एउटा जीवन्त जर्नलका २५ वर्ष
जर्नलहरूको भीडमा ‘सिन्हास’ प्राज्ञिक समुदायको विश्वसनीय खुराक बनेको छ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छिन्न रूपमा संस्थागत भइसकेको छ । राष्ट्रवाद, लोकतन्त्र र जनवादका अलग–अलग देखिने तर सारमा उस्तै खोलभित्र त्यो डर सुरक्षित लुक्न आतुर छ । त्यहाँ सइद नि:सन्देह पटक–पटक पठनीय हुने गर्छन् ।
पुरानो रूपरेखा पत्रिका पल्टाऔँ । लेखक जगदीश घिमिरेले २०३४ पुसको रूपरेखा २०० औँ अंकमा ‘को बौद्धिक’ शीर्षकको लेख लेखेका थिए । शैक्षिक प्रमाणपत्र र उच्च ओहोदा हुँदैमा कसैलाई बौद्धिक भन्न मिल्ने कि नमिल्ने प्रश्न खडा गरेर उनले एउटा चुनौती नै पेस गरेका थिए । त्यो आलेख रोचक वाक्यांशबाट सुरु हुन्छ : ‘समसामयिक नेपाली साक्षर जगत्मा एउटा शब्दको सबभन्दा बढ्ता दुरुपयोग भएको छ । त्यो अभागी शब्द हो– बुद्धिजीवी ।’
शब्दकोश पल्टाउँदै घिमिरेले बौद्धिक कामबाट जीविका गर्ने नै बुद्धिजीवी भनिए पनि केही महत्त्वपूर्ण प्रश्न छाडेका छन् । व्यापारी, राजनीतिक कार्यकर्ता, तल्लो तहका कर्मचारी, कृषक, पशुपालक पनि आ–आफ्नै सीप र बुद्धिका भरमा काम गर्ने हुनाले पीएचडी गर्नेलाई मात्रै बुद्धिजीवी भन्न नपाइने उनको दलिल थियो ।
खासमा त्योभन्दा अगाडि अध्येता कमलप्रकाश मल्लले उच्च शैक्षिक प्रमाणपत्रधारीलाई मात्रै बौद्धिक श्रेणीमा राख्दै नेपालमा ठूला कोटिका बुद्धिजीवी जन्मन नसकेको दु:खेसो गरेका थिए । त्यसको जवाफ लेख्दै घिमिरेले बौद्धिक हुन पीएचडी वा उच्च शिक्षा लिनैपर्ने बाध्यता नभएको प्रतितर्क दिएका थिए ।
विशेषज्ञ र बौद्धिकमा अन्तर हुने भन्दै घिमिरे लेख्छन् : ‘... प्रमाणपत्रले व्यक्तिलाई बढीभन्दा बढी विशेषज्ञ बनाउँछ । र, जतिजति माथ्लो तहका प्रमाणपत्र बटुल्दै गयो, व्यक्ति उतिउति संकीर्ण विशेषज्ञ हुँदै जान्छ । उसको ज्ञानको घेरा पनि सीमित हुँदै जान्छ । अत: विशेषज्ञ र बौद्धिकमा फरक हुन्छ । जतिसुकै ठूलो विशेषज्ञ भए पनि उसलाई बौद्धिक भन्न मिल्दैन (रूपरेखा पृष्ठ ४०८) ...एउटा बौद्धिकमा हुनुपर्ने सर्वप्रमुख पूर्वापेक्षा हो– दृष्टिकोणको सार्वजनिक सञ्चार । यसका लागि कुनै प्रमाणपत्रको अनिवार्यता हुँदैन । (पृष्ठ ४०९)
यहाँ यो प्रसंग किन महत्त्वपूर्ण हुन गयो भनेदेखि, हाम्रो समाजमा पछिल्ला दुई दशकयता उठेका प्रश्नहरू सम्भवत: सिंगो ज्ञान र चेतनाको नेपाली इतिहासमा कहिल्यै उठेनन् । बहसहरू पहिले पनि थिए, तर यो स्तरको तीव्रता निश्चय नै रोचक छ । योसँगै हाम्रो बहसको परम्परामा ‘बुद्धिजीवी’ भन्ने शब्दले जुन हदसम्म प्राथमिकता पाएको छ, यसप्रतिका आम अपेक्षा भने फरक देखिन्छन् । यो सन्दर्भमा मैले केही वर्षअघि पढेको एडवर्ड सइदको पुस्तकबाट केही नोटहरू र तत्उपर आफ्ना टिप्पणीहरू राख्न चाहेको छु ।
प्राध्यापक अभि सुवेदीले डेढ दशक अघितिर नेपाल म्यागजिनको कुनै अंकमा चर्चा गर्दा यो पंक्तिकारले एडवर्ड सइदको नाम पहिलोपल्ट सुनेको थियो । सन् २००३ सेप्टेम्बरको त्यो समय सइद भर्खरै बितेका थिए । त्यो ओबिचुअरी आलेखमा सुवेदीले सइदकृत ‘ओरियन्टालिज्म’ माथि व्याख्या र नेपाली समाजसँग त्यसको सन्दर्भ केलाएका थिए ।
समय क्रममा ‘कल्चर एन्ड इम्पेयरलिज्म’ र फुटकर रचना, अन्तर्वार्ता पढ्दा सइद अलि बुझिने हुन गए । सर्वाधिक छाप भने ९० पृष्ठको सानो पुस्तक ‘रिप्रेजेन्टेसन्स अफ् द इन्टेलेक्चुअल : द १९९३ रेइथ लेक्चर्स’ ले छाडिदियो । अर्का बौद्धिक केदारभक्त माथेमाबाट पढ्ने/पढिहाल्ने सुझाव प्राप्त नभएको हुँदो हो त, सायद यो पुस्तक ढिलै गरी पढिने थियो । अझ पढिन्थेन कि !
यो पुस्तकमा सइदले ‘आजको बौद्धिक’ माथि केही अप्ठेरा प्रश्नहरू छाडिदिएका छन् । शक्तिराष्ट्र, उपनिवेश, राष्ट्र, पार्टी, कर्पोरेसन, आफ्नै समाजको पुरातन विश्वास, थिंकट्यांक, मिडियामार्फत प्रयोग हुने असीमित शक्ति अभ्यास अघिल्तिर बौद्धिक कसरी ‘आउटसाइडर’ भएर उभिने ? त्यसैभित्रको अंग बनेर, त्यसैको मान्यता पछ्याएर चल्ने कि त्यसमाथि निरन्तर प्रश्न गर्ने हैसियत निर्माण गर्ने ? सइदका मूल प्रश्नहरू परिचय खण्ड र अरू ६ आलेखमा प्रस्तुत छन् । हिजोआज तेस्रो विश्वमा समानान्तर राज्य (कतै त त्योभन्दा बढी) का रूपमा उदाएको, अनि फैलिएका आईएनजीओ/एनजीओबारे पर्याप्त थाहा पाएका भए त्यसबाट उदय हुन गएको नयाँ बौद्धिक नोकरशाहीबारे पनि सइद घोत्लिन्थे होलान् । यो पुस्तकमा त्यसतर्फ भने चर्चा छैन ।
प्रसिद्ध ‘रेइथ् लेक्चर शृंखला’ अन्तर्गतका भाषणबाट २३ वर्षअघि संगृहीत यो पुस्तक यति प्रश्नहरूमा सीमित भने छैन । सइद विकल्प पनि सुझाउँछन्– सफाचट व्यावसायिक बन्ने कि उग्र पक्षपोषक ? उज्यालो र अँध्यारोबीच कथित समन्वयकर्ता कि विवेकको आदेश पालक ? नयाँ सिक्ने टन्टा नभएको सिद्धहस्त कालिगढ कि सधैँ सिकारु सत्य अन्वेषक ?
एक पंक्तिमा भन्दा– बुद्धिजीवी कि बौद्धिक ?
यस्ता छनोट जतिसुकै आउन्, सबै विकल्पहरूमा सइद हमेसा दोस्रोलाई रोज्छन् । विवादमा परिने डरले राजनीतिक बहसमा छिर्दै नछिर्नेहरू । हाकिम वा उपल्लो तहको प्राधिकारले के भन्ने हो भन्ने स्वनिर्मित भयमा परिरहनेहरू । सधैँ ‘वस्तुवादी’ सन्तुलित, भद्रताको अभिनय गर्नेहरू । भोलि कसैले ठूलो डिग्री, सम्मान वा नियुुक्ति वा पुरस्कार देला, वा राजदूतै बनाइदेला (पृष्ठ ७४) । सइदले त्यो बेलै देखेका आजको बौद्धिकका समस्या आज पनि सामयिक प्रश्न बनेर झुन्डिइरहेका छन् । पूरा पश्चिमा विश्वलाई खाइरहेको अवसरवादको धमिराले बाँकी विश्व पनि निलिदिने हो कि भन्ने चिन्ता सइदको छ ।
कोलम्बिया विश्वविद्यालयका अंग्रेजी र कम्प्यारेटिभ लिटरेचरका प्राध्यापक सइद १७ वर्षअघि सन् २००३ सेप्टेम्बरमा बितिसके । उनले साहित्य, संगीत, सांस्कृतिक समालोचनाजस्ता विषयमा १३ भन्दा बढी पुस्तक लेखे । उनका प्रख्यात पुस्तकमध्ये ओरियान्टालिज्म, द वर्ल्ड, द टेक्स्ट एन्ड द क्रिटिक मानिन्छन् । आफ्टर द लास्ट स्काई त्यस्तै अर्को उल्लेख्य हो । नेपाललगायत तेस्रो विश्व मात्रै होइन, सबैतिरका एकेडेमीमा उच्च सम्मानसाथ सइदको नाम लिइन्छ ।
‘इन्टेलेक्चुअल’ को नेपाली भावार्थ बौद्धिक भन्न थालिएको छ भने बुद्धिजीवी जनाउन इन्टेलिजेन्सियाजस्ता शब्द छन् । बौद्धिक र बुद्धिजीवीको भिन्नताबारे सीके लालले रेकर्ड नेपालसँग ०७१ पुसको एक अन्तर्वार्तामा भनेका छन् : बुद्धिजीवी भनेको बुद्धिबाट जीविका चलाउने । बौद्धिक भनेको बुद्धिको प्रयोगबाट भइरहेकोलाई परिवर्तन गर्ने, प्रश्न गर्ने ।
बौद्धिकतामाथिको यो बहस शृंखलामा अढाई दशकअघि योगदान गरेका सइदले बौद्धिकको आम भूमिका सधैँ आउटसाइडर (बाहिरिया) को रहने, सधैँ सिकारु अनि सधैँ यथास्थितिमाथि दख्खलकर्ताका रूपमा देखिने बताएका छन् । पुस्तकको परिचय खण्डमै उनले यसबारे चर्चा गरेका छन् । पछिल्ला खण्डमा यसको विस्तार छ । ‘बौद्धिकको आम प्रस्तुति न नियन्त्रित हुन्छ, न नाराबद्ध, न पार्टी लाइन, न कुनै रुढी । बौद्धिकको आम उपस्थितिलाई काँटछाँट, सेन्सरसिप, मौनताको संस्कृति, राष्ट्रवादी रुझान् आदि केहीले पनि रोक्न सक्दैन,’ परिचय खण्डमा पुस्तक बोल्छ ।
सधैँ निर्वासनमा परेको– त्यो निर्वासन भौतिक नभई स्वनिर्मित र मानसिक पनि हुन सक्छ । अनि कुनै बनिबनाऊ तथ्यमा सन्तुष्ट होइन, निरन्तर नयाँ सिक्न उद्यत मानिस । भाषाको त्यस्तो कालिगढ, जो शक्तिका अघिल्तिर उभिएर सधैँ सत्यको पैरवी गरोस् । सइद त्यस्तो बौद्धिकको वकालत गर्छन्, पुस्तकमा । प्रतिनिधित्व नगरिएको, वञ्चितीकरण र वहिष्करण भोगेकाको पक्षमा बोल्नु त्यो बौद्धिकको सार्वभौम चरित्र हुने उनको मत छ । सत्यका विभिन्न आयाम हुने बताउँदै सइदले बौद्धिक सधैँ आवाज दबाइएका कमजोरहरूको सत्यपट्टि लागेर शक्तिशालीको सत्यविरुद्ध आक्रमण गर्न तयार रहनुपर्ने तर्क गरेका छन् ।
शक्तिशालीसँग पनि आफ्नो सत्य हुन सक्ने स्वीकार्दै उनी थप्छन्– तिनका लागि बोलिदिन पनि यो समाजमा पर्याप्त बुद्धिजीवी खडा भएर बसेका हुन्छन्, हामी दोस्रो बाटो लाग्नुपर्छ । त्यो दोस्रो बाटो निमुखाहरूको सत्यको पक्षमा पैरवी नै हो ।
अमेरिकी समाजशास्त्री सी राइट मिल्सको ‘पावर, पोलिटिक्स, एन्ड पिपल् : द कलेक्टेड एस्सेज्’ बाट इराकविरुद्ध आफ्नो देशको सरकारले गल्फ वार लड्दा बौद्धिकको प्रतिरोधी भूमिकालाई सीमित गर्न खोजिएको सन्दर्भ उद्धृत गर्दै सइदले निमुखाको पक्षमा बोल्दा बौद्धिककै समुदायभित्र चरम उपेक्षा, एक्लोपन बेहोर्नुपर्ने खतरा संकेत गर्छन् । अनि सरकारका पक्षमा उभिने बुद्धिजीवी छाडेर बौद्धिकहरूले प्रतिरोधबाट प्राप्त हुने उपेक्षा, घृणाजस्ता नतिजाका लागि पहिल्यै आफूलाई तयार राख्नुपर्ने ( पृ. १६) बताएका छन् ।
पुस्तकको पहिलो खण्ड सुरु हुन्छ : इटालेली माक्र्सवादी एन्टोनियो ग्राम्सीको विख्यात भनाइबाट । तानाशाह बेनिटो मुसोलिनीका पालामा जेल कोचिएका कम्युनिस्ट नेता ग्राम्सी ‘प्रिजन् नोटबुक्स’ मा लेख्छन्, ‘सबै मानिस बौद्धिक हुन् । तर सबैको त्यस्तो समुदाय हुन्न, जसले बौद्धिकको कर्म निभाओस् ।’ हिजोआज चर्चा गरिने आधुनिक बौद्धिकको परिभाषा खासमा ग्राम्सीबाटै सुरु हुन्छ ।
सइदले त्यसै गरेका छन्– ‘अर्गानिक इन्टेलेक्चुअल’ र ‘स्पेसियलिस्ट’ बीच लक्ष्मणरेखा खिचेर । स्पेसियलिस्ट त भइहाल्यो, आफ्नो खास विधाको जानिफकार । पूजारीदेखि शिक्षक, इन्जिनियरदेखि चिकित्सक । स्पेसियलिस्टलाई आफ्नो पेसा वा जागिर गरे पनि पुग्छ । तर अर्गानिक बौद्धिक मानिसहरूको मस्तिष्क बदल्न संघर्षरत हुन्छ/हुनुपर्छ । समाजको निर्मित संरचनाप्रति स्थायी प्रश्नकर्ताका रूपमा बौद्धिकको व्याख्या गर्छन्, सइद ।
सइदले पुस्तकमा चर्चा गरेका अधिकांश उदाहरणहरू उन्नाइसौँ शताब्दीको मध्यतिरका छन् । मानिसले सिर्जेको मेसिन, मेसिनले सिर्जेको उद्योगधन्दा, अनि उद्योगधन्दाले सिर्जेको नयाँ जागिरे ‘दक्ष’ मानिस । प्रविधिको त्यो विकाससँगै मानिस–मानिसको सम्बन्धमा आएको बदलावभित्र सइदले नयाँ बौद्धिकको आवश्यकता देखेका छन् । पहिलेको नि:शुल्क श्रम ज्यालादारी श्रममा बदलिएर सिर्जित ‘इजी मनी’ ले मानिसका सोख र आवश्यकता बदल्यो । अनि पत्रकारिताको विकाससँगै खुलेका नयाँनयाँ अखबार, त्यसमार्फत कोही रातारात आफ्नो प्रतिभा र प्रचारका बलमा सेलिब्रिटी बन्ने सुविधा, लोकप्रियताको लोभमा फसेर कतिपय मिडियाले खोज्ने सनसनीखेज समाचार, त्यससँगै खिचिने रोमाञ्चकताको नयाँ संसारको मानचित्र, अझ भनौँ आज रोपेर भोलि फल्ने चर्चा, कफी हाउसदेखि थिएटरसम्मै फ्यान फलोइङ । यी सब सुखसुविधा र विलासका बीच खोजी गरिएको अवधारणा थियो, अर्गानिक बौद्धिक ।
अरूले सिर्जेको नयाँ समाज भोग गर्दै बस्नु बुद्धिजीवीको काम हुन्थ्यो । बौद्धिक भने त्यो ‘नयाँ समाज’ ले जटिल बनाउँदै लगेका ‘नयाँ सम्बन्ध’ हरूको पहेली खोतल्नु हुन जान्थ्यो । सन् १८४८ मा आएको कम्युनिस्ट घोषणापत्र छाड्ने हो भने बाँकी ज्ञान जगत्को व्याख्यामै सीमित थिए, बदल्ने कसको हिम्मत !
ग्राम्सी, सी राइट मिल्स, रेगिस डेब्रे, सात्र्र, जुलियन् बेन्डा, थियोडोर एडोर्नोजस्ता आफ्ना आदर्श बौद्धिक पात्रमार्फत त्यो १९ औँ र २० औँ शताब्दीका समस्यामाथि प्रवेश गरेका छन्, सइद । अमेरिका र पश्चिमा विश्वप्रति मोहित विश्व राजनीति, सञ्चार, बौद्धिक कर्ममाथि प्रश्नैप्रश्न गर्दै त्यसबेला लोकतन्त्र र मानव अधिकार, विश्वव्यवस्थाका नाममा साना र गरिब देशमाथि भएका गम्भीर मानव अधिकार उल्लंघन, पश्चिमा राष्ट्रबाट थोपरिएका शृंखलाबद्ध हिंसामाथि सैद्धान्तिक प्रश्नहरू छन् । पश्चिमा शक्तिराष्ट्रले त्यसबेला कसरी बुद्धिजीवी, सञ्चार, विश्वविद्यालयलाई आफ्ना गलत कामको पक्षमा समर्थन जुटाउने औजार बनाउने कोसिस गरे थे, त्यसलाई चुनौती दिने हुँदा कतिपय बौद्धिकको हविगत के भयो भन्ने चर्चा छोटै भए पनि पुस्तकमा उल्लेख छ । भियतनाम युद्ध, फकल्यान्ड युद्ध साथै अरू थुप्रै आक्रमणका बेला अमेरिकी/बेलायती संस्थापन, मिडियाले शासक र सामान्य नागरिक दुवैलाई छ्यासमिस पारी बनिबनाउ दुई पक्ष ‘हामी’ र ‘अरू’ खडा गर्ने हुँदा चरम हिंसा, मानव अधिकार उल्लंघनले झन् बल पाएको सम्झाउँदै सइद त्यस्तो बेला बौद्धिकको भूमिका तत्कालै बलशाली नभए पनि समाजको विचार निर्माणमा महत्त्वपूर्ण हुने हुँदा सतत् बोलिराख्नुको महत्त्व दर्शाउँछन् । बौद्धिकको भूमिका उपेक्षा नगर्न सम्झाउँछन् पनि ।पुरातन पाठशालाले फर्माएका ‘पवित्र ज्ञान’ माथि आँखा चिम्लने कि प्रतितर्कहरूमार्फत चुनौती दिने ? आजको बौद्धिक पनि यही पुरानै प्रकृतिको चुनौतीबाट गुज्रिनु परेको सइद मत छ । व्यवस्थाका नकामप्रति खस्रोमसिनो गर्दा साथीभाइ रिसाइदेलान् भनेर हुँदै होइन, झुट वा कृत्रिम बोल्दा प्राप्त हुन सक्ने वैयक्तिक सुखसुविधा दाउमा राखेर सत्य बोल्ने बौद्धिक सइदको आदर्श हो ।
पुस्तकको चौथो खण्डमा सइदले विज्ञ र स्वनियन्त्रित बौद्धिकबारे एउटा परिच्छेद नै तयार पारेका छन् । त्यस पाठको सबभन्दा रोचक सन्देश छ : ‘पाश्चात्य, पूर्वीय सबैतिरको संसारमा बौद्धिकहरूका लागि कुनै चुनौती छ भने, ती व्यावसायिक (प्रोफेसनल) हरू हुन् । त्यस्ताहरूको विज्ञता (स्पेसलाइजेसन्) ले सधैँ सिर्जनशीलता र अन्वेषणप्रतिको लगावलाई मारिरहन्छ ।’ उनी त सधैँका जोसिला सिकारुहरूप्रति उत्सुक छन् ।
शक्ति र द्रव्य– बौद्धिकलाई आफ्नो प्रभावमा पार्न विश्वविद्यालय/ थिंकट्यांकले कहिले ‘स्टिपेन्ड’, कहिले नियुक्ति वा अझ लोभलाग्दा अवसरहरू दिएर आफ्नो स्वार्थका औजार बनाउन प्रयोग गर्न खोज्ने चुनौतीबाट कसरी जोगाउने बौद्धिकले ? सइदले पुस्तकमा चर्चा गरेको आजको बौद्धिकको अर्को चुनौती यो हो । बौद्धिक स्वतन्त्रता र स्वायत्तताको अभ्यास गर्ने वातावरण त्यस्ता संस्थाहरूले बनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको जवाफ कस्तो मिल्छ, त्यसैले बौद्धिक संलग्नताको मापदण्ड निर्धारण गर्ने उनको भनाइ छ ।
सइद आफैँलाई केही मिडियाबाट ‘पेड कन्सल्ट्यान्ट’ बन्ने प्रस्ताव यो पुस्तक लेख्नुअघिका दुई वर्ष अघिसम्म पटक–पटक आएको रहेछ । घटनालाई मसालेदार बनाएर बिकाउन माहिर त्यस्ता टिभी स्टेसनमा आबद्ध हुँदा स्वतन्त्र बौद्धिक कार्यकलाप अघि बढाउन नसकिने ठानेर उनले प्रस्ताव नकारेछन् । त्यसको साटो विश्वविद्यालयमा लेक्चर दिने, आफ्ना प्यालेस्टाइनी युवा वा दक्षिण अफ्रिकी विश्वविद्यालयबाट प्रस्ताव आए सकार्दा रहेछन् । त्यसो गर्दा तुलनात्मक रूपमा बढी स्वतन्त्रता र स्वायत्तताको अनुभूति हुने उनको ठहर छ । कुन संस्था वा बाटो छनोट गर्ने रोजाइ आ–आफ्नो हो । मुख्यतया: व्यक्ति आफैँले आफ्नो स्वतन्त्र अभ्यासका लागि गर्ने छनोट मुख्य हो । सइदले आफ्नो वैयक्तिक उदाहरण राखेर त्यही सन्देश दिन खोजेका हुन् ।
अनि बौद्धिकका नाममा सदावहार स्थायी विपक्षी कि चनाखो अवलोकनकर्ता ? सइद त्यसलाई पनि विकल्पका रूपमा अघि सार्छन् । बौद्धिक भनेपछि सधैँ घोषित विपक्षी हुनैपर्ने बाध्यता देख्दैनन् सइद, तर सचेत तथा आलोचनात्मक दृष्टिकोण राखेर शक्तिशाली देश, दल, संस्था, विश्वविद्यालय आदिलाई हेर्नुपर्ने उनको मत छ । पुस्तककै ब्लर्बमा नोम चोम्स्कीले भनेझैँ– सइद हामीलाई शक्तिको पूजारी होइन, निष्ठाको एजेन्ट कसरी बन्ने सिक्न सघाउँछन् ।
पुस्तकको अर्को उल्लेख्य पक्ष– तर्कलाई व्याख्या गर्न राखिएका उदाहरणमध्ये वास्तविक बौद्धिक पात्रभन्दा बढी त उपन्यास र कथाका पात्र बढी आउँछन् । उन्नाइसौँ शताब्दीका रुसी, अमेरिकी, बेलायती साहित्यका पात्रमार्फत सइद बोल्छन् । वास्तविक मानिसले समाजको बौद्धिक अपेक्षा धान्न नसकेको बोधले काल्पनिक पात्रमार्फत पाठकलाई सोच्ने स्पेस फराकिलो पारिदिएका हुन् कि ? सइद अद्यापि बाँचेकै भए यो प्रश्न कसैले सोध्न सक्थ्यो ।
आफ्ना विचारहरूका कारण बनिबनाउ समाजबाट परित्यक्त, बौद्धिक स्वनिर्वासनबाट उपलब्ध एकान्तको भोक्ता कोही बौद्धिक छ– आफ्नो अवस्थितिदेखि आफैँ डराउँछ– सुदूर आगतसँग असुरक्षित अनुभूत गर्छ– अनि पत्नी/पति सन्तान आदिको चिन्ताले पुरानै संसारसँग सम्झौता गर्ने बिन्दु खोज्छ, विगतको धरातल बिर्सेर आजको दुनियाँमा ‘सभ्य’ देखिने नाटकका लागि अभ्यस्त हुन कोही चाहन्छ ?– उसले एडवर्ड सइदको यो सानो पुस्तक समाओस् । उसको एकान्तको असुरक्षा–अनुभूति भगाउने साथी बन्न सक्छ, यो पुस्तक । अझ नेपालजस्तो देश, जहाँ अभिनयका भद्र मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छिन्न रूपमा संस्थागत भइसकेको छ । राष्ट्रवाद, लोकतन्त्र र जनवादका अलग–अलग देखिने तर सारमा उस्तै खोलभित्र त्यो डर सुरक्षित लुक्न आतुर छ, त्यहाँ सइद नि:सन्देह पटक–पटक पठनीय छन् । प्रतिरोधको सानै प्रयत्नले पनि राजनीतिक अर्थ ग्रहण गरोस् भन्नाका लागि प्यालेस्टाइनको सिमानाबाट इजरायलतिर ढुंगो हान्ने सइद आफ्ना कृतिमार्फत नेपालसम्मै आइपुगून्, जहाँ शक्तिसीनलाई सुहाउने हदसम्म आलोचनाको अभिनय चलिरहन्छ ।
अनि थुप्रै बुद्धिकर्मीहरू स्थापित तर्कहरूको विरुद्धमा बोल्न त खोज्छन्, तर निरन्तर बोलिरहने जोखिमसँग आफूलाई अभ्यस्त राख्न सक्दैनन् । तिनका लागि फेरि पनि सइदकै पुस्तकबाट थियोडोर अडोर्नोको उद्धरण यहाँ अनुदित छ– गलत जीवनलाई सही तरिकाबाट जिउन सकिन्न । बौद्धिकले सधैँ निष्ठापूर्वक बाँचिरहनलाई के गर्ने त ? सइद त्यसमा आफ्नो मत थप्छन्– बौद्धिक निर्वासनमा आफूलाई होम्नैपर्छ । जहाँ बरु सन्देह, प्रश्न र आलोचनालाई स्थान भइदेओस्, निराशा र आत्महीनतालाई होइन ।
अन्त्यमा, इतिहासकार रोमिला थापरको पछिल्लो पुस्तक पब्लिक इन्टेलेक्चुअल इन् इन्डियाबाट केही पंक्तिहरू : ‘हामीसँग धेरै व्यवसायमा अहिले स्पेसलिस्ट छन्, तर तिनलाई आफ्नो विषयवस्तुको घेराबाहिर निस्केर संसार चिहाउने फुर्सद छैन ।’ (पृष्ठ १८)
विज्ञ हुनु र बौद्धिक हुनु एकै कुरा होइन । त्यस्तो बौद्धिकको आवश्यकता छ, जसले कुनै पनि प्रकारको सत्ता र प्राधिकारी संरचनासँग आँखा जुधाओस्, निर्भय भएर प्रश्न गरोस्, अनि समाजमा चल्तीको भाषाभन्दा फरक बोल्ने साहसबाट उत्पन्न आफ्नो बौद्धिक स्वायत्ततामाथि गौरव गरोस्, भीडमा एक्लिएँ भनेर ग्लानि होइन । बौद्धिकको शैक्षिक योग्यता र विषयगत विज्ञताभन्दा बढी ‘मोरल अथोरिटी’ महत्त्वपूर्ण हो ।
यो पनि पढ्नुस
जर्नलहरूको भीडमा ‘सिन्हास’ प्राज्ञिक समुदायको विश्वसनीय खुराक बनेको छ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...