदिनुपर्यो ।’ कहिले पञ्जाबका मुख्यमन्त्री प्रतापसिंह कैरोंको हत्या गरी नेपाल आउँदा पक्राउ परेका सुच्चा सिंहलाई भारतीयलाई सुम्पने व्यवस्था मिलाउन प्रधानमन्त्री सूर्यबहादुर थापाको निवासमा परराष्ट्र, कानुन, गृहमन्त्रीसमेत राखेर भनिन्थ्यो, ‘ए जनकमानजी, त्यत्रो ठूलो भारतसित हाम्रोजस्तो सानो मुलुकले जोरी खोज्ने पोलिटिक्स खेल्न हुन्छ र ? खुरुक्क सुच्चा सिंहलाई सुपुदर्गी दिने निर्णय गरिदिए पुग्ने, नचाहिने झन्झट नगर्नुस् ।’ अनि तिनै जनकमान हुन्छन्, नेपालको पहिलो सुपुर्दगीसम्बन्धी फैसला गर्ने न्यायाधीश । आज पनि कानुनका विद्यार्थी उनको त्यो फैसलाको प्रतिलिपि नपाएर खोज्न भौँतारिइरहेका हुन्छन्, जसको पूर्ण विवरण उनले पुस्तकमा छपाएका छन् ।
त्यसपछि आउँछ देश मात्रै होइन, सिंगो प्रजातान्त्रिक दुनियाँले चनाखो भई हेरेको ‘हाई प्रोफाइल’ मुद्दा, जसमा बीपी, गणेशमानमाथि ज्यान सजायसमेत हुने गरी लगाइएका विभिन्न अभियोगउपर फैसला गर्न गठन हुन्छ राजकाजसम्बन्धी मुद्दा हेर्न विशेष अदालत, सिंहदरबारमा । राजदरबार र सत्ता–शक्तिमा क्रियाशील उच्च पदस्थहरुको चाहना हुन्छ, बीपीलाई अदालतमार्फत फैसला गराएर फाँसीमा लड्काउने । त्यही निहित उद्देश्य पूरा गर्न छानेर ल्याइन्छन्, विशेष अदालतको प्रमुख बनाएर कम्युनिस्ट पृष्ठभूमि भएका न्यायाधीश जनकमान । बीपीलाई कानुनी रुपमा पन्छाउन पाए, पञ्चायत, जनता र राजनीतिको नाममा आफ्नो हालीमुहाली कायम गर्न पाइराखिन्छ भन्ने सोचका साथ अदालत चलिरहेको बखत राजदरबारका सचिव रञ्जनराज खनालले बीपी, गणेशमानलाई ज्यान सजाय दिनुपर्ने दबाब दिन्छन्, कहिले राजाको नाममा, कहिले संविधानको नाममा, कहिले अराष्ट्रिय तत्त्वको नाममा । राजा वीरेन्द्रसँग भेट्न खोज्छन्, समय पाउँदैनन् । उनी लेख्छन्, ‘राजाको नाममा खेल्न खोज्ने, राजा देखाएर विरोधी तह लगाएर आफ्नो दुनो सोझ्याउन चाहने रञ्जनराजहरुको मनसायबमोजिम मैले फैसला गरिनँ, बीपी र गणेशमानउपरको दाबी नपुग्ने फैसला गरी निजहरुलाई छुटकारा दिलाएँ ।’ त्यही रिस साँध्न आफूलाई क्षेत्रीय अदालतको न्यायाधीश रहँदा अकस्मात बिदा दिइएको उनको दाबी छ ।
समग्रमा जनकमान श्रेष्ठको हराएको इतिहास झन्डै एक शताब्दी लामो नेपाली समाजको शब्दचित्रको रुपमा पाठकसामु उपस्थित छ । निकै जानकारीमूलक यो पुस्तक बजारको होहल्लाकै बीच फेरि पनि ‘हराइरहेको’ छ । यो पुस्तक भैरव रिसालले भनेजस्तै हराएको होइन, फेला परेको इतिहासका रुपमा आएको छ । तर जनकमानको यो पुस्तक पनि बजारमा चलेका अनेक संस्मरणजस्तै आफूलाई मात्रै भव्य देखाउने र अरुलाई गिराउने आत्माश्लाघाको स्तरबाट माथि उठ्न सकेको छैन भन्ने केही विवरणले संकेत गर्छन् ।
नेपाली समाजको लघु स्मरणशक्तिको फाइदा उठाउन सम्भवत: उनले बीपीलाई दरबारबाट ज्यान सजायको दबाब दिए पनि आफूले नमानेको दाबी गरेका छन् । तर बिरामी बीपीलाई अदालतमा मुद्दा चल्दाचल्दै रोकेर उपचार गर्न अमेरिका पठाउनेदेखि, ‘बीपी तपाईं निको भएपछि मात्रै राजनीतिबारे कुरा गरौँला’ भन्ने राजा वीरेन्द्रको व्यवहारले दरबार बीपीलाई फाँसी दिन चाहन्थ्यो भन्ने जनकमानको दाबीमा बल पुग्दैन । खासमा जनकमानले बीपी, गणेशमानलाई ज्यान सजाय हुने फैसलाको अग्रिम प्रति दरबारमा पठाइसकेका थिए, जो उनले पुस्तकमा पनि उल्लेख गरेका छन् । त्यो अग्रिम फैसलाको नोट पढेपछि दरबारले सिलबन्दी फैसला लेखेर जनकमानलाई पठाएको, त्यही पढेर फैसला सुनाउन भनिएको र उनले अन्तिम फैसलामा त्यही पढेको त्यसबखत दरबारको उच्च ओहोदामा रहेर काम गरेका एक अधिकारीले पंक्तिकारलाई जानकारी दिएका थिए । यसले जनकमानले बित्थामा आफूलाई ठूलो देखाउन फुइँ लगाएको पुष्टि हुन्छ । क्षेत्रीय अदालत पोखरामा करसम्बन्धी फैसला भइसकेको मुद्दामा पछि प्रतिवादीसँगको मिलेमतोमा फैसला लेखिसकेपछि केरमेट गरेर कम जरिवाना गरेको उजुरी संयुक्त फैसला गर्ने अन्य दुई न्यायाधीशले दरबारमा पुर्याएपछि उनी कारबाहीमा परेको त्यसबखतका घटनाबारे जानकार वकिल, न्यायाधीशले अहिले पनि खुलेआम भनिरहेको पाइन्छ । यसले जनकमानले पुस्तकमा उल्लेख गरेको अन्य विवरणको सत्यमाथि पनि प्रश्न उठाउँछ र त्यसमा कति विश्वास गर्ने भन्ने संशय पैदा गराउँछ ।
पुस्तक : हराएको इतिहास
लेखक : जनकमान श्रेष्ठ
प्रकाशक : चेतना पब्लिसर्स
पृष्ठ : २५८
मूल्य : ४२५ रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...