सुत्न दे इन्डिया !
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । खोक्छौँ, हाच्छ्युँ गर्छौं अनि मात्रै सुत्छौँ ।
आफ्नै छिमेकी भएर पनि इन्डिया त कस्तो छुच्चो ! बेलाबेलै हामीलाई चिरिक्क–चिरिक्क चिमोटेर ब्युँझाइरहन्छ । सुत्नै दिँदैन । सुगौली सन्धि गरेर चुपचाप सुतेका हाम्रा पुर्खालाई पटक–पटक चिमोटेर ब्युँझाउँदै आएको इन्डियाले आजसम्म पनि चिमोट्न छाडेको छैन । चिमोटेको ठाउँमा यसो सुमसुम्याएर सुत्न खोज्यो फेरि चिमोटेरै ब्युँझाउँछ ।
कहिले सुस्तामा चिमोट्छ, कहिले महेशपुरमा, कहिले तिलाठीमा, कहिले टनकपुरमा चिमोट्छ । मेचीदेखि कालीसम्म, तराईदेखि हिमालसम्म चिमोटेर ब्युँझाइरहन्छ । चिमोट्दा नटेरेको भएरै होला, लिपुलेकमा त नंग्य्राएरै पो ब्युँझायो ।
तैँले त्यसरी ब्युँझाएपछि सरकारलाई कति गाह्रो पर्छ ! ब्युँझेपछि चुप लागेर बस्न मिलेन । तन्याकतुनुक तन्किनुपर्यो, मिटिङ बैठक बस्नुपर्यो, वक्तव्य/सक्तव्य निकाल्नुपर्यो । हेलिकोप्टर उडाउनुपर्यो, सीमा निरीक्षण गर्नुपर्यो, पुराना नक्सा खोज्नुपर्यो, अनुसन्धान गरेजस्तो गर्नुपर्यो । राजदूतलाई बोलाएर आपत्ति प्रकट गर्नुपर्यो, कूटनीतिक नोट दिनुपर्यो ।
प्रतिपक्षी दलकालाई त तैँले हिजो के हेरेको थिइस् भनेर हप्काउँदा चुप लाग्छन्, सत्तापक्षकै नेताका छाडा गाली खानुपर्यो । मिटिङमा आच्छुआच्छु पार्छन्, सदनमा र्याखर्याख पार्छन्, सहनुपर्यो ।
प्रतिपक्षलाई पनि त्यस्तै मुस्किल । यस्सो केही भन्न हुन्न, आफू सरकारमा हुँदा के गर्याथिस् भनेर उल्टै हप्काउँछन् । आफूले यो गरेको थिएँ भनेर पत्ता लगाउनुपर्यो, सदनमा पेस गर्नुपर्यो । सडकमा कार्यकर्ता उफार्नुपर्यो, धर्ना गराउनुपर्यो, प्रहरीलाई जिस्क्याउनुपर्यो, गिरफ्तारी दिनुपर्यो, गिरफ्तारीको विरोध गर्नुपर्यो । काँडेतारका कुरा गर्नुपर्यो, सिमानामा बारका कुरा गर्नुपर्यो । आफूले सरकारमा हुँदा गर्न नसकेका कुरा किन गरिनस् भनेर सरकारलाई सोध्न कम गाह्रो हुन्छ ?
अरू त अरू हामी कवि, लेखक, पत्रकार, बुद्धिजीवीदेखि सर्वसाधारणको पनि निद्रा कम खलबलिन्छ, यसरी पटक–पटक ब्युँझनुपर्दा ! कविता फुराउनुपर्यो, गीत–गजल लेख्नुपर्यो, छाप्नुपर्यो, प्रचारप्रसार गर्नुपर्यो । दूतावासअगाडि, माइतीघर मण्डलाहरूमा प्लेकार्ड प्रदर्शन गर्नुपर्यो, क्रान्तिका कुरा गर्नुपर्यो, आत्मनिर्भरताका कुरा गर्नुपर्यो । अन्तर्वार्तामा, लेख–रचनामा, सामाजिक सञ्जालमा चर्काचर्का विचारहरू दिनुपर्यो । यसरी बेलाकुबेला, ठाउँ–कुठाउँ चिमोट्दा हाम्रो राष्ट्रियता कति दुख्छ ! ख्याल गर्नु पर्दैन इन्डिया ?
तँ इन्डिया बुद्धि पनि नभएको क्या ! हामी आनन्दले निदाइराखेका थियौँ, किन बारुद पड्काएर पहरा फुटाएको ? किन टाढाटाढादेखि देखिने गरी आकाशमा धुवाँ पठाएको ? आवाज निकालेर हेलिकोप्टर किन उडाएको ? वनजस्तो हरियो रङको गुडाउनू, पहराजस्तो कालो रङको गुडाउनू, किन पहेँलो रङको नयाँ डोजर गुडाएको ? अनि बडो हल्लाखल्ला गरेर सडक उद्घाटन गर्नुपर्छ ? चुपचाप गाडी गुडाए हुँदैनथ्यो ? हामीलाई हेपेको ? कि तैँले वीर गोर्खाहरूको इतिहास पढेको छैनस् ? कि तैँले वीर बलभद्रको नाम सुनेको छैनस् ? कि तैँले अमरसिंह र भीमसेन थापाहरूको जीवनी पढेको छैनस् ?
हेर् इन्डिया, हाम्रा कुरा सुन् ! सुनिनस् भने हामी थप कडा आपत्ति जनाउँछौँ, राजदूतलाई बालुवाटारै बोलाएर अर्को पनि कूटनीतिक नोट दिन्छौँ । हामी यसैपालि तैँले हडपेको क्षेत्रभन्दा दस/बीस किलोमिटर वर सशस्त्र प्रहरीको क्याम्प खडा गर्दै छौँ । अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । खोक्छौँ, हाच्छ्युँ गर्छौं अनि मात्रै सुत्छौँ । भनेको मान्, अबचाहिँ सुत्न दे है इन्डिया, सुत्न दे !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...