के युवा पुस्तासँग भोलिको ‘परिकल्पना’ छ ? [युवा नेतृत्व : नेपाल बहस- २]
मूल धारका राजनीतिक दलमा गोलबद्ध भएका युवाहरू हेर्दा लाग्छ– यो पुस्ता कुनै सपनाबिना हुर्किरहेको छ । एउटा वैचारिक शून्यतामा यो पुस्ता हुर्किरहेको छ ।
नेपाल म्यागजिनमा दोभान राईको एउटा लेख प्रकाशित भयो । त्यो महत्त्वपूर्ण लेखमा अहिले हामीसँग उपलब्ध युवा नेतृत्वको दु:ख के छ र त्यस्तो नेतृत्व कस्तो हुनुपर्ने भन्ने केलाइएको पनि उल्लेख छ । त्यही लेखको अन्त्यतिर एउटा वाक्यांश छ, ‘नेपाल यस्तो हुनुपर्छ भनेर परिकल्पना’ । यो लेख यही ‘परिकल्पना’ माथि हो ।
हामीले जसलाई युवा नेताको ‘आइकन’ बनायौँ, उनीहरू ५० कटिसके । अब युवा नेताका अरू आइकन तयार हुँदै छन् । तिनै उदीयमान युवा नेतामध्ये एक जना केही दिनअघि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई तुच्छ गाली गरेबापत सामाजिक सञ्जालमा चर्चित भए ।
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरको त्यो अभिव्यक्ति अहिलेको राजनीतिमा उदीयमान नेतृत्वको बौद्धिकता मापन गर्ने एउटा कडी हो ।
११ जेठमा दुई समाचार प्रकाशित भए, जाजरकोटका नवराज विश्वकर्मा कथित ‘उच्च जात’ की युवतीसँग प्रेम गरेकै नाममा रुकुममा मारिए । घटनामा उनका केही साथीहरू पनि मारिए । त्यसै दिन अर्को समाचार प्रकाशित भयो, जबर्जस्ती युवकको घर हुलिदिएपछि रूपन्देहीमा एक दलित युवती झुन्डिएको अवस्थामा फेला परिन् । यी दुवै घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता छ ।
यसअघि सप्तरीका मलर सदाले लकडाउनका कारण खान नपाएर प्राण त्याग गरे । प्रधानमन्त्रीले पटक–पटक ‘अब कसैले भोकै मर्नु पर्दैन’ भनेको र यसमा कविता पनि लेखिसकेपछि भोकै मर्नेको सूचीमा अर्को नाम थपियो, सूर्यबहादुर तामाङ ।
यी प्रतिनिधि घटना हुन्, जसले हाम्रो समाजको चित्र देखाउँछ ।
कोरोना त्रासदीले नवउदारवादी अर्थव्यवस्थाको चरित्र उदांगो बनाइदिएको छ । आज कोरोनाका कारण जसरी लाखौँ मानिसहरू मरेका छन्, यसमा केही हिस्सा सनकसिंह शासकहरूको गैरजिम्मेवारी होला । तर ठूलो हिस्सा कमाउ धन्दा बनाइएको स्वास्थ्य क्षेत्र र नाफाबाहेक अरू केही नहेर्ने अर्थव्यवस्थाको छ ।
अहिलेको राजनीतिक, आर्थिक व्यवस्थाको कमजोरी छर्लंग हुने गरी अरुन्धती रोयले लेखेकी छन्, ‘के यो महाव्याधि साँच्चिकै युद्ध हो त ? यदि साँच्चिकै युद्ध हुन्थ्यो भने अमेरिकाजति तयारी अवस्थामा को हुन्थ्यो होला र ? फ्रन्टलाइनका सिपाहीलाई मास्क र पन्जा नभएर बम, बन्दुक, ‘बंकर बस्टर’, पनडुब्बी, युद्धक विमान र आणविक बम चाहिने भएको भए यस्तै अभाव हुन्थ्यो र ?’
कोरोनाका कारण सबभन्दा धेरै मानिस अमेरिकामै मरेका छन् ।
मानिसहरूलाई थाहा भइसक्यो, यो राजनीतिक, आर्थिक व्यवस्था मानव जातिको हितमा छैन । त्यसैले अमेरिका, जो यो व्यवस्थाको संरक्षक नै हो, वैकल्पिक बहसको केन्द्र बनेको छ ।
अमेरिकाका बर्नी स्यान्डर्स, ग्रीसका यानिस भारौफाकिसलगायत विश्वका थुप्रै नेता र बौद्धिकहरू आबद्ध भएर प्रगतिशील अन्तर्राष्ट्रिय अभियान सुरु गरेका छन् ।
नोम चोम्स्की, अरुन्धतीलगायत विश्वभरका प्रगतिशील राजनीतिज्ञ, बौद्धिक, अर्थशास्त्री र अभियन्ताहरू यो अभियानको पक्षमा उभिएका छन् । यसले नवउदारवाद र कर्पोरेटको नियन्त्रणमा रहने वर्तमान प्रजातान्त्रिक व्यवस्थाको विकल्पबारे बहस अघि बढाउनेछ ।
यस पटक स्यान्डर्सलाई अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्नबाट रोक्न निर्णायक भूमिका पूर्वराष्ट्रपति बाराक ओबामाको रह्यो । डेमोक्र्याटिक पार्टीभित्र उनी अझै शक्तिशाली छन् । उनकै आग्रहमा एलिजावेथ वारेनलगायतका अन्य उम्मेदवारले आन्तरिक मतदान निर्णायक चरणमा पुग्नुअगाडि आफ्नो उम्मेदवारी फिर्ता लिए । तीमध्ये प्राय: सबैले ओबामाका उपराष्ट्रपति जो बिडेनलाई समर्थन गरे । तर यो व्यवस्थाका पक्षपोषक ओबामा, जो स्यान्डर्ससँग आधारभूत रूपमै सैद्धान्तिक विमति राख्छन् । उनले नै केही समयअघि भनिसके, ‘तपाईंले जुन व्यवस्था पाउनुभएको छ, त्यसले धनी र शक्तिशालीको मात्रै सेवा गर्छ, त्यसबाहेक अरू कसैको वास्ता गर्दैन ।’
दीक्षान्तमा करिब २ हजार युवा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले अहिलेको तमाम संस्था र संरचनाको विकल्प खोज्दै न्यायका लागि संघर्षरत हरेक समुदायलाई साथ दिन आह्वान गरेका छन् । हुन सक्छ, उनी त्यो विकल्प यही राजनीतिक, आर्थिक व्यवस्थाभित्रै खोज्न सकिने सोचिरहेका छन् । तर संसार यथास्थितिमा रहनुहुन्न र न्यायको संघर्ष थप अघि बढाउनुपर्छ भन्ने पक्षमा ओबामाले युवा पुस्तालाई आह्वान गरेका छन् ।
परिवर्तन आवश्यक छ भन्ने प्रस्ट भएको छ । यसको अर्थ सम्पूर्ण विश्व परिवर्तनका लागि तयार भइसक्यो भन्ने होइन । आगामी दिनमा प्रगतिशील र दक्षिणपन्थी शक्तिबीच टकराव तीव्र हुँदै जानेछ । प्रगतिशीलहरू चेतना र ज्ञानको हतियार बोकेर मैदानमा उत्रनुपर्नेछ । जबकि दक्षिणपन्थीहरूसँग राज्यसत्ता र कर्पोरेट सत्ताको सम्पूर्ण शक्ति हुनेछ ।
अहिलेको संसार दक्षिणपन्थको नियन्त्रणमा छ । अन्ध राष्ट्रवाद, नश्लवाद, धार्मिक उग्रवाद, अल्पसंख्यकप्रति घृणा, आप्रवासीप्रति वितृष्णा यसको विशेषता हो । दक्षिण एसियामा जातीय अहंकार यसमा थपिएर आएको छ ।
यो महामारीको सामना गरिसकेपछि पनि चीनले जनस्वास्थ्यभन्दा सैन्य बजेट ठूलो अनुपातमा बढाएको छ । ट्रम्पको नेतृत्वमा रहेको अमेरिका वा अरू मुलुकमा पनि यो क्रम दोहोरिनेछ । यसले प्रगतिशीलसँगको टकरावलाई बढाउँदै जानेछ । निश्चित छ, यसमा प्रगतिशीलहरू पराजित भए भने संसार अहिले भएको भन्दा पनि खराब हुनेछ । अबको विश्व कस्तो हुन्छ भन्ने नयाँ विश्वको परिकल्पना गर्नेहरूले बाँकी लडाइँ कति कुशलतासाथ लड्छन् भन्नेमा भर पर्छ । हाम्रो मुलुक पनि यसको एक हिस्सा अवश्य हुनेछ । यो विश्वव्यापी लडाइँमा हामी योगदान थोरै गरौँला तर यसबाट अलग्ग बस्न सक्दैनौँ ।
माथि उल्लिखित विषयहरू अलगअलग लाग्छन् । तर जब तपाईं परिकल्पनाको कुरा गर्नुहुन्छ, यी विषय एकाएक एकअर्कासँग सम्बन्धित हुन पुग्छन् । आफू बाँच्ने र आफ्ना सन्ततिलाई हस्तान्तरण गर्ने समाज कस्तो बनाउने भन्ने प्रश्न यी सबै सन्दर्भसँग सम्बन्धित छ ।
हरेक समाजमा प्रत्येक युवा पुस्ताले आफ्नो भोलिको परिकल्पना गर्दछ, गर्नुपर्छ । यस्तो परिकल्पना आफूभन्दा अघिल्ला पिँढीले निर्माण गरेको समाज, तिनले उत्पादन गरेको ज्ञान र त्यसको आलोचना तथा समकालीन विश्व परिस्थितिबाट निर्माण हुन्छ ।
राणा शासनको अँध्यारो सुरुङमा छामछाम–छुमछुम गर्दै गंगालालहरूले यो अँध्यारोबाट उन्मुक्त समाजको परिकल्पना गरे । बीपी कोइराला, पुष्पलाल, सुवर्णशमशेरहरू त्यही सपनाको बाटोमा हिँडे । र, हाम्रो समाज एक कदम अगाडि बढ्यो ।
समाज यही बाटोमा अगाडि बढ्न पाएको भए हामी कहाँ हुन्थ्यौँ, यो अनुमान मात्र गर्न सक्छौँ । पक्कै पनि त्यो समाज बीपी, सुवर्ण, पुष्पलालजस्ता नेताहरूको परिकल्पनामा आधारित भएर अघि बढ्ने थियो । ०१७ मा राजा महेन्द्रले प्रजातन्त्र खोसे, हाम्रो समाज पछाडि फर्कियो ।
यसपछिको पुस्ताले अर्को सपना देख्यो– पञ्चायतको अन्त्य र समाजवाद । ३० वर्षको संघर्षपछि पञ्चायत अन्त्य भयो, समाजवाद उनीहरूले बाटैमा बिर्सिए ।
बिर्सिएको समाजवाद १० वर्ष लामो जनयुद्धले सम्झायो । यति मात्रै होइन, यसले हाम्रो समाजमा विद्यमान जातीय, लैंगिक विभेद, सामुदायिक, क्षेत्रीय वहिष्करणलगायत समस्याहरूलाई पनि सतहमा ल्यायो । यो आन्दोलनको दौरान ठूलो मानवीय र भौतिक क्षति भयो, जुन पीडादायक छ । यसले समाजका वास्तविक अन्तरविरोधलाई मूल धारमा ल्याउन र समाजको तल्लो तहसम्म राजनीतिक जागरुकता पैदा गर्न भूमिका पनि निर्वाह गरेको छ । यो त्यो पुस्ताले देखेको सपना थियो ।
पहिलो संविधानसभाको विघटनसँगै मुलुकमा प्रतिगमनको दौड सुरु भयो । जनआन्दोलनका दौरान देखिएका तमाम सपनाहरूलाई कुल्चिएर संविधान जारी भयो । र, जबर्जस्त घोषणा गरियो– राजनीतिक मुद्दा सकियो ।
के यो घोषणा नयाँ पुस्ताले पत्यायो ?
यो नयाँ पुस्ताले देख्ने सपनाको नियोजन गर्न ल्याइएको भाष्य थियो । आज मूल धारका राजनीतिक दलमा गोलबद्ध भएका युवाहरू हेर्दा लाग्छ– यो पुस्ता कुनै सपनाबिना हुर्किरहेको छ । एउटा वैचारिक शून्यतामा यो पुस्ता हुर्किरहेको छ ।
के युवा पुस्ता राजनीतिक मुद्दा सकियो भन्ने त्यही षडयन्त्रमूलक प्रचारको सिकार भयो ?
सामाजिक वहिष्करणको समस्या जहीँको तहीँ छ । जातीय विभेदले झन् जरा गाड्दै छ र त्यसले नयाँ पुस्तालाई समेत प्रशिक्षित गरिरहेको छ । सामन्तवाद करिब सबै क्षेत्रबाट समाप्त भएको छ तर त्यसको स्थान दलाल पुँजीवादले लिएको छ । धनी र गरिबबीचको खाडल अझ बढ्दै गएको छ । निम्न वर्ग र निम्न मध्यम वर्ग शिक्षा एवं स्वास्थ्योपचारबाट वञ्चित हुने अवस्था सिर्जना भइसकेको छ ।
आज प्रेम गरेको नाममा कोही मारिन्छ भने त्यो दलित युवा हुन्छ । प्रेम गरेकै कारण कसैले आत्महत्या गर्नु परेको छ भने त्यो दलित युवती हुन्छ । भोकै कोही मरेको छ भने कि त दलित हुन्छ, कि तामाङ । वर्गीय संरचनामा जातको व्यवस्थाको स्पष्ट प्रभाव देखिन्छ । हरेक समस्याले दलितलाई सबभन्दा धेरै संकट सिर्जना गरिरहेको हुन्छ । अझ धेरै दलित भूमिहीन छन् । कतिपयसँग नाम मात्रैको जमिन छ । यसपछि तामाङ, थारु र अरू अल्पसंख्यक जनजातिहरू यो संरचनाबाट पीडित छन् । विकृत नवउदारवादको प्रभाव पनि जातीय छ । नवउदारवादी अर्थनीतिले सीमान्तकृतलाई नै बढी प्रभावित पारेको छ ।
राजनीतिक दल वा तिनमा आबद्ध संगठनहरूले यी सामाजिक प्रश्नहरूलाई पन्छाइसकेका छन् । यसमा सीमित एनजीओहरूले काम गरिरहेका छन् । तर अधिकारका निम्ति काम गर्ने एनजीओलाई कस्न सरकार प्रयत्नशील छ । आज समताको मुद्दा बोकेर काम गर्ने संगठित शक्ति नै छैन ।
के आफूलाई भोलिको नेतृत्वका लागि तयार गर्दै गरेको हाम्रो समाजका यी परम्परागत समस्या एवं बदलिँदो विश्वका चुनौतीमाझ यो देश र समाजलाई कसरी अघि बढाउने भन्ने तयारी गरेको छ त ?
एउटा यस्तो समाज, जहाँ प्रेम गरेका कारण कोही मारिँदैन । जहाँ जातकै आधारमा मानिस अवसरमा विभेद हुन्न । जहाँ महिला मात्रै होइन, लैंगिक अल्पसंख्यकले पनि पुरुष समान अवसर पाउँछन् । जहाँ रङ र लवजले राष्ट्रियताको डिग्री नापिन्न । सबैले आफ्नो मौलिक संस्कृति रक्षा गर्न पाउँछन्, सक्छन् र एकअर्काको संस्कृतिलाई उत्तिकै सम्मान पनि गर्छन् । तर मौलिकताको नाममा समाज रुढीमा अल्झिएर बस्दैन र आफ्नो आधुनिकता सिर्जिइरहन्छ । कम्तीमा शिक्षा, स्वास्थ्य, सञ्चार, खाद्यान्न, रोजगारीजस्ता कुरामा सबैको समान पहुँच हुन्छ, यसमा जात र वर्गले फरक पार्दैन । जहाँ सम्पत्तिको वितरण आजभन्दा बढी समतामूलक रूपमा हुनेछ । समाजको यो स्वरूपको परिकल्पना आजका पुस्ताको दिमागमा छ त ?
यो परिकल्पना कसरी आफ्नै जीवनको यथार्थ बनाउने भन्ने छैन भने उनीहरूको मथिंगल यसमा खर्च भइरहेको छ त ? छैन भने अहिलेकै अव्यवस्थालाई त जसले अघि बढाए पनि भयो । यसमा युवा वा पाको नेतृत्व भन्ने प्रश्नै रहेन । जब सपनाको चौघेरा हिजोको पुस्ताभन्दा साँघुरो हुन्छ, जब कल्पनाको क्षितिज पुरानो पुस्ताको भन्दा नजिक हुन्छ, त्यसले नयाँ समयलाई कसरी नेतृत्व दिन सक्छ ?
अर्को उत्तिकै महत्त्वपूर्ण प्रश्न छ– के अहिलेकै राजनीतिक संरचनाबाट यस्तो परिकल्पनासहितको नेतृत्व निर्माण हुन सम्भव छ ?
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...