रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]
स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडकका व्यापार र मजदुरका कुरा, रोजगारी संकट शृंखला
![रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी] रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट [सम्पादकीय टिप्पणी]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/Editorial/nepal-magazine-editorial-note.jpg&w=900&height=601)
विश्वव्याधि कोरोना भाइरसले जनस्वास्थ्यमा जति मात्रामा भय बढाएको छ, त्योभन्दा ठूलो सन्त्रासका रुपमा रोजिरोटीको संकट देखा पर्दैछ । त्यसका सुरुवाती संकेत प्रष्टै सामुन्नेमा देखिन थालेका छन् ।
आजको पहिलो चुनौती, सकेसम्म धेरै जीवनहरू कोरोना विषाणुबाट बचाउनु हो । मानिसको जीवनलाई पैसाले किन्न सकिने कुरै भएन । तर रोगभन्दा भोक ठूलो बन्दै गएको यो विश्वमा दोस्रो चुनौती झन् भयावह छ ।
पहिलो विश्वदेखि विकासोन्मुख देशसम्म ठूलो संख्यामा रोजगारी कटौती हुँदैछन् । कोरोना भाइरसकै कारण विश्व नयाँ समस्याबाट घेरिन पुगेको छ ।
नेपाल अछुतो रहने कुरै भएन ।
भाग्यवश पहिलो कोरोना संक्रमित देखिएको तीन महिना पुुग्दासम्म कोरोनाबाट कोही नेपालीले पनि मृत्युवरण गर्नुपरेको छैन । संक्रमणको संख्या तीन सय छुन लाग्दासम्म भयानक अवस्था बेहोर्नु परेको छैन । तर यसको ठूलो असर भने हाम्रो अर्थतन्त्रले बेहोर्न थालिसकेको छ ।
नेपाल म्यागजिनले यसै सन्दर्भमा रोजगारी संकटबारे एउटा बिलकुलै नयाँ शृंखला थालेको छ । यसमा हामी स्वदेशभित्र औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीहरूदेखि सडक छेउमा मकै पोल्ने, इटा बोक्ने मजदुरका कुरा गर्ने छौं । आंशिक ज्यालादारीमा काम गर्ने मानिसहरूदेखि, अर्धरोजगारीका क्षेत्रमा काम गर्नेहरूप्रति हाम्रो ध्यान गएको छ ।
युरोप अमेरिकाजस्ता पहिलो विश्वमा श्रम बेच्न जानेहरूदेखि खाडी, मलेसिया, कोरियाजस्ता देशहरूमा पुग्ने नेपालीहरूले भोग्नुपरेका कोरोना नियतिबारे यो शृंखलामा कुरा गर्नेछौं । यो नदेखिने अदृश्य भाइरसका कारण रोजीरोटी गुमाउने ती श्रमिकहरूबारे राज्यले चासो देखाउन ढिलो हुँदैछ । तीमध्ये अधिकांश अब स्वदेश फिर्ने, अनि यहाँ पनि बेरोजगार नै हुने खतरा छ ।
के थाहा, यो रोजगारी संकटले अर्को अनपेेक्षित विद्रोहका लागि परिस्थिति उर्वर पो बनाइदिने हो कि ? अन्यत्रका आर्थिक मन्दीका दृष्टान्तले यसै भन्छन् । समय छँदै योजना बनाउन अलि अलि गर्दै समय घर्किन थालेको छ ।
सरकारले नीति तथा कार्यक्रममा आफ्नो प्राथमिकता पक्कै खुट्याउला । अनि आउँदो बजेटले पक्कै यसबारे गम्भीर विचार गर्ला ।
रोजगारी संकट शृंखला १ : भाइरसबाट बच्न घरमै बस्ने कि भोकभोकै मर्ने ?