बिचरा वैद्य
हरेक वर्ष १० करोडभन्दा बढी रकमको व्यवस्था गरिन्छ, ती सञ्चार माध्यममा नेपालको विज्ञापन प्रसारण गर्ने भनेर । तर बोर्डले कहिल्यै काम गरेन र बजेट छुट्याउन पनि छाडेन ।
१ जनवरीको त्यो साँझ । दशरथ रंगशालाबाट संसारलाई आमन्त्रित गर्दै थियो, ‘सांग्रिला नेपाल’ । रंगशालाको प्याराफिटको उपस्थितिले नै भ्रमण वर्षको भद्रगोल चेहरा उदांगिइसकेको थियो । अन्तरकुन्तरका कुराले त झनै जिब्रो टोक्ने बनाइदियो । आमन्त्रित विदेशी राजदूतहरुको बस्ने मेसो पत्तै थिएन । बेलायती राजदूत सिट खोज्दै हैरान थिइन् । कतिपय संवैधानिक निकायका पदाधिकारीलाई निम्तै पुगेन । २१ हजारभन्दा बढ्तालाई निम्तो गर्ने कुरा भए पनि कार्ड नै ४ दिनअघि तयार भए । यतिले भ्रमण वर्षको भद्रगोल देखाउन काफी थियो ।
जसै औपचारिक कार्यक्रम सुरु भयो, अर्को भद्रगोल देखियो । अघिल्लो साँझसम्म तयार कार्यतालिका नै गायब भइदियो । अघिल्लो साँझ भ्रमण वर्ष संयोजक सुरज वैद्यले सचिवालयका सदस्यलाई कार्यतालिकाबारे सामान्य ब्रिफिङ गरेका थिए । ब्रिफिङमा प्रधानमन्त्रीको सन्देश प्रसारण गर्ने, संयोजक वैद्यले सम्बोधन गर्ने । अनि, अघिल्ला भ्रमण वर्षका संयोजक कर्ण शाक्य र योगेन्द्र शाक्यको भूमिका पनि थियो । राजेश हमालको सम्बोधनको कार्यतालिकै थिएन । तर भोलिपल्ट ती सबै एकाएक गायब बनाइयो ।
यी सबै घटना पर्यटन सचिवको एक एसएमएसको कमाल हो भन्ने चर्चा छ । त्यो सब हेर्दा वैद्य निरीहझैँ लाग्थे । अनि, मन्त्रालय र भ्रमण वर्षको रिसराग पनि देखिन्थ्यो । त्यसैले पनि हुनुपर्छ, कार्यक्रम सुरु भइसक्दा पनि मञ्चमा थिएनन्, वैद्य । तल र्यालीमा झुलिरहेका थिए । भ्रमण वर्षका निम्तालुको स्वागतमा पनि वैद्य देखिएनन् । औपचारिक पोसाकमा समेत नआएका वैद्यको भूमिका र शैली हेर्दा लाग्थ्यो, बिचरा संयोजक !
हराए हिरो
प्रसंग भमण वर्षकै । उद्घाटनभन्दा अघिल्लो एक बैठकमा संयोजक सुरज वैद्यले पर्यटन हिरो घोषणा गर्ने योजना मात्र सुनाएनन्, नाम नै प्रस्ताव गरे । संयोजक वैद्यको प्रस्ताव १ जनवरीको उद्घाटनमा पर्यटन हिरो घोषणा गर्ने थियो । धेरै नाममध्ये एउटा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि थिए । त्यही बैठकमा पर्यटन सचिव केदारबहादुर अधिकारीले कुन कार्यविधिका आधारमा पर्यटन हिरो घोषणा गर्ने भनेर वैद्यलाई सोधे । वैद्यको जवाफ थियो– सचिवज्यू, तपाईं–हामीलाई थाहा छँदै छ नि ।
हावादारी शैलीमा पर्यटन हिरो घोषणा गर्ने प्रस्ताव फेल भयो । त्यसले पनि मन्त्रालय र भ्रमण वर्ष सचिवालयबीच दूरी बढायो । त्यसमा अर्काे काण्ड थपियो । मन्त्रीले पटक–पटक निम्तो कार्ड छिटो चाहियो भनिरहेका थिए । हुन्छ–हुन्छ भन्दै वैद्यले टारिरहेका थिए । सचिवालय पनि उद्घाटन कार्यक्रमबारे कसलाई के जिम्मा दिइएको छ भन्नेमा प्रस्ट थिएन । एक्लै डिल गरिरहेका थिए, वैद्य ।
त्यही मेसोमा अन्तिम साता आएर वैद्यले मन्त्रालयसँग ४ करोड मागे । १ करोडमा उद्घाटन कार्यक्रम सक्ने तयारी थियो । त्यसैअनुसार मन्त्रालयले वैद्यलाई खर्च अनुमति दिएको थियो । तर कार्यक्रम सुरु गर्ने दुई–तीन दिनअघि मात्रै वैद्य एकाएक ४ करोड नभई कार्यक्रम गर्न नसक्ने भन्न थाले । जबकि त्यसको हिसाबकिताब पनि प्रस्ट पारेका थिएनन् । त्यसले पनि वैद्यसँग वैमनस्य थपेको थियो– मन्त्रालयमा ।
त्यतिबेला चर्चा पनि भइरहेको थियो, १ जनवरीपछि पर्यटनमन्त्री योगेश भट्टराई वैद्यलाई हटाउँदै छन् । त्यही हल्लाको बीचमा १ करोडको कार्यक्रम ४ करोडमा पुग्यो । प्रधानमन्त्रीको हटलाइनमा भएका वैद्यलाई हटाउन भट्टराईलाई गाह्रै थियो । अहिले मन्त्री भट्टराई र वैद्यको बोलचाल पनि राम्रो छैन । वैद्यलाई निरीह बनाएर हटाउने योजनामै उद्घाटनमा उनको कार्यतालिका एकाएक गायब पारिएको पो हो कि ?
दशकमा नबनेको विज्ञापन
एक दशकसम्म नेपाल प्रवर्द्धन गर्ने एउटा विज्ञापन तयार हुँदैन भन्दा नेपाल पर्यटन बोर्डलाई लाज लाग्नुपर्ने हो । तर लाज पचाएपछि कसको के लाग्छ ? बोर्डले विदेशी सञ्चार माध्यममार्फत नेपालको प्रवर्द्धन गर्ने योजना बनाएको एक दशकमा दुइटा भ्रमण वर्ष भइसके । सन् २०२१ को पर्यटन वर्षको बीबीसी, सीएनएन, रोयटर्स, सीजीटीएनमा सांग्रिला नेपालको प्रवर्द्धन गर्ने योजना बनेको थियो । त्यतिबेला निमित्त सीईओ सुवास निरौला त्यही रकमका कारण पनि विवादित बने । हरेक वर्ष १० करोडभन्दा बढी रकमको व्यवस्था गरिन्छ, ती सञ्चार माध्यममा नेपालको विज्ञापन प्रसारण गर्ने भनेर । तर बोर्डले कहिल्यै काम गरेन र बजेट छुट्याउन पनि छाडेन । एउटा विज्ञापनमार्फत नेपालको प्रवर्द्धन गर्न दशकसम्म नसक्नेले नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन कसरी गर्लान् र खै ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...