स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ [विशेष सम्पादकीय]
समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र बन्न सकौँला । तर त्यसका लागि प्रार्थना गरेर बस्ने बेला छैन, नआत्तिईकन सक्दो कदम चालौँ ।
![स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ [विशेष सम्पादकीय] स्वास्थ्य संकटकाल : मिलेर सामना गरौँ [विशेष सम्पादकीय]](https://nepal-assets-api.ekantipur.com/thumb.php?src=https://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/opinion/special-editorial.jpg&w=900&height=601)
डोनाल्ड ट्रम्पले जति दोहोर्याए पनि कोरोना अब ‘चिनियाँ भाइरस’ मात्रै रहेन । तीन महिनाअघि वुहानबाट सुरु यो विषाणुबाट अर्को छिमेकी भारतसहित १ सय ८५ देश संक्रमित भइसक्दा नेपाल हालसम्म सुरक्षित रहनु पक्कै सुखद छ । सर्वत्र स्वास्थ्य संकट बन्न पुगेको यो विश्वव्याधिविरुद्ध सतर्क र साझा प्रतिरोध चाहिएको छ । दुर्भाग्यवश आजको विश्व तीन दशकअघिको शीतयुद्धकालझैँ विभाजित मनोदशामा छ ।
नेपालको १९ माघ अंकमा हामीले कोरोनालाई जलवायु परिवर्तनको दोख चित्रित गरेका थियौँ । यी तीन महिनामा ज्यान गुमाउनेहरूको संख्या १० हजार नाघ्दै गर्दा चीन स्वयं भने कोभिड–१९ को सफल नियन्त्रणमार्फत बाँकी विश्वलाई प्रेरणा दिइरहेको छ । सर्वाधिक क्षतिग्रस्त इटालीलाई सघाउन चिनियाँ चिकित्सक पुगिसकेका छन् ।
सार्स, मर्स, इबोला, जिकाजस्ता संक्रामक रोगहरूको संकटले यसअघिका वर्षहरूमा विभिन्न देश आक्रान्त हुने गरे पनि कोभिड–१९ को संवेदनशीलता बढ्ता देखिन गयो । सबै महादेशमा कोरोना फैलिइसक्दा पनि नेपाल अहिलेसम्म ग्रीन जोनमा छ । कुनै पनि बेला यो विषाणु नेपाल पस्ने सन्त्रास कायमै छ ।
आशा, हतासा र कामनामा दिन बिताइरहेका नागरिकलाई ढाडस दिने मनसुवासहित प्रधानमन्त्री केपी ओलीले ७ चैतमा सन्देश जारी गरेका छन् । जनस्वास्थ्यमा सम्भावित विपत्तिपूर्व अपनाउनुपर्ने सतर्कताबारे उनको चासो देखिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अगुवाइमा राज्यका संयन्त्रहरू यो प्रकोपको सम्भावित दुश्चक्र तोड्न एक हदसम्म तयार देखिएका छन् । यो तत्परता सकारात्मक, तर अपूरो छ ।
यो स्वास्थ्य संकटकै कारण अर्थतन्त्रमा ठूलो क्षति पर्न सक्ने देखिएको छ । पहिले जनजीवन त सामान्य बनोस्, त्यसपछि यो भ्वाङ सबै क्षेत्र मिलेर टालौँला । कुनै पनि अभिभावक–राज्यका सामुन्ने उसका नागरिकहरूको सुरक्षा र स्वास्थ्य पहिलो जिम्मेवारी हुन आउँछ । हाम्रा अस्पतालहरूमा पर्याप्त आईसीयु छैनन् । सेना, सरकारी अस्पतालले गरेको तयारी अपुग छ । चितवनलगायत केही ठाउँमा ७२ घन्टाभित्रै ५० शय्याका अस्पताल निर्माण भएका छन् । समग्र कार्यसम्पादन भने कमजोर छ ।
यो विश्वव्याधि आगमनको सन्त्राससँगै बजारमा अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना हुन गएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चार महिनासम्म पुग्ने खाद्य, औषधीलगायत सामग्री रहेको दाबी व्यवहारमा देखिएको छैन । कोरोनाको नाममा काला बजारियाको संक्रमण भइसकेको सम्बन्धमा हामीले दुई साताअघिको सम्पादकीयमार्फत सरकारलाई सचेत गराएका छौँ ।
यो स्वास्थ्य संकटका बेला राज्यका निकाय, सार्वजनिक उत्तरदायित्व बोकेका संस्था, राजनीतिक दल, नागरिक समाज, शैक्षिक संस्थाहरू सबैले रचनात्मक भूमिका खेल्नुपर्छ । स्कुल कलेजका परीक्षा, भर्ना प्रक्रिया स्थगित भएका छन् । कोरोनाका प्रामाणिक घटना देखा परे देश बन्द अवस्था (लक डाउन) मा पुग्न सक्छ । यो अंकमा हामीले कोभिड–१९ संक्रमणपूर्व अपनाउनुपर्ने सावधानीबारे विभिन्न कोणबाट छलफल चलाएका छौँ ।
नेपालीलाई थाहा छ, विपत्तिका बेला कसरी मिलेर काम गर्नुपर्छ । प्राकृतिक, राजनीतिक, सामुदायिक विप्लवहरू झेल्दै यहाँसम्म आएका हाम्रो विगत अनुभवले यही देखाउँछ । कोरोना पोजिटिभ देखिएका एक मात्र बिरामी यसअघि नै निको भइसकेका छन् । समय छँदै देखाइने अग्रसरता यही स्तरमा कायम रहे हामी सम्भवत: यो विश्वव्याधि छल्न सफल राष्ट्र बन्न सकौँला । तर त्यसका लागि प्रार्थना गरेर बस्ने बेला छैन, नआत्तिईकन सक्दो कदम चालौँ ।