कोरोना, हाम्रो सालक र कुइनेन
दार्जिलिङबासीका लागि कोरोनाको लकडाउन त टिस्टाको पुलमाथि फूलपातीको झाँकी हिँडाएजस्तो हुनुपर्ने हो । तर कोरोनालाई पनि राजनीतिको नाङ्लोमा केलाउने प्रवृत्ति र यसले विक्षिप्त पारेका व्यक्ति, परिवारको भ्याकुरा खेदाइ देख्दा दु:ख लाग्दो रहेछ ।
कोरोनाको संक्रमणले विश्वलाई पिट्यो । सबै भय र आशंकापूर्ण स्थितिमा रुमल्लिएका छन् । कोरोनाले घरपरिवार, जातजाति, भाषा, धर्म, धनी, गरिब, महाशक्ति राष्ट्र र बलियो–कमजोरलाई एउटै डोकोभित्र हालिदियो ।
चारैतिर आपतकालीन स्थिति छ । भोलि के हुन्छ, कसैले अड्कल गर्न नसक्ने भए । आर्थिक व्यवस्थाको सोचनीय स्थिति, एकअर्कामा लुछाचुँडी, बन्दै बन्दको परिधिभित्र कोरोनाले सबै अन्तर्राष्ट्रिय सिमाना तोडिदियो । नयाँ–नयाँ सिमानाहरू अघि ल्याए । परिवारभित्रै, गाउँभित्रै, राज्यभित्रै, राज्य–राज्यमा सबैले आफूलाई बचाउनतिर लागे । लटरम्मै फलेका–फुलेका विश्व मानव समुदायलाई सोत्तरै पारेर निमोठ्यान्नै बनाउने असाधारण क्षमता बोकेको कोरोनाले विश्व त के, राष्ट्र त के, गाउँघर, झुपडीसमेतको रूपरंग नै बदलिदिन सक्ला ।
कोरोना भन्नासाथ फेरि हाम्रो हिमालय क्षेत्र र दार्जिलिङ नै अघि आयो । चीनको वुहान सहरमा कोरोनाको बिमारी प्रथम पटक त्यहाँको जंगली जन्तु बेच्ने बजारबाट सुरु भएको थियो । चीनमा वन्य–प्राणीहरूलाई खानपिना, ओखतीमूलो, फेसन र पहिरन सबैका लागि व्यापक रूपमा चलाइन्छ ।
विश्वमा नै निषेध गरिएका वन्य–प्राणीहरू भालु, बाघ, चितुवा, सर्प आदिलाई मान्छेको चाहना पूरा गर्न कि त ठूलाठूला ठाउँमा खेती नै गर्छन् वा विश्वबाटै गैरकानुनी ढंगमा तस्करी (स्मगल) गर्छन् । भालुको पित्त, सालकको सिरुवा, पाहा–भ्यागुताको तरकारी, बिच्छी–सर्पको हटपट, बाघको हड्डीको औषधी आदि केचाहिँ पाइँदैन त्यहाँ ! यी सब जन्तु–किरा आदिलाई कहीँ–कहीँ त अति नै दर्दनाक र फोहोर ढंगमा राखेका हुन्छन् । हेर्दा नै झोक्रिएका यी पशु–प्राणीहरू बिमारीग्रस्त देखिन्छन् ।
पशु–प्राणीहरू बिमारी भएपछि आफ्नो शरीरभित्र रहेका किटाणुहरू बाहिर निकाल्छन् । केही अघिसम्म यी किटाणुहरू शरीरभित्रै बसी शरीरसँगै जुझेर, खाएर बस्थे । पशु–प्राणीहरूलाई केही हुँदैन थियो । हामी मनुष्यका शरीरभित्र पनि यस्ता अनेकौँ भाइरस र ब्याक्टेरियाहरू रहँदै आएका छन् । बिमारी शरीरबाट निस्केको भाइरसलाई बाँच्न अर्को जीवित शरीरमा पस्नैपर्छ । यस्तो प्रक्रियालाई संक्रमण भनिन्छ । कहिले सुँगुर, कहिले चमेरा र बाँदर, कहिले कुखुराबाट यस्ता भाइरस निस्केपछि पनि एड्स, सार्स, इबोला र बर्डफ्लु नामक भयानक संक्रमणले विश्वलाई नै सताए । सय वर्षअघि १९१८–२० अवधिमा स्पेनिस फ्लु संक्रमणले ५ करोड मानिस मरेका थिए ।
चीनको वुहानमा कोरोना फैलिएपछि, वैज्ञानिकहरूले कहाँबाट यो भाइरस मान्छेमा सर्यो भन्ने वैज्ञानिक खोजी सुरु गरे । धेरै वटाको जाँच रिपोर्टमा यो भाइरस सालक (पांगोलिन) प्राणीभित्र रहेको ९९ प्रतिशत मिलेजुलेको पाइयो । वुहानको जंगली जनावरको बजारमा सालकको व्यापक व्यापार हुने गर्थ्यो । खपटैखपटा भएको कमिला खाने सालकलाई चिनियाँ व्यापारीहरूले कि त हिमालय क्षेत्रबाट वा दक्षिण अमेरिकाबाट तस्करी गरी चीन पुर्याउने गर्छन् । कसैले खपेटाको जुत्ता, पेटी, ब्याग बनाएर बेच्छन् त कसैले सालक मासुको सिरुवा पिउँछन् र अरूले पारम्परिक औषधोमूलोमा हालेर खान्छन् ।
हामी पहाड–पर्वतबासीहरूका निम्ति सालक एउटा सुन्दर, क्षति नपुर्याउने र सोझो प्राणी भएर साथीजस्तै रहँदै आएको जन्तु हो । दार्जिलिङको सुकेपोखरीमुनि त यो लुप्त नहोस् भनेर सरकारले सानो फार्म नै खोलिदिएको छ । दुर्भाग्यवश, हाम्रैहरूले अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर सालक, सालामान्दर, राजपंखी, पाहा, गुर्बे सर्प, छेपारा, दुम्सी, काला, मलसाप्रा, भालु, पान्डाजस्ता अनेकौँ र अति नै लुप्त भइसकेका जन्तु–प्राणीहरू विश्व बजारमा तस्करी गरी पुर्याउँछन् । चीन र भियतनामले यी बजारहरूमाथि प्रतिबन्ध लगाए । केही संख्यामा भए पनि हाम्रा यी प्राकृतिक सम्पदाहरू बाँच्ने भए । हामी सब सतर्क हुनैपर्छ । घर, गाडी, बाटो र झोडाभन्दा पनि बहुमूल्य यी पशु–प्राणीहरूका हरेकले स्मरण गर्नुपर्छ । भनिन्छ, यी पशु–प्राणी नै दुरुपयोगको फल हो, कोरोनाजस्तै भाइरसको ताण्डव । घर, गाडी, बाटो, झोडा सबै एकाएक बन्द भए ।
कोरोनाले भेटाएपछि कि त वार कि त पार भन्ने स्थिति उत्पन्न भयो । किनकि नयाँ भाइरस भएको हुनाले यसलाई ठीक पार्ने ओखतीमूलो नै छैन । सबैले अन्दाजमै काम गरिरहेका छन् । क्षयरोग र दादुराका भाइरसलाई ठीक पार्ने खोपाइ औषधी (भ्याक्सिनेसन) निकाल्नमा लामो समय लागेझैँ कोरोनाको पनि युद्धस्तरमा औषधी खोजिँदै छ । र, पनि ६ महिनादेखि २ वर्ष लाग्न सक्छ भन्दै छन् । कोरोनाका भाइरस यति मसिना हुन्छन् रे कि लगभग १० करोड किटाणुहरू काँटीपिनको टाउको (पिनहेड) मा अटाउन सक्छन् । लन्डनस्थित स्कुल अफ हाइजिन र ट्रपिकल मेडिसिनका निर्देशक पिटर पिओटले यसबारे विस्तृत जानकारी दिएका हुन् ।
ठीक औषधी के हो भन्ने कुरोमा विश्वव्यापी बहस चल्दै छन् । विश्व प्रसिद्ध औषधी कम्पनी सिप्लाका अध्यक्ष वाई के हमिद र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाको औषधी हाइड्रक्सी क्लोरोकुइनले रोकथाम गर्न सक्छन् कि भन्ने बताएपछि केही आशा जागेको छ । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो औषधी जतिसक्दो अमेरिका पठाइदिनू भन्ने आग्रहसम्म पनि गरेका छन् । यस औषधीको अन्ततिर रहेको कुइन शब्द सिन्कोनाको बोक्राबाट निस्केको हो ।
उन्नाइसौं र बीसौँ शताब्दीमा विश्वलाई कामज्वरो मलेरियाबाट मुक्ति दिने औषधी कुइनेन थियो । विश्व बजारमा कुइनेन सप्लाइ गर्ने ठूलो स्रोत नै दार्जिलिङको कुलैनबारी (सिन्कोना प्लानटेसन) थियो । मनसोंग, रोंगो, मंग्पु, लाठपचर, सिटोंग आदि इलाकामा व्यापक रूपमा कुइनेनको खेती गरिन्थ्यो । सन् १९६६–६७ मा लगभग १ करोड रुपैयाँ (आजको ५४ करोड) को कुइनेन दार्जिलिङले बेच्थ्यो । पछि गएर प्राकृतिक कुइनेनलाई परित्याग गरी रासायनिक कुइनेन बनाइन थालेपछि दार्जिलिङको कुलैनबारीलाई धेरै आघात पुग्यो । अब फेरि प्राकृतिकतिर नै जानुपर्छ भनेर र दार्जिलिङको डेढ सय वर्ष पुगेको कुलैनबारी बचाउनुपर्छ भनी हामीले प्रधानमन्त्री मोदी र तत्कालीन वित्तमन्त्री अरुण जेटलीलाई २०१४ मै पत्राचार गरेका थियौँ ।
दार्जिलिङमा २०१७ मा भएको १ सय ४ दिनको लगातार बन्दलाई कसैले ध्यान दिएन । छुट्टै राज्यको यो बन्द जनताले गरेको लकडाउन थियो । सरकारले इन्टरनेट काटिदिएर बन्दलाई उल्टो बोनस पनि दियो । यस्तो लकडाउन झेल्ने दार्जिलिङबासीले कोरोनाको लकडाउन त टिस्टाको पुलमाथि फूलपातीको झाँकी हिँडाएजस्तो हुनुपर्ने हो । तर गोसखानामा मान्छेको भीड, खाद्यान्न पसलमा शारीरिक दूरी नराखी उभिनेको जमात, कोरोनालाई पनि राजनीतिको नाङ्लोमा केलाउने प्रवृत्ति र यसले अभाग्यवश विक्षिप्त पारेका व्यक्ति, परिवारको भ्याकुरा खेदाइ देख्दा दु:ख लाग्दो रहेछ । दार्जिलिङ त भारतको नमुना हुने गर्थ्यो ।
कोरोनाको लकडाउन र छुट्टै राज्यका निम्ति बन्दमा धेरै भिन्नता छ । कोरोनामा सरकारबिना केही गर्न सकिँदैन । सरकार सँगसँगै मिलेर काम गर्नुपर्छ । मन नपर्ला, तर उसले भनेको कुरा सुन्नैपर्छ । किनभने कोरोनाले आज मन पर्ने/नपर्ने सबैलाई एउटै मञ्चमा नचाउँदै छ, चारैतिर । हरेक गाउँमा सरकारलाई भनेर क्वारेनटाइन–केन्द्र बनाउनुमा फाइदा छ । रुघाखोकी, ज्वरो आउनु स्वाभाविकै हो । तर त्यसो हुँदा पनि घरभित्रै, परिवारमाझमा भय, त्रास, आशंका फैलिन्छ, अहिलेको स्थितिमा । तसर्थ, क्वारेनटाइन गाउँमा नै छ भने कसैलाई पनि रुघाखोकी ठीक नहुन्जेल र अरूलाई नसरोस् भनेर राख्न सकिन्छ । क्वारेनटाइन–केन्द्र खोल्न नदिनु भनेको घरभित्रै पनि आशंका ग्रसित हुनु हो । सरकारले हरेक क्वारेनटाइन–केन्द्रमा पूर्ण सुविधा दिनुपर्यो ।
मान्छे जम्मा हुने स्थिति सरकारले पैदा गर्नु हुँदैन । जतिसक्दो रासनपानी घरघरमै पुर्याइदिनुपर्यो । कोरियामा झैँ गल्लीगल्लीमा भाइरस जाँच सुविधा राखिदिनुपर्यो । राजनीतिदेखि माथि चढ्नु नै पर्यो, नेतागण । चियाबगान, बस्ती, दुर्गम क्षेत्रमा एउटै व्यक्ति र नानी पनि भोकै बस्ने स्थितिमा नपुगून् । राज्य र केन्द्र सरकारले खाद्यान्न वितरणको व्यापक प्रबन्ध मिलाएका छन् । सरकारी तन्त्र–यन्त्रहरू एकपल्ट अघि आउनैपर्यो । कोरोनाविरुद्ध डाक्टर, नर्स, सरकारी कर्मचारी, एनजिओ सबैको हौसलालाई उच्च स्तरमा राख्नैपर्यो । यस्तो दर्दनाक स्थितिमा पनि सोसल मिडियाको अफवाहमा उफ्री–उफ्री नाच्नेहरूलाई नियम–कानुनको संगीत बजाइदिनै पर्यो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...