उद्योग चलाउनै मुस्किल
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्याउन हम्मेहम्मे

बुटवल औद्योगिक क्षेत्रमा पोखरेल दाजुभाइले सञ्चालन गरेको एसके इन्जिनियरिङ, सिद्धार्थ मेटल र लुम्बिनी इन्जिनियरिङ गरी ३ उद्योग छन् । तिनमा २ सय मजदुर कार्यरत छन् । त्यसमध्ये डेढ सय मजदुर स्वदेशी हुन् ।
कोरोना सन्त्रास र लकडाउनकै कारण आफ्नो मुलुक फर्किएका भारतीय मजदुर ल्याउन सम्भव छैन । स्वदेशमै पनि कोरोना त्रासले उद्योग बन्द भएपछि आ–आफ्ना घर गएका मजदुरलाई समेत ल्याउन नसकिएको उद्योगीहरू बताउँछन् । यसै कारण उद्योगहरू पूर्ण क्षमतामा चलाउन नसकिएको उनीहरूको भनाइ छ ।
एसके इन्जिनियरिङका सञ्चालक सुभाष पोखरेल बुटवल र आसपासका २५ जना मजदुरबाट उद्योग नामका लागि मात्र उद्योग खोलेको बताउँछन् । तर लकडाउनअघि अधुरै रहेका र सम्झौताअनुसारका काम कहिले सक्ने उनी तनावमा छन् ।
“टीकापुर, बर्दियालगायतका मजदुर धेरै छन् । तिनलाई ल्याउन सकिएन,” सञ्चालक पोखरेल भन्छन्, “स्थानीय तह एवं प्रशासनको सिफारिस चाहिने, रेडजोनमा परेका जिल्लाका मजदुर ल्याउन र ती जिल्ला जान नदिनेलगायत समस्या रहेछन् । हैरान भइयो ।”
सरकारले स्वास्थ्य सजगता अपनाउँदै सामाजिक दूरी कायम गरेर उद्योग चलाउन निर्देश गरेको छ । सोही निर्देशनअनुसार लकडाउनसँगै बन्द भएका उद्योग तथा कलकारखाना विस्तारै खुलेका छन् । तर उद्योगीहरूले मजदुर ल्याउन र साविक अवस्थामा उद्योग चलाउन सकेका छैनन् । भारतीय मजदुर फर्कने अवस्था छैन । कोरोना त्रास र लकडाउनका कारण घर गएका स्वदेशी मजदुर पनि उद्योगमा ल्याउन कसैले सहजीकरण गरेको छैन । यसले गर्दा मजदुरहरूलाई काममा फर्कन र उद्योगीहरूलाई उद्योग चलाउन समस्या भएको हो ।

बुटवल औद्योगिक क्षेत्रमा रहेको ब्ल्याक गोल्ड एन्ड एलाड प्रालिले पनि अहिले मजदुर अभाव भोग्नु परेको छ । यो उद्योग लकडाउनअघि दैनिक ३ सिफ्टमा चल्थ्यो । २० मजदुरले दैनिक २ टन खानेपानीका पाइप उत्पादन गर्थे ।
लकडाउनसँगै मजदुर घर गएपछि बन्द उद्योगले अझै उत्पादन थालेको छैन । घर गएका मजदुर नफर्केपछि नयाँ मजदुर ल्याएर काम सिकाउने र उद्योग चलाउने प्रक्रिया थालेको छ । उद्योग सञ्चालक शिवप्रसाद न्यौपाने एक सातायता १० जना नयाँ मजदुर खोजेर काम सिकाउन थालिएको सुनाउँछन् । “भारतीय मजदुर सम्पर्कमै छैनन् । रेडजोनका स्वदेशी मजदुरलाई पनि ल्याउन सकिएन,” भन्छन्, “लकडाउन खुकुलो भए पनि उद्योगीलाई सहज भएन ।”
घर गएका मजदुरको काम र माम खोसिएको छ । उद्योगीहरू मजदुर नपाएर उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । रूपन्देहीमा सानाठूला गरी ८ हजार उत्पादनमूलक उद्योग छन् । त्यसमध्ये अहिले करिब ३ हजार उद्योग मात्रै सञ्चालनमा छन् । सञ्चालन भएका उद्योग पनि पूर्ण क्षमतामा छैनन् ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अनुसार ती क्षेत्रका उद्योगमा काम गर्ने करिब १ लाख मजदुरमध्ये ६० हजार भारतीय छन् । यहाँका ७३ इँटा उद्योगमा मात्रै करिब २५ हजार भारतीय मजदुर काम गर्छन् । सिमेन्ट, स्टिल, खाद्यजन्य उद्योगलगायतमा इन्जिनियरदेखि दक्ष प्राविधिक सबै भारतीय छन् । सहायक प्राविधिक मात्र नेपाली छन् । अहिले उनीहरूकै भरमा सीमित कामदारले उद्योग चलाएका छन् ।

उद्योगहरूलाई पूर्ण रूपमा सञ्चालन गर्न भारतीयको सट्टा स्वदेशी मजदुर राख्न प्रदेश सरकारले निर्देश गरेको छ । त्यसका लागि अन्य जिल्ला एवं प्रदेशबाट पुराना मजदुर कसरी ल्याउने र नयाँ कसरी खोज्ने, त्यसबारे भने सहजीकरण गरेको छैन । सरकारी सहजीकरण र सीपबिना नयाँ मजदुरबाट उद्योग चलाउन सक्ने अवस्था नरहेको उद्योग सम्बद्ध संघसंस्थाहरूको भनाइ छ ।
“बलले मात्र उद्योग चल्दैन । सीप चाहिन्छ,” सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष कुलप्रसाद न्यौपाने भन्छन्, “त्यसका लागि सीपयुक्त तालिम दिनैपर्छ । यसमा सरकारी सहयोग र सहजीकरण आवश्यक छ ।”
मजदुरलाई आवासीय सुविधा दिँदै सामाजिक दूरी कायम राखेर मात्रै उद्योग चलाउन सरकारले उद्योगीहरूलाई निर्देश गरेको छ । यसो गर्दा पूर्ण समय उद्योग चल्न सक्दैनन् । कतिपय उद्योगीहरूले यसबाट फाइदा नहुने भन्दै उद्योग चलाउन रुचि देखाएका छैनन् । कामदार कम र उत्पादित सामानको पनि माग खासै नभएकाले घाटा सहेर उद्योग सञ्चालन गर्ने पक्षमा धेरैजसो उद्योगीहरू छैनन् ।
रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा जिल्लाका धेरै उद्योग आवासीय प्रकृतिका नभएकाले त्यस्तोमा के गर्ने भन्ने अन्योल कायमै रहेको बताउँछन् । सरकारको उद्योग सञ्चालन मापदण्डले उद्योगीलाई फाइदै नहुने भएकाले पनि उद्योग सञ्चालनमा रुचि नदेखाएको उनको दाबी छ ।
“उद्योगका यिनै संरचनामा आवासीय सेवा कहाँ, कसरी दिने,” बोहरा भन्छन्, “पुराना मजदुर आएका छैनन् । नयाँ मजदुर कहाँ खोज्ने, तिनबाट कसरी उत्पादन लिने र सामाजिक दूरी कसरी कायम गर्ने भन्नेमा अन्योलमा छौँ ।”