बरिस्ता–गर्ल
मिस्टर लार्सलाई म सिने पिशाच भन्न मन पराउँछु ।
बरिस्ता–गर्लले भनी, “म तपाईंसित एक रात घाटमा बिताउन चाहन्छु ।”
एउटी आकर्षक युवतीको कुराले म पुलकित भएँ । मुस्कुराएँ । घाटमा भेटघाट गर्न चाहने मनुष्य एवं मानुषीहरु देख्दा म खुसी नै हुन्छु । तिनीहरुलाई प्रेमपूर्वक ‘नगरकोटीका मलामी’ भन्ने गर्छु ।
बरिस्ता–गर्ललाई मैले अनायासै सोधेँ, “फिल्महरु कत्तिको हेर्नुहुन्छ ?” उसले आफू फिल्मको त कीरो नै भएको जिकिर गरी । ऊ कीरो, म हिरो । कस्तो गज्जब ! यहाँसम्म त कुरो जायज नै थियो । किन्तु नाजायज कुरो तब उत्पन्न भयो, जब मैले उसलाई सोधेँ, “लार्स भोन ट्रयायरका फिल्महरु कत्तिको हेर्नुभा’छ ?” उसले त प्रतिप्रश्न पो गरी :
– को लार्स भोन समथिङ ?
– डेनमार्कका फिल्म मेकर । चिन्नुहुन्न ?
– यो नाम म पहिलोपल्ट सुन्दै छु ।
तौबा, तौबा ! हे परम दिगार, कस्तो दिग्दार ! लार्स भोन ट्रयायरको नामै नसुन्ने युवतीसित कसरी घाटमा सिंगो रात बिताउन सकिन्छ ? क्रिमिनल्ली कन्ट्रोभर्सियल निर्देशक मिस्टर लार्सबारे संक्षिप्त जानकारी दान गर्दै मैले युवतीसमक्ष भनेँ, “लार्सका सबै फिल्म हेर्नुस् । त्यसपछि मलाई घाटमा भेट्न आउनुस् ।” उसले उत्सुकतापूर्वक सोधी, “कुन फिल्मबाट सुरु गरुँ ?” मैले भनेँ :
– डिप्रेसन ट्रिलोजी ।
– ट्रिलोजी ? फिल्मका नाम भन्नुस् न ।
– एन्टी क्राइस्ट, मेलाङकोलिया र निम्फोमेनियाक ।
– तपाईंको फेभरेट कुन हो ? पहिला त्यही हेर्छु ।
– मेलाङकोलिया ।
यी पंक्ति पढिरहेको कुनै सिने पारखीलाई लाग्न सक्छ : मिस्टर नगरकोटी, यु आर अलमोस्ट अ क्रिमिनल । एउटी नवयुवतीलाई लार्स भोन ट्रयायरजस्तो सिने पिशाचको फिल्म सिफारिस गर्ने ? त्यो पनि डिप्रेसन ट्रिलोजी ? शैतानले तेरो दिमाग कब्जा गरेको छ । तँलाई बरिस्ता गर्लको पाप लाग्नेछ ।
♦♦
मिस्टर लार्सलाई म सिने पिशाच भन्न मन पराउँछु ।
यो सिने पिशाचलाई हाइपर–सर्रियलिजमप्रति अगाध विश्वास छ, जसका सिने सिर्जनाहरुलाई तपाईं अश्लील, अराजक एवं अमानवीय भन्न सक्नुहुन्छ । ‘डिप्रेसन ट्रिलोजी’ यिनले गहिरो मानसिक विषादमा बनाएका फिल्महरु हुन्, जो सामान्य दर्शकका निम्ति वस्तुत: अन वाचेबल, अन विचारेबल एवं अन कम्फर्टेबल छन् । यी फिल्म हेरेपछि तपाईंलाई आफ्नो मगज सद्दे–सन्तुलित छ कि छैन भनी चेकजाँच गर्न साइको थेरापिस्टकहाँ जान मन लाग्छ ।
तीन फिल्ममध्ये मलाई निकै मन परेको मेलाङकोलिया हो । फिल्मको अद्भुत ओपनिङ सिक्वेन्समा देखाइने सर्रियल स्लो मोसन सट्लाई मैले आँखा नझिम्क्याई हेरेको छु, जसलाई रिचार्ड वाग्नरको पाश्र्व संगीतले अलौकिक बनाइदिएको छ । ती दृश्यहरुको कम्पोजिसन यति भव्य एवं मायावी छन् कि तिनलाई फ्रेमिङ गरेर तपाईं कुनै आर्ट ग्यालरीको भित्तामा झुन्ड्याउन सक्नुहुन्छ ।
स्पोइलर्स अलर्ट : मेलाङकोलिया एउटा ग्रहको नाम हो, जो पृथ्वीतिर शनै: शनै झर्दै छ । फिल्मले दुई दिदीबहिनीको जीवनजगत्बारे सूक्ष्म अवलोकन गर्छ, चाँडै नै पृथ्वी विस्फोटमा परी तहसनहस हुँदै छ । मृत्युको खग्रास ग्रहण उनीहरुको अस्तित्वमा छाएको छ, जसबाट मुक्तिको सम्भावना कल्पनातीत छ ।
सिने पिशाचले फिल्मलाई कति विश्वसनीय ढंगले बुनेको छ भने मेलाङकोलिया हेरुन्जेल तपाईंलाई लाग्न सक्छ, फिल्मको अन्त्यमा तपाईंको अन्त्य पनि सुनिश्चित छ । तसर्थ अन्तिम दृश्य स्क्रिनमा आउनुछाउनुअघि नै तपाईंले ल्यापटप बन्द गर्ने प्रबल सम्भावना छ ।
♦♦
शिल्पी थिएटरको कोर्टयार्डमा छुटेकी बरिस्ता गर्ललाई मैले त्यसपछि कहिल्यै भेटिनँ । बरिस्ताको ट्रेनिङ लिइरहेकी ऊ सहरका कफी अनुरागीहरुलाई कफिलो स्वादिलो अमेरिकानो, क्यापुचिनो एवं एस्प्रेसो सर्भ गर्न चाहन्थी । जो मेरा किताबहरुलाई माया गर्थी । जो मसित कुनै रात घाटमा बिताउन चाहन्थी ।
गत शरद यामको एक साँझ घिमिरे युवराजले मलाई एउटा दु:खद खबर सुनाए, “सरजी, बरिस्ता गर्लले सुसाइड गरिछे । सुसाइडअघि ऊ डिप्रेसनको रोगी थिई रे ।” खबरले म स्तब्ध भएँ ।
आत्मग्लानिका अभिशप्त अनुभूतिमाझ म कहिलेकाहीँ सोच्ने गर्छु, उसको आत्महत्याको दोषी म नै हुँ । बरिस्ता गर्ललाई सिने पिशाचका डिप्रेसन ट्रिलोजीलगायत सम्पूर्ण फिल्म हेर्न प्रेरित गरेर मैले ठूलो अपराध गरेछु । म अपराधी हुँ । मेलाङकोलिया हेर्न सिफारिस गरेर ठूलो पाप गरेछु । म पापी हुँ ।
पापको भारीले म पिल्सिएको छु । पापमोचनकै निम्ति यो लेख लेखिरहेको छु । अस्तु !
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...