युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता एवं शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ
![युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७] युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/default/alternative-politics.jpg&w=900&height=601)
र
नेपाल म्यागजिनले सुरु गरेको युवा नेतृत्व : नेपाल बहसमा दोभान राईको हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? सवालपछि युवाको क्षेत्रमा एक किसिमको बहस चलेको छ । कोरोना महामारी र लामो समयको लकडाउनपछि स्वदेश फर्कने युवाहरूको संख्या पनि बढ्दै छ भने तिनको आक्रोश सडकमा देखिन थालेको छ । यसले नेपालको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्थामा फेरि एक पटक परिवर्तनको संकेत गरेको छ ।
युवा नेतृत्वको विषय राजनीतिक पार्टीहरूमा उनीहरूको सहभागिता र नेतृत्व कस्तो छ, त्यसमा निर्भर गर्दछ । विश्व इतिहासलाई हेर्ने हो भने युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कटमूलकी म्हाहारी ब्लयाक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् । न्युजिल्यान्डबाट लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमै पार्टी प्रमुख हुँदै २०१७ अगस्तमा न्युजिल्यान्डको तेस्रो महिला तथा उक्त देशको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री हुन सफल भइन् । त्यस्तै, फ्रान्समा ३९ वर्षका युवा नेता इम्यानुएल म्याक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति भए ।
क्यानडाका जस्टिन टुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने । उनी अहिले दोस्रो कार्यकाल सम्हालिरहेका छन् । उनी अहिले संसारभर मानव अधिकार र सामाजिक सुरक्षाका विषयमा विश्वव्यापी चर्चामा छन् भने युवा नेतृत्व र लोककल्याणकारी राज्यको गतिलो उदाहरण दिएका छन् । फिनल्यान्डमा सनाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् भने आफ्नो क्याबिनेटमा ३५ वर्षमुनिका पाँच जना मन्त्री पनि नियुक्त गरिन् । उनको टिमले निकै प्रभावकारी रूपमा काम गरिरहेको छ । बेल्जियममा पनि ४२ वर्षका चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरेका छन् ।
विश्वको सबभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अस्ट्रियाका चान्सलर ३१ वर्षका छन् । विश्व राजनीतिमा रकस्टार युवा नेता जस्टिन, चार्ली, इमानुअल, ज्यासिन्डा र सनानाजस्ता युवा नेताको खाँचो छ ।
विकास र समृद्धिका लागि युवा जनसंख्या महत्त्वपूर्ण मानिन्छ । अहिले नेपालमा युवा जनसंख्या लाभांशको समयमा छ । यो देशका लागि निकै राम्रो अवसर हो । तर विडम्बना, नेपाली युवा विदेशी भूमिमा श्रम र पसिना खर्चिरहेका छन् ।
जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ, त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ । क्यानडा, नर्वे, फिनल्यान्ड, डेनमार्क, न्युजिल्यान्डलगायतका देश युवाहरूलाई विकासका गतिविधिमा सहभागी गराई समृद्धिमा पुगेका हुन् ।
राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवापंक्ति छैन । युवा नेताहरू पनि बूढा नेतापछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन्
नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर सम्हालेका थिए भने कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए । वर्तमान पार्टी सभापति सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । उनी चार पटक देशको प्रधानमन्त्री भएर पनि अझै कार्यकारी हुने दाउमा छन् भने पार्टी नेतृत्व छाड्ने मनस्थितिमा समेत छैनन् । ७० वर्षसम्म पनि नेतृत्वमै रहने हो भने युवाले कहिले अवसर पाउला ? कांग्रेस पार्टीमा दोस्रो पुस्ताका नेतासमेत ६० वर्षको हाराहारीमा छन् । तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्वको हालत पनि त्यस्तै छ ।
नेपालको सबभन्दा ठूलो पार्टी नेकपाले ७० वर्ष कटेपछि पार्टीको कार्यकारी पदमा चुनाव लड्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्ने संकेत गर्दैन । जबकि जबजका जन्मदाता मदन भण्डारी ३८ वर्षको उमेरमै पार्टी महासचिव बनेका थिए भने माधवकुमार नेपाल ४० वर्षमा पार्टी महासचिव भइसकेका थिए । नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीसमेत युवा उमेरमै पार्टीको महत्त्वपूर्ण पदमा पुगिसकेका थिए । दस वर्षे जनयुद्ध गरी राष्ट्रिय राजनीतिको मूलधारमा आएका प्रचण्ड ३५ वर्षमा पार्टीको सर्वोच्च नेता भइसकेका थिए । यद्यपि नेकपा पार्टीको स्थायी समिति र सचिवालयमा अहिले कुनै युवा छैनन् ।
राप्रपा र मधेसवादी दलहरूमा पनि युवाहरूलाई प्राथमिकता दिएको देखिँदैन । वैकल्पिक राजनीतिक धारको नेतृत्व दाबी गर्ने विवेकशील र साझा पार्टीमा युवा सहभागिता एवं नेतृत्व दुवै छ तर यिनीहरू मूलधारको राजनीतिमा आउन सकेनन् । प्रत्यक्ष चुनावमा जित त हात पारेनन्, धरौटीसमेत बचाउन सकेनन् । क्रान्तिकारी धारको नेतृत्व गर्ने विप्लव नेतृत्व अझै मूलधारको राजनीतिमा आउन सकेको छैन ।
इतिहासदेखि वर्तमान कालखण्डमा नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता र शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ । बादलमा चाँदीको घेरा भनेजस्तै केही आशाका संकेत पनि छन् । करिब दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा युवा सहभागिता र नेतृत्व दुवै हिसाबले राजनीतिमा युवा सहभागितालाई अर्थपूर्ण रूपमा लिन सकिन्छ । स्थानीय तहमा निर्वाचित २१ देखि ४० वर्षसम्मका युवाहरूको तथ्यांकलाई नियाल्दा स्थानीय तहको कुल पद संख्या ३५ हजार ४१ मध्ये १३ हजार ७ सय जना अर्थात् ३९.०९ प्रतिशत युवा निर्वाचित भई स्थानीय तहको नेतृत्वमा पुग्न सफल भएका छन् । यस तथ्यबाट राजनीतिमा युवा सहभागिता बढ्दै गएको र नेतृत्व विकासको क्रम सुरु भएको देखिन्छ ।
हामीकहाँ राजनीतिमा युवा सहभागिता बहसहरू परम्परागत छन् । राजनीतिक दलले युवालाई नेतृत्व प्रदान गर्नेभन्दा मतदाता र कार्यकर्ताका रूपमा थप भूमिका केन्द्रित गर्न चाहन्छन्
संघीय व्यवस्थापिकाअन्तर्गत प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० गरी कुल २ सय ७५ मध्ये प्रतिनिधिसभामा ३६ जना अर्थात् १३.०९ प्रतिशत युवा निर्वाचित भए भने प्रदेशसभाअन्तर्गत प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० जना गरी कुल ५ सय ५० जनामध्ये १ सय ३० जना अर्थात् २३.६३ प्रतिशत युवा निर्वाचित भए । त्यसैगरी राष्ट्रिय सभामा जम्मा ४ जना अर्थात् ६.७७ प्रतिशत निर्वाचित भए । यसरी हेर्दा स्थानीय तहमा भएको युवा सहभागिता प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभामा घट्दो क्रममा रहेको पाइन्छ ।
राजनीतिमा युवा सहभागिता र नेतृत्व फरक कुरा हो । अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएको युवा जमात निकै कम छ । देशमा नायक होइन, कार्यकर्ता मात्र जन्मिए । राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवा पंक्ति छैन । युवा नेताहरू पनि बूढा नेतापछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन् । राजनीतिमा रचनात्मक बहस शून्यप्राय: छ । राजनीतिमा एक किसिमको सिन्डिकेट हावी छ । क्षमताभन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाँडिन्छ । पछिल्लो चरणमा त राजनीति व्यापारीहरूको हातमा पुगेको छ, टिकट किनबेचका लागि । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएको व्यक्ति भेट्न गाह्रो छ । पढेलेखेका युवा जमात राजनीतिदेखि विस्तारै टाढा हुँदै गएका छन् ।
हामीकहाँ तीन किसिमको युवा जमात छ । एक– यो किसिमको युवा, जो दैनिक गुजारा र परिवारको भरणपोषणकै लागि काममा व्यस्त छ । दोस्रो– मध्यमार्गी युवा, जो कोही अवसरको खोजीमा विदेसिएका छन् त कोही देशमै सम्भावनाको खोजी गर्दै छन् । तेस्रो– उच्च वर्गीय केही युवा, कि ठूला बिजनेसमा सहभागी छन् कि विदेश पलायन भएका छन् । आफ्नो वर्तमान र भविष्य दुवै संकटमा देखेर पलायन हुने युवाबाट के आश गर्न सकिएला ? नेपाल बनाउने नेपालीले नै हो । कोही अमेरिका र युरोपबाट आएर बनाइदिने होइन । हाम्रो सोचाइ र व्यवहार परिर्वतन नभएसम्म राजनीति परिर्वतन हुने कोरा कल्पना मात्र हुनेछ । राजनीतिक दलमा सहभागी युवाहरूले पनि वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्न सकेका छैनन् । युवाहरूले विकल्प प्रस्तुत गर्न नसक्दा हजुरबुबा उमेरका नेताबाट शासित हुनु पेरको छ । त्यसैले अब एक पटक सबै राजनीतिक पार्टीमा रहेका एवं स्वतन्त्र युवाहरू मिलेर वैकल्पिक नयाँ राजनीतिक धारको नेतृत्व गर्ने बेला आएको छ । नेतृत्वको खडेरी परेका बेला युवाहरू विकल्पसहित प्रस्तुत हुन अब ढिला गर्नु हुँदैन । नेपालको राजनीतिक प्रणालीमा ‘एक व्यक्ति एक पद, एक पटक’ अवधारणा लागू गर्न सके मात्र युवा नेतृत्वले अवसर पाउँछ ।
राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ । विकासका विभिन्न मुद्दामा युवाहरूको विशेष प्रभाव र भूमिका रहन्छ । साथै, युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न सक्छन् । युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । विश्वभरि युवा परिचालन एक पक्ष महत्त्वपूर्ण छ, सरकारलाई सही दिशा निर्देश दिन तथा लोकतन्त्रको संस्थागत विकास गर्न । हामीकहाँ राजनीतिमा युवा सहभागिता बहसहरू परम्परागत छन् । राजनीतिक दलले युवालाई नेतृत्व प्रदान गर्नेभन्दा मतदाता र कार्यकर्ताका रूपमा थप भूमिका केन्द्रित गर्न चाहन्छन् ।
लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास गर्नु जरुरी छ । सहभागितात्मक निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता, जवाफदेहिता, नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधारस्तम्भ हुन् । विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता नागरिकका आधारभूक्त आवश्यकतामा राज्यलाई जिम्मेवार युवाहरूले दबाब दिनैपर्छ । समाजका सबै वर्ग, क्षेत्रका नागरिकलाई राज्यका हरेक तहमा समान सहभागिता सुनिश्चित गर्दै स्रोत–साधनको समुचित वितरण गर्न सके न्यायपूर्ण समाजको निर्माण हुन्छ । मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आजको आवश्यकता हो ।
युवाहरूको सहभागिताले राजनीतिलाई सही दिशा निर्देशन गर्न टेवा पुर्याउँछ । युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् भन्ने हेक्का राख्नुपर्छ । राजनीतिक दलले युवाहरूलाई परिचालन मात्र होइन, तिनलाई उचित अवसर र जिम्मेवारीसमेत दिनुपर्दछ । जनसंख्याको आधारमा राज्यका हरेक तहमा युवाहरूको प्रतिनिधित्व र पहुँच सुनिश्चितताका लागि खबरदारी आवश्यक छ । हाम्रो मान्छेभन्दा पनि राम्रो मान्छेले अवसर पाउने व्यवस्था मिलाउनुपर्छ । नेतृत्व राम्रो भए मात्र नीति राम्रो बन्छ र कार्यान्वयन पनि सहज हुन्छ । राजनीतिलाई सही दिशा निर्देश गर्न दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्दछ । नेपालमा नीतिको भन्दा नेतृत्वको समस्या छ, नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देश विकास हुन सकेन ।
मधेसी, पहाडी, दलित जनजाति आदिको नाममा युवाहरूलाई विभाजन मात्र गरियो । विविधतामा एकता भनेजस्तै भूगोलको विविधताले जोडेको हाम्रो देशलाई भावनात्मक एकताले जोड्न सकेन । युवालाई विभिन्न वाद र विचारमा विभक्त गरी नेताहरूले आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गरिरहे । हामी युवा पनि परिचालित भइरह्यौँ । आन्दोलन गर्यौँ र त्यसको प्रतिफल कहिल्यै पाएनौँ । देशमा गणतन्त्र आयो, शासन व्यवस्था परिवर्तन त भयो तर नागरिकको जीवनस्तरमा परिवर्तन आएन । नेताहरूको जीवनशैलीमा परिवर्तन आयो, आलिशान घर/बंगला भए तर युवाहरू आफ्नो जीविकाकै लागि विदेसिनुपर्यो । दलित अझै अछूत हुनुपर्ने, मधेसी हेपिनुपर्ने, महिला बलात्कृत हुनुपर्ने, शक्तिमा हुनेहरूले सधैँ रजाइँ गर्ने स्थिति भयो । आम सर्वसाधारण नागरिकले राज्यको अनुभूति गर्नै सकेनन् । त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व लिनैपर्छ ।
युवा नेतृत्त्व नेपाल बहस श्रृंखला
- हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? [युवा नेतृत्व : बहस- १]
- के युवा पुस्तासँग भोलिको ‘परिकल्पना’ छ ? [युवा नेतृत्व : बहस- २]
- यति धेरै नेता छन्, तर नेतृत्वको संकट छ [युवा नेतृत्व : बहस- ३]
- युवा आन्दोलनका एजेन्डा र मुद्दाहरू [युवा नेतृत्व : बहस- ४]
- राजनीति, युवा नेतृत्व र युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ५]
- नेतृत्वको विचार निर्माण [युवा नेतृत्व : नेपाल बहस- ६]