परीक्षामा होइन, जिन्दगीमा चाहियो ‘ए ग्रेड’
पैसाले शिक्षाको गुणस्तरीयता तोकिने भएकाले नै राम्रा सरकारी विद्यालयहरू पनि ओझेल परेका छन् । तपाईं–हामी स्वयंले महँगा र विदेशी आबद्धता भएका विद्यालय नै खोज्छौँ
डे–केयरको नाममा १८ महिनादेखिका अबोध बालबालिकालाई मन्टेसरीमा भर्ना गरिन्छ । विभिन्न व्यस्तताका कारण अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई उचित समय दिन सकेका छैनन् । यसले गर्दा खेल्ने–कुद्ने उमेरमा कापी–कलम र आफूभन्दा भारी झोला भिराएर तिनलाई भरिया बनाइन्छ ।
कलम समात्न नजानेका बालबालिकाहरूका अभिभावकलाई पढाइ, शैक्षिक भम्रण र परीक्षाको नाममा लुट्न सुरु हुन्छ । हरेक वर्ष चैत–वैशाखमा ठूलो चाडझैँ विद्यालयहरूले भए/नभएका विशेषताहरू औँल्याउँदै लाखौँ खर्चेर विभिन्न निकायबाट विज्ञापन गरिरहेका हुन्छन् । सरकारले शिक्षा नीति तथा ऐन बनाई विद्यालय वर्गीकरण गरी शुल्क निर्धारण गरे पनि सोअनुरूप चल्न सकेको छैन । कक्षा १२ सम्म नि:शुल्क हुनुपर्ने शिक्षाको मूल्य लाखौँ तोकिन्छ । झन् त्यसपछिको पढाइमा हुने लगानीको त के कुरा !
राम्रा भनिएका स्कुलहरूले कक्षा १ मा भर्ना शुल्क १–२ लाखभन्दा बढी तोक्नुका साथै मासिक शुल्क २८–३० हजारभन्दा बढी लिएको पाइन्छ । यसले गर्दा ‘राम्रो’ शिक्षालाई साधारण जनताको पहुँचभन्दा धेरै टाढा पुर्याउन खोजिएको हो कि भन्ने शंका हुन्छ ।
नि:शुल्क शिक्षा, गुणस्तरीय स्वास्थ्य र योग्यताअनुसारको रोजगारी त जनताको अधिकार हुनुपर्ने हो । त्यस्तो अधिकार सबैले पाउनुपर्छ । समाज सेवाको रूपमा हुनुपर्ने विद्या आर्जनलाई पैसाले तुलना गरेपछि के गुणस्तरीय शिक्षा सम्भव छ ?
पुस्तकहरूको पृष्ठ र मूल्य बढाउने उद्देश्यले अनावश्यक कुराले भरिएको पाठ्यक्रम मात्र छ । जन्मँदै मोबाइल फोन लिएर जन्मेकालाई ६–८ घन्टा कक्षामा राखेर गुरुहरू सधैँ सही छन् भन्ने सिकाइन्छ अनि अनुशासनको नाममा डर देखाइन्छ । विद्यार्थीलाई भविष्यका कर्णधार भनिन्छ तर तिनीहरू पाठ्यक्रम र प्रविधिकै भरमा परे भने भविष्यका कर्णधार बन्न निकै गाह्रो छ ।
इतिहासका विषयहरू इतिहासमै पढ्नु उचित हुन्छ, अन्य विषयमा पढाएर विद्यार्थीलाई भविष्यका लागि तयार पार्न सकिन्न । अटोमेटिक गाडीको जमानामा हामी विद्यार्थीलाई म्यानुअल गाडी कुदाउन सिकाउँदै छौँ, कम्प्युटरको जमानामा हामी अझै पनि टाइपराइटरमै अल्झिरहेछौँ । किनकि हामीले पनि त्यहीँ सिकेका थियौँ र नयाँ कुरा सिकेर परिवर्तन हुन चाहँदैनौँ ।
हामी परिवर्तनका विरोधी हौँ । त्यसैले त यो आधुनिक युगमा पनि दूरशिक्षा (अनलाइन शिक्षा) को विरोध गर्नेहरू पर्याप्त मात्रामा भेटिन्छन् । आजको आवश्यकता भनेको दैनिक उपयोग हुने व्यावहारिक शिक्षा हो र त्यो पनि आधुनिक र नवीन माध्यमबाट ।
पैसाले शिक्षाको गुणस्तरीयता तोकिने भएकाले नै राम्रा सरकारी विद्यालयहरू पनि ओझेल परेका छन् । तपाईं–हामी स्वयंले महँगा र विदेशी आबद्धता भएका विद्यालय नै खोज्छौँ । कक्षा १ मा आफ्ना बालबालिकालाई भर्ना गर्न सस्तोमा गुणस्तरीय शिक्षा दिने सेन्ट जेभियर्स र सेन्टमेरिज धेरैको पहिलो प्राथमिकतामा पर्छ र त्यसपछि सीधै रातो बंगला, जेम्स र युलेन्सजस्ता महँगा पाठशालाहरू छनोटमा पर्छन् ।
हैसियतभन्दा माथि नै रहेर हरेक अभिभावकले आफ्ना बालबालिकालाई उच्चस्तरीय शिक्षा दिन चाहन्छन् । तर दुर्भाग्य नै भन्नुपर्छ, शिक्षाको गुणस्तरीयता नाप्ने मापदण्ड भनेको शुल्क भएको छ । केही समयअघि सरकारी निकायले दस वर्षभित्र निजी विद्यालय बन्द गर्छु भन्नु र बजेटमार्फत निजी विद्यालयले सरकारी विद्यालय जिम्मा लिनुपर्छ भन्ने आशय व्यक्त गर्नु भनेको जुनसुकै अवस्थामा निजी विद्यालय विस्थापित गर्छु भन्नु हो । यस्तो अभिव्यक्ति दिनुभन्दा त तत्काल सरकारी विद्यालयको स्तरोन्नति गर्नु राम्रो हुन्छ ।
बानेश्वरस्थित रत्नराज्य स्कुलमा भर्ना नपाएर निजी विद्यालयमा भर्ना हुन गएका उदाहरण पनि सुन्न र देख्नमा आएको छ ।
हामी अभिभावक यति लापर्वाह छाँै कि बच्चाहरू के चाहन्छन् र सोच्छन्, त्यस विषयमा अनभिज्ञ छौँ । हाम्रा बच्चाहरूलाई त्यही किताबी घेराभन्दा बाहिर सोच्न दिँदैनौँ । सधैँ प्रथम हुनुपर्छ र त्यसमा पनि उत्कृष्ट अंक ल्याउनुपर्छ भन्ने मान्यतामा बसेका हुन्छौँ । पढे डाक्टर–इन्जिनियर, नपढे खलासी–ड्राइभर । नाचेर के हुन्छ ? खेलकुदमा लागेर केही हुनेवाला छैन, नाचगानमा लागेर केही हुँदैन भन्दै विद्यार्थीको वर्गीकरण कक्षाको रिजल्ट हेरेर गरिन्छ, प्रतिभाको कुनै महत्त्व हुँदैन, किताबी किरो सदैव प्रिय हुन्छ ।
अतिरिक्त पाठ्यक्रमका गतिविधिहरूलाई खासै महत्त्व दिन सकेका छैनन् । एसइईको रिजल्ट राम्रो आए विज्ञान, ठीक्कै आए कमर्स र औसतभन्दा मुनि भए मानविकी पढ्नुपर्छ भन्ने मान्यताबाट कतिपय अभिभावक बाहिर निष्कन अझै पनि सकेका छैनन् ।
कुनै विषयमा कम नम्बर आयो भने हामी त्यसमा त्यो विद्यार्थी कमजोर छ भन्ने मान्यता राख्छौँ । अझ कतिले त विद्यालय र मास्टरलाई पढाउन जानेका छैनन् भनेर दोषी ठहर्याउँछन् । यस झुटलाई धेरै पटक दोहोर्याउँछौँ कि त्यस विद्यार्थीलाई मानसिक दबाब पर्छ । यथार्थमा नै उसलाई आफूले कहिल्यै राम्रो गर्न सक्दिनँ भन्ने भम्र पर्न जान्छ । बोर्डिङका विद्यार्थीलाई नेपाली गाह्रो र सरकारी विद्यालयकालाई अंग्रेजी गाह्रो हुन्छ भनी प्रोग्राम गरिएको हुन्छ, हिसाबमा कमजोर हुने अभिभावकले सधैँ हिसाब गाह्रो विषय हो भन्छन् । त्यस कारण मोबाइलमा कुनै एक कम्पनीको सिम हालेझैँ विद्यार्थीलाई यो विषय गाह्रो हो भनी प्रोग्राम गरिएको हुन्छ । यसले गर्दा कतिपय विद्यार्थीले उक्त विषय पढ्नै छाड्छन् अनि स्वत: गाह्रो हुन्छ भने बाँकीले अधिक समय त्यही विषयमा बिताउँछन् र अन्तमा अन्य विषय गाह्रो हुँदै जान्छ ।
सबैको मानसिक र शारीरिक योग्यता एकै नासे हुँदैन, भिन्नता अवश्य हुन्छ । तर हाम्रो शिक्षा पद्धतिमा विभिन्न मानसिक र शारीरिक सक्षमता भएकालाई एउटै टोकरीमा राखेर ग्रेडिङ प्रणालीमार्फत एकअर्कासँग तुलना गरिन्छ । यो भनेको गाडी र साइकललाई एउटै पसलमा राखेर गाडी महँगो भयो भनी तुलना गरेझैँ हो ।
तिनको क्षमता र प्रयोग नै फरक छ, कसरी मूल्यको आधारमा तुलना गर्न सकिन्छ ? सबैको क्षमता समान हुने भए सबै देवकोटा र भानुभक्त हुने थिए । तर त्यसो भएन, उनीहरू कारणवश विशेष भए । त्यसैले त अल्बर्ट आइनस्टाइनले कुनै बेला भनेका थिए, ‘सबै जना प्रतिभाशाली हुन्छन् । तर यदि माछालाई रुख चढ्ने क्षमताको आधारमा मूल्यांकन गरियो भने त्यो माछा सधैँ आफू अक्षम भएको महसुस गर्दछ ।’
यथार्थमा हेर्ने हो भने नेपालको शिक्षा पद्धतिले यस भनाइलाई पुष्टि गरेको छ । हाम्रो शिक्षाले मानिस होइन, मानिसलाई मेसिन बनाउन खोजेको देखिन्छ ।
उचित शिक्षा दिने हो भने कुनै विद्यार्थीलाई शिक्षालयको कोठाभन्दा बाहिर सोच्ने र किताबमा लेखिएका कुराहरूलाई विभिन्न कोणबाट विश्लेषण गर्ने मौका दिनैपर्छ । अंग्रेजीमा ‘थिङ्किङ बियोन्ड द बक्स’ भनेझैँ विद्यार्थीलाई गम्भीरतापूर्वक र स्वतन्त्र रूपले उसको रचानात्मक एवं नवीन सोचको आधारमा मूल्यांकन गरिनुपर्छ । प्रोग्राम गरेझैँ किताब घोकाएर परीक्षाका लागि मात्र तयार पारेर पुग्दैन, तिनलाई समाजमा बिक्ने अनि सक्षम नागरिक बनाउनुपर्छ । परीक्षाको रिजल्टले मात्र सफल बनाउँदैन, सक्षम भए सफल स्वत: भइन्छ । त्यसपछि सबै अब्बल विद्यार्थी हुनेछन् ।
जीवन जिउने विषसमा सबैको ए ग्रेड आउनेछ । आइन्स्टाइन र ग्यालिलियो पनि कक्षाको शिक्षाभित्र सीमित भएका भए, आज यिनलाई हामी बारम्बार सम्भँmदैन थियौँ होला । परीक्षाफलमा ए ग्रेडभन्दा ए ग्रेडको जिन्दगी बाँच्न सिकाउनु अति आवश्यक छ ।
हामीले हरेक विद्यार्थीको क्षमता, योग्यता र सपनाको कदर गर्ने गरी पाठ्यक्रम र मूल्यांकन प्रक्रिया तयार गर्नुपर्छ ।
ललितकला क्याम्पस हरेक शैक्षिक स्तरमा हुनुपर्छ र संगीत, नृत्य र खेलकुदमा प्राप्त गरेका डिग्रीले पनि अन्य डिग्रीसरहको स्थान समाजमा पाउनुपर्छ । डाक्टर, इन्जिनियर र वकिलहरू धेरै भइसके । इच्छाअनुसारको शिक्षामा जोड दिन सक्नुपर्छ अनि मात्र भविष्यका कर्णधार निर्माण हुन्छन् । हाम्रा भविष्यका कर्णधारहरूको सपना नै आगामी पुस्ताको समृद्ध संसार हो । स्वतन्त्रता र प्रजातन्त्रको सपना हाम्रा पुर्खाले नदेखेका भए नेपालमा आज पनि राणाहरूले नै राज गरिरहेका हुन्थे होला । राइटब्रदसले हवाईजहाजको परिकल्पना नगरेको भए हामी कहाँ हुन्थ्यौँ होला । विद्यार्थीको सोच र सपना समान हुँदैन । सपना भनेको त चराझैँ स्वतन्त्र आकाशमा उड्न दिनुपर्छ । यसलाई कुनै पनि हालतमा कैद गरेर राख्नु हुँदैन । कुनै पनि विषय राम्रो/नराम्रो हुँदैन । कुनै पेसा सानोठूलो हुँदैन, हेर्ने आँखाको धोका मात्र हो । चाहे त्यो खेलकुदमा होस् या नृत्य– भविष्यका कर्णाधारहरूको सपना मार्ने हामी अपराधी हौँ । हामी अभिभावक हत्यारा हौँ र सजाय भोग्न तयार हुनुपर्छ ।
अब सरकारले विभिन्न विशेषताअनुसारको विद्यालय सञ्चालनमा ल्याउन सक्नुपर्छ । हामी अभिभावकले आफ्ना बालबालिकाको रुचि एवं विशेषता पहिचान गरी उनीहरूले खोजेको सहयोग, प्रोत्साहन र हौसला दिनुपर्छ । शिक्षामा सरकारले लगानी बढाएर मात्र हुँदैन, त्यसको उचित सदुपयोग हुनुपर्छ र बढेअनुसारको प्रतिफल पनि देखिनुपर्छ । प्रतिफल एसईईको नतिजाले भन्दा पनि ती विद्यार्थीहरूले समाजमा के दिए भनेर हेर्नुपर्छ । यो सरकारको लगानी हो, लगानीको उचित प्रतिफल आउनुपर्छ, नभए लगानी घाटामा जान्छ । एसईईको नतिजाले मात्र लगानीको प्रतिफल दिँदैन ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...