अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
खास कारण जसले माटोको सहर मुस्ताङलाई विशेष बनायो
टेथिस जोन नामक पठारिलो उत्तरी भू–भागमा पर्छ, मुस्ताङ । यहाँको भू–दृश्य चन्द्र धरातलजस्तो छ । आकर्षक दृश्य, जैविक विविधतायुक्त मुस्ताङ हिमालपारिका हिमालबीचमा अवस्थित उपत्यकाको रूपमा पनि परिचित छ ।
कालीगण्डकी नदीको एकल जलाधारमा समेटिएको मुस्ताङको उत्तरी भाग तिब्बती पठारको हिस्सा हो । मुस्ताङको अधिकांश भाग सुक्खा बालुवाले ढाकिएको छ । हिमालपारिको मुस्ताङ तिब्बतीयन टेथिस हिमालयभित्र पर्छ । यो सिनोजोइक समय उत्पत्ति भएको मानिन्छ । मुस्ताङको तल्लो भाग मेसोजोइक तथा पेलियोजोइक समयमा बनेको ८ सय ७० भन्दा बढी बाक्लो बालुवा, माटो तथा गेगरका पत्र तहतह परेका छन् ।
यहाँ प्राय: टेथिस सागरको पीँधमा बनेका पत्रे चट्टान पाइन्छन् । कुनै चट्टानमा सामुद्रिक जीवावशेष पाइन्छन्, जसलाई शालिग्राम भनिन्छ । मुस्ताङको भूगोलको उत्पत्ति र भौगोलिक बनावटबारे विदेशी भूगर्भविद्हरूले पनि अध्ययन गरेका छन् ।
मुस्ताङको सबैभन्दा होचो स्थान समुद्री सतहदेखि १ हजार ६ सय ४० थासाङ गाउँपालिका–४ पैह्रो थाप्ला र सबैभन्दा अग्लो निलगिरि नर्थ ७ हजार ६१ मिटरको छ । मुस्ताङमा ६ हजार मिटर अग्ला निलगिरि नर्थ (७०६१ मि), निलगिरि साउथ ६,८३९ मि), याक्काकाङ चुली (६,४६२ मि), टुक्चेचुली (६,९२० मि), दामोदर हिमाल ६,००४ मिटर र धम्पुस चुली ५ हजार ३१३ मिटर रहेका छन् ।
विश्वमा कालीगण्डकी उद्गम थलो दामोदर कुण्ड र काली नदी बग्ने मुस्ताङ क्षेत्रमा मात्र शालिग्राम पाइन्छ । शालिग्राम चट्टानभित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष पाइन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो ।
“बालुवाको खातखात परेर बनेको मुस्ताङको भूगोल अनौठो छ । चन्द्रमाको धरातल पनि बालुवा नै बालुवा भएको, होचा डाँडाले भरिएको हुँदा मुस्ताङलाई चन्द्र धरातलको झल्को भनिएको हो,” मुस्ताङबाट प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन भन्छन्, “मुस्ताङको सभ्यता, भौगोलिक बनावट र जीवात्माका प्राचीनता अध्ययन गर्न यहाँको इको म्युजियम पुग्नुपर्छ ।”
मुस्ताङका चारै दिशा हिमालले छुट्याउँछन् । पूर्वमा मुक्तिनाथ हिमाल र दामोदर हिमालले मनाङ जिल्ला, पश्चिममा मुकुट हिमालले डोल्पा, दक्षिणमा निलगिरि साउथ र धौलागिरि हिमालले म्याग्दी र उत्तरमा मुस्ताङभोट हिमाल (धाङधुङमर) चीनको तिब्बतसँग सीमा जोडिएको छ । चीनसँग मुस्ताङको १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।
पुरातात्त्विक उत्खननबाट मुस्ताङी सभ्यता ३ हजार वर्षभन्दा पुरानो रहेको पुष्टि भएको छ । थासाङ, घरपझोङ, बाह्रगाउँ मुक्तिनाथ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गरी पाँच वटा स्थानीय तह छन् ।
मुस्ताङ मुखैमा पर्ने घाँसा, ताग्लुङ, धम्पु, कुञ्जो, टिटी, सैरु, खन्ती, लेते, कोवाङ, नाकुङ, नउरीकोट, भुर्जुङकोट, लाजुङ र टुकुचे गाउँलाई थाक सात सय भन्ने गरिन्छ । यहाँ थकाली, दलित, मगर र छन्त्याल जातिको बसोबास छ । थाक सात सयपछिको मार्फा, छैरो, चिमाङ, स्याङ र ठिनी पाँचगाउँ थकाली जातिको आदिभूमि हो । जोमसोम, धुम्वा र साम्ले पछि विस्तार भएका बस्ती हुन् ।
पाँचगाउँ मार्फा स्याउका लागि प्रख्यात छ । जोमसोमदेखि माथि कागबेनी, खिंगा, ढकारजोङ, झारकोट, मुक्तिनाथ, छोङखोर, झोङ, पुटक, पुरोङ, लुव्रा, पागलिङ, फलेक, तिरी, छुक्साङ, तेताङ, ताङवे, चैले, ध्यागा, घिलिङ र समरगाउँलाई बाह्रगाउँ भनिन्छ । गुरुङ बहुल यी बस्तीमा पश्चिमी तिब्बतको भाषिका ‘सेके’ बोलिन्छ । बुद्ध धर्मपछि बोन धर्म प्रचलनमा छ । लुब्रा गाउँ अद्यावधि बोन धर्मकै आदिबस्ती हो ।
उपल्लो मुस्ताङका घिलिङ, घमी, ढाकमार, चराङ, मराङ, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, ल्हो मानथाङ, नेन्योल, छोस्यार, न्याम्डो, किमालिङ, थिंकर, फुवा र नाम्ग्याल गाउँलाई मुस्ताङ सात थपौला (ल्होमन्थाङ) भनिन्छ । १४०० देखि १६०० बीचको लोमान्थाङ राज्यको उत्तरी सीमा पश्चिम तिब्बत अथवा नांग्रीको सीमाभूमि थियो । हाल खुम्चिएर कोरलामा रहेको छ । लोमान्थाङ क्षेत्रमा लोवा, गुरुङ, विष्ट/ठकुरीहरूको बसोबास छ ।
माटोको सहर : उपल्लो मुस्ताङ विदेशीका लागि अर्धनिषेधित क्षेत्र हो । पुरातात्त्विक अध्ययनअनुसार लोमान्थाङ र वरपरका बस्ती एवं गुफा व्यवस्था करिब ३ हजार वर्ष पुराना हुन् । जुम्लाको खस राज्य अधीनस्थ लोमान्थाङ केही काल तिब्बतको गुङथाङको अधीनस्थ रह्यो ।
विसं १४९७ मा आमपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषण गरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका हुन् । विसं १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यको रूपमा रह्यो । विसं १८४६ सालदेखि लोमान्थाङ बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले मुस्ताङका तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यको रूपमा लालमोहर लगाइदिएका थिए ।
लोमान्थाङ समुद्री सतहदेखि ३ हजार ७ सय २० मिटर उचाइमा अवस्थित छ । नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे । नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने ०७४ देखि भुरे राजा/रजौटाको शासनलाई अन्त्य गरेको हो । लोमान्थाङका अन्तिम तथा २५ औँ पुस्ता रजौटा जिग्मे परवल विष्ट हुन् । तर लोमान्थाङी समाजमा अहिले पनि सांस्कृतिक राजा अस्तित्वमा छन् ।
लोमान्थाङ बस्ती पूरै माटोको पर्खालले घेरिएको छ । लोमान्थाङ बस्तीलाई माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र ८ मिटर अग्लो पर्खालले घेरिएको छ । २ सय ८० मिटर उत्तर–दक्षिण र १ सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । यस्तो बस्ती सायद कहीँ–कतै अस्तित्वमा नरहेकाले लोमान्थाङ बस्ती विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो ।
लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा/मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण केन्द्र हो । मुस्ताङको तिब्बतसँग धर्म, भाषा, भेषभूषा, रहनसहन, संस्कार, संस्कृति मिल्छ । बालुवाको अनौठो सुक्खा भूगोलले मात्र होइन, कम्युनिस्ट शासन रहेको चीनसँगको सीमावर्ती लोमान्थाङ (कोरला नाका) पर्यटकका लागि कौतूहल हो ।
सीमासम्मै मोटरबाटो पुगेपछि लोमान्थाङ पुग्ने पर्यटकको ओइरो लाग्छ । इलाका प्रहरी कार्यालय छोसेरको अभिलेखअनुसार असोज/कात्तिक दैनिक १२ सयभन्दा बढी आन्तरिक पर्यटक कोरला नाका पुग्छन् । बाह्य पर्यटकलाई भने ०५० देखि मात्र उपल्लो मुस्ताङमा नियन्त्रित रूपमा प्रवेश खुला गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ कार्यालयको अभिलेखअनुसार वार्षिक ४ हजारभन्दा बढी बाह्य पर्यटक लोमान्थाङ पुग्छन् ।
मध्ययुगीन बस्ती लोमान्थाङ र मुस्ताङका प्राचीन बस्ती हेर्ने पर्यटक बढेसँगै रेस्टुराँ, होटल, लज थपिन थालेका छन् । होटल व्यवसायी समितिका अनुसार लोमान्थाङमा ३० लाखदेखि २० करोडसम्म लगानीका ३० होटल छन् । यी होटलका २ सय २८ कोठामा ५ सय बेड क्षमता छ । यो वर्ष थप ५० कोठा थपिँदै छन् । छोसेर र छोनुपमा १२ तथा चराङ र घमीमा पनि १५ भन्दा बढी होटल छन् ।
गुफा सभ्यता : लामा र झुमाहरूले लोमान्थाङका अक्करे भीरहरू खोपेर निर्मित गुफा आश्रयको रूपमा प्रयोग गरेको देखिन्छ । यी गुफा आफैँमा अद्वितीय मात्र छैनन्, तिनले प्राचीन मुस्ताङी जीवनलाई रहस्यमय बनाएका छन् । ती गुफाहरू कसले, किन र कहिले निर्माण गरे ? अझै रहस्यमय छ ।
स्थानीय भाषामा फुग् भनिने गुफाहरू लोमान्थाङ क्षेत्रको धार्मिक एवं सामाजिक जीवनमा आकर्षणका केन्द्र हुन् । एक्याप लोमान्थाङका अनुसार मुस्ताङका विभिन्न गाउँछेउका भीरमा करिब सय हाराहारी मानवनिर्मित गुफा छन् । यीमध्ये झोङ, छोसेर, गार्फुग, लुरी, छ्योजोङ, मेद्राक, चैले, छुक्साङ, टुक्चे, कोवाङ, साम्जोङ आदि प्रमुख हुन् ।
डेढ सय कोठा रहेको ५ तले छोसेरको झोङ गुफा पर्यटकको आकर्षण केन्द्रसमेत हो । गुफाको तला चढ्न काठका भर्याङ प्रयोग गरिएका छन् । जोमसोम–लोमान्थाङ–कोरला जोड्ने मोटरबाटोको पारिपट्टि १५ मिनेटमा पुग्न सकिने झोङ गुफामा नेपालीलाई प्रतिव्यक्ति एक सय र विदेशी पर्यटकलाई पाँच सय शुल्क लिने गरिएको छ । बौद्ध गुरुहरूले साधनाका लागि पनि भीर खोपेर गुफा बनाई ध्यान, साधना र अध्ययन गर्ने गरेको भनाइ छ ।
“पहिला–पहिला तिब्बततिरबाट आउने लुटेराबाट धर्मको रक्षा गर्न र धार्मिक गुरुहरूको साधनालाई सिद्धि प्राप्त गर्न यस्ता गुफा बनाइएको हो,” साविक लोमान्थाङ गाविसका सचिव ज्ञानेन्द्र विष्ट भन्छन्, “यहाँका गुफा अलौकिक छन्, हामी आफैँले आफ्नो विगतको अध्ययन नै गर्न सकेका छैनौँ ।”
सन् १९९२–१९९७ सम्म जर्मन र नेपालको पुरातत्त्व विभागका पुरातत्त्वविद्ले मुक्तिनाथपारि मेद्राक पहाडको गुफामा पहिलो पटक मानव शव फेला पारेका थिए । पुरातत्त्व विभागको डीएनए परीक्षण अभिलेखअनुसार उक्त शव २ हजार ४ सय १४ वर्ष पुरानो थियो ।
अमेरिकाको क्यालिफोर्नियास्थित मर्सेट विश्वविद्यालयका डीन मानवशास्त्री मार्क एडलेन्डरपरसमेतको टोलीले उपल्लो मुस्ताङका साम्जोङ गाउँ नजिकको गुफाबाट सन् २०११/१२ मा विभिन्न प्राचीन मानव सभ्यता पुष्टि गर्ने पुरातात्त्विक महत्त्वका वस्तु फेला पारेको थियो ।
“मुस्ताङका विभिन्न गुफाबाट नेपाली तथा विदेशी पुरातत्त्वविद्/अनुसन्धानकर्ताले सुनको मुकुन्डो, मानव कंकाल फेला पारेका थिए,” गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट भन्छन्, “यी पहाडका गुफा केवल गुफा होइनन्, पुर्खाले छाडेको मुस्ताङी सभ्यताको नासो पनि हो । अब स्थानीय सरकारहरू यी गुफा संरक्षणमा जुट्न आवश्यक छ ।”
लोमान्थाङ क्षेत्रमा ऐतिहासिक महत्त्वका राजदरबार पनि छन् । तीमध्ये लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार महत्त्वपूर्ण छन् । अन्य गाउँमा रहेका दरबार भने प्राय: भत्किएर नासिँदै छन् ।
मुस्ताङी राजा अम पालले ईसं १४४० मा निर्माण गरेको लोमान्थाङ दरबार निवर्तमान राजा जिग्मे परवल विष्टले भोगचलन गरिरहेका छन् । पाँचतले यो दरबारको तेस्रो तलासम्मका कोठा अहिले प्रयोगविहीन छन् ।
लोमान्थाङ बस्ती डेढ मिटर फराकिलो र ८ मिटर अग्लो पर्खालले घेरिएको छ । पर्खाल माटो जमाएर बनाइएको छ । लोमान्थाङ प्रवेश गर्ने एउटै मात्र ढोका छ । लोमान्थाङजस्तो बस्ती कहीँ–कतै अस्तित्वमा नरहेकाले पनि यो विश्वकै ऐतिहासिक सम्पदा हो ।
मुस्ताङलाई गुम्बैगुम्बाको जिल्ला पनि भनिन्छ । यहाँ सानाठूला गरी ६४ गुम्बा छन् । मुस्ताङको उपल्लो भेग लोमान्थाङ क्षेत्रमा विभिन्न ऐतिहासिक गुम्बा छन् । बौद्ध धर्म संस्कृतिमा गुम्बालाई ‘तपो कुटी’ भनिन्छ । वास्तुशैलीका गुम्बाले सबैलाई लोभ्याउँछ । लोमान्थाङ क्षेत्रमा मुख्य गरी ज्याम्पा, थुप्छेन, नामग्याल, चराङ, घमी, गिलुङ र नि फुग गुम्बा चर्चित छन् ।
लोमान्थाङको बस्तीभित्र अवस्थित ज्यम्पा गुम्बा नेपालकै सांस्कृतिक सम्पदा हो । यो गुम्बा मुस्ताङी राजा अम पालका छोरा अ गोएन साङपोले बनाएको विश्वास छ । मुस्ताङका यी गुम्बामा मुस्ताङी राजा समढुव परवलले नीलपत्रमा सुनको अक्षरबाट लेखाएका बौद्ध धार्मिक ग्रन्थहरू छन् ।
छ्योर्तेन मुस्ताङको सांस्कृतिक सम्पदा हो । गर्भमा मृतकको अस्तु राखिएको छ । त्यसलाई दुङ्तेन र धार्मिक ग्रन्थ वा छ्योर्तेन भनिन्छ । मुस्ताङका सबै गाउँ प्रवेश गर्ने र बाहिरिने द्वार, बाटा, डाँडाको टुप्पो, गुम्बा वरपर लामो ढुंगाको पर्खाल उठाई छ्योर्तेन बनाइएको हुन्छ ।
घमीगाउँको पारिपट्टि २ सय ७५ मिटर लामो म थाङ (मणि पर्खाल) छ । स्थानीयले मनोकांक्षा पूरा होस् भनेर बौद्ध मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएका ढुंगा पर्खालमा चढाउने चलन छ । यो मणि पर्खाल पद्मसम्भवले सुरु गराएको कथन छ ।
शालिग्राम उत्पत्ति स्थलको रूपमा रहेको दामोदर कुण्डबाट बग्ने ध्ये खोलालाई कालीगण्डकीको उद्गम स्थल र त्यस नदी वरपरको पहाडलाई हिन्दुहरू शालिग्राम पर्वत भन्छन् । ढुंगाको भित्री भागमा जीवाशेषको आकार चक्र हुने विशेषता भएका ढुंगा पाइने कालीगण्डकीलाई चक्र नदीले पनि चिनिन्छ ।
मुस्ताङमा मुक्तिनाथ र दामोदर कुण्डमा बाहेक अन्यत्र मन्दिर छैनन् । तीमध्ये तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात् ‘सय पानी’ भनिने बौद्ध तथा हिन्दुको साझा तीर्थ मुक्तिनाथ हो । थोरङ्ला हिमालको फेदीमा ३ हजार ७ सय १० मिटरमा अवस्थित मुक्तिनाथलाई हिन्दुले मुक्ति क्षेत्र र बौद्ध मार्गीले छुमङ ग्यात्सा अर्थात् सय पानी भनेर पुज्छन् । हिन्दुका ५ प्रमुख धाममध्ये मुक्तिनाथ एक हो भने बौद्ध मार्गीका २४ तान्त्रिक स्थानमध्ये छुमिङ ग्यात्स । मन्दिर परिसरमा रहेका एक सय आठ धारामा नुहाउँदा ‘मुक्ति’ मिल्ने जनविश्वास छ ।
मुक्तिनाथ मन्दिर प्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने गन्तव्य पनि हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार असोज/कात्तिकमा दुई हजार ६ सय ७ तेस्रो मुलुकका र ६ सय ११ जना भारतीय पर्यटक मुक्तिनाथ पुगे ।
विसं १८७१ मा निर्माण भएको मुक्तिनाथ मन्दिरको दर्शन गर्न बर्सेनि देश–विदेशबाट हजारौँ हिन्दु भक्तजन पुग्ने गरेका छन् । मुक्तिनाथ सदावर्त गुठी कसले र कहिले स्थापना गरेको हो भन्ने यकिन तथ्य प्रमाण भने फेला परेको छैन ।
मुस्ताङमा ढुम्बा, वुर्चोटो ताल, सेकुङ, टिटीलगायत आकर्षक तालतलैया छन् । जोममसोमस्थित एयरपोर्ट छेउमा मुस्ताङ ईको म्युजियम छ । इको म्युजियमभित्र तिब्तीयन सांस्कृतिक परम्पराका वस्तु, जापानी भिक्षु इकाइका वागुचीबारे विस्तृत जानकारी, मुस्ताङका विभिन्न जनजातिको गाउँको तस्बिर तथा तिनले प्रयोगमा ल्याएका २८ सय वर्षभन्दा पुराना सेरामिक भाँडाकुँडा राखिएको छ ।
म्युजियमको अर्को भागमा मुस्ताङ जियोलोजीका फोटा तथा शालिग्राम, चट्टान सजाएर राखिएका छन् । म्युजियमको माथिल्लो तलामा बोन धर्मसम्बन्धी केही पुस्तक र ङ्हयुम भनिने तिब्बतीयन धार्मिक पुस्तकका साथमा बुद्ध, मञ्जुश्री, पद्म सम्भव, अवलोकितेश्वर, दीपंकर, मैत्रेय, स्तुपा, वज्रकिलाया कुबेर आदिका मूर्ति सजाइएका छन् ।
थकाली ‘होमस्टे’ : मुस्ताङ सदरमुकाम जोमसोमको सिरानमा अवस्थित सानो, झुरुप्प परेको परम्परागत थकाली बस्ती, ठिनी छ । थकाली सभ्यताको उद्गम थलो ठिनीको पुरानो नाम भने ‘सुम्प’ हो ।
तिलिचो, निलगिरि उत्तर र दक्षिण हिमालको काखमा अवस्थित ठिनीको पुछारमा कालीगण्डकी नदी बगेको छ । आलु, फापर, गहुँ, जौ र मकै खेती ठिनीको पुख्र्याैली कृषि प्रणालीलाई आजभोलि स्याउ बगानले ढाक्दै गएको छ । परम्परागत ठेट थकाली ग्रामीण बस्तीमा पछिल्लो तीन वर्षदेखि देश–विदेशका पर्यटक बस्न थालेका छन् । घरका भान्सा र बिस्तारा मोडिफाई हुन थालेका छन् ।
घरपझोङ गाउँपालिका, ५ मा पर्ने ठिनी गाउँका सबै घर परम्परागत मुस्ताङी शैली र सभ्यता नछोडेका माटोले छाएका मुण्डे छन् । मुण्डे घरका छानोछेउ दाउरा मिलाएर राख्नु थाक खोलाको छुट्टै संस्कृति हो । वास्तवमा हिउँ र पानीले माटोको छाना भएको घरको छेउबाट खोलेर चुहिने नहोस् भनेर राखिएको दाउरा कालान्तरमा मुस्ताङको संस्कृति बनेको छ ।
थकाली संग्रहालय ठिनी गाउँको अर्को आकर्षण हो, जहाँ ६ सय वर्ष पुराना बन्दुकदेखि थकाली जातिका भेषभूष र संस्कृतिलाई नजिकबाट हेर्न पाइन्छ । “ठिनी र वरपर पर्यटन विकास गर्न गुरुयोजना बनाएरै लागेका छौँ । यहाँका सम्भावित गन्तव्य र आकर्षणको पहिचान, प्रवर्द्धन र संरक्षणमा जुटेका छौँ । त्यसका लागि सडक र पर्यटनलाई जोड्न चाहन्छौँ,” घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङ भन्छिन्, “ठिनीको सिरानमा पर्ने नाम्खेलेकमा भ्यु प्वाइन्ट बनाएका छौँ । तिलिचो लेकमुनिसम्मै सडक पुर्याएका छौँ ।” यहाँबाट कोरला नाकासहित उपल्लो मुस्ताङको अधिकांश भाग देख्न सकिन्छ ।
अनौठो लोमान्थाङ
उपल्लो मुस्ताङको समाजलाई मुख्यत: दुई भागमा बाँड्न सकिन्छ । एक– छ्यावा अर्थात् धर्मसम्बन्धी काम गर्ने लामा, ढावा, ङाग्पा, झुमाजस्ता व्यक्ति र विवाह गर्नेहरू अर्थात् म्हिग्या । म्हिग्यालाई पनि तीन समूहमा राखिन्छ । कुटाक अर्थात् तत्कालीन राजा, राजपरिवार र उच्च खानदानी विष्ट तथा ठकुरी हुन् । स्हिंवा अर्थात् खेती र व्यापार गर्ने समुदाय । तिनलाई आजकल गुरुङ भनिन्छ । हिगमावा अर्थात् कामी, दमाई, कसाईलाई स्थानीय भाषामा स्येम्पा भनिन्छ । जातीय विभाजन भए पनि छुवाछूतको व्यवहार छैन ।
सिँचाइ, कुलोमा काम गर्दा जग्गाको आधारमा गरिन्छ । यसबाट कम जग्गा हुनेले थोरै दिन र धेरै हुनेले बढी काम गर्नुपर्छ । गाउँमा कसैको घर बनाउँदा गाउँलेले २/३ दिन बिनाज्याला सहयोग गर्ने परम्परा जीवित छ । जन्मदेखि मृत्युसम्म लामा र ढावाको भूमिका रहन्छ । लोमान्थाङ क्षेत्रमा अहिले पनि सांस्कृतिक राजा मानिन्छ ।
यहाँ मुद्दा नभएको व्यक्ति बुद्धिमान र ऋण नभएको व्यक्ति साहू भन्ने मान्यता छ । अधिकांश मुद्दा, झैझगडा परिवार वा गाउँभित्रैबाट छिनोफानो हुने गर्छ । गाउँभित्रका जनावरका लागि साझा गोठालाको व्यवस्था छ ।
छोरा नहुने र छोरा भए पनि आपसी मनमुटाव भए छोरालाई अंशसहित छुट्टाई छोरीलाई घरज्वाइँ ल्याउने अनौठो परम्परा छ, यहाँ । उपल्लो मुस्ताङका महिलाले बख्खुको अगाडि पाङदेन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङदेन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको संकेत नै पाङदेन हो । अधिकांश बच्चाहरूको नाम, बार र गते देवदेवीको नामबाट राखिन्छ । जस्तै, ङिमा–आइतबार, छेचिग–१ गते र झयाम्पा–मैत्रीय ।
६१ वर्ष पुगेपछि गाउँका सबैलाई छ्याङ दिई आफू कामबाट अलग्गिएको सामूहिक जानकारी दिन थरछ्याङ दिइन्छ । निश्चित उमेरपछि दिइने विश्रामको सुविधालाई थरछ्याङ भनिन्छ ।
आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने सामाजिक परम्परालाई ढुकुटी भनिन्छ । ढुकुटीको खास नाम ढुखु हो । ‘ढु’ को अर्थ अन्न र ‘खु’ को अर्थ भकारी । धेरै श्रम खर्चेर कम आय हुने हुँदा आर्थिक अवस्था व्यवस्थित गर्न बहुपति प्रथाले भूमिका खेलेको छ । नयाँ पुस्ताको असहमतिबीच अझै बहुपति प्रथा मान्ने धेरै छन् ।
सम्बन्धित
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...