चीनको पछिल्लो कदमले नेपालबाट सालकको तस्करी घट्ला ?
चीनले हालै मात्र आफ्नो परम्परागत चिनियाँ चिकित्साको सूचीबाट सालकलाई हटाएको छ । के अब नेपालबाट हुने तस्करी रोकिएला ?

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान व्यूरो (सीआईबी) ले १६ चैत ०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सालकको १ सय ६२ किलोग्राम खपेटासहित २ जना चिनियाँ नागरिकलाई पक्राउ गर्यो । सालकको खपेटा तस्करी गरेर कंगोबाट टर्की हुँदै नेपाल आएका क्यू जियोरानो र क्वी लेबाओ जिल्ला अदालत काठमाडौँको आदेशमा कारागार पुगे । खपेटा चीन लैजाने उनीहरूको योजना थियो ।
नेपालको वनजंगलमा पाइनेसँगै अन्य देशबाट सालकको तस्करी गरी चीन पुर्याउने गिरोह नै सक्रिय छ । प्रहरीले यस्तो गिरोह यसअघि नै समातिसकेको थियो । चीन तस्करी हुँदै गरेको सालकको करिब ४६ किलोग्राम खपेटासहित ५ जना ८ जेठ ०६७ मै सिन्धुपाल्चोकबाट पक्राउ परेका थिए । २/२ जना चिनियाँ र भारतीय नागरिक तथा १ नेपाली कार चालक पक्राउ परेका थिए ।
डिभिजन वन कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष ०५६/५७ देखि ०७४/७५ सम्म सालकको ४० आखेटोपहार बरामद गरिएको छ । नेपाल प्रहरीले पछिल्लो पटक १० अप्रेशन गरेको छ ।
वन्यजन्तुको शिकारको प्रमुख बजार मानिने चीनले कोरोना भाइरस संक्रमण देखा परे यता चालेका कदमले भने संरक्षणकर्मी खुसी भएका छन् । चीनले हालै मात्र आफ्नो परम्परागत चिनियाँ चिकित्साको सूचीबाट सालकलाई हटाएको छ ।
ताइवानमा रहेको नेशनल पिन्तुङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट सालकमा विद्यावारिधि गरिरहेकी तुलसीलक्ष्मी सुवाल भन्छिन्, “नेपालबाट चीनमा ठूलो मात्रामा सालक तस्करी हुँदै आएको अनुसन्धानले देखाएको छ । तर चीनको पछिल्लो हामी खुसी छौँ, नेपालमा सालक संरक्षणमा टेवा पुग्छ ।”
चीनले गत फेब्रअरीमा वन्यजन्तुतको शिकारमा स्थायी प्रतिबन्ध लगाए पनि औषधि, गहना, कपडा र सजावटका लागि प्रयोग हुने वन्यजन्तुको सामग्रीमा रोक लगाइएको थिएन । चीनको यो कदमले मात्र वन्यजन्तुको चोरीशिकारमा कमी नहुने भन्दै आलोचना भएको थियो ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल चीनले आफ्नो परम्परागत चिनियाँ चिकित्साको सूचीबाट सालकलाई हटाउदैमा नेपालबाट तस्करी रोकिहाल्ने अवस्था नरहेको बताउँछन् । भन्छन्, “नेपाल आन्तरिक वन्यजन्तु र अन्तर्राष्ट्रियस्तरबाट हुने चोरीतस्करीका लागि ट्रान्जिट हो । चीनको यो कदमले वैध बजारको माग त घट्छ तर अवैध बजारको माग कायमै रहन्छ ।”नेपालबाट हुने वन्यजन्तुको तस्करी रोक्न नेपाल–चीन सीमावारपार सूचना आदानप्रदान र सहकार्य अपरिहार्य रहेको उनी ठान्छन् ।
सालकको कत्लाबाट परम्परागत औषधि बनाइने गरिन्छ भने नङ र खपटा सजावटको सामग्रीका लागि प्रयोग हुन्छ । यो वन्यजन्तुको मासु पनि खाने गरिन्छ ।
सन् २००३ मा सार्स महामारका बखत चीनले त्यहाँ वन्यजन्तुको व्यापारमाथि प्रतिबन्ध लगाएको थियो । तर केही महिनामै ती प्रतिबन्ध खुकुलो हुँदै गए । चीनको पछिल्लो कदम पनि दीर्घकालीन हुन्छ कि हुँदैन भनेर शंकाको दृष्टिले हेरिएको छ ।
सालकको संरक्षण किन ?

विश्वमा ८ प्रजातिका सालक पाइने गरेकोमा नेपालमा भने कालो र तामे सालक मात्र पाइन्छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा ४३ जिल्लामा सालक पाइन्छ, जबकि यसअघि १२ जिल्लामा मात्र पाइने बताइदै आइएको थियो ।
साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनकी अध्यक्ष समेत रहेकी सुवाल सालकले धमिरा र कमिला पनि खाने भएकाले पारिस्थितिक प्रणालीमा सहयोग पुगे बताउँछिन् । भन्छिन्, “जंगल छेउमा काठबाट बनेका घरमा धमिरा लाग्नबाट जोगाउन पनि सालकले मद्दत गर्छ । कीरा र धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो ।” तर स्थानीयले सालकलाई नचिनेर वा मासुका लागि मारिदिने गरेको घटना पनि बेलाबेला सार्वजनिक हुन्छन् ।
सालक जमिन प्वाल पारेर त्यसमुनि बस्ने गर्छ । तर पछिल्लो पटक सालकको वासस्थान प्वाल घट्दै गएको अनुमान छ । राति आहार खोज्न निस्कने सालक माटोकै रंगको हुने भएकाले छुट्याउन मुस्किल पर्छ भने आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।
नेपालमा पनि मासु तथा परम्परागत औषधिका लागि भनेर सालकको शिकार हुने गरेको पाइन्छ । सीआईबीले २१ असार ०७५ मा काठमाडौँको शंखपार्कबाट जिउदो सालकको उद्धार गरेको थियो । उक्त सालकलाई जावलाखेलस्थित सदर चिडियाखानामा पुर्याइएको थियो ।
सुवाल नेपालमा पनि सालकको मासु खादा प्रोटिन बढी पाइन्छ, औषधिय गुण हुन्छ भनेर शिकार हुने गरेकोमा त्यसलाई रोक्न संरक्षणमूखी अभियान थाल्नुपर्ने बताउँछिन् । त्यही अनुसार हेटौंडामा रहेको रानी वनले ०६२ सालबाटै सालक संरक्षण थालेको थियो । वनले आफ्नो क्षेत्रको करिब २० हेक्टर क्षेत्र सालकका लागि छुट्याएको छ ।
सालक नेपालका २६ वटा संरक्षित वन्यजन्तुमध्ये एक हो ।अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले सालकलाई जोखिमपूर्ण र लोपोन्मुख जीवको सूचीमा राखेको छ । वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) ले यसको व्यापारलाई अपराध मानेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँदेखि १० लाखसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।