लोकल स्यानिटाइजरको प्रभाव
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘मापसे होइन नि सर, यो त लोकल स्यानिटाइजर प्रयोग गरेको हो । लोकल स्यानिटाइजरको न्युज हेर्नुभएन ?’

कोरोना प्रकोप सुरु भएपछि बजारमा स्यानिटाइजर गायब भएको छ । सुनिन्छ, अहिले स्यानिटाइजरको पनि कालोबजारी चलिरहेको छ । हिजोअस्ति सुन ल्याउने तस्करसमेत अहिले त्यो छाडेर स्यानिटाइजर ल्याउन थालेका छन् रे । आखिर तस्करी भनेको त्यही वस्तुको गर्ने हो, जुन गर्दा फाइदा हुन्छ ।
बजारमा स्यानिटाइजर अभाव भएपछि ललितपुर महानगरपालिकाले ‘घरेलु स्यानिटाइजर’ उत्पादन सुरु गरेको रहेछ । यो पनि राम्रै काम हो । हालै ललितपुर जाँदा मैले पनि त्यही स्यानिटाइजर प्रयोग गरेको थिएँ । ‘लोकल’ स्यानिटाइजर हो, नतिजाचाहिँ राम्रै निस्क्यो ।
बाइकबाट काठमाडौँ फर्कंदै थिएँ । बाटोमा मापसे चेकिङ भइरहेको रहेछ । एउटा बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘मापसे होइन नि सर, यो त लोकल स्यानिटाइजर प्रयोग गरेको हो । लोकल स्यानिटाइजरको न्युज हेर्नुभएन ?’
ट्राफिक ट्वाँ परे ।
हालै मित्र भजनलाल पनि घर जाँदा ढिलो भइसकेको थियो । कारणचाहिँ उही हो, भट्टीबाट निस्कनै ढिलो भएपछि घर पुग्न पनि ढिलै हुने भयो । ह्वास्स गन्ध आएपछि श्रीमती कराउन थालिहालिन् । तर भजनले आफूलाई कन्ट्रोल गर्यो, ‘नकरा न बूढी, स्यानिटाइजर हो क्या स्यानिटाइजर । नेपालमै बनेको लोकल स्यानिटाइजर । यसको गन्धै यस्तो छ त म के गरुँ ?’
‘स्यानिटाइजर ! अनि मलाई खोइ त ?’ बूढी दंग परी ।
‘इ, यहाँ छ नि । यस्तो महामारीको बेला छ । लगाऊ न एक पेग लोकल स्यानिटाइजर ।’
‘लोकल स्यानिटाइजर’ लगाएपछि दुवै जना मीठो निद्रामा गए । भजनले झटारो खानु परेन ।
दुई सेट मिर्गौला
हाल देश चलाइरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई छोटकरीमा ‘नेकपा (नेकपा)’ भन्ने गरिन्छ । अझ त्योभन्दा पनि छोटकरीमा ‘डबल नेकपा’ पनि भनेको सुनिन्छ । एउटै नाममा दुइटा नेकपा, अर्थात् नेकपा–नेकपा भएकाले सायद डबल नेकपा भनिएको हुन सक्छ ।
तर यथार्थमा यो पार्टीमा नाम मात्र दुइटा होइन, अरु पनि धेरै त्यस्ता कुरा छन्, जो दुइटा छन् । जस्तो, पार्टी अध्यक्ष । यो पार्टीमा अध्यक्ष नै दुई जना छन् ।
सरकारमा पार्टीलाई प्राप्त जो बहुमत छ, त्यो पनि दुई तिहाइ नै छ । दल त एउटै हो तर राम्ररी केलायो भने देखिन्छ, त्यहाँभित्र पार्टीचाहिँ दुइटै छन् । अब हुँदाहुँदा केसम्म भइदियो भने पार्टीबाट चुनिएका प्रधानमन्त्रीको पेटभित्र विद्यमान मिर्गौला जो छ, त्योसमेत दुई सेटै छन् । उनी संसारकै त्यस्तो एक्लो प्रधानमन्त्री हुन्, जसको शरीरभित्र दुई सेट मिर्गौला जडित छन् ।
अब मिर्गौला दुई सेट भए पनि चालू त एक सेट मात्रै हो । एक सेट त नाम मात्रैको । मिर्गौला त छ तर त्यसको कुनै काम भने छैन । त्यसो त पार्टीमा भएका अरु ‘दुइटा’ हरु पनि यही मिर्गौलाजस्तै हो । छन् त दुइटै तर चालू एउटा मात्र हो, अर्कोचाहिँ देखाउने मात्रै ।
जस्तो, दुइटा नेकपामध्ये एउटा नेकपा । दुइटा पार्टीमध्ये एउटा पार्टी । अनि, दुइटा अध्यक्षमध्ये एउटा अध्यक्ष ।
केवल कोरोनाका लागि
कोरोना भाइरसको संक्रमणपछि त्यसलाई रोक्न संसारभरि नै युद्धस्तरमा काम भइरहेको छ । कतै संकटकाल घोषणा, कतै सहरै बन्द, कतै क्वारेन्टाइन निर्माण, कतै औषधी उत्पादन । यस्ता थुप्रै काम भइरहेका समाचार निरन्तर आइरहेका छन् । तर संसारमा यति भइसक्दा पनि नेपालमा खासै केही भएन भन्ने गुनासा प्रशस्तै छन् । नेपालमा कोरोना आएको छैन है भन्दै सरकार ढुक्कसाथ बसिरहेको आरोप पनि छ ।
यथार्थमा सरकार केही नगरी बसिरहेको चाहिँ होइन । काम थुप्रै भएका छन् । जस्तो, हालै मात्रै समाचारमा आयो, आपूर्तिमन्त्री नुन किन्न गए । एउटा मन्त्रीजस्तो मान्छे बजारमा नुन किन्न गइरहेका छन् । किन ? यही कोरोनाका कारण होइन ? मन्त्रीजी स्वयं नै भेष बदलेर बजारमा नुन किन्न गइसकेपछि कोरोनाका लागि योभन्दा बढी अरु के गर्नुपर्यो ? मन्त्री भएपछि मान्छे सुन किन्न मात्रै बजार जाने गर्छन् । हाम्रा मन्त्री त नुन किन्न पनि बजार गए । के यो कम्ताको चिन्ता हो ?
त्यस्तै, प्रधानमन्त्रीलाई हेर्नुस् । उनी त झन् बढी चिन्तित छन् । मिर्गौला प्रत्यारोपण गरिएको दुई दिन भएको छैन, सकिनसकी सिंहदरबार गएर भिडियो कन्फरेन्समा बसिहाले । किन बसे ? त्यही कोरोनाका कारण होइन ?
प्रधानमन्त्री त ‘म अब सक्दिनँ बा’ भनी बालुवाटारमा आरामै गरेर बसेको भए पनि हुन्थ्यो नि । तर उनले आराम लिएनन् । यति अशक्त हुादाहुादै पनि प्रधानमन्त्री बालुवाटार टु सिंहदरबार, सिंहदरबार टु बालुवाटार दौडादौड गरिरहेकै छन् । के यसलाई केही गरेको छैन भन्न मिल्छ ?