काेराेना सन्त्रास : अझै कति झेल्नुपर्ने हो जलवायु परिवर्तनको दोख
राज्यसँग कोरोना, डेंगुजस्ता समस्या समाधान गर्ने न भरपर्दो उपाय छ, न त सम्भावित क्षति टार्न अपनाउनुपर्ने पूर्वसावधानी नै ।

इबोला – सार्स – मर्स – स्वाईनफ्लु – जिका ।
एक्काइसौँ शताब्दी सुरु हुनेबित्तिकै हामीलाई माथिका यी शब्दहरू सुन्ने बानी पर्न थाल्यो । अझै के–के सुन्नुपर्ने हो, किनकि शक्तिराष्ट्रका अझै शक्तिशाली बन्ने होडबाजी अनि तिनीहरूजस्तै बन्न चाहने विकासशील राष्ट्रहरूको तँछाडमछाडका सिकार निर्दोष नागरिकहरू बन्दै छन् । कोरोनाभाइरस त्यसको पछिल्लो दृष्टान्त हो । जलवायु परिवर्तनका बाँकी असरहरू अझै देखिँदै जाने अनुमान गर्न सकिन्छ ।
ठूलो मात्रामा पर्यावरणको दोहन हुनुपूर्व पनि संक्रामक रोगहरू नदेखिएका होइनन् । अभाव र अविकासका विगत वर्षहरूमा मलेरिया, टाइफाइडजस्ता संक्रामक रोगहरूको महामारी थियो । तर पछिल्ला दुई दशक, त्यसमध्येका पनि पछिल्ला वर्षहरूमा विश्वभरिका जनताले भोग्दै आएको क्षतिका पछिल्तिर पर्यावरण संकट कारक छ । जलवायुमा देखा परेको यो बदलावका कारण विश्व नै आतंकित बन्न पुगेको छ, जसलाई आज तीव्र गतिमा विकास भइरहेको चिकित्सा परीक्षणले पनि रोक्न असमर्थ बन्दै छ ।
नेपाल म्यागजिनको यो अंकमा संवाददाता सुनिता लोहनीको कभर स्टोरीले कोरोनाभाइरस र अन्य थुप्रै संक्रामक रोगहरूका कारण उत्पन्न स्वास्थ्य संकटबारे चिरफार गरेको छ । अखबार, म्यागजिन पढ्दा होस् या टिभी खोल्दा– हामी यी संक्रामक रोगहरूका कारण सबै महादेश कुनै न कुनै रूपमा त्रस्त छन् भन्ने खबर पाउँछौँ । अरू बेला राजनीतिक खबरले भरिने हेडलाइनहरूलाई अकस्मात् स्वास्थ्य संकटका समाचारले विस्थापित गर्न पुगेका छन् । विज्ञान, प्रविधिको सहजता यतिविधि बढिसक्दा पनि संक्रामक भाइरसहरूका कारण मानवीय स्वास्थ्यको यो क्षति अकल्पनीय छ ।
केही वर्षअघिसम्म क्लाइमेट चेन्ज अर्थात् जलवायु परिवर्तन सम्भ्रान्त विद्वान्हरूले कोठामा गर्ने बुद्धिविलासको एजेन्डा मानिन्थ्यो । तर असमयमै मर्दै गएका जीवजन्तु, बोटबिरुवा, पग्लिएर कुरूप हुँदै गएका हिमाल, ब्राजिल अस्ट्रेलियाजस्ता देशमा नियन्त्रणबाहिर रहेका आगलागी यही जलवायु परिवर्तनका नकारात्मक नतिजा हुन् । केही वर्षयता बालीनालीमा देखिएका संक्रामक रोगहरू नियन्त्रणबाहिर जाँदै छन् । सबैभन्दा ठूलो क्षति त मानिस स्वयंले भोगिरहेको छ ।
विकासका नाममा प्रकृति सिध्याउने विनाशकारी चक्र नेपालमा पनि प्रवेश गरेको छ । आज पहाड र चुरे क्षेत्रमा मनलाग्दी दोहनको परिणाम बर्सेनि पहाडको पहिरो र तराईको बाढीमा भोग्दै छौँ । राज्यसँग कोरोना, डेंगुजस्ता समस्या समाधान गर्ने न भरपर्दो उपाय छ, न त सम्भावित क्षति टार्न अपनाउनुपर्ने पूर्वसावधानी नै ।
बेलैमा बुद्धि पुर्याउन सक्ने हो भने यसको उपचार नभएको पनि होइन । युरोपेली देशहरू शून्य कार्बन उत्सर्जनको दिशातर्फ अग्रसर हुँदै छन् । अमेरिका र चीनजस्ता महाशक्तिहरूले विवेकपूर्ण विकासको पक्षमा आफूलाई उभ्याउने हो भने त्यसको सकारात्मक प्रभाव अन्यत्र पनि पर्न सक्छ । तीव्र गतिमा तात्दै गएको पृथ्वी अनि त्यसको वातावरणीय प्रभाव भोगिरहेको ओजोन तहलाई जोगाउने हो भने विश्व नेतृत्वले साहसिक निर्णयहरू गर्न अब तयार हुनुपर्छ । मानव र समस्त प्राणी–प्रजाति जोगाउन योभन्दा अर्को विकल्प छैन ।