म्याद गुज्रिएको औषधीजस्तो विद्यार्थी नेतृत्व
कुनै बेला सीमा अतिक्रमित भूमिमै पुगेर मार्चपास गर्ने विद्यार्थी आन्दोलन आज नेतृत्व शून्यताको कारण कर्मकाण्डमा सीमित छ
देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा पर सोच्नै सक्दैनन्
विश्वव्यापी कोरोना महामारीबीच अलपत्र एवं अलमल्ल परेका नेपालीहरू सहयोगको आशमा सरकारतर्फ हेरिरहेका छन् । तर यस विकराल परिदृश्यलाई पछाडि धकेल्दै सरकार आफ्नै नाटक मञ्चन गरिरहेको छ ।
भ्रष्ट खेल, क्रुर उपेक्षामाथि खुराफात र पाखण्डको परम नमुनासँग, राष्ट्रको शक्ति एवं सत्ताको मञ्चमाथि यस्ता कुरूप नाटक प्रदर्शन भएका छन् । यसले जनताको बौद्धिकता अपमानित भएको छ । आँत थाकेको छ ।
यदि हुँदो हो त फनक्क फर्केर यो नाटक वहिष्कार गरिदिऊँ या यसका पूरै पात्र फेरेर नयाँ कथा रोजुँ । तर नेपालीको दुर्भाग्य ! पात्र फेर्नलाई रंगभूमिमा जति पनि विकल्प छन्, ती सबै यो मञ्चमा विफलता र भ्रष्टताले आ–आफ्नै रङ–रङका तमासा दोहोर्याइसकेका छन् ।
केन्द्रका नेताहरूले सत्ताको डोरी पटक–पटक आफ्नो हातमा आउँदा पनि पुराना गल्तीबाट सिकेर नयाँ निकास दिनु त कता हो कता । तिनै गल्तीहरूको पुनरावृत्ति र विस्तार गर्दै भएको सबै मानसिक ऊर्जा र रचनाशीलता जति सत्ता टिकाउने साँघुरो खेलमा सीमित गरे । शक्ति भ्रष्टताको पर्याय बन्यो र नेतृत्व पतनको ।
के यो देशमा नेता नभएकै हुन् त ? यो प्रश्न पटक–पटक आउँछ । सँगसँगै अर्को प्रश्न आउँछ, नेतृत्व के त्यही अनुहारमा सीमित हुनुपर्छ र ? युवा नेतृत्व खोइ ?
युवा नेतृत्व : यी दुई शब्द सम्भावनाका मीठो दृश्य बोकेर आउँछन्– नेतृत्वमा युवा पहुँच नहुनु नै समस्या हो । र, युवा नेतृत्व नै समाधान हो ।
तर के नेतृत्वमा युवाको पहुँच नहुनु नै जरो समस्या हो त ?
अहिलेको नेतृत्व ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता, मौलिकता आखिर के नपुगेर बेहाल हुन पुगेको हो ? के यी आवश्यकता युवा नेतृत्वले दिन सक्छ त ? के हाम्रा आजका युवाले दिन सक्छन् ? अझ भनौँ, नेतृत्वमा दाबा गर्ने युवाहरूले दिन सक्छन् ?
यो देशलाई साँच्चै निकास दिने हो भने युवा नेतृत्वको आवश्यकताबारे मात्र हैन, कस्तो युवा नेतृत्व, त्यो बहस पनि सुरु गर्नुपर्छ ।
अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै पर छन् । आधारभूत आवश्यकता पूरा गर्न देश एवं विदेशको छेउ र कुनातिर अल्झिई बाँच्नु परेको छ । यो देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा वरै सीमित गरिदिन्छन् । आफ्नै रगत–पसिनामा टिकेको यो देशको नवीन परिकल्पना गर्ने केन्द्रमा तिनले आफूलाई कल्पना पनि गर्दैनन् ।
त्यस्तै नेतृत्वसँग उदासीन अर्को ठूलो युवा समुदाय छ, जो तुलनात्मक रूपमा शिक्षा र स्रोतमा केही पहुँच त राख्छ तर शक्ति एवं सत्ताको खेलबाट यति वितृष्णा छ कि आफ्ना आशा र अभिलासा व्यक्तिगत घेरामै राख्न रुचाउँछ ।
यस भद्रगोलबीच पनि नेतृत्व लिन तत्पर युवाहरू जो छन्, तिनीहरू मोटामोटी तीन हिस्सामा सक्रिय छन् ।
राजनीतिक दल र विभिन्न संगठनमा आबद्ध युवाहरू राजनीतिक नेतृत्वको प्रत्यक्ष बाटोमा छन् ।
दलसँग असम्बन्धित तर राजनीतिक–सामाजिक मुद्दा उठाउने युवाहरूको अर्को जमात छ, जो व्यावसायिक वा व्यक्तिगत माध्यमबाट यी मुद्दामा कार्यरत छ ।
त्यस्तै, राजनीतिक मुद्दाहरूमा केन्द्रीकृत नभई व्यावसायिक क्षेत्रमा सिर्जनशीलता र उद्यमशीलताद्वारा विकासको सम्भावना देखाउने युवाहरूको अर्को जमात छ ।
राष्ट्रको वर्तमान नेतृत्वले यी युवाहरूलाई कस्तो सहयोग एवं मार्गनिर्देश गर्नुपर्छ र के गरेको छ भन्ने आफैँमा महत्त्वपूर्ण विषय हो ।
नेतृत्वमा दाबा गर्ने युवाहरू आफैँले गर्न सक्ने र गर्नुपर्ने कुराहरू के हुन् भन्नेतर्फ म यो लेखमा केन्द्रित हुन खोजिरहेको छु ?
युवा नेतृत्वलाई एउटा नारा या सजिलो आशा मात्र नभएर साँच्चै प्रभावकारी बनाउन युवाहरूले कस्तो आत्मनिरीक्षण, कस्तो तयारी गर्नुपर्छ त ?
यो पनि पढ्नुस
कुनै बेला सीमा अतिक्रमित भूमिमै पुगेर मार्चपास गर्ने विद्यार्थी आन्दोलन आज नेतृत्व शून्यताको कारण कर्मकाण्डमा सीमित छ
राजनीतिक पार्टीका युवा प्रतिनिधिहरू वरिष्ठहरूको हनुमान हुनुमा छोटो बाटो देख्छन् कि आफ्नो मौलिकतामा युवा चिनारी दिन्छन् ? युवा नेता हुनुको अर्थ पुरानो खेलमा नयाँ पात्र थपिने मात्र हो भने यी सस्ता फोटोकपीहरूले कुनै नयाँ निकास दिन सक्दैनन् ।
त्यस्तै, राजनीतिक, सामाजिक परिवर्तनको कुरा गर्नेहरू, मानव अधिकार र सामाजिक न्यायका स्वघोषित योद्धाहरूले यी मुद्दा उठाउँदा शक्तिको पुरानै परिभाषाको जगमा खोक्रो परिवर्तनको खाका कोर्छन् कि बृहत् बुझाइसँग नयाँ परिकल्पना ल्याउन सक्छन् ? या कतै सामाजिक सञ्जालमा ‘भर्च्यु सिग्नलिङ’ मै सीमित रहेर, आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा भने सामन्ती अवशेष रहेर पाखण्डको नमुना बन्दै सामाजिक न्यायका मुद्दाहरूलाई नै छायामा पार्छन् ?
त्यस्तै, अर्को डर छ– कतै व्यावसायिक छेत्रबाट विकासको बाटो खन्छु भन्ने युवाहरू जो छन्, गैरराजनीतिक हुने मनसायमा कतै सामाजिक, राजनीतिक यथार्थबारे नै अनभिज्ञ हुने त हैनन् ? आफ्ना व्यावसायिक बुझाइ सामाजिक, राजनीतिक चेतनासँग गाँस्न जानिएन भने दिगो र समग्र समाधान कसरी दिने ? कतै उनीहरू उद्यम र समृद्धिको दौडमा सामाजिक न्याय बिर्सिने अथवा त्यसको बहानामा सामाजिक न्यायलाई उल्ट्याउने खलपात्रको गोटी त हुने छैनन् ?
युवा आशालाई आलोचनाले निरुत्साहित बनाउने उद्देश्य होइन तर सोध्नुपर्ने प्रश्नहरू हामीले सोध्नैपर्छ । यो देशको जुन छोटो–लामो इतिहास छ, त्यसमा मैले नेपाली युवाहरूले उपलब्धि सँगसँगै ठूला भुलहरू गरेको देखेकी छु ।
यस्तै, एउटा नमीठो स्मरण हो– ०७२ को मधेस आन्दोलनमा बहुसंख्यक पहाडे युवाहरूको खेदपूर्ण भूमिका । राज्य पुनर्संरचनाको राजनीतिक मुद्दासँगै मधेस आन्दोलन एउटा भावनात्मक विद्रोह पनि थियो । पहाडे पहिचानमा सीमित नेपाली राष्ट्रियतालाई फराकिलो बनाउने आत्मसम्मानको लडाइँ थियो, त्यो । त्यसमा मधेसका थुप्रै युवाहरू होमिए र ५० बढी सहादत पनि भए ।
पुनर्संरचना जटिल मुद्दा थियो, जुन सबै युवाको बुझाइभित्र नपर्न सक्छ । तर मधेसी युवाहरूको आत्मसम्मानको जुन भावनात्मक लडाइँ थियो, त्यसमा पहाडे युवाहरूले साथ र सद्भाव दिन सक्थे । आखिर ती सबै मधेसी समुदायप्रति भएको सदियौँदेखिको अपमानको साक्षी र सहभागी दुवै थिए । एकाधबाहेक बहुसंख्यक पहाडे युवाहरूले कि त आन्दोलनलाई पूरै बेवास्ता गरे या उल्टै उनीहरूकै राष्ट्रियतालाई शंका गर्दै अनेक आक्षेप र गालीगलौज गर्दै घाउमा नुन छर्केर मधेसी युवाहरूको मनमा छूरी रोप्ने काम गरे ।
मधेस आन्दोलनलगत्तै भएको नाकाबन्दीमा फेरि तिनै युवाहरू भारतको विरोधमा यस्तो मुखर भएर उत्रिए, यसले स्वाभाविक प्रश्न उब्जायो– भारतको विरोधमा उत्रिएको त्यो युवा नेतृत्व ऊर्जालाई मधेस आन्दोलनमा रचनात्मक भूमिका खेल्न केले रोकेको थियो ? यो अवसरवादी छनौटे राष्ट्रवाद देखेपछि मलाई नेपाली युवाहरूको राष्ट्रवादमै सन्देह लाग्न थालेको छ ।
यो प्रेम, न्याय र स्वाभिमानमा आधारित राष्ट्रवाद हो कि हीन भावना र अहंको विषाक्त अभिव्यक्ति ?
अहिले लिपुलेक सीमा अतिक्रमणको विरोधमा नेपाली युवाहरू फेरि उत्रेका छन् । भारतको यस अतिक्रमणकारी कार्यको विरोध आत्मसम्मान भएको र अन्तर्राष्ट्रिय पारस्परिक सम्मानको मान्यतामा विश्वास गर्ने सबै नेपालीले गर्नुपर्छ । तर यस अपमानमा दुख्ने नेपाली मन यो महामारीमा सिमानामा अलपत्र नेपालीको दु:खमा पनि दुख्नुपर्छ । भारत सरकारको हेपाहापनमा उठ्ने क्रोध आफ्नै सरकारको असंवेदनशीलतामा पनि जाग्नुपर्दछ ।
राष्ट्रवाद अमूर्त गाथाहरू मात्र हैन, मूर्त उत्तरदायित्व पनि हो ।
पक्कै पनि सबै मुद्दाले सबैलाई उत्तिकै उद्वेलित नगर्न सक्छ । कुनै मुद्दा त्यस्ता हुन्छन्, जसले हाम्रो अवचेतनलाई नजिकबाट छुन्छ एवं चेतनालाई सक्रिय बनाउँछ र ठोस क्रियामा चलायमान बनाउँछ । नेतृत्वको भूमिका यस्तै संवेदनशील विषय र क्षणहरूमा अपरिहार्य छ । कुन मुद्दालाई प्राथमिकता दिने र कुन मुद्दाहरूको निम्ति मैदान बनाउने ? अग्रगामी समाजका निम्ति सही मुद्दामा समाजलाई परिचालन गर्दै चेतना र अवचेतनाको निर्माण गर्नु नेतृत्वको जिम्मेवारी हो । यो रचनात्मक नेतृत्व दिन नसक्ने र केवल भीडको लहडमाथि मात्र आफू हावी हुन खोज्ने हो भने त्यो नेतृत्वभन्दा अवसरवाद हो ।
युवा नेतृत्वको सामर्थ्य राख्नेहरू नयाँ नेतृत्व दिन सक्छन् कि सामन्ती अवशेषकै निरन्तरता हुन्छन् ? मधेस आन्दोलनका बेला मैले आश गरेको एउटा ठूलो हिस्सा थियो, अमेरिकाजस्ता विकसित मुलुकका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका नेपालीहरू, जसले विविधता र बहुसांस्कृतिकताबारे अध्ययन गर्ने अवसर मात्र पाएनन् कि ती देशहरूमा जातीय न्यायको लामो संघर्षबाट बनेको विविधताको मान्यताका लाभार्थी पनि भए । सोचेकी थिएँ, नेपालमा हुँदा सीमान्तीकृतको भोगाइ आफैँले महसुस नगरे पनि विदेशको आप्रवासी अनुभवले एउटा बुझाइ दिएको हुनुपर्छ ।
विशेषाधिकार र सीमान्तीकरण दुइटै पक्ष देखेको एवं विश्वले मानेको उत्तम उदारवादी शिक्षा पाएको त्यस समूहबाट मधेस आन्दोलनमा आन्दोलनरत युवाका निम्ति सद्भाव प्रखर र पर्याप्त रूपमा देखिएन । विविधता र बहुसांस्कृतिकताको आधारमा विदेशी छात्रवृत्ति पाउने चम्किला भविष्य बोकेका कर्णधारहरूबाट समर्थनको आवाज सुनिनुपर्ने गरी सुनिएन । युवा नेतृत्वको चरम आवश्यकता भएको त्यो क्षणमा अरू बेला युवाको नाममा छाउने नामहरू कतै देखिएन । सामूहिक आवाज उठाएर, विभिन्न जोखिम मोलेर, आफ्नो जीवनै अर्पण गरेर एकातिर मधेसी युवाहरूले युवा नेतृत्वको आशा देखाए भने पहाडे युवा नेतृत्वले जति नै उच्च शिक्षा हासिल गरे पनि माध्यमिक तहको महेन्द्रमालाभन्दा माथि उठ्न नसकेको दु:खद दृष्टान्त देखाए ।
आखिर विकसित मुलुकको उच्च शिक्षाबाट व्यक्तिवादी प्रतिस्पर्धात्मकता मात्र सिक्ने र सामन्तवादको मूल जरो भने यथावत राख्ने हो भने, आधुनिकताको नाममा ब्रान्डिङ एवं मार्केटिङ मात्र सिक्ने तर मानसिक पछौटेपनमै अल्झिरहने हो भने विदेश शिक्षित नेपाली, ‘फर्केर आएको नेपाली’ भनेर नेपाली युवाले ‘बेस्ट अफ बोथ वल्र्ड्स’ ल्याउँछन् कि ‘वस्र्ट अफ बोथ वल्र्ड्स’ भित्र्याउँछन् ?
मैले आश गरेको युवा नेतृत्व चुकेको अर्को दु:खद दृष्टान्त हो, प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकारको अवैध एकाधिपत्य र आपराधिक कार्य प्रकाशमा आउँदा यस क्षेत्रका अगुवाहरू चुपचाप बसिदिनु । ‘इनोभेसन’ र उद्यमशीलताको झन्डा बोक्दै आदर्श एवं नायकत्वको पगरी गुथेका थुप्रै पात्रहरू सूचना प्रविधिको मञ्चमा देखा परिसकेको हुँदा पनि यस्तो गम्भीर समय अनि विषयमा ती पूरै पंक्तिका पंक्ति मौन बस्नुलाई कसरी अर्थ्याउने ?
स्रोत–साधन र सरकारको ठोस सहयोग अभावमा पनि सूचना प्रविधि एवं उद्यमशीलताको आधार तयार पार्ने यस क्षेत्रका अगुवाहरू पक्कै पनि बधाई र धन्यवादका पात्र हुन् । तर सूचना प्रविधि एवं उद्यमशीलताको अवसर र प्रोत्साहनका निम्ति आवाज उठाउने यो जमातले जिम्मेवारी एवं जवाफदेहिताको विषयमा चुप रहन मिल्छ ? समाजको दुर्भाग्य त्यतिखेर हुन्छ, जब हुनेखाने र पहुँचवाला वर्गले अवसरमा आफ्नो हक दाबा त गर्छ तर आफ्नो उत्तरदायित्व महसुस गर्दैन ।
युवा नेताको नाममा उही पुरानो खेलमा नयाँ पात्र थपिने मात्र हो भने यी सस्ता फोटोकपीहरुले कुनै निकास दिन सक्दैनन्
नेतृत्वको आकांक्षा राख्ने नेपाली युवाले यो बुझ्न जरुरी छ कि विदेशी डिग्रीको बिल्ला भिर्दैमा, जुकरबर्गसँग आफ्नो उमेर मिल्दैमा यो देशलाई चाहिएको आफैँ हो भन्ठानेर ठोकुवा गर्नुअघि धेरै गृहकार्य गर्नैपर्छ । यो देश समय–कालको कुन अद्वितीय क्षणमा छ र यसभित्र कस्ता जटिलताहरू छन्, त्यो बुझ्ने मिहिनेत गर्नुपर्छ ।
कृषि, औद्योगिक, सूचना प्रविधि र ‘आर्टिफिसियल इन्टलिजेन्स’ को युग हामी नेपालीहरू एकैचोटि भेट्दै छौँ । सामन्तवाद, गरिबी र अशिक्षाबाट भर्खर निस्कँदै भौतिक विकास एवं प्रविधि संरचनाको जग बनाउँदै गर्दा जलवायु परिवर्तन, उपभोक्तावाद अनि ‘एआई अपोकलिप्स’ जस्ता वैश्विक समस्याहरू पनि आफ्नो अगाडी तैनाथ भेट्दै छौँ । हामीहरू पुराना समस्या र नयाँ चुनौती सँगै सामना गर्दै छौँ । समस्या र आवश्यकताहरू यति वृहत र यति जटिल छन् कि शिक्षा, रोजगार, लोकतन्त्र, सुशासन, विकास, पर्यावरण, वर्ग एवं पहिचान, विज्ञान, प्रविधि, कला, उद्यम, स्वास्थ्य, स्वतन्त्रता अनि शान्ति, समावेशिता, सहिष्णुता, राष्ट्रवाद र अन्तर्राष्ट्रियवाद सबै विषयलाई यो नयाँ पुस्ताले समेटेर लैजानु पर्नेछ।
प्राविधिक र सैद्धान्तिक ज्ञानले मात्र, ब्रान्डिङ र नेटवर्किङको कुशाग्रताले मात्र, ‘हाउ टु विन’ र ‘हाउ टु इन्फ्लुयेन्स’ जस्ता आधुनिक सूत्रहरूले मात्र युगौँयुगदेखि जेलिएका यी समस्या समाधान गर्न सक्दैन । हामीलाई मानसिक जागरुकताका साथै मनोवैज्ञानिक चेत चाहिएको छ । व्यावसायिक पराक्रमका साथै नैतिक साहस चाहिएको छ । आफ्ना ‘ब्लाइन्ड स्पट्स’ र ‘कग्निटिभ बायसेस’ लाई आत्मविश्लेषण गर्दै अनवरत सिकाइको प्रतिबद्धता चाहिएको छ ।
देशमा गर्नुपर्ने कामहरू यति धेरै छन् कि एक जनाले पहाड चढ्दैमा, एक जनाले तक्मा थाप्दैमा केही हुनेवाला छैन । त्यसैले हामीले त्यस्तोलाई टुप्पोमा ठेल्नुपर्छ, जसले तलकालाई भर्याङ दिन सकोस् र सबैका निम्ति मैदान बनाउन सकोस् । हामीले त्यस्तो नेतृत्वलाई चुन्नुपर्छ, जसले सामूहिकतामा विश्वास राख्दै आफूलाई हैन, समुदाय र सामुदायिकतालाई केन्द्रमा राख्ने बुद्धिमानी र उदारता देखाउन सकोस ।
देशको इतिहास र वर्तमानले देखाएको छ, हामीले जबजब तिलस्मी व्यक्ति खोज्यौँ, निराशा मात्र प्राप्त गर्यौँ र जबजब सामूहिकतामा भरोसा राख्यौँ, तब नै समाधान पायौँ । अभिभावकरूपी नभई शासकरूपी राज्य पाउने अभाग परेका हामी, सधैँको स्रोत–साधन अभावमा बाँच्नु परेको हामी, अहिलेसम्म जति बाँचेका, मौलाएका छौँ, आखिर सामूहिकता र सामुदायिकताको आधारमै छौँ । हामी नेपालीहरूले पटक–पटकको राजनीतिक उथलपुथल जसरी सामना गरेका छौँ, भूकम्प र निरन्तर प्रकोपसँग जसरी टिकेका छौँ, विदेशमा कोही र केही नहुँदा जसरी एकअर्काका समाउने हाँगा भएर बसेका छौँ, ती सब हाम्रो सामूहिकताको परम्पराबाट सिकेका सिकाइ नै हुन् । सामूहिकतामै नेपालीहरूले तत्परता, उदारता, साहस एवं समाधान देखाउँदै आएका छन् ।
लाग्छ, सामूहिक परम्पराका साथै नेपाली युवाहरूले यो गरिब देशबाट दुई अरू विशिष्ट स्रोतभण्डार पाएका छौँ । लामो अन्धकारपछि विस्तारै उघ्रेको नेपाली राजनीतिक परिवेश हामीले देखेको एक पुस्तामै विभिन्न आन्दोलन, उथलपुथल, घटनाक्रम र प्रयोगहरूबाट गुज्रेको छ । विष्णुको अवतार मानेका राजा आँखैअगाडि आफ्नै आवाजले कसरी हट्दो रहेछ भनेर प्रत्यक्ष देखेका हामी अनपेक्षित परिवर्तनका अनुभवी भइसकेका छौँ ।
नेपाली युवाका लागि अर्को ठूलो स्रोत भनेको देशको जनसंख्याको संरचना हो । हाम्रो जनसंख्या विविध मात्र हैन कि अन्तरमिश्रित पनि छ । आँखा उघारेर हेर्ने हो भने नेपालमा हुर्कने युवाले जीवनदर्शन, धर्मसंस्कृति, विश्वासप्रणाली को यति रङ देखेर हुर्किन्छ कि ‘क्रिटिकल’ सोचाइका निम्ति समाज आफैँमा एउटा जीवन्त पुस्तक छ ।
म त भन्छु, प्रयोगशालाजस्तो इतिहास र इन्द्रेणीजस्तो समाजमा हुर्किन पाउनु एउटा अवसर हो । यी सन्दर्भले हामीलाई बुझाएको विविधता र सामूहिकता दुई ठूला ज्ञान हुन् । लाग्छ, यी ठूला ज्ञानमा टेकेर हामीले सफल नेतृत्व देखाउन सक्यौँ भने यो अल्मलिरहेको आजको विश्वका लागि नमुना मात्र होइन, एउटा उपहारै हुन्छ ।
नेपाललाई सतीले सरापेको देश भनिन्छ । नेपालीहरूले घरिघरि यो भनाइ दोहोर्याउनुपर्ने कारण हो– आधुनिक नेपालमा हामीले थाहा पाएदेखि नै यसको सत्तामा सर्वाधिकार जमाउनेहरूले शक्ति हत्याउन सफलता देखाए पनि जनतालाई सेवा दिने कुरामा सधैँ निकम्मा सावित भए । यसबाट बुझ्ने कुरा के भने शक्ति र क्षमताको सीधा सम्बन्ध हुँदैन रहेछ ।
नेतृत्वमा अधिकार जमाउने तर सम्हाल्न नसक्नेहरूबाटै निरन्तर शोषित हुनुको पीडाले एक्काइसौँ शताब्दीको यो तेस्रो दशकमा आइपुग्दा पनि हामी अझै आधारभूत आवश्यकताका निम्ति संघर्ष गरिरहेका छौँ । विश्वव्यापी पुँजीवादी यन्त्रमा सबभन्दा सस्तो आधुनिक दासको रूपमा विदेसिन बाध्य छौँ । राष्ट्रिय गौरवको नाममा सगरमाथा र गौतम बुद्धको नाम लिने हामीहरू जब अतिक्रमणमा पर्छौं, सामाजिक सञ्जालमा गाली गरेर र रियालिटी शोमा भोट गरेरै तुष फेर्न लाचार छौँ । यस परिस्थितिमा अड्केका हामी नेपालीलाई व्यक्तिवादी आधुनिकीकरण र सैन्य राष्ट्रवादले निकास दिन्छ भन्नु महेन्द्रमालाको कथा एवं त्यही हामीले भोट गर्ने रियालिटी शोजस्ता भ्रम अनि कल्पना मात्र हो ।
कल्पना त हामीले पक्कै गर्नुपर्छ तर हीनताबोध एवं अकर्मण्यलाई अहं र भ्रमले ढाक्ने पलायनवादी कल्पना हैन, हाम्रो इतिहास, वर्तमान एवं भविष्यलाई हेरेर, आफू र आफ्नो समाजलाई अध्ययन गरेर, नेपालीले नेपालीका लागि के के गर्नुपर्छ भनेर घोत्लिएर नवीनतम विशाल कल्पना गर्नुपर्छ ।
फेरि पनि भन्न चाहन्छु, विविधता र सामूहिकतामै हाम्रो सम्भावना छ । यसको महत्त्वको बुझाइ युवा नेतृत्वको बटमलाइन हुनैपर्छ ।
अहिले विराजमान नेतृत्वको बेहाल दर्शाउँदै त्यसमा सहभागिता खोज्ने युवा वर्ग, जब आफ्नो हातमा डाडुपन्यू आउँछ, तब महिला, दलित, जनजाति, मुस्लिम, मधेसी, अपांग, विविध लैंगिक र अन्य सीमान्तीकृतलाई ‘मेरिटोक्रेसी’ वा विभिन्न बहानामा पन्छाउन खोज्छ, त्यो युवा नेतृत्वलाई के भन्ने ? कि त ऊ यो देशको उत्पीडन र सीमान्तीकरणको इतिहासबारे अनभिज्ञ अज्ञानी हो । कि त ऊ पहुँच हुनु र योगदानको योग्यता राख्नुको सम्बन्ध वर्तमान हेरेर केलाउन नसक्ने मुर्ख हो । कि त ऊ युवाको नाममा आफ्नो भाग खोज्ने एवं आएको भाग सबै एकलौटी पार्न खोज्ने पाखन्डी र लोभी हो । र, ऊ जे भए पनि जुनै अर्थमा नेतृत्व लिन सीधै अक्षम छ– उसले चाहे जति नै तक्मा बटुलेको किन नहोस् वा मान्यजनको धाप जति नै कमाएको किन नहोस् ।
त्यसैले कस्तो मानसिकता र कस्ता नियतहरू युवा नेतृत्वमा उदाउँदै र उक्लिँदै छन् ? हामीले सतर्क भएर विचार गर्नुपर्छ ।
थुप्रै पुस्ताहरूदेखि, थुप्रै सत्ताहरूसँग ठगिएर जीर्ण बनेका हाम्रा आधारहरूमा अब आउने पुस्तामा पनि यस्तै भ्रस्टता र कुरुपताको पुनरावृत्ति धान्ने तागत छैन। आज विश्व अस्तित्वको संकटबाट गुज्रेको बेलामा कसरी नेपाललाई कुशासनको दुघर्टनाबाट जोगाउने र कुशलताको उदारहण बनेर अध्यारो हैन आशा थप्ने भन्ने जिम्मेवारी पनि थपिएको छ। हामीहरू यस्तो नाजुक, यस्तो महत्वपूर्ण समय-कालबाट गुज्रदैछौं कि हाम्रा एक एक कार्य र करतूतको दूरगामी ठूला-ठूला असर पर्दछ। युवा हुनुमा गर्व गर्ने हामीले आफैँलाई, समाजलाई र विश्वलाई सामाजिक, राजनैतिक, वैज्ञानिक, मनोवैज्ञानिक, दार्शनिक, आध्यात्मिक हरेक दृष्टिले हरेक कोणबाट विश्लेषण गर्दै कुरोको चुरोमा पुग्ने साहस र मेहेनत गर्नु पर्दछ।
नेतृत्वमा को पुग्ने भन्ने होड अगाडी शुरु हुनु पर्ने संवाद हो- नेतृत्व के को लागि ?
कस्तो नेपालका लागि ? आदर्श नेपाल कस्तो हुन्छ ? सुन्दर नेपाल कस्तो हुन्छ ?
सुन्दर नेपाल गगनचुम्बी समृद्धिमा निरन्तर चल्ने दक्षताको अनुपम नमुना हुन्छ कि गगन छेड्दै सारा विश्वलाई चुनौती दिन सक्ने सामर्थ्यको प्रतीक हुन्छ ? कि सुन्दर नेपाल त्यस्तो हुन्छ, जहाँ समृद्धि र सामर्थ्यको चाहना लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय, पर्यावरण र विश्व–शान्तिजस्ता मान्यतासँग दिगो हातेमालो गर्छ ?
सुन्दर नेपाल यस्तो हुनुपर्छ भनेर परिकल्पना गर्ने आँट केन्द्र र पहुँचभन्दा पर रहेका, छेउ अनि कुनामा छुटेका समस्त नेपाली युवाले कहिले गर्नेछ ? जुनै पृष्ठभूमिबाट आए पनि यो देशको नेतृत्वमा सबैले उत्तिकै पहुँच राख्ने दिन कहिले आउनेछ ?
र, यो गन्तव्यमा पुग्ने दिनसम्म नेतृत्व लिने आँट र सामर्थ्य राख्ने आजका युवाहरूले धेरैभन्दा धेरैको सामूहिक सपनालाई कसरी आत्मसात् गर्न सक्नेछ ? भोलिको त्यो सुन्दर दिनका निम्ति आजैदेखि भर्याङ र साझा मैदान बनाउन साँच्चिकै को जुट्नेछ ? मेरो साथ र सहयोग त्यहि युवा नेतृत्वलाई हुनेछ ।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...