हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? [युवा नेतृत्व : नेपाल बहस- १]
देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा पर सोच्नै सक्दैनन्
आधारभूत सवालमा समेत घरपरिवार र समाजले थोपरिदिने भार बोकेर त्यो युवाले समाज बदल्ने संघर्ष र त्यसको नेतृत्व पनि सँगै कसरी गरोस् ?
नेपाल म्यागजिनले विभिन्न समय नेपाली समाज र अर्थराजनीतिक सवालहरूमा बहस चलाइरहेको छ । यस्ता बहसमा केही नौला नामहरूले नवीन र केही अप्ठेरा प्रश्नहरू गरिरहेका छन् । दोभान राईले उठाएको ‘अबको युवा नेतृत्व कस्तो’ प्रश्नमा रोहेज खतिवडाले युवा पुस्ताको नयाँ काल्पनिकीको क्षमतामाथि प्रश्न उब्जाएका छन् ।
अहिलेको युवा पुस्ता, नेपाली समाजले उक्त पुस्तासँग गरिरहेको अपेक्षा एवं नेतृत्वको संकटबारेको बहस यत्तिकै टुंगिनु र सेलाउनु हुँदैन । विमर्शको निरन्तरता होस् भन्ने हेतुले हामी पनि बहसमा सामेल भएका छौँ ।
मोटा र गह्रुँगा प्रश्नहरूले त्यस्तै जवाफ एवं बहसको माग गर्छन् । त्यसकारण कतिपय प्रश्नहरूलाई नै प्रश्न गर्नुपर्ने हुन्छ । के ती प्रश्नहरूले आजका जड विषयलाई सामान्य, सरल एवं बहुसंख्यकको पहुँच र बुझाइको आयतनभित्र पारेर बहसको सुरुआत गरेका छन् ? नेतृत्व, युवा पुस्ताबारे प्रश्न गरिरहँदा केही मसिना आयाम सम्बन्धमा चर्चा गरौँ । मूलत: अहिलेको नेतृत्वले वर्तमान नेपाली समाजलाई बदलेर सबैको पहुँच, हिस्सेदारी, दाबेदारी र सहभागिता एवं उनीहरूको सामाजिक, आर्थिक न्याय सुनिश्चितता भएको समाज बनाउन सक्ने सम्भावना कम छ भन्ने आग्रहमा टेकेर अबको युवा पुस्ताले त्यो सक्षमता राख्छ कि राख्दैन भन्ने प्रश्न गरिएको छ ।
अब यी प्रश्नहरूलाई टुक्र्याएर, मसिनो बनाएर हेरौँ । हामीले नयाँ नेतृत्वको आकांक्षा गर्दा खोजेको नेतृत्व कस्तो हो ? नेपाली समाजका विविध अन्तरविरोधहरूको जगमा उभिएर हामीले खोजेको नेतृत्वबारे के–कस्ता बहसहरू आवश्यक छन् ? के मूलधार भनिने राजनीतिक नेतृत्वलाई हेरेर मात्र नैराश्य आएको हो ? वा नेतृत्वको संकट सामाजिक, सांस्कृतिक र समाजका विविध क्षेत्रहरूमा पनि उस्तै भएको हो ?
युवा पुस्ताबारे बहस गरिरहँदा हामीले प्रतिनिधित्व गर्ने वा हामीले बहसको केन्द्रमा राखेका युवा को हुन् ? युवा भन्नेबित्तिकै वैज्ञानिक रूपमा पनि निश्चित उमेर समूहसँग जोडिन्छ । जिन्दगीका अनेक कष्टहरूबाट झेलिँदै गाँस, वास, कपास र एउटा सुरक्षित जीवनको परिकल्पनामा देशभित्र र बाहिर श्रममा हेलिएको युवाहरूसँग राख्ने अपेक्षाहरू कत्तिको वस्तुनिष्ठ हुन्छन् ? नेपाली समाजले आजको युवासँग राख्ने अपेक्षा र हामीले राखेको नेतृत्वको अपेक्षा तादात्म्य तादत्म्य छ ? हामीले खोजेको नेतृत्व खास उमेर समूहसँग मात्र जोडिएको हो कि उसका विविध आयाम र प्रश्नहरूमा निर्भीक उभिन सक्ने भिजन, आचरण एवं व्यवहार भएको हो ?
यी साना–मसिना र सम्भवत: झन्झटिला लाग्ने प्रश्नहरूका गहिराइमा पर्याप्त विमर्श नगरी हामी नयाँ निचोडको उचाइमा पुग्न सक्दैनौँ ।
हुन त, सबै प्रश्नको हल र सबै विमर्शको निचोडमा तत्काल पुग्नैपर्छ भन्ने छैन यद्यपि विमर्शको यात्रामा सही एवं सरल ठानिएका प्रश्नहरूले पुग्न खोजिएको गन्तव्यमा माइलस्टोनको काम अवश्य नै गर्नेछन् ।
यो पनि पढ्नुस
देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा पर सोच्नै सक्दैनन्
युवा पुस्ता भर्सेज समाज
नेतृत्वका बारे एउटा चर्चित भनाइ फ्रान्सेली दार्शनिक जोसेफ द मेस्टले १८ औँ शताब्दीतिरै भनेका थिए– हरेक देशले त्यस्तै सरकार (शासक) पाउँछ, जसको ऊ हकदार छ । यही भनाइलाई सामान्य गरी समाज जस्तो, नेता पनि त्यस्तै भन्ने गरेको पाइन्छ । भलै, यो भनाइमाथि केही असहमति राख्दै खासखास समय रुढीवादी सामाजिक मान्यता एवं राज्य व्यवस्थालाई बदल्ने र प्रश्न गर्ने मानिसहरू कसरी समाजबाटै जन्मिन्छन् भन्ने प्रश्न गर्न पनि नसकिने होइन । नयाँ पुस्ताबाट नयाँ नेतृत्वको आकांक्षा राख्दै गर्दा समाजले अहिलेको युवा पुस्तासँग राख्ने अपेक्षाका बीच भने धेरै बेमेलहरू देखिन्छन् ।
सामान्यतया आफ्ना छोराछोरीसँग बुबाआमाले, आफन्त र समाजले युवाको निजी आकांक्षाको पर्वाह नगरी अपेक्षाको भार युवामाथि थपिदिएका हुन्छन् । बुबाआमा पुस्ताले आफूले प्राप्त गर्न नसकेको असफलताका सूचीहरू जस्तै, आफ्ना छोराछोरीले तोकिएको विषय पढून्, गतिलो जागिर खाऊन्, पैसा कमाऊन्, घरजग्गा, यातायातका साधन जोडून् भन्ने लामो सूचीको फेहरिस्त प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छोराछोरीलाई बुझाउँछ ।
कलेज जाने उमेर भएका छोराछोरीलाई आमाले अझै पनि सम्झाउँछिन्– लभ गर्नै परे आफ्नो जात मिल्नेसँग गर्नू, बिहे भनेको जात मिल्नेसँग गर्नुपर्छ । आजकाल विदेशमा पढ्न जानेलाई भने बिहे नेपालीसँगै गर्नुपर्छ है भन्न थालिएको छ । केही अपवाद होलान्, वर्गअनुसार केही तलमाथि होलान् तर हर घरको कहानी लगभग उस्तै हो । आफूले कोसँग प्रेम गर्ने, कुन विषय पढ्ने, जीवनमा के बन्ने, के गर्नेलगायत आधारभूत सवालमा समेत घरपरिवार र समाजले थोपरिदिने भार बोकेर त्यो युवाले समाज बदल्ने संघर्ष र त्यसको नेतृत्व पनि सँगै कसरी गरोस् ?
आफ्नो विवेकलाई समाजको अपेक्षासँग बन्दकी राखेर होइन, सत्यको खोजी गर्दै संघर्ष गर्नुपर्छ भन्ने प्रश्न युवासँग जति पनि गर्न सकिन्छ । तर ती प्रश्नको तीर अलि बलियो गरी समाजतिर पनि तेर्साउनुपर्ने भएको छ । जसको अपेक्षा पूरा गर्ने लालसामा आफ्ना सपना मारेर जिउन विवश युवा पुस्ता पनि त समाजले नै तयार पारिरहेको छ । डा गोविन्द केसीको अभियानमा प्लेकार्ड बोकेर माइतीघर मण्डलामा उभिएर फेसबुकमा फोटो हाल्नुसम्म त ठीकै छ तर राज्य प्रणालीका जटिल मुद्दाहरूमा धेरै प्रश्न नगरोस्, समाजका आधारभूत र मूल्य–मान्यतामा प्रश्न नगरोस् भनेर लक्ष्मण रेखा राखिदिने पनि यही समाज नै हो ।
नेतृत्व भर्सेज समाज
नेतृत्वबारे पनि एउटा अपरिभाषित मान्यता त छँदै छ– अग्लो मञ्चमा उभिएर जीउडाल मिलेको, गहुँगोरो वर्णको एउटा सुकिलो पुरुष, जसले हामीले जे सुन्न चाहेको हो, त्यही मिलाएर बोलिदिन्छ । यो अपरिभाषित नेतृत्वको अवधारणाले नेतृत्वमा महिला, चिम्सा आँखा र थेप्चो नाक भएको, मधेसी मूलको अनि समाजको पीँधमा रहेको वर्ग र वर्णका मानिस त स्वत: आउट भइहाले । राजनीतिको परिधिभन्दा बाहिर पनि समाजका विभिन्न क्षेत्र, भूगोल, समुदाय स्तरमा मिहिनेत र संघर्ष गरिरहेका मिडियामा नाम नआउने ती सबै पनि मैदानबाट बाहिरै परे ।
राजनीतिको भूगोलभित्र पनि चलिरहेको ट्रेन्डमा आफ्नो हिस्सा खोज्न दाउ चलाइरहेका टाठा नेताहरूको हुलबाट पर एन्टी करेन्ट भई प्रश्न र आलोचना खप्न तयार हुनेहरू पनि चलिरहेको नेतृत्वको डिस्कोर्सको परिधिमा अट्ने भएनन् । त्यसैले समाजले अपेक्षा गरिरहेको र उसको अहिलेको अपेक्षामा आफू सेट हुन मिहिनेत गरिरहेको नेतृत्वको चरित्र र नेताका पनि पर्याप्त खोट छन् ।
युवा पुस्ताको नेतृत्व
लेखकद्वय दोभान राई र रोहेज खतिवडाले प्रश्न उठाएजस्तै नेतृत्वको सन्दर्भमा वर्तमान युवा पुस्तासँग कयौँ समस्याहरू छन् । सकेसम्म राजनीतिक विषय र बहसबाट परै भाग्न खोज्ने, खासखास घटना र सन्दर्भमा प्रतिक्रियात्मक मात्र हुने तर विषयको गहिराइमा जान नखोज्ने, अझ सामाजिक सञ्जाल एवं डिजिटल संसारसँगको पहुँचले र मानिसहरूलाई यति वैयक्तिक (इन्डिभिजुयालिस्टक) बनाइदिएको छ कि सामाजिक सञ्जालमा आफूले गरेको पोस्टमा लाइक, कमेन्ट र सेयरहरू गनेर दंग पर्ने/बस्ने अवस्थामा पुर्याइदिएको छ । छिट्टै पपुलर र सेलिब्रेटी हुने हुटहुटीले साना कामहरूमै नाम खोज्ने एवं उपलब्धि र परिवर्तनतिर भन्दा आफ्नो सोसल क्यापिटल बढेको भ्रममै मस्त पारिदिएर राखेको छ । द्रुत उपलब्धिको अभिलाषामा छटपटिरहेको युवा पुस्तालाई जोखिम मोलेरै लामो संघर्षको यात्रामा लाग्न उत्प्रेरणात्मक प्रश्नहरू पनि सोध्नुपर्ने भएको छ ।
यो पनि पढ्नुस
मूल धारका राजनीतिक दलमा गोलबद्ध भएका युवाहरू हेर्दा लाग्छ– यो पुस्ता कुनै सपनाबिना हुर्किरहेको छ । एउटा वैचारिक शून्यतामा यो पुस्ता हुर्किरहेको छ ।
युवाहरूका लागि प्रेरणाको स्रोत के हो ? उनीहरूले के सिक्ने, अनुभव गर्ने अवसरहरू कहाँ छन् ? तिनलाई उद्वेलित बनाउन के कस्ता तत्त्वहरू आवश्यक छन् ? विदेशमा श्रम गरिरहेका, गर्न बाध्य लाखौँ युवालाई आफ्नो जिन्दगी नै यस्तै हो भनेर आफ्नै पुर्पुरो ठोकेर चालीस कटेसी रमाउँला गीतमा मग्न हुने नै होइन, आफ्नो जिन्दगी यस्तो बनाइदिएकामा राज्य संयन्त्र र यसका हर्ताकर्तालाई प्रश्न गर्ने हो भन्ने अवस्थामा कसरी पुर्याउने ? ग्लोबलाइजेसन र डिजिटलाइजेसनले नयाँ कुरा सिक्न अवसर दिएको छ तर कतै सोसल मिडिया सेलिब्रेटी हुने र लुक गुड मात्रै देखिन प्रेरित त गरिरहेको छैन ? टिकटक र पब्जीमा रमाइरहेको युवा पुस्तालाई बृहत सामाजिक विषयमा संवाद गर्ने थलो कहाँ छ ? त्यस्ता थलो बनाउन भइरहेका प्रयत्नहरू कहाँ छन् ?
नेतृत्व संकटबाटै आउँछ, अमन चयनमाझ साइत हेरेर नेतृत्व आउने त होइन तर युवाप्रति नेतृत्वको अपेक्षा गरेर उनीहरूलाई प्रश्न गर्दा समाजलाई बुझ्ने र प्रश्न गर्न छाड्नु भएन ।
वर्तमानको राजनीति र नेतृत्वको अभ्यास
राजनीतिको आफ्नै दु:ख छ, अबको राजनीति समाज बुझ्ने, त्यसलाई बदल्ने, संघर्ष गर्ने र जोखिम उठाउने भएन । अहिलको राजनीतिको चार्म बेग्लै छ, ठूलो नेताले सानो नेता पाल्ने, सानो नेताले कार्यकर्ता पाल्ने, कार्यकर्ताले स्थानीय लाभका क्षेत्रमा आफ्नो मुठ्ठी दह्रो पार्ने र केन्द्रदेखि गाउँ स्तरसम्म कार्टेलिङ चलाउने । दलीयकरणको प्रकोप यस्तो छ कि समुदाय स्तरमा कुनै दलसँग आबद्ध नभई स्वतन्त्र तबरले सामाजिक काम गर्छु भन्नेहरूमाथि पनि शंका गर्ने अवस्था आएको छ । दलहरू नयाँ जातमा परिणत हुँदै छन् र आफ्नोभन्दाबाहेकका अन्य दल र त्यसमा आस्था राख्नेहरू अछूतजस्तो हुँदै जाँदै छन् ।
दु:ख यस कारण पनि छ कि आर्थिक सम्बन्धमा जेलिएको यो कार्टेलिङमा युवा पुस्ताले अब कुनै मुद्दा समात्नु परेको छैन, अध्ययन, अनुसन्धान गरेर नयाँ विचारको निर्माण र आफ्नो विचारको परिमार्जन परीक्षण गर्नु परेको छैन । बलिया दाइ नेताहरूमध्ये एउटा दाइलाई जोडले समातेर तिनको राजनीतिक सेवा गरे पुग्छ । एक हिसाबले बलिया दलहरूले नयाँ सोच र सत्य बोकेको स्वाभिमानी युवालाई आफ्नो दलमा औपचारिक प्रवेशको प्रक्रियालाई लगभग समाप्त पारिदिएका छन् ।
कुनै समय आफ्नो माउ दलको निर्णय प्रक्रियालाई हस्तक्षेप गर्न सक्ने विद्यार्थी र युवा संगठनहरू केही वर्षअघिसम्म पेट्रोलियम पदार्थको भाउ बढ्दा सशक्त बोल्ने गर्दथे । भलै, पेट्रोल, मट्टीतेलको भाउमा २ रुपैयाँ घट्नेबित्तिकै दुई दिने आन्दोलनले आराम गर्दथ्यो । आजभोलि राजनीतिक पार्टीका ती संगठन र तिनका गतिविधिलाई दिउँसै बत्ती बालेर खोज्नुपर्नेजस्तो भएको छ । नयाँ पुस्तासँग अर्थराजनीतिक संवाद गर्ने, पार्टीको माथिल्लो पदमा रहेका नेतृत्वलाई प्रश्न गर्ने, नयाँ वैकल्पिक विचार र कार्यक्रमसहित तयार हुनुपर्ने संगठन एवं संरचनाहरू माउ नेताका कठपुतलीजस्ता मात्र भएका छन् । यी संरचनाहरू र चालू संस्कार एवं विचार निर्माणको पद्धतिबाट केही होला भन्ने आशा गर्न सकिन्छ र ?
नेतृत्व भर्सेज नेता
केही सुधारवादीहरू अचम्मको आशावादिता साँचेर बाँच्दछन्, अहिलेकै संरचना, अहिलेकै पद्धति र संस्कारमाझ हल्काहल्का सुधार गर्दै जाँदा परिवर्तन सम्भव देख्छन् । कम जोखिमपूर्ण र अझ खासै जोखिम उठाउनु नपर्ने यो बाटोमा हिँड्दा सहज त हुन्छ । तर संरचनाहरू नबदली नहुने ठाउँमा थोरै संस्कार मात्र फेरेर आउने सुधारमा समाजका कुन कुन वर्ग र वर्णले आफ्नो पनि सुधार भेट्लान् ?
एउटा युग नायक आएर हामी सबैलाई उद्धार गरिदिनेछ भन्ने आम अपेक्षा नै गलत हुने नै भयो । आफ्ना सबै आकांक्षाहरू एक जना नेतालाई बोकाइदिएपछि हाम्रोजस्तो जटिल र जड संरचनामा भेटिने त निराशा मात्रै हो । बहसहरू को नेता ठीक र को गलत भन्नेबाट समाजलाई नयाँ यात्रामा डोर्याउने नेतृत्व कस्तो हो भन्नेतिर मोडिँदा त्यो भनेको प्रक्रिया पनि हो भन्ने बुझिन्छ । यो प्रक्रिया एक्लै चाल्ने होइन, एक्लै दौडेर समाजका जटिल मुद्दाको हल खोज्न पनि सकिन्न, सामुदायिकतामा कसरी नेतृत्व खोज्ने र सामूहिक पहलहरूबाट रूपान्तरणको बाटो अघि पर्गेल्न थप मन्थनहरू आवश्यक छन् ।
अबको नेतृत्वबारे मन्थन गर्दा उस लाई उपलब्धि वा पदमा मात्र सीमित नराखेर, नेतृत्व प्रक्रियामा, केन्द्रीय राजनीतिमा मात्र नभई सामुदायिकतामा समुदायस्तरमा खोजिनुपर्दछ । नयाँ गतिशील र मुद्दा केन्द्रित राजनीति खोजेको हो भने समाजका आधारभूत प्रश्नहरूलाई पन्छाएर होइन, त्यसमा पर्याप्त बहस गर्ने एवं नयाँ काल्पनिकीको खोजी गर्ने र तत्कालको लोकरिझ्याइँमा रमाउने होइन, आलोचना खप्न र जोखिम उठाउन तयार सामूहिक र संगठित प्रयत्नको खाँचो छ । ७० कटेका बर्नि स्यान्डर्सले अमेरिका, कोर्विनले बेलायतहरूमा युवा पुस्तालाई लिएर नयाँ अर्थराजनीतिक व्यवस्थाको उद्घोष गरिरहेका छन् । के हाम्रो समाज त्यस्तै सहकार्य र सामूहिक प्रयत्नका लागि तयार छ ? चल्तीको लोकरिझ्याइँको राजनीतिबारे प्रश्न गर्दै लोकपरिर्वतनको राजनीतिमा सामूहिक नेतृत्वको औचित्य र आवश्यकताबारे थप बहसहरू हुँदै जानुपर्छ ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...