दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल विशेष हुनैपर्ने संस्कारले युवाहरूको राजनीतिक सहभागितालाई सडक तताउन र बल प्रयोग गर्नुमै सीमित गरेको छ
नेपाल म्यागजिनले सुरु गरेको युवा नेतृत्वबारेको बहस शृंखलामा नेपालका युवाहरूबारे विभिन्न कोणबाट विमर्श हुँदै आएको छ । यसमा बहस गर्नुपर्ने एउटा विषयवस्तु भनेको राजनीति वा राजनीतिक प्रक्रियामा युवा सहभागिता पनि हो ।
ऐतिहासिक पृष्ठभूमिलाई फर्केर हेर्दा विगत ७५ वर्षमा भएका विभिन्न राजनीतिक, सामाजिक आन्दोलनमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । रगत र पसिना बगाउने अधिकांश युवा नै थिए । सत्ता र पुस्ता परिवर्तन हुँदै गर्दा राजनीतिमा युवा सहभागिताको परिचालनमा निर्णायक भूमिकामा कमी हुँदै गएको पाइएको छ । हामी युवाको योगदानको चर्चा गर्दै गर्दा मान्यता दिलाउन चुकिराख्यौँ । विभिन्न अध्ययनहरूले (विशेषगरी ०६२–६३ पछि गरिएका अध्ययन) राजनीतिमा युवाहरू शोषित छन् र राजनीतिक स्वार्थका लागि तिनको प्रयोग हुँदै आएको छ भनेर निष्कर्ष निकालेका छन् ।
राजनीतिक सहभागिताअन्तर्गत विभिन्न क्रियाकलाप पर्छन्, जसले हाम्रो जीवनमा प्रत्यक्ष सरोकार राख्छन् । यसमा बहस गर्ने, विरोध गर्ने र टीकाटिप्पणीदेखि प्रत्यक्ष राजनीति गर्नेसम्म पर्छन् । राजनीतिमा सहभागिता भन्नेबित्तिकै कुनै राजनीतिक पार्टीको सदस्यता लिएर मात्रै हुन्छ भन्ने हुँदैन । राजनीतिक सहभागिता जानकारी दिनेदेखि हस्तक्षेप गर्नेसम्म हुन्छन् ।
राजनीतिको पुरानै शैली
नेपालमा राजनीति गर्ने शैली अझै पनि पुरानै छ, जसले राजनीतिक सहभागिताको निर्धारण गर्ने गरेको छ । प्राय:जसो कुनै दलमा आबद्ध हुने र आफूइतर सबै गलत भनेर चित्रण गर्ने । राजनीतिक स्कुलिङ र संस्कार नै यस्तो छ कि त्यसमा विरोधको राजनीति हावी हुन्छ । युवा संगठनहरूले आफूबाहेकका दलको कार्यमा विरोध गर्दै आएको पाइएको छ । विरोध, गाली, झगडाजस्ता क्रियाकलाप नै राजनीतिक क्रियाकलाप हो भन्ने आम बुझाइ छ ।
उदाहरणका लागि, मूल धारका राजनीतिक दलका नेता/ कार्यकर्ताहरूले हाल केही दिनयता सडकमा उत्रिएका स्वतन्त्र युवाहरूको राजनीतिक सहभागितालाई पचाउन सकेका छैनन् । यसले सशंकित बनाएको छ, धेरै कार्यकर्ताहरूलाई । परिचालित भएर विरोध गर्ने बानी भएकाहरूलाई स्वपरिचालित युवाहरूको सहभागिताले झस्काएको छ । राजनीतिक सहभागितालाई डोर्याउने राजनीतिक संस्कार नै यति जीर्ण छ कि राजनीतिक दलको आडबिना कुनै आन्दोलन सफल हुनै सक्दैन भन्ने मान्यतामा हामी बाँचिरहेका छौँ ।
राजनीतिमा परिवार र नजिककालाई अगाडि सार्ने संस्कारले पनि युवाहरूलाई यसप्रति वितृष्णा जगाएको छ । केही गरौँ भनेर राजनीतिमा छिर्नेले लामो संघर्ष पार गर्नुपर्ने अवस्था छ । हाम्रो संस्कार नै यस्तो छ कि जसले लामो राजनीति गर्यो, उसैले अवसर पाउने । ०६२/६३ को आन्दोलनको नेतृत्व गर्ने युवाहरू अहिले प्रौढ भइसकेका छन्, उनीहरू निर्णायक पदमा आउँदा वृद्ध भइसकेका हुनेछन् । यिनै परम्परागत शैलीका कारणले राजनीतिमा नवयुवाहरूको आवागमनमा तगारो लागेको छ ।
पार्टीगत धु्रवीकरणमा गाँजिएको हाम्रो समाज भोलिका लागि सक्षम नेतृत्व तयार गर्न अक्षम छ । नेपालमा राजनीति सीमित व्यक्तिहरू वरपर घुमेका कारणले नयाँ सहभागीले स्थान बनाउने सम्भावना कम छ । गएको प्रतिनिधिसभा र स्थानीय चुनाव हेर्ने हो भने युवाहरूको उम्मेदवारीले त्यति उत्साह दिएको थिएन । काठमाडौँमा नयाँ दलबाट २१ वर्षीया रन्जु दर्शनाको उम्मेदवारीले चर्चा पायो, उनले चुनाव हारे पनि ११ प्रतिशत मत ल्याउन सफल भइन् । चुनावमा हार भए पनि उनको उम्मेदवारीले भविष्यमा युवाहरूका लागि सकारात्मक सन्देशसहित मार्ग भने देखायो । तर मूलधारे राजनीतिमा युवाहरूलाई अगाडि सारिएको प्रसंग निकै कम छ, हामीकहाँ ।
यिनै कारणले दलहरूमा पनि युवाहरूको स्थान नाजुकै छ । नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनबाट जम्मा ४ जना नयाँ केन्द्रीय सदस्यले चुनाव जित्न सफल भएका थिए, जसमा युवाहरू संख्या न्यून नै छ । धेरै युवा राजनीतिमा विचलित भएका छन् किनभने असल नेतृत्वको खडेरी र विश्वासको संकट अद्यापि छ । युवाहरूलाई राजनीतिमा चासो नहुनुको मुख्य कारण भनेको तिनलाई अगाडि बढ्ने अवसर नहुनु र निर्णय लिने तहमा आवाज राख्न नपाउनु नै हो ।
युवाहरूका आफ्नै कमजोरी पनि होलान् तर देशका प्रमुख दलहरूको निर्णायक अंगमा पुग्नै पनि युवाहरूले लामो संघर्ष गर्नुपर्ने अवस्था छ । कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य उठ्नलाई क्रियाशील सदस्य भएको १० वर्ष हुनुपर्ने प्रावधान छ । तत्कालीन नेकपा एमालेमा केन्द्रीय कमिटीमा जान कांग्रेसको जस्तो प्रावधान नभए पनि व्यावहारिक बाटो भने युवाहरूलाई सकसपूर्ण नै छ । तत्कालीन एमालेले सक्रिय राजनीति गर्न ७० वर्षे उमेर हद लागू गरेको थियो, जुन अहिले हटाइएको छ ।
यसले पक्कै पनि अहिलेका ६० वर्षमाथिका नेतालाई सहज बनाउने र युवाहरूको राजनीतिक यात्रा लामो बनाउने पक्का छ ।
कानुन पनि बाधक
राजनीतिक सहभागिताको सबभन्दा उच्चतम उदाहरण र प्रयोग भनेकै मतदान गर्नु हो । नेपालको कानुनअनुसार मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा हुनुपर्नेछ भने संविधानले १६ वर्षको उमेरमा नागरिकता दिन्छ । यसको मतलव, एउटा नागरिकले नागरिकता पाएपछि २ वर्ष कुर्नुपर्ने हुन्छ, आफ्नो मताधिकार प्रयोग गर्न । सन् २०११ को जनगणनाअनुसार १६ देखि १८ वर्ष उमेर समूहका युवाहरू जनसंख्याको ५ प्रतिशत थिए, जो तत्कालीन दोस्रो संविधानसभाको चुनावमा भोट हाल्नबाट वञ्चित भए । राष्ट्रिय युवा नीतिले १६ देखि ४० उमेर समूहलाई युवा भनेर परिभाषित गरे पनि १६ देखि १८ वर्षका युवाहरूलाई यति महत्त्वपूर्ण अधिकारबाट वञ्चित गराइएको छ । त्यस्तै, विदेशमा रहेका नेपालीहरू (अधिकांश युवा), जो मतदान गर्न इच्छुक छन्– उनीहरूको सुनुवाइ कहिल्यै भएन । देशको कुल जनसंख्याको गार्हस्थको झन्डै ३० प्रतिशत योगदान गर्ने समुदाय मुलुकबाहिरै छ तर उनीहरूको राजनीतिक अधिकार भने छैन । यी समूहलाई राज्यको निर्णयमा कसरी ल्याउन सकिन्छ भनेर बहस गर्नुपर्ने बेला भइसकेको छ । यसले केही हदसम्म राजनीतिक सहभागितालाई प्रोत्साहन गर्छ ।
हुन त यस्ता विषय राजनीतिक मुद्दा हुन् र यसलाई परिवेशअनुसार निर्धारण गर्ने गरिन्छ । राजनीतिक सहभागिताको उच्चतम प्रयोग भनेको मतदान नै हो भनेर जानिसकेपछि त्यसमा यो उमेर समूह वञ्चित भएकोबारे बहस गर्नु जरुरी छ । साथै, नेपाल बाहिर रहेका नागरिकबारे पनि सोचेर देशको नेतृत्व छान्न सबै युवालाई जिम्मा दिने वातावरण बनाउनु जरुरी छ ।
युवाहरू सधैँ मैदानबाहिर
युवा सहभागिता राजनीतिक संगठनहरूमा तिनले नेतृत्व गरेको पदको संख्याबाट झल्किन्छ । राजनीतिक उम्मेदवारको रूपमा प्राय: युवाहरूलाई वहिष्कार नै गर्ने गरिएको छ । सामान्यतया राजनीतिक रूपले अनुभवीलाई मात्र अगाडि सारिने गरिएको छ, जसमा महिला सहभागिता त झनै न्यून छ । उमेर, सीमित अवसर र अनुभवका आधारमा युवाहरूलाई प्राय: मूलधारे राजनीतिमा प्रवेश दिने गरिएको छैन । पछिल्लो चुनावका प्रतिनिधिहरू हेर्ने हो भने पनि नेपाली राजनीतिमा युवाहरूको सहभागिता र्यालीमै सीमित गरिएको छ । तथ्यांकहरू हेर्दा युवाहरूको सहभागिता त्यति उत्साहजनक देखिएको छैन । नेपाली राजनीति युवाहरूप्रति अनुदार छ भन्दा फरक नहोला ।
राष्ट्रिय युवा परिषद्ले जारी गरेको तथ्यांकअनुसार नेपालको संघीय संसद्मा ३६ जना सांसद ४० वर्षमुनिका निर्वाचित भएका छन् । तीमध्ये १४ जना प्रत्यक्ष निर्वाचित छन् भने २२ जना समानुपातिकबाट आएका छन् । यी ३६ जनामा गगन थापा र योगेश भट्टराई पर्दैनन्, जो लोकप्रियताका आधारमा धेरै युवाहरूलाई प्रतिनिधित्व गर्छन् । प्रतिशतमा हेर्दा जम्मा १३ प्रतिशत युवा सांसदहरू छन्, जसमा ४० छुन लागेका धेरै छन् । राष्ट्रिय सभाको हकमा भने जम्मा ४ जना युवाहरू निर्वाचित भएका छन् । त्यस्तै, प्रदेशसभाअन्तर्गत १ सय ३० जना सांसद ४० वर्षमुनिका छन् । स्थानीय तहमा भने विभिन्न पदमा १३ हजार ८ सय ९३ जना युवा विभिन्न पदमा निर्वाचित भएका छन् । सबै जनप्रतिनिधिहरूको तथ्यांक हेर्दा ४० प्रतिशत हाराहारी देखिए पनि प्राय: नेतृत्वको भूमिकामा कमै छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार १८–४० वर्ष उमेर समूहका मतदाताहरूको संख्या ८०,७१,३६९ छ, जुन कुल दर्ता भएका मतदातामध्ये ५२ प्रतिशत हो । तर उम्मेदवारहरूको औषत उमेर हेर्ने हो भन्ने पक्कै ४० वर्षमाथि छन् ।
माथिको तथ्यांकले धेरै हदसम्म नेपाली राजनीतिमा युवाहरूको सहभागितालाई इंगित गर्दछ । तल्लो तह र राजनीतिक अंगहरूमा पुग्ने अवसर मिले मात्र प्रतिनिधिको संख्या बढ्ने हो ।
अबको बाटो : अर्थपूर्ण राजनीतिक सहभागितालाई प्रोत्साहन
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा आधारित छ । राजनीतिक सहभागिता संरचनागत राजनीतिक प्रणालीमा आधारित छ । कुनै दल विशेष हुनैपर्ने संस्कारले युवाहरूको राजनीतिक सहभागितालाई सडक तताउन र बल प्रयोग गर्न नै सीमित गरेको छ । अर्कोतर्फ, युवाहरूले राजनीतिलाई बेवास्ता गरेको आरोप खेप्दै आएका छन् तर त्यसको कारणबारे चर्चा कम हुने गरेको छ । मतदाता परिचयपत्र बनाउने क्रममा युवाहरूको सहभागिता कम भएको पनि पत्रपत्रिकामा सुनिन्थ्यो । यसले गर्दा धेरैभन्दा धेरै युवाको सहभागिता सुनिश्चित गर्न सकिएको थिएन ।
राजनीतिको मूल सिद्धान्त भनेकै हस्तक्षेप हो । हस्तक्षेपबिना राजनीति सम्भव हुँदैन । अहिले देशको जनसंख्याको आधारमा जनप्रतिनिधि युवाहरू हुनुपर्ने हो, जुन व्यवहारमा छैन । त्यसैले युवाहरू जहाँ आबद्ध छन्, नेतृत्वका लागि संघर्ष गर्न छाड्नु हुँदैन । दु:ख लाग्छ, अझै पनि आश गरिएका तेस्रो पुस्ताका नेताहरू प्रौढ हुँदै गर्दासम्म गुट– उपगुटको राजनीतिमा लागेर आउने पुस्तालाई गलत उदाहरण दिँदै छन् ।
हस्तक्षेपको चर्चा गर्दा अरू कारणले राजनीतिक सहभागिता बढाउन सकिँदैन भन्ने हैन । अरू संरचनागत सुधारहरू र अभियानले युवाहरूको राजनीतिक सहभागिता बढाउन सकिन्छ । एउटा उदाहरण हो– संरचानात्मक सुधार । जातीय र समूहको आधारमा आरक्षण दिएजस्तै युवाहरूका लागि राजनीतिक आरक्षण । मोरक्को, पाकिस्तान, केन्या र इक्वेडरजस्ता देशहरूमा युवाहरूका लागि व्यवस्थापिकामा सिटहरू छुट्याइएका छन् । केन्याले त उसको राष्ट्रिय युवा नीति र राष्ट्रिय युवा ऐनमै युवाहरूको चुनावी सहभागितालाई प्रोत्साहन गरेको छ ।
हाम्रो राजनीतिक संस्था र संरचनाहरू उदार भएर राजनीतिक सशक्तीकरणका लागि युवाहरूलाई अवसर सिर्जना गर्न लागिपर्नुपर्छ । युवा नेताहरूको योग्यता वृद्धि गर्न राजनीतिक दलहरूलाई प्रोत्साहित गर्नुपर्छ र देश बनाउन युवाहरूलाई अगाडि सार्नैपर्छ । परम्परागत भ्रातृ संस्थाभन्दा भिन्न उद्देश्यसहितका संस्थाहरूको सुरुआत गर्नुपर्छ । सामाजिक आन्दोलनमा सरिक युवाहरूलाई राजनीतिभन्दा पर हैन, नजिक ल्याउने काम गर्नुपर्छ ।
राजनीतिक सहभागितालाई रचनात्मक बनाउन इच्छा र योग्यतासँगै पर्याप्त अवसरको खाँचो हुन्छ । त्यसैले यी दुवैको मिश्रणले नै युवाहरूको राजनीतिक सहभागितालाई अर्थपूर्ण बनाउन सकिन्छ ।
युवा नेतृत्त्व नेपाल बहस श्रृंखला
- हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? [युवा नेतृत्व : बहस- १]
- के युवा पुस्तासँग भोलिको ‘परिकल्पना’ छ ? [युवा नेतृत्व : बहस- २]
- यति धेरै नेता छन्, तर नेतृत्वको संकट छ [युवा नेतृत्व : बहस- ३]
- युवा आन्दोलनका एजेन्डा र मुद्दाहरू [युवा नेतृत्व : बहस- ४]
- राजनीति, युवा नेतृत्व र युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ५]
- नेतृत्वको विचार निर्माण [युवा नेतृत्व : नेपाल बहस- ६]
- युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...