वारि जङ्गबहादुर, पारि जङ्गबहादुर : मान्ठ डराएको जुगदेखि मान्ठ डराएको जुगसम्म
मानवले मानवबीचको दूरी घटाएर घरभित्रबाटै संघर्ष गरिरहेको यो बेलामा पनि देश फर्कन नपाइरहेकाहरूलाई कोरोना जङ्गबहादुरभन्दा झन् खतरनाक लागेको छ ।
हुन त जे नहुनु पर्ने हो, त्यही चाँडो हुन्छ । जे नघट्नु पर्ने हो, त्यही पहिले घट्छ । आज त पानी परोस् भनेको दिन चर्को घाम लाग्छ । तर, पानी परे नि हुन्थ्यो भनेको दिन भेलबाढी नै आयो भने त्यो खतरनाक हुन्छ । त्यसले बगाउन बाहेक केही जानेको हुँदैन । मात्र बगाउँछ ।
करिब-करिब यो दुई बीसा जुनीमा मैले धेरै भेलबाढीहरू देखें, भोगेँ, तरें, कतिपटक बगें पनि ।
"लौ, फेरि प्रजातन्त्र आयो । राजाले जनताको अधिकार जनतामै सुम्पे" भनेर रेडियोले भनेको सुनेको र "सञ्चारमाध्यमले सरकारलाई कमजोर साबित गर्न भूमिका खेले" भनी हिजो सुनेको समयको अवधि ठ्याक्कै ३० वर्ष भएछ । २०४७ पछिका परिवर्तनका भोग्या त तपाईं-हामी सबै हौँ । तर, हाम्रा भोगाइ भने कतै-कतै उस्तै भए पनि फरक छन्, धेरै हदसम्म ! यो अवधिमा कति हामी गुम्यौं, कति हामीले आफ्ना बा-आमा गुमायौं, कतिले दाजु-भाइ, दिदी-बहिनी । कतिका घरबास उठे, कति परदेशका नागरिक भयौं । कति सत्ताको कुर्सीमा पुगे, कति तिनै शासकबाट शोषित हुनुपर्यो । लेखिनुपर्ने इतिहास लेखिएन । शासकको बलजफ्ती प्रवृत्ति इतिहास बन्यो ।
मैले यति धेरै कुरा भन्न मन लागेर भनेको होइन, कतिपय कुराहरू भन्न मन नलागेर भनिँदा रहेछन् । तर, कतिपय अवस्था यस्ता आउँछन्, आफूलाई बोल्न, लेख्न, पढ्न, प्रतिकार गर्न मन लाग्दो रहेछ । हुन त सत्ताले पनि नजानिँदो तरिकाले सिकाइरहेको हुने रहेछ ।
सबैले कोरोनाको बर्खी बारिरहेका छन्, मरेकोमा होइन- मार्नलाई । म पनि आज १३ औं दिनको स्व-घरवासमा छु । स्वतन्त्रता जस्तो जेल र धेरै समयजस्तो नेल सबैभन्दा ठूलो सजाय रहेछ । हिजो परिवार र आफ्ना लागि समय नै छैन भन्दै फुइँ लाउँदै हिँडेको कुराको श्राप हो जस्तो लागेको छ आजको घरवास ।
सुत्ने, कति सुत्ने ? पढ्ने, कति र केके पढ्ने ? सिनेमा हेर्ने, कति र कुन-कुन हेर्ने ? खाने, कति र केके खाने ? यी सबैका आम दिनचर्या र प्रश्न हुन् । यही मेलोमा म मेरो पढाइमध्यको एउटा सानो कुरा गर्छु ।
हुन त मलाई किताब प्रकाशक भन्छन् । किताब प्रकाशक भनेका लेखकका किताब निकालेर, किताबको चर्को मूल्य राखेर, पाठकलाई ठगेर बेला नपुग्दै अकुत कमाउने कमाउनिस्ट हुन् भन्छन् बजारमा । तर, बजारको कुरा सधैं अर्ध-सत्य हुन्छ । बजारले सधैं साँचो बोल्दैन र बजारले सही बेच्दैन पनि । त्यसैले बजारका कुरालाई पर्गेल्न विद्वानहरू जन्मिने गर्छन् । मैले आम-मान्छेलाई सम्बोधन गर्न सकिनँ ।
नरिसाउनुहोला । अझै बजारमा अर्को कुरा के पनि सत्य साबित गर्न खोजिएको छ भने, आफ्ना किताबका बारेमा प्रकाशक बोल्यो भने आफ्नै बाजा बजायो र यसैको धुन राम्रो छ भनेर जिद्दी गर्यो । कतिपय अवस्थामा यो कुरा सत्य पनि होला तर अघि मैले भनेको नबिर्सनुस्: बजारले सधैं अर्ध-सत्य बोल्छ । ल, ठीक छ, बजारको कुरा सय प्रतिशत नै सत्य भयो, मैले स्वीकारें । अब म एक आम पाठकमा आउँछु । पाठकीय अधिकारको कुरा गर्छु । पाठकीय अधिकारभित्र एउटा अकाट्य कुरा के पर्छ भने आफूले पैसा तिरेको किताब राम्रै हुनुपर्छ । जस्तो किताब पढ्न खोजिएको हो, त्यस्तै नभए पनि त्यस्तै-त्यस्तै हुनुपर्छ । यति भयो भने म पनि खुशी हुन्छु ।
मैले पढेका नेपाली, विदेशी र अनुदित किताबहरूको चाङ्गमा मन परेको एउटा किताब हो, 'मान्ठा डराएको जुग ।'
मोहन मैनाली पूर्वका हुन् । तर पूर्वका जस्ता छैनन् । भन्नुको अर्थ हाम्रा प्रधामन्त्रीजस्तो झुटो र छुचो बोल्दैनन् । पश्चिम र हिमाली भेग डुलेर सकेका छन् । पत्रकार हुन् तर 'हेडलाइन एउटा' र 'समाचार अर्कै' लेखेको आजसम्म मलाई थाहा छैन । यिनले 'उपल्लो थलो' र 'देखेको देश' भन्ने किताब पनि निकालेका छन् । तर, कसो-कसो मलाई मान्ठा... नै मन पर्छ । फेरि मलाई यो मूला पनि समीक्षक पल्टिन आँटेछ भनेर गाली नगरिहाल्नुस् । म सत्य बोल्दै छु । सत्य तीतो हुन्छ भन्छन् । विद्वानले भनेको कुरा मान्नै पर्छ । आज विद्वानले भनेको मानेरै त हामी घरभित्र छौं र मैले यो पनि घरभित्रैबाट लेखिरहेको छु ।
अब म 'मान्ठा डराएको जुग'मा आउँछु । होइन, त्यो किताबभित्रको एउटा संस्मरण 'वारि जङ्गबहादुर, पारि जङ्गबहादुर'मा आउँछु ।
यो जङ्गबहादुर भन्ने श्री ३ महाराज नेपाली जनमानसमा यस्तो विम्ब बनिदियो कि 'आलु' जस्तो । फेरि काम नलाग्ने भन्न खोज्यो भन्नुहोला, होइन । भैरव अर्यालको 'आलु' निबन्ध पढ्नुभएको छ, हो त्यस्तै । जेमा, जहाँ, जुनसुकैसित पनि मिलेर जस्तोसुकै परिकार पनि बन्न सक्ने आलुको क्षमता छ । उनैले भनेका छन्- आलु सर्वहारादेखि समाजवादी र साम्राज्यवादीको चुलोमा नभई नहुने तरकारी हो । त्यो जङ्गबहादुर पनि 'आलु' नै हाम्रा लागि । पञ्चायती व्यवस्थामा सतासीनले सिन्को भाँच्न नसक्दा बुज्रुकहरूले भन्थे, देश बनाउन त जङ्गबहादुर नै चाहिने रैछ । बहुदल आयो, सबै खाउदलमा लागे । सबैले फेरि भने 'देश बनाउन त जङ्गबहादुर नै चाहिने रैछ ।' त्यसपछि लोकतन्त्र भन्ने के जाति आयो । यो लोकतन्त्र होइन रैछ, खोकतन्त्र रैछ । जस्तो कि अस्ति प्रधानमन्त्रीले सम्बोधनमा खोक्नुभो । यो हात्ती आउनुभन्दा पहिल्यै 'फुस्सा' जस्तो भएर आएको रहेछ । अहिले पनि भन्न थालिएको छ, 'देश बनाउन त जङ्गबहादुर नै चाहिने रैछ ।'
ए बाबा, महल बनाउने जङ्गबहादुर, मुलुकी ऐन ल्याउने जङ्गबहादुर, छापाखाना ल्याउने जङ्गबहादुर, युरोप पुग्ने जङ्गबहादुर, धरहराबाट हाम फाल्ने जङ्गबहादुर, कति केके हो केके बहादुर, वर्णनातीत छ उनको व्यक्तित्व ।
मोहन मैनाली २०६० साल जेठ १४ गते कालिकोटको कोटबाडामा थिए । २०५९ माघमा माओवादी र सरकारबीच युद्धविराम गर्ने सहमति भएपछि उनीहरू वार्तामा बसे । मोहन मैनाली भने मौकाको फाइदा उठाउन क्यामेरा र ट्राइपड बोकेर कर्णाली पुगेका थिए । उद्देश्य भलै जेसुकै होस्, किताबचाहिं दामी लेखे उनले ।
उनले कोटबाडामा मान्छेका, भैंसीका, महिलाले पानी बोकेका नक्सा क्यामेरा खिचे र भिडियो पनि । सामान्य कुरा खिच्न पनि माओवादी जनसरकारको अनुमति लिएर खिचे । उनको क्यामेराबाट परको दृश्य हेर्दै कमरेड रोहित अर्थात् मानबहादुर विष्टले भने, "यो क्यामेराबाट त सेनाको गस्ती पनि देखिँदो हो है !" देखिने कुरा हो, मैनालीले देखिन्छ भने । मैनालीको क्यामेरा माओवादीलाई सेनाको चियो गर्ने भाँडो बन्न पुग्यो । उनीहरू उनको पछि लागे । पत्रकार र मानवअधिकारकर्मी भनेपछि फुटेको आँखाले पनि हेर्न नचाहने स्थानीय, जो माओवादी बनेका थिए, उनीहरूले मैनालीलाई पुल काटेर जान भने । तल खोलाको झोलुङ्गे पुल यस्तरी काटिएको थियो कि त्यो तरेपछि एक जुनी बाँचेकोमा आफैंलाई धन्यवाद दिनुपर्थ्यो । जनयुद्ध कालमा झोलुङ्गे पुल विद्रोही वारपार गर्न असहज होस् भनेर छिनालिएको थियो । त्यो पुल काटेर गएका मैनाली पुल तरेर फर्कनुपर्ने भो । नफर्के जंगे शासन, माओवादी होइन । उनी फर्किए । पुल तरे । मान्मको डाँडा आइपुग्न ३ घन्टाको उकालो हिँडे । थाकेर खलाँती परे । प्रेसर कम भएजस्तो भयो । नजिकैको होटेलमा बास बस्नुभन्दा अघि औषधि पसलमा प्रेसर जंचाए र एक प्याकेट गुल्कोज खाए ठीक हुने सल्लाह लिएर होटेल फर्कंदै थिए, भुइँमा बेतको लौरो बज्यो । पछाडि फर्केर उनले के हेरका थिए, पुलिस कड्कियो, "यस्ता जाबा काठमाडौँबाट आएका पत्रकारसत्रकार चिन्दैनौं हामी, चाँडो बासमा जा । नत्र...!"
नत्र मान्नै पर्ने थियो, नत्र... स्थिति सहज थिएन । उनी होटेलको सेफ अनि सेल्फ क्वारेन्टाइनमा पसे । यो पुलिसको हुकुम पनि जङ्गबहादुरको भन्दा चर्को थियो । मान्मबाट कोटबाडाको डाँडामा हेर्दा मैनालीलाई लाग्यो, यो डाँडामा जङ्गबहादुर, त्यो डाँडामा नि जङ्गबहादुर । भएन त जहाँतहीं जङ्गबहादुर !
अहिले कोभिड-१९ को संक्रमणलाई तेश्रो विश्वयुद्धको संज्ञा दिनेहरू पनि छन् । मानवले मानवबीचको दूरी घटाएर घरभित्रबाटै संघर्ष गरिरहेको यो बेलामा पनि देश फर्कन नपाइरहेकाहरूलाई कोरोना जङ्गबहादुरभन्दा झन् खतरनाक लागेको छ । महाकाली नदीपारि भएका नेपालीलाई वारि आउन नपाएकोमा 'शासक त जङ्गबहादुर नै चाहिने रैछ' भन्ने बोध भएको छ ।
अँ, साँच्ची कुरा के भने नि मैले नि साहित्यमा पनि जङ्गबहादुर नै खोजिरहेको कुराचाहिं झन् यथार्थ हो है !
मोहन मैनालीको 'मान्छा डराएको जुग' बाट 'वारि जङ्गबहादुर, पारि जङ्गबहादुर' भूपेन्द्र खड्काको आवाजमा सुन्नुस् ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...