सरकार : खर्च घटाउँछु भन्छ, तर खुट्टा कमाउँछ
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भने अलमलमै सरकार
अर्थतन्त्रको ढुकुटीले राज्य धान्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । तर मितव्ययीताको भाषण गरेर नथाक्ने सरकार अनावश्यक खर्च कटौती गर्न तयार देखिन्न ।
अर्थमन्त्री युवराज खतिवडाले ३२ जेठमा प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको उत्तर दिँदै भने, ‘हामी राज्यको दैनिक खर्च धान्न नसक्ने अवस्थामा पुग्न लाग्यौँ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब आवश्यक पर्ने भए पनि राजस्व संकलन न्यून भएकाले जेठ महिनाको आयव्ययको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्था आइसकेको छ ।’
खर्च धान्न समस्या भएपछि केही कोषहरूको रकम चलाउने तयारी भइरहेको समेत अर्थमन्त्री खतिवडाले बताएका थिए । लकडाउन सुरु भएदेखि ३२ जेठसम्म सरकारले ७ खर्ब आम्दानी गरेको छ भने खर्च ८ खर्ब ७६ अर्ब पुगेको छ । आम्दानी र खर्चको अन्तर १ खर्ब ७६ अर्ब रुपैयाँ छ ।
प्रशासनविद् भीमदेव भट्टको भनाइमा आय शून्य भएपछि अर्थमन्त्री खतिवडा छट्पटाइरहेका छन् । आयको मूल्यांकन नगरी, खर्च कटौतीका उपायहरू गम्भीरतापूर्वक नचाली बजेट मात्र ठूलो बनाएर देश चल्न नसक्ने विज्ञ भट्टको ठम्याइ छ । “सरकारी खर्च कसरी घटाउने, प्रशासनलाई कसरी गति दिने भनेर सरकारको नेतृत्व गर्नेहरू कोही पनि गम्भीर भएनन् । हाम्रो पूरै पद्धति आस्थाका आधारमा खर्च गर्ने, निर्णय लिने मात्र भयो,” भट्ट भन्छन्, “त्यसैले सरकारले मितव्ययीता अपनाउन खर्च घटाउन सक्छजस्तो लाग्दैन ।”
अनावश्यक खर्च घटाउने हो भने सरकार बिनाआग्रही, निष्पक्ष र तटस्थ भएर निर्णय गर्न सक्नुपर्ने उनी बताउँछन् ।
तर सरकारी विरोधाभास कस्तो भने एकातिर प्रधानमन्त्री मितव्ययीताको सुगा रटाइमा छन् । अर्थमन्त्री राज्यको दैनिक खर्च धान्न नसक्ने अवस्था रहेको बताउँछन् । अर्कातिर राज्य ढुकुटीको यति धेरै फुक्काफाल खर्चिंदै छ कि ११ चैतमा लकडाउन घोषणा गरेयता कोरोना संक्रमण नियन्त्रणका लागि राज्यको गरेको खर्चको फाँटबारीसमेत सरकारले चुस्तदुरुस्त देखाउनै सकेको छैन ।
‘नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ का सदस्यसचिव नारायणप्रसाद बिडारीले २१ जेठमा लकडाउनयताको खर्च सार्वजनिक गरेका थिए ।
अर्बौं खर्चिएर गठन भएका प्रशासन सुधार आयोग, संघीय प्रशासनिक पुनर्संरचना आयोग, सार्वजनिक खर्च पुनरावलोकन आयोगजस्ता सरकारबाटै गठित दर्जनौँ आयोगहरूले खर्च कटौती उपायसहितको सुझाव दिए पनि कार्यान्वयन हुन सकेको छैन
उक्त खर्चअनुसार संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेश सरकारहरूबाट १ अर्ब ८ करोड र स्थानीय तहहरूले २ अर्ब ७६ करोड गरी ९ अर्ब ८७ करोड खर्च भएको बिडारीले बताएका थिए । यो खर्चको विवरण देखाउन सडक आन्दोलन भयो । बिडारीले खर्च सार्वजनिक गरेको १० दिनपछि ३१ जेठमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत विवरण सार्वजनिक गरे ।
तर बिडारी र थापाले सार्वजनिक गरेको खर्चमै ठूलो कैफियत देखियो । थापाले सार्वजनिक गरेको विवरणअनुसार कोरोना नियन्त्रणका लागि सरकारी तहहरूले ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च गरेका छन् । प्रधानमन्त्रीकै वरिपरि रहने यी दुई अगुवाले सार्वजनिक गरेको विवरणमै १ अर्बभन्दा बढी रकम तलमाथि देखिनु सामान्य घटना नभएको जानकार बताउँछन् ।
जेठ तेस्रो साता प्रशासनविद्हरूले कोरोना भाइरसको त्रासका कारण लकडाउन गर्दा अर्थतन्त्र संकुचनमा परेको हुँदा खर्च घटाउन तत्काल ९ सचिवहरूको दरबन्दी कटाउन सरकारलाई सुझाव दिए । तर सरकारले त्यसलाई एउटा कानबाट सुनेर अर्को कानबाट उडाइरहेको छ ।
प्रशासन सुधार आयोग, संघीय प्रशासनिक पुनर्संरचना आयोग, सार्वजनिक खर्च पुनरावलोकन आयोगजस्ता सरकारबाटै गठित दर्जनौँ आयोगहरूले खर्च कटौती गर्ने उपायसहितको सुझाव दिइरहेका छन् । यस्ता आयोग गठनमा मात्र अर्बौं रुपैयाँ खर्च भइसकेको छ ।
भर्खरै मात्र पनि संघीय प्रशासनिक पुनर्संरचना आयोगका अध्यक्ष काशीराज दाहालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सरकारलाई फजुल खर्च कटौतीको उपाय सुझाएका छन् । मुलुक संघीय संरचनामा नजाँदैदेखि दाहालले पटक–पटक १८ भन्दा बढी मन्त्रालय नचाहिने प्रतिवेदन बुझाएका थिए । तर सरकारले ती प्रतिवेदन थन्काएर राखेको छ ।
खर्च घटाउने आफ्नै निर्णयलाई सरकार कसरी लत्याउँछ ? एउटा प्रतिनिधि उदाहरण हेरौँ । पुस ०७४ मा तत्कालीन सरकारले ३१ मन्त्रालयलाई गाभेर २१ वटा कायम गरेको थियो ।
संविधानको धारा ७६ को उपधारा ९ मा ‘प्रधानमन्त्रीसहित बढीमा २५ जना रहेको मन्त्रिपरिषद् गठन गर्ने’ उल्लेख भएकाले सरकार मन्त्रालय घटाउन बाध्य भएको थियो । यद्यपि ३ फागुन ०७४ मा केपी ओली प्रधानमन्त्री भएपछि कृषि, भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषिलाई कृषि तथा पशुपन्छी विकास र अर्को भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइयो । अर्को मन्त्रालय पनि त्यसै गरियो । एउटा मन्त्रालय मात्र बढ्दा पनि वार्षिक न्यूनतम डेढ अर्ब रुपैयाँ व्ययभार थपिने जानकारहरू बताउँछन् ।
मन्त्रालयहरू समायोजन गर्दा सचिवलाई व्यवस्थापन गर्न ६ वटा मन्त्रालयमा दुई–दुई जना राखिएको थियो । ओली सरकार गठन भएको अढाई वर्ष बित्न लागे पनि मन्त्रालयहरूमा त्यो परिपाटी यथावत छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै मुख्यसचिवबाहेक ५ जना सचिव छन् । शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, उद्योग, वाणिज्य तथा आपूर्ति, अर्थ गरी ६ वटा मन्त्रालयमा दुई–दुई जना सचिव छन् । यी दुई–दुइटा मन्त्रालयबाट एक–एक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तीन जना गरी ९ जना सचिवहरूको दरबन्दी घटाउन प्रशासनविद्हरूले सरकारलाई सुझाएका थिए । ९ सचिवको दरबन्दी घटाए वार्षिक न्यूनतम १ अर्ब रुपैयाँ सञ्चित हुन्छ । त्यो रकम विकास परियोजनामा खर्चिने हो भने त्यसले ठूलै प्रतिफल दिन्छ ।
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाइरहेको छ । ११ चैत ०७६ मा घोषणा गरिएको लकडाउनले राजस्व संकलन नगन्य छ । आर्थिक क्रियाकलाप सुस्त छन् । यसले अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । । कोरोना फैलावट रोक्न अझै कति खर्चिनुपर्ने हो ? अर्थतन्त्रमा अझै कति असर पार्ने हो ? टुंगो छैन । तर सरकार अनावश्यक खर्च कटौतीमा भने अलमल गरिरहेको छ ।
०७२ वैशाखको विनासकारी भूकम्पले पनि खर्च कटौतीका लागि राम्रो अवसर दिएको थियो । त्यसबेला पनि सरकारले अनुत्पादक खर्च घटाउन पहल गरेन । पछिल्लो पटक ओली सरकार गठन भएपछि सरकारी क्षेत्रमा हुने अनावश्यक खर्च कटौतीका लागि अध्ययन गर्न अर्थमन्त्री खतिवडाकै पहलमा अर्थशास्त्री डिल्लीराज खनाल अध्यक्षताको ५ सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरिएको थियो ।
३ भदौ ०७५ मा गठित आयोगले पाँच महिने कार्यावधि पाएको थियो । अर्थशास्त्री खनालका अनुसार कार्यकाल एक महिना बढाएर ६ फागुनमा उनीहरूले अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदन अहिलेसम्म गुप्त नै राखिएको छ । संसद्को अर्थ समितिले दुइटा प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिसकेको छ । खनाललगायत महालेखा परीक्षक, अर्थ मन्त्रालयका सहसचिवको समूहले सार्वजनिक खर्च घटाउने विभिन्न उपायबारे सुझाव दिएको थियो ।
अहिले संघीय सरकारमा रहेका २२ मन्त्रालयलाई १६ वटामा सीमित गरेर ठूलो मात्रामा प्रशासनिक खर्च घटाउन सकिने सुझाव आफूहरूले दिएको खनाल बताउँछन् । उनका अनुसार कडाइपूर्वक प्रतिवेदन कार्यान्वयन गर्दा वार्षिक ४ खर्ब रुपैयाँ रकम बचत गर्न सकिन्छ । यसबेला सरकारी बजेट १३ खर्बको छ, जसमा ४ खर्ब खर्च जोगाउन सकिए अन्य क्षेत्रमा विनियोजन गर्न सकिन्छ ।
सार्वजनिक खर्चको अनियमितता कस्तो भने महालेखा परीक्षकको कार्यालयले मात्र ६ खर्ब रुपैयाँ बेरुजु निकालेको छ । यति ठूलो बेरुजुमा संलग्नहरू कसैलाई कारबाही हुँदैन । उनीहरूले बरु सरकारकै धाप पाउँछन् । ५ जेठमा राष्ट्रपतिले संसद्बाट सार्वजनिक गरेको नीति तथा कार्यक्रममा फजुल खर्च नियन्त्रण गरेर उत्पादनशील क्षेत्रमा लगाउने भनिएको थियो । भलै, कस्तो खर्चलाई फजुल मानिने हो, त्यसबारे केही बोलिएकै थिएन । बजेटसम्म आइपुग्दा ४ अर्ब रुपैयाँ त भत्तामा मात्र खर्च भइरहेको छ ।
“सरकारले चाहे न्यूनतम ३ देखि ४ अर्ब रुपैयाँ बचत हुन सक्छ भनेर हामीले घटाउन सकिने क्षेत्रहरू समेटेर पनि प्रतिवेदन दिएका थियौँ । सन् १९८६ मा पीएचडी गर्दा मैले सार्वजनिक खर्चको दुरुपयोगमा जे बेथिति/विसंगति देखेर पुस्तक लेखेको थिएँ”, खनाल भन्छन्, “यस पटकको अध्ययनबाट प्रस्ट भयो, वित्तीय अराजकता आधारभूत रूपमा अलिकति पनि सुधार भएको रहेनछ । झनै बढेर गएको रहेछ । यो देख्दा विरक्त भएँ । अब त बोल्नै छाडेको छु ।”
सरकारी खर्च बढ्दै जाने र उपादेयताचाहिँ घट्दै जाने हो भने त्यसले ठूलो संकट निम्त्याउने खनाल बताउँछन् । संघ, प्रदेश र स्थानीय तहमा गरी ५०/६० वटा कार्यक्रम त दोहोरोतेहेरो छन् । खनाल थप्छन्, “मनलागी गरिएको सार्वजनिक खर्च कटौती नगरे तलबसमेत धान्न सकिँदैन भनेर हामीले दिएको प्रतिवेदनको औचित्य ३२ जेठमा अर्थमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले पनि पुष्टि गरेको छ ।”
प्रशासनिक पुनर्संरचना आयोगका अध्यक्ष काशीराज दाहालका अनुसार सार्वजनिक खर्च घट्न नसक्नुमा मुख्य तीन कारण छन् ।
पहिलो– राजनीतिक तहमा नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने समस्या छ । त्यो व्यवस्थापन गरेर नेताहरूलाई सन्तुलनमा राख्न अनावश्यक पद खडा गरेरै भए पनि राजनीतिक नियुक्ति दिनुपर्ने हुन्छ । उदाहरणका लागि, केन्द्रमा राष्ट्रिय सूचना आयोग स्थापना भइसकेकाले ७ वटै प्रदेशमा त्यस्ता आयोग गठन गर्नु खर्च बढाउनु मात्र हो । जिल्लाबाटै इमेल वा फ्याक्स गर्दा केन्द्रस्थित आयोगले तदारुकतासाथ उजुरी सम्बोधन गरिदिए प्रदेशहरूमा त्यस्ता संरचना जरुरी नै छैनन् । यस्तो शैलीले व्ययभार मात्र बढाउने निश्चित छ ।
दोस्रो– कर्मचारीतन्त्रको नेतृत्वले आफूलाई संघीयताभित्र रुपान्तरित गर्न सकेको छैन । प्रदेश वा स्थानीय तहमा जाँदा कता–कता आफूलाई ह्युमिलेसन गरेको ठान्छ, जसले गर्दा अधिकांश कर्मचारी केन्द्रमै बस्न चाहन्छन् । प्रशासनविद् भट्टका अनुसार ३०/३५ हजार कर्मचारी केन्द्रमा राखेर ४५/५० हजार प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने थियो । संघीयताअनुसार चल्न नसक्दा यसको गति ठीक उल्टो भएको छ ।
तेस्रो– कर्मचारीलाई कामको जिम्मेवारी तोक्ने, यति समयभित्र यो परिणाम देखाऊ भनेर कार्यसम्पादन सम्झौता गर्ने र निर्धारित समयमा परिणाम निकाल्न नसक्नेलाई नकारात्मक सूचीमा राखेर कारबाही गर्ने गरिएको छैन । मूल्यांकनको परिपाटी सबै देखावटी मात्र हुन् । भित्र–भित्र जो चाहेको छ, उसैलाई च्याप्ने गरिन्छ । भट्ट थप्छन्, “भन्दा नराम्रो हुन्छ । तर यथार्थ के भने सत्ता पक्षको छाप नलिई कसैले चाहेको पद पाउन सक्दैन । सत्ताको छाप लिएपछि जतिसुकै फजुल खर्च गरे पनि, अनुत्पादक क्षेत्रमा रकमको योजना बनाए पनि कारबाही हुँदैन । यो तरिका नसच्चिएसम्म फजुल खर्च रोक्न सम्भव छैन ।”
प्रशासनिक पुनर्संरचना आयोगका अध्यक्ष दाहाल भन्छन्, “जवाफदेहिता वहन गर्ने संस्कृतिको विकास नहुन्जेल र दण्डहीनता बढेसम्म सुशासन कायम हुन्न । सुशासन नभएसम्म अनावश्यक खर्च गर्ने संस्कृति बढिरहन्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...