४५–५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन, त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन्
यो आलेख लेख्न बस्दै गर्दा बालुवाटारमा सीमित युवाहरूको आन्दोलन नेपालका प्रमुख सहरहरूमा पुगिसकेको छ ।
केही सातादेखि काठमाडौँलगायत प्रमुख सहरमा रुकुम घटनाको निष्पक्ष छानबिन र जातको आधारमा गरिने हिंसाको विरोध गर्दै युवाहरू बोलिरहेका छन् । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा युवाहरूले सरकार र व्यवस्थाविरुद्ध सधैँजसो आक्रोश पोखिरहेको देखिन्छ ।
महिला, दलित र अल्पसंख्यकमाथि हुने हिंसा एवं भ्रष्टाचार अन्त्य, चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै हजारौँ युवा समय–समयमा सडकमा उत्रिरहेकै छन् । हरेक पटक युवाहरू स्वत:स्फूर्त सडकमा उत्रिँदा मूलधारको नेपाली राजनीति र समाज दुई धारमा विभाजित हुन्छ ।
पहिलो– सत्तापक्ष, जो आरोप लगाउँछ– यी युवाहरू कसैबाट परिचालित छन्, यिनीहरू गणतन्त्रविरोधी हुन् र यिनले देशको स्थायित्व खलबल्याउने तत्त्वलाई साथ दिँदै छन् । सत्तापक्ष युवाहरूको आवाज दबाउन साइबरसेनादेखि आफूले भए/पुगेसम्मको स्रोत र शक्तिको प्रयोग गर्न पनि पछि पर्दैन ।
दोस्रो– प्रतिपक्षलगायत सत्ताको खबरदारी गरिरहनेहरू, जो यस्ता आन्दोलनको समर्थन गर्दै वक्तव्य निकालिरहेका हुन्छन्, यस्ता आन्दोलनको अपनत्व ग्रहण गर्छन् । यिनीहरू आफू सत्ता र शक्तिमा रहँदै गर्दा पनि युवाहरू सडकमै आन्दोलन गर्दै थिए भन्ने भुसुक्कै भुल्छन् ।
नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला । तर हरेक आन्दोलनपछि युवाहरू खोला तर्न प्रयोग भएका लठ्ठीजस्तै किनारामा फालिए । खोला तर्न युवाहरूको उपयोग सबैले गरे तर तिनीहरू के चाहन्छन्, के सोच्छन् र उनीहरूका मुख्य मुद्दा के–के होलान् भनेर सायदै कसैले ध्यान दियो ।
युवाहरूको प्रदर्शनलाई ‘अराष्ट्रिय, अराजक, प्रायोजित’ जस्ता आरोप लगाएको भरमा तपाईंको नागरिक दायित्व पूरा हुने छैन । त्यो नयाँ पुस्तामाथिको घोर अविश्वास र आफ्नै चेतनाप्रतिको धोका सावित हुनेछ
यसरी युवाहरूलाई सदैव पछाडि छाडिनु र तिनका मुद्दाको सुनुवाइ नहुनुको एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु नै हो । केन्द्रीय तथ्यांक विभागको २०२० का लागि नेपालको अनुमानित जनसंख्यामध्ये १५ देखि ४० वर्ष उमेर समूहका युवाहरू कुल जनसंख्याको ४४ प्रतिशत छन् । मूलधारको राजनीतिमा यो पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेतृत्व खोज्नचाहिँ दिउँसै टुकी बाल्नुपर्ने अवस्था छ । ४५–५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन, त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन् ।
पछिल्लो १० वर्ष नेपालमा हामीहरूको कुरा बुझ्ने, हामीलाई कुरा बुझाउने र मूलधारको नेतृत्व एवं युवा पुस्ताबीचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिँदै आएको छ ।
यही खडेरीका बीचमा नेपालमा एउटा पुस्ता ‘पोलिटिक्स इज डर्टी गेम’ भनेर हुर्कियो । अहिले सामाजिक सञ्जाल, माइतीघर मण्डला अनि बालुवाटारतिर रचनात्मक रूपमा राजनीतिक व्यवस्था र सत्ताको विरोधमा उत्रिने युवा त्यही पछिल्लो पुस्ता हो । मोफसलको युवा पुस्ताले पनि यही पछ्याउँदै गरेको देखिन्छ ।
मूलधारको नेपाली राजनीतिमा यो पुस्ताको प्रतिनिधित्व खासै छैन । यिनीहरू के चाहन्छन्, यो पुस्ताको महत्त्वाकांक्षा के हो ? यिनीहरू कस्तो भविष्यको कल्पना गर्दै छन् भन्ने कुराको हेक्का न नीति निर्माताले राखेका छन्, न त आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवा गर्न राजनीतिमा लागेका हौँ भन्नेहरूले नै । त्यसैले स्वत:स्फूर्त रूपमा युवाहरू जबजब सडकमा उत्रिन्छन्, यिनलाई अरूद्वारा परिचालित, कुरै नबुझी आन्दोलनमा लागेको, समय कटाउन र सामाजिक सञ्जालमा तस्बिर भर्न मात्रै यसरी सडकमा उत्रेको आरोप लाग्ने गरेको छ ।
यसो हुनुको मुख्य समस्या, नेपालमा परिपक्व युवा नेतृत्वको अभाव नै हो ।
नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’ हरूकै स्तुति गान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ
अहिले युवाहरू यस्तो सोच्दै छन्, हामीहरूका मुद्दा यी–यी हुन्, हामीले यस्तो भविष्यको परिकल्पना गरेका छौँ भनेर युवाहरूले मूलधारको नेतृत्वलाई सुनाउने अवसर बिरलै पाउँछन् । कहलिएको युवा नेतृत्व पनि बहुसंख्यक नेपाली युवाहरूको पहुँचबाट टाढै छ ।
युवा पुस्तासँग भोलिको परिकल्पना नभएको होइन तर उनीहरूसँग आफ्नो परिकल्पना साकार पार्ने अवसर कम छ । तिनलाई सुनिदिने र उनीहरूको कुरा गम्भीर रूपमा लिइदिने राजनीतिक नेतृत्व बिरलै छ ।
यतिबेला नेपालमा संगठित एवं परिपक्व युवा नेतृत्वको खाँचो र खडेरी यहीँनेर देखिन्छ ।
युवा नेतृत्व परिपक्व नहुनुको दोष कसलाई दिने ? धेरैजसो यसको दोष युवा र विद्यार्थी राजनीतिमा लागेका युवा नेताहरूले नै पाउने गरेका छन् । अहिले युवा नेतृत्व संकटमा पर्नुका पछाडि लामो समय युवा नेतृत्व उत्पादन गर्ने विद्यार्थी संगठनलगायत अन्य भ्रातृ संगठनहरू चलाएका ४०–५० वर्ष उमेर समूहका चल्तीका यी युवा नेतृत्व पक्कै भागीदार छन् । ०६२/६३ मा युवा हुँदा उदाएको यो पुस्ता अहिले उमेरले ५० वर्ष टेक्न लाग्दै गर्दा पनि आफूलाई युवाहरूको प्रतिनिधि भन्दै उभ्याउनमा लाज मान्दैन ।
०६२/६३ पछि नेपालमा युवा नेतृत्वको पुस्तान्तरण भएन । स्थापित युवा नेतृत्वले आफू पछि आउने पुस्तालाई मार्गनिर्देश गर्न चुक्यो र त्यो सिलसिला आजसम्म पनि जारी छ ।
नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’ हरूकै स्तुतिगान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ । तत्कालमा युवा नेतृत्वको संकटजस्तो मात्रै देखिए पनि भविष्यमा नेपालको मूलधारको राजनीतिको नेतृत्व गर्ने गरी एउटा जमात यसरी नै तयार हुँदै छ । ‘कमरेड’ अनि ‘दाइ’ हरूको कृपा रहिरहने हुँदा यो जमातले बाहिरबाट राजनीतिमा प्रवेश गर्न खोज्ने र यसमा गहिरो रुचि अनि इच्छा भएका नयाँ पुस्तालाई सहजै स्वीकार अवश्य गर्ने छैन । यो हामीले अहिले पनि देख्दै र भोग्दै आएको अवस्था हो ।
वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यही नै हो ।
राजनीतिमा आफ्नोबाहेक विकल्प नदेख्ने नेपाली राजनीतिक नेतृत्वले आफूपछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनीतिक संस्कारलाइ बढावा दिँदै भविष्य पनि अनिश्चित राखिदियो । डरलाग्दो विषयचाहिँ पहिलो पुस्ताको अवसानपछि आउने अर्को पुस्ता पनि आफ्नोबाहेक विकल्प नदेखी आउँदै छ ।
‘युवाहरू नेतृत्व गर्न सक्दैनन्’, ‘तिनीहरू अल्लारे हुन्’, ‘यिनीहरूसँग भविष्यको परिकल्पना छैन’, ‘यिनीहरू जीजिविषाभन्दा माथि उठ्न सक्दैनन्’ भन्दै गर्दा युवा नेतृत्व यस्तो अवस्थामा आउनुका कारणहरू पनि विचार गर्ने कि ?
नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला । तर हरेक आन्दोलनपछि युवाहरू खोला तर्न प्रयोग भएका लठ्ठीजस्तै किनारामा फालिए
के नेपाली राजनीति अनि समाजले २५–३५ वर्षका संघीय सांसद स्वीकार गर्न सक्ला ? हामीले युवा नेतृत्व तयार गर्न केही गरेका छौँ ? भ्रातृ संगठनमा गुट–उपगुट चलाउने, आन्दोलन र मोटरसाइकल र्याली गर्नेबाहेकका अन्य पार्टीगत एवं संस्थागत जिम्मेवारीमा युवाहरूलाई हाम्रो राजनीतिक नेतृत्वले कहिले परीक्षण गर्यो ? राजनीतिमा आफ्नो क्षमताको परीक्षण गराउन युवा कहलिएका नेतृत्वले ४० वर्ष उमेर कटाउनैपर्ने हो ?
राजनीतिबाहेक अन्य क्षेत्रमा युवाहरूले क्षमता प्रस्तुत गरेर आफूलाई प्रमाणित गरेका थुप्रै उदाहरण हामीसँग छन् । राजनीतिबाहेकका अन्य क्षेत्रमा युवाहरूले अवसर पाएकै कारण आफूलाई प्रमाणित गरेका हुन् ।
नेपाली युवाहरूमा राजनीति, राजनीतिक दल र नेतृत्वप्रतिको वितृष्णा जगाउने एउटा प्रमुख कारण यो पनि हो ।
युवा नेतृत्वको कुरा गर्दै गर्दा हाम्रो समाज अनि सामाजिक संस्थाहरूले युवा राजनीतिलाई कसरी लिन्छन् भन्ने अर्को महत्त्वपूर्ण विषय हो । हामीकहाँ राजनीतिमा लाग्ने युवा नेतृत्वलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । सक्षम युवा नेतृत्वको खोजी गर्दै गर्दा, आफ्ना छोरा वा भाइ– भतिज भने सकेसम्म राजनीतिबाट टाढै बसोस् भन्ने लाग्छ । हाइस्कुलसम्मको पढाइमा राजनीतिलाई नकारात्मक रूपमा चित्रण गरिन्छ । विश्वविद्यालयमा राजनीति भनेकै आन्दोलन हो भन्ने सिकाइएको हुन्छ अनि परिकल्पना भने सक्षम युवा राजनीतिक नेतृत्वकै रहिरहन्छ ।
देशमा युवा नेतृत्वको आवश्यकताबोध न राज्यले गरेको छ, न समय–समयमा युवाहरूलाई प्रयोग गरेर माथि उठेका राजनीतिक दल अनि नागरिक समाजले नै । न त हाम्रा विश्वविद्यालय र हाम्रो सामाजिक संरचनाले नै । हामीले अहिले भोगेको युवा नेतृत्वको संकटको मूल जरो यही नै हो । नेपालले छोटो समयमा थुप्रै राजनीतिक व्यवस्था परिवर्तन गरे पनि राजनीतिमा असल लोकतान्त्रिक संस्कारको जग बस्न नसक्नु हाम्रो तीतो यथार्थ हो ।
सक्षम र परिपक्व युवा नेतृत्वको परिकल्पना गर्दै गर्दा हामीले युवाहरूलाई जिम्मेवारी दिँदै परीक्षण गर्नु जरुरी छ । अहिले युवाहरूले राजनीतिमा आफ्नो स्थान आफैँ खोज्दै छन् । समय– समयमा हुने रचनात्मक आन्दोलनहरूमार्फत युवाहरू आफैँले मूलधारको राजनीतिसँग संवाद र सहकार्यको आह्वान गर्दै छन् ।
अहिले पनि हामीले युवा नेतृत्व निर्माणमा लगानी गरिएन, युवाहरूलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गरिएन भने हामी युवा मात्रै होइन, सक्षम राजनीतिक नेतृत्वकै संकटमा पर्ने निश्चित छ ।