बुढेसकाल : गाह्रो छ, तैपनि सन्तोकै छ

  • फलोअप  

- चेतन अधिकारी

नेपालमा सरकारी र गैरसरकारी निकायले ऐनमौकामा धेरै संख्यामा सर्वेक्षण गरेका छन् । सर्वेक्षण भएका कतिपय प्रतिवेदन सार्वजनिक हुँदैनन् । सार्वजनिक भए पनि तिनको उपयोगिता वा नीति निर्माणमा के–कति प्रयोग भयो, अलग्गै बहसको विषय हो ।

पाँच वर्षअघि (सन् २०१४ मा) देशका ७० जिल्ला समेटेर ज्येष्ठ नागरिकका विषयमा गरिएको नेपाल ज्येष्ठ नागरिक अध्ययन सर्वेक्षण (नेपाल एजिङ सर्भे) यस्तै एउटा नमुना हो, जसको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । 

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनसंख्या महाशाखाले समाज विज्ञान अध्ययन केन्द्र (सेन्टर फर सोसियल साइन्स स्टडिज (कोस) लाई सर्वेक्षणको जिम्मा  दिएको थियो । बीचमा स्वास्थ्य मन्त्रालयबाट जनसंख्या हटाएर जनसंख्या तथा वातावरण मन्त्रालय बनेपछि सो अध्ययनको स्वामित्व पनि उतै गयो । अध्ययन प्रतिवेदनको मस्यौदा सोही मन्त्रालयमा बुझाउने काम भयो । आएका सुझावलाई समावेश गरी अन्तिम प्रतिवेदन पनि उक्त मन्त्रालयमै बुझाइयो । तर मन्त्रालयले उक्त प्रतिवेदनमाथि स्वामित्व लिने र सार्वजनिक गर्ने काम बाँकी नै राख्यो । बीचमा फेरि जनसंख्यालाई स्वास्थ्यमै मिसाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरिएपछि सो अध्ययन केही अवधि बेवारिसेजस्तो भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वामित्वमा आयो । करिब सवा करोड रुपैयाँ लागतमा गरेको अध्ययन प्रतिवेदन केही महिनाअघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइयो । तर प्रतिवेदन अझै प्रकाशन र सार्वजनिक गरिएको छैन ।  

नेपालको १ भदौको अंकमा बूढो हुँदै छौँ हामी, बूढो हुने मन छैन शीर्षकमा विश्व पौडेलको आलेख छापिएको थियो । उक्त लेखले बुढेसकालको नियति, स्वास्थ्य अवस्था र हेरचाहबारे संयुक्त राष्ट्रसंघलगायत विभिन्न निकायका अध्ययन प्रतिवेदन र लेखकको आफ्नै अनुभवलाई समेत आधार बनाएर ज्‍येष्‍ठ नागरिकका समस्या र समाधानका लागि अपनाउनुपर्ने रणनीति बिस्तारमा चर्चा गरिएको थियो । यस आलेखले नेपालमै ज्येष्ठ नागरिकका विषयमा गरिएको अध्ययनले पत्ता लगाएका तथ्यका आधारमा नेपाली ज्येष्ठ नागरिकहरूले कसरी दिन काटिरहेका छन् भन्ने झलक दिनेछ । 

कुनै पनि देशमा जब बुढ्यौली (एजिङ) बारे बहस सुरु हुन्छ, तब सम्झिनुपर्छ कि त्यस देशको जन्मदर घट्यो । मृत्युदर घट्यो । साक्षरता दर बढ्यो । स्वास्थ्यमा धेरै नागरिकको पहुँच बढ्यो । मानिसको औसत आयु बढ्यो । समग्रमा देश जनसांख्यिक संक्रमणबाट अघि बढेर नागरिकको आर्थिक, सामाजिक स्थितिमा सुधार आउन थालेपछि ज्येष्ठ नागरिकका बारे बहस सुरु हुन्छ । नेपाल अहिले त्यही चरणमा छ । ०६८ सालको जनगणनाअनुसार कुल जनसंख्याको वार्षिक वृद्धिदर १.३५ प्रतिशत हुँदा ज्येष्ठ नागरिक (६० वर्षभन्दा माथिको जनसंख्या) को वृद्धिदर ३.७ प्रतिशत हुनु, कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात ८.३४ प्रतिशत हुनु, नेपालीको औसत आयु बढेर ७० वर्षभन्दा माथि हुनु, प्रतिमहिलाको कुल प्रजनन् दर घटेर २.३ बच्चामा झर्नु (सन् २०१६ को नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण) जस्ता सूचकले देशले अब ज्येष्ठ नागरिकबारे अध्ययन, नीति निर्माणजस्ता पक्षमा सोच्नुपर्ने बेला आएको हो भन्ने देखाउँछन् । 

राज्य पुनर्संरचनाअघि देशमा रहेका ७५ मध्ये ७० जिल्लाबाट ज्येष्ठ नागरिकको बसोबास भएका ७ हजार २ सय घरपरिवारलाई वैज्ञानिक विधिको आधारमा नमुना सर्वेक्षण लिई यो अध्ययन गरिएको थियो । प्राडा पुष्पकमल सुवेदी नेतृत्वको विज्ञ समूहले गरेको अध्ययनमा ६० वर्षभन्दा माथिका ८ हजार ६ सय २६ जना ज्येष्ठ नागरिकसँगको अन्तर्वार्ताका आधारमा आएका सूचनाको विश्लेषण गरी प्रतिवेदन तयार गरिएको थियो । अध्ययनले मुख्यत: ज्येष्ठ नागरिकका ६ वटा पक्षमा केन्द्रित भएर अध्ययन गरेको थियो, जसमा जनसांख्यिक अवस्था, आर्थिक अवस्था, स्वास्थ्य र हेरचाह, सामाजिक सुरक्षा, सामाजिक गतिविधिमा सहभागिता र मानसिक अवस्था थिए ।

अध्ययनमा सहभागी महिलामध्ये ५३ प्रतिशत एकल छन् भने श्रीमती गुमाएका पुरुष २२ प्रतिशत छन् । एकल महिला र पुरुषबीचको खाडल हेर्दा पुरुषले पुनर्विवाह गरेका कारण महिलाको तुलनामा थोरै मात्र पुरुष हाल एकल अवस्थामा भएको देखिन्छ । अध्ययनले बाबुआमालाई स्याहार गर्ने हाम्रो परम्परा भत्किँदै गरेको तथ्य देखाएको छ । २६ प्रतिशत ज्येष्ठ दम्पती सन्तानबाट एक्लिएर दु:ख साटासाट गरेर बसेको देखिन्छ । चार प्रतिशत त दम्पतीविहीन एक्लाएक्लै जीवन काट्दै छन् । पाँच प्रतिशत छोरीलगायतका आफन्तसँग बसेका छन् भने ६५ प्रतिशत मात्र छोरा–बुहारीसँग बसेको देखिन्छ । आधुनिकता, यातायात सुविधा र शैक्षिक योग्यता, एकल परिवारप्रतिको अभ्यासका कारण ज्येष्ठ नागरिक आफ्नै सन्तानबाट टाढिँदै गएको अध्ययनले देखाएको छ । अध्ययनअनुसार नेपालका ९१.२ प्रतिशत ज्येष्ठ नागरिकका छोराछोरी आफूसँग छैनन् । यीमध्ये ७२ प्रतिशतले मात्र बाबुआमालाई जीवन निर्वाहका लागि सहयोग गरेका छन् । 

छोराछोरी बराबरी ! : बाबुआमाको स्याहार र हेरचाह छोराले मात्र गर्नुपर्छ भन्ने आम धारणामा व्यापक परिवर्तन आएको अध्ययनले देखाएको छ । छोरीले पनि छोराकै हाराहारी बाबुआमालाई जीवन निर्वाहका लागि सहयोग गरेका छन् । अध्ययनअनुसार ४५ प्रतिशत छोराले ज्येष्ठ बाबुआमालाई सहयोग गर्ने गरेका छन् भने ४४ प्रतिशत छोरीले पनि बाबुआमाको जीवन निर्वाहमा सहयोग गरेका छन् । २३ प्रतिशत बाबुआमा छोराछोरी दुवैबाट लाभान्वित भएका छन् । तर दु:खको कुरा, ३.६ प्रतिशत बाबुआमाले छोरा–बुहारीसँगै बसे पनि कुनै प्रकारको सहयोग पाएका छैनन् । ८७ प्रतिशत ज्येष्ठ नागरिकले औषधोपचारको सहयोग अपेक्षा गरेका छन् । ८० प्रतिशतले सुरक्षित आवास र रुचिअनुसारको खाना खान पाए हुन्थ्यो भनेका छन् भने ६६.७ प्रतिशतले व्यक्तिगत हेरचाह भएको भए जीवन सुखमय हुने थियो भनेका छन् । अधिकांश ज्येष्ठ नागरिकले डिप्रेसन र हीनताबोधको सिकार भएको बताएका छन् । अध्ययनमा सहभागीमध्ये ८१.३ प्रतिशत पुरुष र ८२.२ प्रतिशत महिलाले आफूहरू डिप्रेसन र हीनताबोधको सिकार भएको उल्लेख गरेका छन् । 

आधालाई दम्पतीकै विश्वास छैन, दुई तिहाइलाई छोराको : जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकमा श्रीमान्–श्रीमतीप्रति विश्वासको खाडल गहिरिँदो अवस्थामा रहेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार ४९ प्रतिशत ज्येष्ठ नागरिकले आफ्ना श्रीमान् वा श्रीमतीप्रति विश्वास नरहेको बताएका छन् । ३६ प्रतिशत ज्येष्ठ पुरुषले श्रीमतीलाई विश्वास गर्दैनन् । यसैगरी ६३ प्रतिशत महिलाले बुढेसकालमा आफ्ना श्रीमान्लाई विश्वास गर्दा रहेनछन् । त्यस्तै, ६७ प्रतिशत ज्येष्ठ नागरिकले छोराप्रति विश्वास नरहेको उल्लेख गरेका छन् । पुरुषको तुलनामा महिलाले छोराको भर बढी गरेको पाइन्छ । किनकि २६ प्रतिशत मात्र पुरुषले बुढेसकालमा छोराले पालनपोषण गर्ला भन्ने विश्वास गरेका छन् भने ४१ प्रतिशत महिलाले बुढेसकालमा छोराले रेखदेख गर्छन् भन्ने विश्वास देखाएका छन् ।

बहुआयामिक द्वन्द्वको मारमा : अनुसन्धानले ज्येष्ठ नागरिक घरायसी द्वन्द्वमा फसेको देखिन्छ । उनीहरूमध्ये १८.९ प्रतिशतले घरमा द्वन्द्व भएको बताएका छन् । यो क्रम तराईमा अझ बढी देखिन्छ । तराईका २१.३ प्रतिशत ज्येष्ठ नागरिक द्वन्द्वमा फसेको देखिन्छ । यसरी हुने द्वन्द्वमध्ये ४१.८ प्रतिशत बुहारीका कारण भएको अनुसन्धानमा देखिएको छ । बुहारीसँग हुने द्वन्द्व तराईमा अझ बढी छ, जसमा ४७.५ प्रतिशत ज्येष्ठ नागरिकको बुहारीसँग द्वन्द्व परेको देखिन्छ । नेपाली समाजमा सासू–बुहारी द्वन्द्व पुरानो समस्या हो, जसलाई यो अनुसन्धानले पनि पुष्टि गरेको छ । बुहारीसँग मात्र होइन, ज्येष्ठ दम्पतीबीच पनि द्वन्द्व चलेका कारण उनीहरूको दैनिक जीवन सन्तोषजनक नभएको देख्न सकिन्छ । २६.४ प्रतिशत दम्पतीको आपसमा द्वन्द्व परेको देखिन्छ । अनुसन्धानमा कुनै मापदण्ड नराखी धनी र गरिब ज्येष्ठ नागरिक भनेर पनि किटान गरिएको छ । यी दुई वर्गका ज्येष्ठ नागरिकका दम्पतीमा हुने द्वन्द्वको प्रतिशत पनि फरक–फरक देखाइएको छ । अनुसन्धानमा भनिएको छ, ‘धनी दम्पतीमध्ये २४.९ प्रतिशत आपसमा बेमेल भएर बसेका छन् भने गरिब दम्पतीमा यो बेमेलको मात्रा ३५ प्रतिशत छ ।’ अनुसन्धानका आधारमा भन्न सकिन्छ कि अभावका कारण वृद्ध दम्पती आपसमा झगडा गरिरहेका छन् । तर के कारणले यस्तो द्वन्द्व भएको हो भन्ने अनुसन्धानमा खुलाइएको छैन । ज्येष्ठ नागरिकको तनाव यतिमा मात्र सकिँदैन । २४.७ प्रतिशत बाबुआमाको द्वन्द्व छोरासँग पनि देखिन्छ ।

याे पनि पढ्नुहाेस् : छोराछोरी विदेशमा, बूढा आमाबाबु एक्लिँदै घरमा

त्यति मात्र होइन, ज्येष्ठ नागरिक घरभित्रै १० प्रकारका द्वन्द्वमा रुमलिएका छन् । ३३ प्रतिशत ज्येष्ठ श्रीमानले श्रीमतीसँग घरझगडा हुने गरेको बताएका छन् । श्रीमानकाे तुलनामा ज्येष्ठ श्रीमतीहरू बढी समझदार देखिएका छन् । उनीहरूमध्ये २० प्रतिशतले मात्र श्रीमानसँग झगडा हुने गरेको बताएका छन् । ३१ प्रतिशत ज्येष्ठ बाबुहरूले छोरासँग झैझगडा हुने गरेको बताएका छन् भने १९ प्रतिशत आमाहरूले मात्र छोरासँग झगडा हुने गरेको बताएका छन् । ५२ प्रतिशत सासूहरूले बुहारीसँग झगडा हुने गरेको बताएका छन् भने ३० प्रतिशत ससुराहरूले बुहारीसँग झगडा हुने गरेको उल्लेख गरेका छन् । अनुसन्धानमा बाबुछोरीको सम्बन्ध निकै सुमधुर देखिन्छ । ०.५ प्रतिशत ज्येष्ठ बाबुहरूले मात्र छोरीसँग झैझगडा हुने गरेको बताएका छन् भने २.२ प्रतिशत आमाहरूले छोरीसँग झगडा हुने गरेको बताएका छन् । ज्वाइँ–ससुराको सम्बन्धमा पनि केही न केही दरार देखिन्छ । १ प्रतिशत ज्येष्ठ ससुराहरूले ज्वाइँसँग झगडा हुने गरेको बताएका छन् । तर सासू–ज्वाइँ सम्बन्धचाहिँ अत्यन्तै सुमधुर देखिन्छ । अनुसन्धानले ज्वाइँ–सासू सम्बन्धमा कुनै किसिमको दरार नभएको स्पष्ट पारेको छ ।

आफूले भोगेको घरायसी झगडा २० प्रतिशतले अरूलाई सुनाउने गरेका छन् । यो क्रममा पुरुषभन्दा महिलाले अरूलाई बढी सुनाउने गरेको देखिन्छ । महिला २०.१ प्रतिशत र पुरुषले १७.८ प्रतिशतले आफूले बेहोरेका द्वन्द्व नजिकका मान्छेलाई सुनाउने गरेका छन् । यस्ता ज्येष्ठ नागरिकमध्ये सम्बन्धविच्छेद भएकाहरूले सबभन्दा बढी अरूलाई यस्तो कुरा सुनाउने गरेका छन् । २३.२ प्रतिशतले आफूले बेहोरेका झगडा वा मानसिक तनाव आफ्ना नजिकका मान्छेलाई सुनाउने गरेका रहेछन् । 

अनुसन्धानका अनुसार आधाजसो ज्येष्ठ नागरिकले आफ्ना बुहारीसँग गुनासो गरेका छन् । तिनले आफूहरूलाई बुहारीले अपमान गर्ने गरेको बताएका छन् । ४९.३ प्रतिशत ज्येष्ठ सासू–ससुराहरूले बुहारीले आफूलाई अपमान गरेको बताएका छन् । बुहारीले मात्र हैन, ज्येष्ठ बाबुआमालाई छोराहरूले पनि अपमान गर्ने गरेका रहेछन् । यसरी बाबुआमालाई अपमान गर्ने छोराको संख्या २५.३ प्रतिशत छ । दम्पतीबीच पनि एकअर्कालाई सम्मान–आदर गर्नुपर्नेमा १५ प्रतिशत ज्येष्ठ श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानकाे अपमान गर्ने गरेको गुनासो गरेका छन् । 

सन्तोकै छ : जेजस्तो परिस्थिति बेहोरेर जिन्दगीको उतरार्द्धमा आइपुगे पनि धेरैजसो ज्येष्ठहरूले जिन्दगीप्रति खुसी नै व्यक्त गरेका छन् । यसरी जिन्दगीमा जति हन्डर–ठक्कर खाए पनि सन्तोकै छ भन्ने ज्येष्ठहरू ६६.७ प्रतिशत छन् । जिन्दगीबाट सन्तुष्टि लिनेहरूमा पुरुषको तुलनामा महिला अलि कम छन् । उनीहरूमध्ये ५१.१ प्रतिशतले मात्र हालसम्मका वसन्त सन्तोकले नै बितेको बताएका छन् । बिहे नगरी बुढेसकालमा प्रवेश गरेका अविवाहित ज्येष्ठहरूचाहिँ जिन्दगीबाट त्यति धेरै सन्तुष्ट रहेनछन् । उनीहरूको यो अनुभवले सबैलाई घरजम गरेर वैवाहिक जीवनमा प्रवेश गरेर मात्र बुढेसकाल अलि सहज हुने सन्देश दिएको छ । जिन्दगीसँग सन्तोक मान्नेहरू गाउँमा भन्दा सहरमा बढी रहेछन् । सहरका बाआमामध्ये ६९.४ प्रतिशतले जिन्दगीलाई हाँसी–खुसी बितेको बताउँदा गाउँका ६४.६ प्रतिशतले मात्र जिन्दगी खुसीले बितेको बताएका छन् । यसरी सन्तोकले जिन्दगी बिताउनेमा शिक्षित ज्येष्ठको संख्या बढी छ । 

जिन्दगी बेखुसी ढंगले बिताउनु परेका बाआमाका पीडा विभिन्न किसिमका छन् । उनीहरूमध्ये २९.९ प्रतिशतले आफूलाई निराशाले सताएको बताएका छन् भने २१.१ प्रतिशतले हरदम रिस उठ्ने गरेका बताएका छन् । यस्तै, १७.९ प्रतिशतले जिन्दगीमा आफूले तनाव भोगिरहेको बताएका छन् भने ६.८ प्रतिशतले पीडैपीडामा जिन्दगी बिताइरहेको बताएका छन् । यसमध्ये पनि सम्बन्धविच्छेद गरेका र दम्पती अलग्गिएर बसेकाहरूले आफूलाई बढी पीडा भएको बताएका छन् । 

राजनीतिमा रुचि छैन : नेपाली राजनीतिमा ज्येष्ठ नागरिकको हालीमुहाली भयो भनिरहेका बेला अनुसन्धान छनोटमा परेका ज्येष्ठहरूले आफूलाई राजनीतिमा रुचि नभएको बताएका छन् । यो संख्या पुरुषको तुलनामा महिलाको अधिक छ । ५८.७ प्रतिशत पुरुषले आफूलाई राजनीतिमा कुनै रुचि नभएको बताउँदा ८६.७ प्रतिशत महिलाले आफूलाई राजनीतिमा रुचि नभएको उल्लेख गरेका छन् । अनुसन्धान हुनु केही अघि भएको निर्वाचनमा ७.६ प्रतिशत पुरुषले मतदानमा सहभागी नभएको बताए भने १४.१ प्रतिशत महिलाले मतदानमा सहभागी नभएको बताएका छन् । कतिपय ज्येष्ठ नागरिकले परिवारको दबाबमा राजनीतिक रूपमा आफ्नो धारणा राख्न स्वतन्त्र नभएको बताएका छन् । यस्ता ज्येष्ठको संख्या ७ प्रतिशत छ । 

प्रकाशित: पुस २२, २०७६

×