नेतृत्वको विचार निर्माण [युवा नेतृत्व : नेपाल बहस- ६]
मै सर्वज्ञ, मेरै बोली अकाट्य भन्ने घातक अहंकारको विकास नेतृत्व वर्गमा भयो, जुन आजसम्म कायमै छ । यो मानसिकता विभिन्न पार्टीका डोरी समाएर बसेका युवापंक्तिमा पनि सहजै सर्दै गएको छ
साठीको दशकमा जसरी हरेक राजनीतिक गफमा संविधानबारे कुरा हुन्थ्यो, सत्तरीको दशकमा युवाले नेतृत्व नगरी केही हुने भएन भन्ने विचारबिना देश विकासका कुराकानी अधुरो रहने गरेको छ । तत्काल युवा वर्ग जागरुक भएर नेतृत्व उनीहरूको हातमा आउने सम्भावना देखेरै यो विचार आएको हो त ?
यथार्थमा आजै युवा पुस्ता उच्च राजनीतिक नेतृत्वमा पुग्न सक्ला भन्ने आशा कसैको छैन । जगजाहेर छ, यही परिपाटीमार्फत निकट भविष्यमै ३५/४० वर्षका व्यक्तिले अथवा वर्गले नेतृत्व लिएर राज्यस्तरमै निर्णयको अधिकार पाउने वातावरण छैन । न त विभिन्न दलमा रहेका वर्तमान नेतृत्वले आफ्नो आयुले साथ दिउन्जेल राजनीतिबाट अवकाश लिने देखिन्छ । यो निर्मम वास्तविकता बुझ्दाबुझ्दै पनि म र मेरो पुस्ताले गन्तव्यको सकारात्मक खोजी किन जारी राख्ने त ?
म अहिले २२ वर्षको भएँ । गोरखामा जन्मेर हुर्किंदै गर्दा जनयुद्धलाई नजिकबाट नियाल्ने मौका मिल्यो । घरमा राती बास लिन आउने विद्रोहीका कुरा सुन्दै र कृष्णभीर आसपासमा बम–बारुदका गन्ध सुँघ्दै मेरो बाल्यकाल सुरु भएको थियो । पछि ०६४ मा गण्डकी बोर्डिङमा छात्रवृत्ति पढ्ने अवसर पाएर म पोखरा छिरेँ । देश पनि युद्धको औपचारिक अन्त्यसँगै गणतन्त्र संस्थागत गर्ने चरणमा प्रवेश गर्यो ।
संविधान निर्माणले पूर्णता पाउन नसक्दा साठीको दशक अन्योलमा बित्यो । लामो संक्रमणकालपछि ०७२ मा नयाँ संविधान जारी भयो । त्यसबेला एसएलसी सकेर अध्ययनका लागि म बेलायत पुगेको थिएँ । लगत्तै, भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनका कारण फेरि केही राजनीतिक उथलपुथल भयो । सबै समस्याको हल नभए पनि संघीयता संस्थागत गर्ने उद्देश्यका ०७४ मा देशभर चुनाव भयो । स्पष्ट बहुमतसहित नेपाल कम्युनिस्ट पार्टी संसद्को सबभन्दा ठूलो दल बन्यो । तबसम्म म पढाइलाई निरन्तरता दिँदै अमेरिका पुगिसकेको थिएँ ।
केपी ओलीको नेतृत्वमा दुई तिहाइ बहुमतको ५ वर्षे कार्यकाल बोकेको सरकार बन्यो । सर्वशक्तिमान भनिएको उक्त सरकारले आफ्नो आधा कार्यकाल पूरा गरिसकेको छ । देशमा समृद्धि आइसकेको घोषणा भएको छ । म थप अध्ययनका लागि अक्स्फोर्ड विश्वविद्यालय जाने क्रममा छु ।
१० वर्षे युद्ध र राजतन्त्रको अन्त्यसँगै देशले गत १५ वर्षमा मूलत: शान्तिको बाटोमा आफूलाई अग्रसर गरायो ।
त्यही समय मैले पनि अवसरको टेको टेक्दै गोरखाको गाउँबाट विश्वकै प्रतिष्ठित शैक्षिक संस्थानसम्म यात्रा गर्ने मौका पाएँ । तर सबैको कथा यस्तै सुखद रहेन ।
म र सहपाठी विश्व समुदायसँग अन्तर्क्रिया बढाउँदै उच्च शिक्षाको दौरानमा रहँदा मेरै पुस्ताका लाखौँ अरू आफ्नो रोजीरोटीका लागि खाडी पुग्न विवश भए । देशभित्रै अनेक समस्याका बाबजुद केही गर्न सकिन्छ भनेर प्रयत्नरत ठूलो जमात त छँदै छ ।
हिजो र आजमा समाज एवं राजनीतिक परिवेश परिवर्तन हुँदै जाँदा पनि नेतृत्व निर्माणको प्रक्रिया उस्तै भयो भने युवा नेतृत्वमा आश गर्नु व्यर्थ हुनेछ
म र मजस्तै विशेषाधिकार प्राप्त युवालाई देशमै आफ्नो डिग्रीको भाउ हुने मेसो मिलोस् भन्ने चाहना होला । पेट पाल्न वैदेशिक रोजगारमा जानेहरूलाई हातमुख जोर्नैका लागि परदेश जानुपर्ने अवस्था नआओस् भन्ने होला । जातीय र क्षेत्रीय असमानताको चेपमा परेका युवाको आफ्नो अस्तित्व र पहिचान अर्कोको भन्दा कम नहोस् भन्ने होला । अनि, कम्मर कसेर आवाज उठाउँदा समाजले आँखा तर्ने महिला साथीहरूको आफ्नो क्षमताले गरिखान पाइयोस् भन्ने इच्छा होला । यी तमाम युवा वर्गका समस्या बुझ्दै, सहनशील भएर विविध पहिचानलाई पक्षपोषण गर्दै एकीकृत समाज निर्माण गर्न तत्पर नेतृत्वको खोजी जायज छ त ?
हाम्रो बहुलवादी समाजको बहुआयामिक अपेक्षालाई मूर्त रूप दिन सक्ने नेतृत्व विगतमा पनि त आश गरेकै हो नि । तर हामीले सधैँ व्यवस्था, नीति र विचारमा भन्दा व्यक्तिको क्षमतामा सपना बुन्दै बस्यौँ । गणतन्त्र आउनेबित्तिकै प्रचण्ड र बाबुरामले नेतृत्व लिएर नेपाललाई स्वीट्जरल्यान्ड बनाइदिने कल्प बोक्यौँ, त्यो हुन सकेन । पछि बाबुरामले नयाँ शक्ति पार्टी खोले । अबचाहिँ साँच्चै नयाँ नेपाल बन्ने भयो भन्ठान्यौँ । अहिले उनैलाई तथानाम भन्ने हामीमाझ नै छौँ ।
साझा र विवेकशीलजस्ता वैकल्पिक शक्तिले अब नयाँ राजनीतिक विकास ल्याउँछन् भन्यौँ । अनि, फेरि उनीहरूले अपेक्षित भोट ल्याउन नसक्दा अब आश छैन भन्ने टिप्पणी गर्यौँ । गगन थापा, रवीन्द्र अधिकारी, योगेश भट्टराईजस्ता युवा नेताहरूबाट ठूलो अपेक्षा राखियो । उनीहरू पदमा पुग्दासम्म केही लछारपाटो लगाएनन् भन्दै अधिकतम गाली गर्ने हामी नै भयौँ । अझ ठूलो सपना बोकेर केपी ओली आए, घरघरमा ग्यासको पाइप पुर्याउनेदेखि पानीजहाजसम्मका गफ लिएर । आज उनकै नेतृत्वमा बनेको शक्तिशाली सरकारको एकपछि अर्को अकर्मण्यबाट हामी भुक्तभोगी भएका छौँ ।
यसरी नेतृत्व व्यवस्था र प्रक्रियामा भन्दा व्यक्ति र गन्तव्यमा खोजिरह्यौँ । अनि, जब हामीले आश गरेका व्यक्तिहरूका आ–आफ्ना सीमा र बाध्यता उजागर हुँदै गए, तब हाम्रा सपना पनि सती गए ।
बारीमा २–४ वटा उन्नत मकैको बोट हेरेर तिनले राम्रो घोगा देलान् भन्ने आशा गर्नुभन्दा बारीलाई नै उर्बर बनाएर त्यहाँ फल्ने सबै मकै राम्रो बनाउनु बुद्धिमानी हुन्छ । यस अर्थमा युवा नेतृत्व कस्तो भन्ने बहस गर्दै गर्दा २–४ जना नेता ३५–४० वर्षकै उमेरमा क्याबिनेटमा पुग्लान् र कायापलट आउला भन्ने संकुचित दायरामा नसोचौँ । बरु, नयाँ पुस्तामा विचार निर्माण कसरी हुँदै छ, नेतृत्वको तयारी कसरी सार्थक होला भन्ने बृहत् पृष्ठभूमिमा रहेर मन्थन गरौँ । असल नेता निर्माण गर्ने वातावरण तयार भयो भने कस्तो नेता आउला भन्ने चिन्ता हुँदैन र राम्रामध्येका राम्रा छान्ने अप्सन हुन्छ ।
वर्तमान अवस्थामा युवा वर्गको विचार निर्माण र नेतृत्व शैली तयारीका तीन प्रमुख द्वार छन् ।
दुई–चार युवा नेता ३५–४० वर्षकै उमेरमा क्याबिनेटमा पुग्लान् र कायापलट आउला भन्ने संकुचित दायरामा नसोचौँ । बरु, नयाँ पुस्तामा विचार निर्माण कसरी हुँदै छ, नेतृत्वको तयारी कसरी सार्थक होला भन्ने बृहत् पृष्ठभूमिमा रहेर मन्थन गरौँ
पहिलो– सांस्कृतिक बपौती (कल्चरल इन्हेरिटेन्स) । सरल शब्दमा, संस्कार र चिन्तनको पुस्तान्तरण । युवाको विचार निर्माण उसको पारिवारिक भोगाइ र सामाजिक अन्तक्र्रियाबाट सुरु हुन्छ ।
पितृसत्तात्मक सोचमा सदियौँदेखि चलिराखेको हाम्रो समाजबाट स्वाभाविक रूपमा नयाँ पुस्ताले पनि त्यही सोच ग्रहण गरेको छ । त्यसैले त अझै पनि कसैको परिवारमा आमाको कपडा बुबाले धोइदिएको देख्दा अनौठो मान्ने जमात सानो छैन । काठमाडौँ सहरमा मजत्ति आधुनिक जीवन जिउने अरू छैनन्झैँ गर्ने युवा पनि मधेस मूलको देखिने जोकोहीलाई नि:संकोच भैया र धोती भनिहाल्छ । इन्स्टामा समानता र अधिकारका अनेक पोस्ट लेख्नेहरू पनि आफ्नो परिवारलाई ‘हर्ट’ गरेर अर्को जातसँग विहे गर्न नमिल्ने तर्क दिएर बस्ने उत्तिकै छन् । अनि, नारीले देशको बागडोर सम्हाल्ने त परको कुरो, महिला विद्यार्थी कक्षा–क्याप्टेन हुँदा अचम्मित मान्ने युवा प्रशस्तै छन् । हामी युवा यति आधुनिक भयौँजस्तो लाग्छ, जब हाम्रो सोचाइ अघिल्लो पुस्ताको भन्दा धेरै भिन्न छैन ।
राजनीतिक परिप्रेक्ष्यमा हेर्ने हो भने विचारको पुस्तान्तरण झन् नाजुक छ । आज संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका प्राय: नेतृत्व वर्ग संघर्षको मैदानबाट हुर्कियो । आन्दोलन र विद्रोहको दौरानमा उच्च शिक्षा एवं दक्षता हासिल गर्नबाट वञ्चित भयो । हाम्रो मौलिक राजनीतिक घटनाक्रमले त्यस्तै नेतृत्व निर्माण गर्यो । तर जब त्यो वर्ग सत्तामा पुग्यो, तब विज्ञ र दक्षहरूको परामर्शमा नीति निर्माण गर्ने सोच पलाएन ।उल्टै मै सर्वज्ञ, मेरै बोली अकाट्य भन्ने घातक अहंकारको विकास भयो, जुन आजसम्म कायमै छ । यो मानसिकता विभिन्न पार्टीका डोरी समाएर बसेका युवापंक्तिमा पनि सहजै सर्दै गएको छ । आजसम्म पनि नेतृत्वको आकांक्षी भनिएका युवा विद्यार्थीहरूलाई लाग्छ– चर्को नारा लाएर आन्दोलन गर्नु, मोर्चाबन्दी गर्नु, सतही टिप्पणी नै किन नहोस्, आफ्नै तर्कमाथि पार्नु, उच्च तहका नेता रिझाउनु, भौतिक रूपमै अलि कडा र कठोर बन्नु । यही नै ‘ठूलो’ नेता बन्ने तरिका हो ।
देशभर व्याप्त भ्रष्टाचार र दण्डहीनताबाट युवाले त्यस्तै प्रवृत्ति सिकेका छन्– गल्ती गरेर केही नहुने रहेछ, जोगिनचाहिँ ठाउँ बनाउनुपर्छ ।
हिजो र आजमा समाज एवं राजनीतिक परिवेश परिवर्तन हुँदै जाँदा पनि नेतृत्व निर्माणको प्रक्रिया उस्तै भयो भने युवा नेतृत्वमा आश गर्नु व्यर्थ हुनेछ । विज्ञता, दक्षता र नैतिक चरित्रलाई प्राथमिकता दिने संस्कारको विकास अपरिहार्य छ ।
नेपालको सन्दर्भमा युवा वर्गको विचार निर्माणमा दोस्रो द्वार सामाजिक विप्रेषण (सोसल रेमिट्यान्स) हो । लाखौँको संख्यामा नेपालीहरू विदेशमा कार्यरत वा अध्ययनरत छन् । उनीहरूले अर्बौं रकम त देश भित्र्याउँछन् नै । तर सँगै लिएर आउँछन्– अन्य ठाउँका विचार, संस्कृति र अनुभव पनि । अप्रत्यक्ष रूपमा तिनले पठाएको विप्रेषणबाट टिभी र फोन खरिद हुन्छ, जुन नयाँ विचार प्रवाहको माध्यम बन्छ । यी दुवैलाई भूमण्डलीकरणले अझ बढावा दिएको छ ।
यसरी नेपाली युवाको विश्व समाज र नूतन विचारसँगको अन्तक्र्रिया बढेको छ । तर विश्व समुदायसँगको सामीप्यले युवाको नेपाली समाजप्रतिकै चेतमा आँच आएको त छैन ? सामाजिक सञ्जालले हाम्रै हातमा संसारभरको सूचना त ल्याइदिएको छ तर हाम्रै वरपरको विभिन्न भौगोलिक, सामाजिक, आर्थिक अवस्था बुझ्न हामी कत्तिको सक्षम छौँ ?
आधुनिक अभ्यास र विचारबाट सुसूचित हुनु आवश्यक छ तर देशको मौलिकता र नेपाली समाजको विविधताको सुझबुझबिना नेतृत्व विकासको अर्थ रहँदैन । विज्ञान र नीति निर्माणका नयाँ अभ्यासबाट हामीले शिक्षा लिँदै जानुपर्छ । तर हाम्रो विकासको पहेली हाम्रै मौलिक कमजोरी र व्यवस्थागत विशेषताभित्रबाट आएको छ भन्ने बिर्सनु हुँदैन । फेरि, नेपाली समाजलाई बुझे नै उसले अपेक्षा गरेको नेतृत्व दिन सक्ने सामथ्र्य तयार हुने हो ।
युवा नेतृत्व निर्माणको तेस्रो र महत्त्वपूर्ण उद्गम भनेको सिर्जनशील विनाश (क्रियटिभ डिस्ट्रक्सन) को प्रक्रिया हो । राजतन्त्र हटेर गणतन्त्र आएको घोषणा गर्दैमा र संविधानको नयाँ थान आउँदैमा समाज आफैँ परिवर्तन हुने होइन । वास्तवमा व्यवस्था नै परिवर्तन गर्दा पनि पुरानै ‘महाराजा’ प्रवृत्ति अंगीकार गर्ने नेतृत्वको हठ हामीले पटक–पटक भोग्दै आएका छौँ । उपनिवेशबाट मुक्त भएपछि सियरालियोन, युगान्डा, स्वाजिल्यान्ड, एंगोलालगायतका अधिकांश अफ्रिकी मुलुकहरूमा नयाँ शासकको उठबस र खानपान पुरानै सामन्ती वर्गको झैँ थियो भनिन्छ ।
यसर्थ, भोलिको नेतृत्वमा पनि हिजो र आजको नेतृत्वमा देखिएको ढोँग नदेखिएला भन्न सकिन्न । तर यस्तो सम्भावनालाई निवारण गर्ने भनेको निरन्तर सिर्जनशील आलोचना र सामयिक परिमार्जनबाटै हो । यसका लागि हामीले असहज लाग्ने कुराकानी गर्नुपर्ने हुन्छ, असामान्य लाग्ने काम सुरुआत गर्नुपर्ने हुन्छ र अझ महत्त्वपूर्ण– सुन्ने, नयाँ ज्ञान आर्जन गर्ने र आत्मालोचना गर्ने बानीको विकास गर्नुपर्ने हुन्छ । यी गुण अवलम्बन गर्दै आफ्नै विचारलाई प्रश्न गर्ने, आफूले विश्वास गरेको पार्टी र नेतृत्वमाथि औँला ठड्याउने तथा निरन्तर सामाजिक अन्तक्र्रियामार्फत नेता, नेतृत्व र राजनीतिको भाष्य परिमार्जन गर्न अग्रसर युवामा चाँदीको घेरा भेटिन्छ ।
अन्त्यमा, गत मार्चमा तमस्योमा ज्योतिर्गमय कार्यक्रममा प्रदीप गिरिले टिप्पणी गरे– आजको पुस्तासँग ज्यानै दिने गरी लागिपर्ने कुनै मुद्दै छैन । निश्चय नै, विगतको अवस्थामा झैँ भीषण क्रान्ति आजको आवश्यकता नहोला । तर उदार एवं सभ्य समाज निर्माणका बाधक जटिल समस्याहरू आज पनि विद्यमान छन् । ती समस्याको समाधान कुनै एउटा तन्नेरी नेताको सिल्भर बुलेटबाट होइन, सुसूचित नेतृत्व पंक्तिको निरन्तर कार्यकुशलताबाट मात्र सम्भव छ ।
नेपाली समाजलाई नजिकबाट बुझ्ने, विश्व समाजसँगको परस्परताबाट अनुभव सँगाल्ने र आफ्नो दक्षताको जगमा नेतृत्वको सुअभ्यास गर्न तत्पर युवाहरूको उपस्थिति नजरअन्दाज गर्न मिल्दैन । युवा वर्गको क्षमता र सुझबुझ अझ मुखरित हुँदै जाने वातावरण तय गरौँ । हामीले आशा गरेको युवा नेतृत्वको आगमन सम्भव छ ।
युवा नेतृत्त्व नेपाल बहस श्रृंखला
- हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? [युवा नेतृत्व : बहस- १]
- के युवा पुस्तासँग भोलिको ‘परिकल्पना’ छ ? [युवा नेतृत्व : बहस- २]
- यति धेरै नेता छन्, तर नेतृत्वको संकट छ [युवा नेतृत्व : बहस- ३]
- युवा आन्दोलनका एजेन्डा र मुद्दाहरू [युवा नेतृत्व : बहस- ४]
- राजनीति, युवा नेतृत्व र युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ५]
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...