यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा पुन: ओलीलाई नै कायम राखेर बाँकी दुई जनालाई हिस्रिक्क पारिसक्यो ।
लकडाउनका लामा–लामा दिनहरू बिताउने एउटा उपाय समाचार हेर्नु पनि हो । समाचारका माध्यम पनि धेरै छन्, छापा, अनलाइन, युट्युबलगायत अनेक सामाजिक सन्जालहरू । तिनमा बेलाबेलै यस्ता सनसनीपूर्ण समाचारहरू आउँछन्, सुन्दै शरीरका रौँ यसैयसै ठडिन्छन् । कहिलेकाहीँ त जुरुक्कै उठेर नेताहरूलाई चिथोर्न जाउँ कि, सडकमा निस्किएर क्वाँक्वाँ डाँको छाडेर रोऊँ कि, भित्तामा टाउको ठोकौँ कि, लुगा फुकालेर सडकमा नांगै दगुरौँ कि जस्तो पनि हुन्छ । लकडाउन मात्र नभएको भए यसबेलासम्म टोल निकाला भइसकिन्थ्यो होला !
यस्ता अद्भुत समाचार यी पत्रकार मित्रहरूले कहाँबाट ल्याउँछन् भनेर यो अभूतपूर्व फुर्सद समयमा अध्ययन गर्दा थाहा भयो– यो सब त ‘स्रोत’ को कमाल पो रहेछ । त्यस्ता समाचारहरू प्राय: ‘स्रोतका अनुसार’ उत्पन्न हुँदा रहेछन् । खुमलटार स्रोतका अनुसार, मन्त्रालय स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, सैनिक मुख्यालय स्रोतका अनुसार, दूतावास स्रोतका अनुसार । हुँदाहुँदा दुनियाँको जासुसी गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रभित्रै पनि साथीहरूको स्रोत कोरोना लुकेजस्तो लुकेर बसेको हुँदो रहेछ । स्रोत नपुगेको ठाउँ हुँदो रहेनछ । शीतलनिवासदेखि निर्मलनिवाससम्म, सिंहदरबारदेखि बालुवाटारसम्म । रवि त के, कवि पनि पुग्न नसक्ने ठाउँमा स्रोत पुग्दो रहेछ । पत्रकार मित्रले त स्रोतले उपलब्ध गराएको पाण्डुलिपिलाई टाइप गर्ने, कपी गर्ने, पेस्ट गर्ने गरे पनि पुग्ने रहेछ ।
थाहा भयो, स्रोतले नजानेको र गर्न नसक्ने कुरा केही छैन । मुख्यत: स्रोतलाई राजनीतिमा खेल्न मजा लाग्छ । स्रोत पछि लागेपछि कतिलाई माटोमा भसाउँछ, कतिलाई सत्तामा बसाउँछ । नेताहरूबीच भनाभन गराउँछ, कुटाकुट गराउँछ । रातारात सरकार ढालेर नयाँ सरकार बनाउँछ । हिजोआजकै कुरा गर्ने हो भने स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा पुन: ओलीलाई नै कायम राखेर बाँकी दुई जनालाई हिस्रिक्क पारिसक्यो । नयाँ मन्त्रिपरिषद्का नाम पनि सार्वजनिक गरिसक्यो र त्यसमा रातारात फेरबदल पनि गरिसक्यो । स्रोतले नेताहरूका मनका कुरा सप्पै खोलाउँछ, बोल्दै नबोल्नेलाई पनि बोलाउँछ । आकासदेखि पातालसम्म, पूर्वजन्मदेखि पुनर्जन्मसम्मका कुरासम्म पत्ता लगाउँछ ।
आज स्रोतको शक्ति देखेर दुनियाँ चकित छ । बरु मान्छेहरूले भगवान्को आकारप्रकार र भेषभूषा पत्ता लगाएर मूर्ति बनाए, पोस्टर छपाए तर यो स्रोत कस्तो हुन्छ, कहाँ बस्छ, के खान्छ, कसैले पत्ता लगाउन सक्दैन । अचम्म र उदेक त के भने अति गोप्य कोठामा दुई जना मात्र नेताहरूबीच भएको बाझाबाझलाई स्रोतले संवादसहित इन्भर्टेड कमामा राखेर हामीलाई पढाउँछ । मानौँ, नेताहरूका बीचमा धुर पसेर उनीहरूलाई कुटाकुट गर्नबाट उसैले जोगाएको हो ।
स्रोत कहिल्यै फेल खाँदैन । चिप्लिँदैन । चिप्ले पनि लड्दैन । स्रोतलाई कसैले बाह्र हातका टाँगाले पनि छुन सक्दैन । स्रोतविरुद्ध कसैले नाराजुलुस गर्दैन, राजीनामा माग्दैन । साह्रै अप्ठेरोमा पर्यो भने हाम्रो स्रोत विश्वस्त भए, कसैलाई चोट पुगेको भए क्षमायाचना भनेर एक हरफ लेखेपछि अपराधै गरेको थियो भने पनि राफसाफ हुन्छ ।
स्रोतबारे अनुसन्धान गर्दा एउटा कुराचाहिँ थाहा भयो, स्रोतसँग सावधान रहनुपर्ने रहेछ । किनभने यसले कलम, कागज मात्र होइन, नुन, खुर्सानी, बाह्रमसला, सोडा, सलाई, मट्टीतेल, चिसो पानी आदि धेरै थोक पनि बोकेर हिँड्दो रहेछ ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...