त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।

कोरोनाको कहर छ । बाहिर निस्कने कुरा भएन । उठ्दै, सुत्दै, खाँदै, समाचार हेर्दै, चिया पिउँदै, झ्यालबाट चियाउँदै समय बितिहाल्छ । यी, आज पनि फेसबुक खोलेर साथीभाइका स्टाटस हेर्दाहेर्दै, कमेन्ट गर्दागर्दै, कोरोनाबारे ज्ञान बाँड्दाबाँड्दै, सरकारलाई सचेत गराउँदागराउँदै दिन बितिहाल्यो, सुत्ने बेला भइहाल्यो । सधैं जस्तै सुत्नुअघि एउटा तिखो स्टाटस त लेखेरै सुत्नुपर्यो, बिहानसम्ममा ठूलै तरङ्ग आओस् न ! भर्खरै चीनबाट ल्याएका औषधीजन्य वस्तुमा भ्रष्टाचार भएको हल्ला व्यापक छ, आज यसै विषयमा लेख्नुपर्यो, जे पर्ला ।
लेख्न त लेख्ने तर कुन पक्षतिर लागेर लेख्ने, सरकारपक्षतिर कि विपक्षतिर ! यस्तो महाविपत्तिको बेला सरकारले महङ्गो सस्तो जे जस्तो भए पनि औषधीमुलो ल्यायो । हाम्रा मनमा आशाको दियो जलायो । यस्तो बेलामा भ्रष्टाचार भएको छ भन्ने कुरा लेखेर सरकारलाई थप तनावमा किन पार्नु !
वास्तवमै भ्रष्टाचार भएको पनि छैन होला । मुलुकमा यस्तो डरलाग्दो संकट आइरहेको बेलामा कसैले भ्रष्टाचार गर्ने बारेमा सोच्ला त ? उही हामी नेपालीहरू पटकपटक अगुल्टाको झटारो खाइसकेको भएर बिजुली चम्किादा तर्सेका मात्र हौँ क्या !
ती मालबस्तु सरकारले बजारमूल्यभन्दा महङ्गो ल्यायो भन्दैमा भ्रष्टाचारै भयो भन्न त मिलेन नि ! ती सामानको मूल्य कति पर्छ सरकारलाई थाहा हुने कुरै हुँदैन । आपतका बेला जसले जति मूल्य हालेर दियो, जस्तो गुणस्तरको दियो, सरकारले हत्तपत्त हात थाप्यो । सरकारको काम जनतालाई कोरोनाबाट बचाउने हो, बजारमूल्य र सामानको गुणस्तर खोज्दै हिँड्ने होइन भन्ने हामीले बुझ्नुपर्छ । व्यापारीले नै मौकामा चौका हान्दै मूल्य बढाएर बिल गरेको भए त्यसमा सरकारको के गल्ती ! अनि त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
खासमा यो काण्डमा सरकारका तर्फबाट हतपतमा लतपत भएको र व्यापारीका तर्फबाट मौकामा चौका हानेको मात्र हो । भ्रष्टाचार गरेको होइन । एउटा सामानमा चारपाँच गुना, दसबीस गुनादेखि अधिकतममा अड्चालिस गुनासम्म बढी बिल गरिएको भन्ने कुरा सुन्दा कहीँ कतै गडबडी छ कि भनेर शंकासम्म गर्न सकिन्छ । यदि त्यस्तो गडबडी व्यापारीका तर्फबाट भएको हो भने त्यसलाई भ्रष्टाचार भन्न मिलेन ।
व्यापारीहरूको कर्म नै सस्तोमा किनेर महङ्गोमा बेच्ने हो । उनीहरूको धर्म नै नाफा कमाउने हो । उनीहरूले बजारमूल्यभन्दा कैयौँ गुना बढी मूल्यमा सरकारलाई सामान बेचेका हुन् भने उनीहरूले आफ्नो धर्म सशक्त रुपमा निभाएका हुन् । यसरी विचार गर्दा सरकार र व्यापारी दुवै पक्षले आआफ्नो कर्तव्य पूरा गरेको देखिन्छ । दुवै पक्ष मिलेर विश्वबजारमै अभाव भएको औषधी तीन घण्टामै जम्मा गरेर तीन दिनभित्रैमा त्यति टाढा चीनदेखि ल्याएर देशभरि पुर्याए । यो भ्रष्टाचार हो कि जनताप्रति उपकार हो ?
लौ भैगो, हाम्रा केही अज्ञानी साथीहरूले भनेजस्तो कहीँ कतै झुक्किएर दुईचार पैसा भ्रष्टाचार भएको रहेछ भने पनि के भो त, हाम्रो इम्युनिटी पावर खत्रै छ । महामारीलाई मध्यनजर गरेर हाम्रो रिसलाई यहीँ पचाइदिऊँ । उनीहरूले पनि खाएको भए पचाऊन् । यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।
फेसबुकमा यस्तै केही कुरा लेखौँ भनेर घोरिएको निद्राले झ्याप्पै पार्यो । भैगो आज केही नलेखी सुत्नुपर्यो ।